अरूको होइन
अब मलाई आफ्नो बन्नु छ
कसैले नसुनेका कुरा
आफैँलाई खुलेर भन्नु छ
सबैलाई खुसी बनाउन खोज्दा
आफूलाई धेरै दुख्छ
सधैँभरि कल्पनामा रमाउने मन
खोलाभन्दा छिटो कुद्छ
आफू बाँचेको होइन
अब मलाई हाँसेको क्षण गन्नु छ
कसैले नसुनेका कुरा
आफैँलाई खुलेर भन्नु छ
निहुरिनु विफलता हुँदै हुँदैन
फलेकै वृक्ष झुक्छ
सधैँभरि कल्पनामा रमाउने मन
खोलाभन्दा छिटो कुद्छ
विगतमा होइन
अब मलाई वर्तमानमा जिउनु छ
बल्झिएको पुरानो
मुटुको घाउलाई फेरि सिउनु छ
भोलिलाई पछ्याउन खोज्दा
सुनौलो आज छुट्छ
सम्झाउँदा-सम्झाउँदै पनि मन
अतीतसँग जुध्छ
हृदयमा होइन
अब मलाई ऋतुमा अल्झिनु छ
बल्झिएको पुरानो
मुटुको घाउलाई फेरि सिउनु छ।