‘उठ त बाबु। आज धान उसिन्नुपर्छ। असार पन्ध्र आउन लाग्यो नि।’
हजुरआमाको त्यो आवाजले बिहानको निद्रा खुल्थ्यो।
अहिले मोबाइलको अलार्मले उठाउँछ। त्यो बेला हजुरआमाको मायाले उठाउँथ्यो।
भकारीमा मंसिरदेखि साँचेर राखिएको धान ठुलो तामाको ताउलोमा उसिन्न थालिन्थ्यो। ताउलोबाट निस्किएको वाफले आँगनभरि एउटा छुट्टै बास्ना फैलाउँथ्यो। त्यो बास्ना आजसम्म कुनै होटल, कुनै रेस्टुरेन्ट र कुनै बजारको चिउरामा भेटिएको छैन।
घाम लागेपछि धान सुकाइन्थ्यो। साँझपख भुटिन्थ्यो। अनि तातातातै ढिकीमा हालेर कुटिन्थ्यो। हाम्रो ढिकी अलि गह्रुङ्गै थियो। सायद हामी सानो भएर पनि होला, खुट्टाले राम्ररी दबाउन सक्दैनथ्यौँ।
‘ए बाबु, छेउमा टेकेर थिच न, अलिकति बल थपिन्छ,’ आमाले यसरी भन्नुहुन्थ्यो।
ढिकीलाई कसले लय सिकायो, थाहा छैन। तर चल्दा उसले आफैँ गीत गाउँथ्यो— ‘भक्र्याई… ताई… भक्र्याई… ताई…’
आज पनि त्यो आवाज सम्झिँदा लाग्छ, ढिकी होइन, हाम्रो गाउँ आफैँ बोलिरहेको थियो।
त्यसपछि नाङ्लोले निफन्ने पालो आउँथ्यो। जतिसुकै निफने पनि ढिकीको चिउरामा अलिकति भुस बाँकी रहन्थ्यो। अहिले बजारमा पाइनेजस्तो चिल्लो र सेतो हुँदैनथ्यो। तर त्यो भुससहितको चिउरामै स्वाद थियो। त्यो स्वाद बजारले कहिल्यै बनाउन सकेन।
घर पछाडिको फुस्रे केरा काटेर थुन्सेमा राखिन्थ्यो। छिट्टै पाकोस् भनेर धुसेरी र घोक्रेका पातले गुटुमुट्याएर कालो कम्बलले बेरेर राखिन्थ्यो।
असार १५ नजिकिँदै थियो। तर दही–चिउरा खानुभन्दा पहिले गाउँमा धेरै काम बाँकी हुन्थे।
घरमा एउटा लैनो भैँसी हुन्थ्यो। भर्खरै ब्याएको। सानो पाडीसँगै। भैँसी चोखिएको बेलाका सात पोका खरको छानामुनि सिउरिएर राखिएका हुन्थे।
रोपाइँमा गएका दिन पनि घरको मन्द आगोमा कुँडो तातिरहेको हुन्थ्यो। गाउँमा जसको रोपाइँ परेको दिन नहुने, उहाँलाई भनिन्थ्यो— ‘आज हाम्रो लैनो भैँसीलाई कुँडो दिनुहोला है।’
त्यो बेला पैसा होइन, विश्वासले गाउँ चल्थ्यो।
उता हाम्रो घरमा रोपाइँको दिन परेपछि आमाले बिहानै दुई–तीन भारी घाँस काटेर थुपार्नुहुन्थ्यो। लैनो भैँसीका लागि छुट्टै नरम भूइँघाँस। बकेर्नाका लागि छुट्टै। बाख्राका लागि डाले घाँस।
कुन पशुलाई कुन घाँस उपयुक्त हुन्छ भन्ने ज्ञान गाउँका हजुरबा–हजुरआमाले कुनै पुस्तक पढेर होइन, पुस्तौँदेखिको अनुभवबाट सिक्नुभएको थियो।
असार १५ को बिहान हामीलाई दही–चिउरा खानेभन्दा ठुलो जिम्मेवारी हुन्थ्यो; गोरु फुकाएर भागीरथी जंगल हुँदै रोपाइँको खेतमा पुर्याउने।
‘गोरुलाई राम्ररी नछोडी लैजानू है। जंगलको बाटो छ। अगेरी खायो भने फेरि मर्छ नि।’
आमाको त्यो एउटा वाक्यले हाम्रो बालापनभन्दा ठुलो जिम्मेवारी काँधमा राखिदिन्थ्यो।
गोरुको घाँटीमा घण्टी वा घाँडो बाँधिन्थ्यो। कतै हरायो भने घण्टीको आवाजले खोज्न सजिलो होस् भनेर।
हामी गोरुको पछिपछि लाग्थ्यौँ। कहिले अगाडि गएर रोक्थ्यौँ। कहिले पछाडिबाट धपाउँथ्यौँ। कतै अगेरी खान्छ कि भन्ने डरले त्यो एक घण्टा लाग्ने अध्यारो जंगल आँखा नै नझिम्क्याई पार गर्थ्यौँ।
आज त्यही जंगलको बाटो एक्लै हिँड्दा कता-कता डर लाग्छ।
तर त्यही बेला, सानो उमेरमा एक्लै गोरु लिएर एक घण्टा जंगल हिँड्दा भने कहिल्यै डर लागेन। सायद त्यो बेला जंगलभन्दा ठुलो हाम्रो आत्मविश्वास थियो। र डरभन्दा ठुलो आमाको विश्वास।
जंगलको बीचमा भागीरथी माईको एउटा सानो मन्दिर थियो। मन्दिरभित्र कहिल्यै नसुक्ने पानीको कुण्ड। खेतमा पुग्न जति नै हतार भए पनि मन्दिर नछिरी कोही जाँदैनथ्यो। धाराबाट आफ्नै औँजुलीमा पानी थाप्ने अनि मन्दिरभित्र लगेर बनकी देवीलाई अर्पण गर्ने; तीन पटकसम्म भित्र लगेर भागीरथी माईलाई चढाउने।
त्यसपछि मात्र खेततिर पाइला बढ्थ्यो।
त्यो हाम्रो गाउँको नियम थिएन। आस्था थियो। ब
र्खा लाग्नुअघि हजुरबाले घरमै स्याखु र छत्री बुन्नुहुन्थ्यो। स्याखु बुन्न त मैले सिकिनँ तर छत्री भने हजुरबाले सिकाउनु भएकोले आफैँ बुन्न सक्ने भइसकेको थिएँ।
धानको बीउ काढ्नेले छत्री ओढ्थ्यो। खेत रोप्ने र बाउसे गर्नेले स्याखु प्रयोग गर्थे। त्यो बेला पसलबाट किनेर ल्याउनेभन्दा आफ्नै हातले बनाउने सीप नै ठुलो सम्पत्ति थियो।
असारभरि गाउँभरि रोपाइँको मेलो चलिरहन्थ्यो। कसैको आज। कसैको भोलि। कसैको पर्सि। एकअर्कालाई सघाउँदै गाउँभरि रोपाइँ सकिन्थ्यो।
रोपाइँको दिन यदि आकाशबाट पानी नपर्लाजस्तो अवस्था भयो भने खेतकै कान्लामा तीन वटा ढुङ्गा जोडेर चुलो बनाइन्थ्यो।
एउटामा भात।
अर्कोमा दाल।
अर्कोमा तरकारी।
करेला र भिण्डीको अचार भने हजुरआमाले घरमै पकाएर ल्याउनुहुन्थ्यो।
दाउरा जंगलबाट ल्याइन्थ्यो। खानेपानी आफ्नै खेतमा फुटेको मूलको हुन्थ्यो। खाना पाक्दै गर्दा धुवाँको बास्ना, भिजेको माटोको सुगन्ध र खेतालाहरूको हाँसो मिसिँदा लाग्थ्यो, संसारको सबैभन्दा ठुलो भोज यही हो।
रोपाइँको दिन पानी परिरह्यो भने खेतमै चुलो बाल्न सकिँदैनथ्यो। त्यस्तो बेला अलि पर रहेको मन्दिरको पाटीमा वा ओत लाग्ने ठाउँमा लगेर भात, दाल र तरकारी पकाइन्थ्यो। वर्षा परिरहे पनि रोपाइँ रोकिन्नथ्यो, केवल चुलोको ठाउँ मात्र फेरिन्थ्यो।
खाना खाने बेला भएपछि दिनभरि जोतेको हलगोरुको काँधको जुवाबाट हलोलाई फुकालिन्थ्यो। गोरुलाई अलि ओभानो ठाउँमा लगेर जोत्नका लागि भनेर काटेर ल्याइएको राम्रो घाँसको मुठो खान दिइन्थ्यो।
त्यसपछि हली, रोपाहार, बाउसे, आली लगाउने सबै जना बस्न मिल्ने ढुङ्गा खोज्दै बस्थे। खेतमै हजुरआमाले पकाएको भात खाइन्थ्यो।
हामी त्यो दृश्य हेरेर रमाउँथ्यौँ। सायद हामी सानै भएकाले पनि होला हामीलाई त्यो बनभोजभन्दा कम लाग्दैनथ्यो।
दालमा कहिलेकाहीँ नुन नै कम भएको जस्तो हुन्थ्यो। तर खेतमै दाउराको आगोमा पाकेको त्यो खाना आजसम्म जीवनकै सबैभन्दा स्वादिलो भोजन लाग्छ। सायद स्वाद दालमा थिएन। सँगै पसिना बगाएका मानिसहरूको आत्मीयतामा थियो।
कहिलेकाहीँ गोरुलाई दिएको घाँस सकिएपछि ती हरिया ब्याडतिर धानको बीउ खान दौडिन्थे। हामी पनि उनीहरूको पछिपछि दौडिन्थ्यौँ, ब्याड जोगाउनलाई।
एउटा कान्लाबाट अर्को कान्लामा हाम फाल्दा दुवै गोरुको पाइला एउटै लयमा नपरे जुवा भाँचिन्थ्यो। कहिले जुवाको सोईलो भाँचिन्थ्यो। कहिले जोतारो नै छुट्टिन्थ्यो। त्यो बेला यस्ता घटना ठुलो दुर्घटना मानिँदैनथे।
गाउँले जीवनका सामान्य दिनचर्या थिए। साँझ पर्दै जाँदा फेरि गोरु फुकाएर घर फर्किन्थ्यो। शरीरभरि हिलो टाँसिएको हुन्थ्यो। आजकल पो सहर–बजारमा मड थेरापी चल्दैछ।
हातखुट्टा थाकेका हुन्थे। तर मन भने थाकेको हुँदैनथ्यो। किनकि दिनभरि सबैले मिलेर गरेको श्रममा एउटा छुट्टै आनन्द थियो।
आज असार १५ आउँछ। दही–चिउरा छ, तर गाउँ छैन। बजारमा चिउरा किन्न पाइन्छ, दही फ्रिजमा तयार हुन्छ, केरा पनि वर्षैभरि पाइन्छ। एकछिनमै दही–चिउरा तयार हुन्छ। तर त्यो पहिलेको जस्तो स्वाद किन आउँदैन?
सायद स्वाद चिउरामा थिएन। त्यो त ढिकीको ‘भक्र्याई… ताई… भक्र्याई… ताई…’ भन्ने लयमा थियो।
हजुरआमाले तामाको ताउलोमा उसिनेको धानको बास्नामा थियो।
आमाले ‘गोरुलाई अगेरी खान नदिनू है’ भनेर गरेको चिन्तामा थियो।
हजुरबाले बुनेको स्याखु र छत्रीमा थियो।
भागीरथी माईको मन्दिरमा औँजुलीले चढाएको पानीमा थियो।
खेतकै नजिक तीन ढुङ्गाको चुलोमा पाकेको दाल–भातमा थियो।
गोरुको घाँटीमा झुन्डिएको घण्टीको आवाजमा थियो।
त्यो स्वाद गाउँको जीवनमा थियो।
आज फेरि गाउँ पुग्दा धेरै कुरा बदलिएका छन्। ढिकी धेरै घरबाट हराइसकेको छ। भकारी रित्तिएका छन्। गोरु जोत्ने खेतमा ट्र्याक्टर गुड्न थालेका छन्। रोपाइँको मेलोभन्दा मोबाइलको घण्टी धेरै बज्छ। तीन ढुङ्गाको चुलोको धुवाँ हराएको छ।
तर एउटा कुरा अझै हराएको छैन; स्मृति।
आँखा चिम्लिँदा आज पनि हजुरआमाको आवाज सुनिन्छ— ‘उठ त बाबु, आज धान उसिन्नुपर्छ…’
आमाको त्यो चिन्ता सम्झिन्छु— ‘गोरुलाई राम्ररी लैजानू है…’
अनि ढिकी फेरि कानमा बोल्न थाल्छ— ‘भक्र्याई… ताई… भक्र्याई… ताई…’
त्यो आवाजसँगै म फेरि सानो बालक बन्छु। फेरि गोरुको पछिपछि जंगलको बाटो हिँड्न थाल्छु। फेरि भागीरथी माईलाई पानी चढाउँछु। जंगलको बनदेवीलाई पाती चढाउँछु। फेरि खेतको कान्लामा बसेर नुन बिलोनाको दालसँग भात खान्छु।
तिनै गाउँले पल सम्झिन्छु; केवल स्मृतिमा सम्झिन्छु।
असार १५ दही–चिउरा खाने दिन मात्र कहिल्यै थिएन। यो किसानको पसिनाको सम्मान गर्ने दिन थियो। गोरुको श्रम सम्झिने दिन थियो। हजुरआमा–हजुरबाको माया सम्झिने दिन थियो। गाउँले आत्मीयता र सहकार्यको संस्कृति सम्झिने दिन थियो।
हामीले आफ्नो गाउँ बिर्सनु हुँदैन। किनकि गाउँ केवल एउटा ठाउँ होइन, हाम्रो जरा हो। हाम्रो पहिचान हो। हाम्रो हिमवत् संस्कृति हो।