नेपाल प्राकृतिक प्रकोपप्रति अत्यन्तै संवेदनशील देश हो। नेपालमा हुने प्रमुख प्राकृतिक विपद्हरूमध्ये चट्याङ हरेक वर्ष दोहोरिने र ठूलो मानवीय क्षति गराउने प्राकृतिक विपद् हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनअनुसार चट्याङका घटनाहरूबाट सो अवधिमा ४८ जनाले ज्यान गुमाए, ३१२ जना घाइते भए र ५२२ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भए। हरेक वर्ष दोहोरिने यो दुःखद घटना कुनै संयोग होइन।
हरेक वर्ष तराई क्षेत्रमा पूर्व–मनसुनको तीव्र गर्मी सुरु हुनासाथ र हावाको दिशा परिवर्तन हुन थालेपछि नेपालमाथिको वायुमण्डलमा चुपचाप र अदृश्य रूपमा चट्याङको जोखिम भरिन थाल्छ। बादलमा सञ्चित भएको इलेक्ट्रिक चार्ज चार प्रकारका चट्याङहरूका रूपमा विसर्जित हुन्छ: बादलभित्र, बादलदेखि बादल, बादलदेखि हावा र बादलदेखि जमिन।
उल्लेखित चारमध्ये पहिलो तीन प्रकारका चट्याङले करिब ७०–८० प्रतिशत हिस्सा ओगट्छन्, जुन सबै आकाशमै हुने गर्छन् र हामीले चमकयुक्त प्रकाशको रूपमा देख्न र गर्जनको आवाजका रूपमा सुन्न सक्छौँ। सामान्यतया यस प्रकारका चट्याङहरूबाट कुनै सुरक्षा जोखिम रहँदैन, बरु यसले वायुमण्डलमा रहेको नाइट्रोजनलाई बिरुवाले उपयोग गर्न सक्ने रूपमा परिवर्तन गर्न सहयोग गर्छ, जसले माटोको उर्वराशक्ति बढाई बाली तथा वनस्पतिको वृद्धि र उत्पादनमा टेवा पुर्याउँछ।
तर यिनीहरू चेतावनी प्रणाली पनि हुन्; जब गर्जन सुनिन्छ, तब चौथो घातक प्रकारको मौसमीय घटनाको सम्भावना धेरै टाढा हुँदैन। मानवीय र संरचनात्मक क्षति बादलदेखि जमिन चट्याङका कारण हुने गर्छ।
चट्याङ पर्दा के हुन्छ?
चट्याङको मार्ग एक क्षणका लागि (३० देखि १०० माइक्रोसेकेन्ड) ३०,०००°C सम्म तात्छ, जुन सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी हो। यति उच्च तापक्रममा हावा प्लाज्मामा परिणत भई उज्यालो प्रकाश उत्सर्जन गर्छ। यही कारणले हामी चट्याङको चम्किलो प्रकाश देख्छौँ। साथै उच्च तापक्रमले हावालाई एक्कासि अत्यन्त तीव्र गतिमा फैलाउँछ र शक्तिशाली आघात तरङ्ग उत्पन्न हुन्छ।
यही शक वेभ नै हामीले गर्जन (थन्डर) का रूपमा सुन्छौँ। चट्याङको एउटा चम्काइमा १ देखि १० अर्ब जुल बराबर ऊर्जा हुन्छ। यो ऊर्जा १०० वाटको एउटा बत्तीलाई करिब ३–४ महिना लगातार बाल्न पुग्ने बराबर हो। चट्याङको क्रममा करिब ३०,००० देखि १,००,००० एम्पियरसम्म इलेक्ट्रिकल करेन्ट प्रवाह हुन्छ र सो क्रममा करिब १० करोडदेखि १०० करोड भोल्ट भोल्टेज उत्पन्न हुन्छ।
चट्याङले मानव शरीर र संरचनामा पार्ने प्रभाव
चट्याङ प्रत्यक्ष मानिसमा पर्दा मानिसको शरीरबाट करेन्ट प्रवाह हुन्छ। त्यस्तै, चट्याङ रुख, पोल वा जमिनमा परेको स्थानमा भू-विभव अत्यधिक उच्च हुन्छ र दूरी बढ्दै जाँदा भू-विभव तीव्र रूपमा घट्दै जान्छ। यदि चट्याङ परेको स्थान नजिक कुनै व्यक्ति उभिएको छ भने, उसको दुई खुट्टाबीच ‘पोटेन्सियल डिफ्रेन्सेस’ उत्पन्न भई मानिसको शरीरबाट करेन्ट प्रवाह हुन्छ।
यसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उत्पन्न करेन्टले शरीरको प्राकृतिक विद्युतीय सञ्चार प्रणालीमा गम्भीर असर पार्छ, जसले मुटुको धड्कन बन्द हुने (कार्डियाक अरेस्ट), सास रोकिने (रेस्पिरेटरी अरेस्ट), शरीर काम्ने वा बेहोस हुने अवस्था (सिजर), मस्तिष्कमा गम्भीर चोट (ट्रमाटिक ब्रेन इन्जुरी), मेरुदण्डमा चोट (स्पाइनल कर्ड इन्जुरी), स्मरणशक्ति हराउनु (एम्नेसिया) तथा अन्य गम्भीर स्नायुसम्बन्धी समस्या हुन सक्छ।
चट्याङ परेको स्थानबाट करिब १० मिटर (३० फिट) भित्र यो शक वेभको शक्ति करिब ५ किलोग्राम टीएनटी विस्फोटको दबाब बराबर हुन सक्छ। यसको दबाबले कानको जाली फुट्ने, श्रवणशक्ति कमजोर हुने वा अन्य शारीरिक चोट लाग्ने, आँखामा असर पर्ने तथा अत्यधिक नजिकको अवस्थामा फोक्सोमा समेत चोट पुग्न सक्छ।
यसका साथै यदि चट्याङ सिधै मानिसमा लाग्यो भने, त्यसको अत्यधिक तापका कारण छाला र शरीरका बाहिरी तन्तुहरूमा रहेको पानी तुरुन्तै बाफमा परिणत हुन्छ। यसबाट उत्पन्न हुने उच्च दबाबले गम्भीर जलन, शरीरका तन्तु च्यातिने तथा कपडा च्यातिने वा जलेर नष्ट हुने अवस्था सिर्जना गर्न सक्छ।
यसरी चट्याङको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावका कारण मानिसको ज्यानसमेत जान सक्छ। सिधै, उचित चट्याङ सुरक्षा प्रणाली नभएको संरचनामा चट्याङ पर्दा आगलागी, संरचनात्मक क्षति र जनधनको ठूलो नोक्सानी हुन सक्छ।
नेपालमा चट्याङको उच्च जोखिमका कारणहरू
नेपालमा चट्याङको उच्च जोखिम हुनुका पछाडि यसको विशिष्ट भौगोलिक बनावटसँग सम्बन्धित निम्न प्रमुख वैज्ञानिक कारण छन्।
भू–आकृतिक प्रभाव (ओरोग्राफिक ट्रिगर)
हिमालयको अग्लो पर्वतशृङ्खलाले विशाल पर्खालको काम गर्छ। भारतीय महासागर र बंगालको खाडीबाट आएको न्यानो र आर्द्र हावा सिवालिक र मध्य पहाडका फेदीमा ठोक्किएपछि माथितिर उक्लन बाध्य हुन्छ। यसरी हावा तीव्र गतिमा माथि उठ्दा छिट्टै चिसिन्छ र त्यसमा भएको जलवाष्प सङ्घनित भई ठूला तथा अस्थिर क्युमुलोनिम्बस वा गर्जनयुक्त बादलहरू बन्न थाल्छन्, जसले चट्याङ उत्पन्न हुने अनुकूल वातावरण तयार गर्छ।
वायुमण्डलीय चिम्नी (एट्मसफेरिक चिम्नी)
उच्च हिमाली क्षेत्रको अत्यन्त चिसो तापक्रम र तलका तातो तराईबीचको ठूलो तापक्रम अन्तरले शक्तिशाली संवहन (कन्भेक्सन) सिर्जना गर्छ। घामले जमिनलाई ताताउँदा उच्च सिएपिई (कन्भेक्टिभ एभाइलेबल पोटेन्सियल इनर्जी) सहितको बलियो संवहनीय प्रवाह विकसित हुन्छ, जसले आर्द्र हावालाई तीव्र रूपमा माथितर्फ तान्छ।
तीव्र सूक्ष्म–भौतिक प्रक्रिया (भायोलेन्ट माइक्रो-फिजिक्स)
यी उच्च ऊर्जा भएका बादलभित्र शक्तिशाली उर्ध्वगामी हावाले बरफका कण र साना असिनालाई एकअर्कासँग तीव्र रूपमा ठोक्काउँछ। यस घर्षणका कारण इलेक्ट्रोनहरू छुट्टिन्छन् र बादलभित्र इलेक्ट्रिक चार्जमा विभाजन हुन्छ। इलेक्ट्रिक चार्ज लगातार सञ्चित हुँदै जाँदा उच्च भोल्टेज उत्पन्न हुन्छ। अन्ततः त्यो ऊर्जा विपरीत चार्ज वा जमिनतर्फ चट्याङका रूपमा विसर्जित हुन्छ।
यी सबै अवस्थाहरू नेपालका केही निश्चित क्षेत्रमा बढी केन्द्रित हुन्छन्। विशेष गरी पूर्वी तथा मध्य तराई, सिवालिक क्षेत्र र तल्लो पहाडी भूभाग (विशेषतः झापा, उदयपुर र मकवानपुर जिल्लाहरू) चट्याङबाट सबैभन्दा बढी प्रभावित हुन्छन्। यी क्षेत्रमा बंगालको खाडीबाट पर्याप्त मात्रामा आर्द्रता आउने, जमिनको सतह अत्यधिक तात्ने तथा तीव्र गर्जनयुक्त बादल बन्ने अनुकूल अवस्था रहने भएकाले चट्याङका घटना बढी हुने गर्छन्। यसको विपरीत, उच्च हिमाली क्षेत्र अत्यधिक चिसो र सुख्खा हुने तथा पश्चिमी नेपालमा मनसुनी आर्द्रता (ह्युमिडीटी) तुलनात्मक रूपमा कम पुग्ने भएकाले त्यहाँ पूर्वी नेपालको तुलनामा चट्याङ कम पर्ने गर्छ।
चट्याङ सुरक्षा सम्बन्धी मापदण्ड
भौतिक पूर्वाधारहरू निरन्तर विस्तार भइरहेका छन्। बढ्दो उचाइसहित यस्ता पूर्वाधारहरूले बादलमाथि जम्मा भएको चार्ज विसर्जित हुने मार्ग प्रदान गर्छन्। चट्याङ सुरक्षा मापदण्ड पालना नगरेको खण्डमा चट्याङले असीमित शक्तिले पूर्वाधारहरूमा क्षति पुर्याउने गर्छ।
चट्याङ सुरक्षासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरू रहेका छन्। नेपाल राष्ट्रिय भवन संहिता (एनबिसी), आइईसी ६२३०५ श्रृङ्खला (भाग १–५) र एनएफपिए ७८० जस्ता मापदण्डहरूले कुनै विशेष पूर्वाधारलाई कस्तो प्रकारको सुरक्षा प्रणाली जडान गर्न र त्यसको चट्याङ सुरक्षा स्तर (लाइटनिङ प्रोटेक्सन लेभल– एलपिएल I देखि IV) कति रहने भनी निर्धारण गरेका छन्। बाहिरी चट्याङ सुरक्षाका लागि ‘रोलिङ स्फेयर मेथड’ र ‘मेश मेथड’ जस्ता विधिहरू प्रयोग गरिन्छ।
रोलिङ स्फेयर मेथडमा चट्याङ प्रहारको स्ट्राइकिङ डिस्टान्स बराबर रेडियस भएको एउटा काल्पनिक गोला भवन वरिपरि घुमाइएको मानिन्छ। यो काल्पनिक गोला भवनको कुनै पनि भागसँग सम्पर्कमा आउन सक्ने क्षेत्रलाई प्रत्यक्ष चट्याङ लाग्न सक्ने जोखिमयुक्त क्षेत्र मानिन्छ। त्यस्ता जोखिमयुक्त बिन्दुहरूमा एयर टर्मिनल (लाइटनिङ स्पाइक/रड) स्थापना गरिन्छ। मेश मेथडमा भवनको छाना तथा अन्य बाहिरी सतहमा चालक (कनडक्टर्स) को जाली (ग्रिड) प्रणाली स्थापना गरिन्छ। लाइटनिङ स्पाइक र मेशले चट्याङबाट उत्पन्न विद्युत् करेन्टलाई डाउन कन्डक्टर्समार्फत भवनको बाहिरी भाग हुँदै जमिनमा जडान गरिएको अर्थिङ सिस्टम (ग्राउन्डिङ इलेक्ट्रोड/पिट) सम्म जोडी सुरक्षित रूपमा प्रवाह हुने मार्ग प्रदान गर्छ।
आन्तरिक चट्याङ सुरक्षाका लागि, मापदण्डहरूले सबै धातु संरचना, विद्युतीय प्रणाली तथा अन्य चालक भागहरूबीच इक्युविपोटेन्सियल बन्डिङ कायम गर्न र सर्ज प्रोटेक्टिभ डिभाइसेस (एसपिडी’एस) स्थापना गर्न अनिवार्य व्यवस्था गरेका छन्। यसले चट्याङबाट उत्पन्न हुने क्षणिक उच्च भोल्टेज (ट्रान्जिट ओभरभोल्टेज) का कारण हुने साइड फ्ल्यास तथा भवनको विद्युतीय तार प्रणालीमा उत्पन्न हुन सक्ने हानिकारक स्पार्किङबाट सुरक्षा प्रदान गर्छ।
यसरी भवन संरचना र त्यसमा रहेका विद्युतीय प्रणालीलाई चट्याङबाट हुने क्षतिबाट सुरक्षित राख्न मद्दत पुग्छ।
चट्याङबाट जोगिने उपाय
कपाल ठाडो हुनु, छालामा झमझमाहट महसुस हुनु वा धातुका वस्तुहरूबाट हल्का आवाज (गुञ्जिने वा चर्किने) आउन थाल्नु प्रकृतिले दिएको अन्तिम चेतावनी हो। यसको अर्थ, वरपरको विद्युतीय क्षेत्र अत्यधिक बढिसकेको छ र चट्याङ जुनसुकै बेला प्रहार हुन सक्छ। उल्लेखित अवस्थामा चट्याङबाट बच्न निम्नानुसारका उपायहरू अपनाउनु पर्दछ।
३०–३० नियम पालना गर्नुहोस्
जब चट्याङ चम्किएको देखिन्छ, त्यसपछि गर्जन सुन्न लाग्ने समय गन्नुहोस्। यदि चट्याङ देखेपछि ३० सेकेन्ड वा सोभन्दा कम समयमा गर्जन सुनिन्छ भने, त्यसको अर्थ मेघगर्जनसहितको बादल (थन्डरस्टर्म) करिब १० किलोमिटरभित्र रहेको छ। यस्तो दूरीमा खतरनाक बादल–देखि–जमिन चट्याङ पर्न सक्ने जोखिम रहने भएकाले तुरुन्त सुरक्षित आश्रयस्थलमा जानुपर्छ। साथै, अन्तिम पटक गर्जन सुनेपछि पनि कम्तीमा ३० मिनेटसम्म बाहिर ननिस्कनुहोस्, किनकि बादल टाढा गएको जस्तो देखिए पनि चट्याङको जोखिम रहिरहन सक्छ।
सुरक्षित आश्रयस्थल
निम्न संरचनाहरूलाई चट्याङबाट सुरक्षित मानिन्छन्-
- स्थायी भवन, जसमा पानीका पाइप तथा विद्युतीय तारजडान भएको संरचना हुन्छ र चट्याङको विद्युत् शक्तिलाई संरचनामार्फत सुरक्षित रूपमा जमिनसम्म पुर्याउन सक्छ।
- झ्याल बन्द गरिएको पूर्ण रूपमा बन्द धातुको सवारी साधन।
- व्यावसायिक विमानहरू पनि सुरक्षित हुन्छन्। विमानको धातुको बाहिरी आवरणले फराडे केजको रूपमा काम गर्छ, जसले चट्याङको विद्युत् धारालाई यात्रुहरूलाई असर नगरी विमानको बाहिरी सतह हुँदै प्रवाह गराउँछ।
तर पाल (टेन्ट), खुला प्रतीक्षालय (ओपन वेटसङ शेड), साइकल वा मोटरसाइकल जस्ता स्थानहरूले चट्याङबाट प्रभावकारी सुरक्षा प्रदान गर्दैनन्।
घरभित्र हुँदा अपनाउने सावधानी
चट्याङ परेको समयमा यदि घरभित्र हुनुहुन्छ भने निम्न सुरक्षा सावधानीहरू अपनाउनु पर्दछ-
- प्लगमा जोडिएका विद्युतीय उपकरण नचलाउने।
- नुहाउने, धारा प्रयोग गर्ने वा पानीका पाइप वा धातुका वस्तुसँग सम्पर्क हुने काम नगर्ने।
सुरक्षित आश्रयस्थल बाहिर भएको खण्डमा
- यदि चट्याङको समयमा बाहिर हुनुहुन्छ भने तत्काल सुरक्षित आश्रयस्थल जानुहोस्। यदि त्यस्तो सुरक्षित आश्रयस्थलमा जान सम्भव छैन भने, निम्न सुरक्षा उपायहरू अपनाउनुहोस्-
- सम्भव भएमा होचो स्थान खोज्नुहोस्।
- एक्लो अग्लो रुख, बिजुलीको पोल, टावर वा अन्य अग्ला वस्तुको नजिक नबस्नुहोस् र सकेसम्म ती वस्तुहरूबाट दूरी कायम गर्नुहोस्।
- खुट्टा जोडेर, टाउको निहुराएर र शरीरलाई सकेसम्म सानो बनाएर बस्नुहोस्।
जमिनमा सिधै पल्टिनु हुँदैन, किनकि यसले शरीर र जमिनबीचको सम्पर्क क्षेत्र बढाउँछ र जमिनभित्र बग्ने विद्युतीय धाराले शरीरमा प्रवेश गर्ने सम्भावना बढाउँछ।
चट्याङ पूर्वसूचना प्रणाली
नेपालमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न चट्याङ पहिचान तथा पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको छ। यस प्रणालीअन्तर्गत देशभर जडान हुने सेन्सरहरूले चट्याङ पर्दा उत्पन्न हुने विद्युत्चुम्बकीय सङ्केतलाई निरन्तर मापन गर्छन्। त्यसपछि प्रणालीले टाइम अफ एराइभल (टिओए) र डिरेकस्न फाइन्डिङ (डिएफ) प्रविधि प्रयोग गरेर चट्याङ कहाँ परेको हो, कस्तो प्रकारको हो (बादलदेखि जमिन वा बादलभित्र), यसको तीव्रता कति छ र कुन दिशातर्फ सर्दैछ भन्ने पत्ता लगाउँछ।
यस जानकारीलाई मौसम रडार र उपग्रहको तथ्याङ्कसँग जोडेर आँधी–मेघगर्जन कुन दिशातर्फ र कति गतिमा सर्दैछ भन्ने अनुमान गरिन्छ। यसबाट आगामी ५ देखि ३० मिनेटभित्र कुन क्षेत्रमा चट्याङ पर्न सक्ने सम्भावना छ भन्ने जानकारी प्राप्त हुन्छ। यस प्रकारको सफल प्रणालीको उदाहरण दामिनी– लाइटनिङ अलर्ट हो, जसलाई भारतको इन्डियन इन्स्टिट्युट अफ ट्रोपिकल मेटेओरोलोजी (आइईटिएम) ले विकास गरेको हो। नेपालमा आउने अधिकांश आँधी–मेघगर्जन भारततर्फबाट प्रवेश गर्ने भएकाले नेपालको चट्याङ पहिचान तथा पूर्वसूचना प्रणालीलाई भारतको प्रणालीसँग एकीकृत गर्न सके सीमावर्ती क्षेत्रका बासिन्दाले अझ छिटो र बढी सटीक पूर्वसूचना प्राप्त गर्न सक्छन्।
अन्तमा:
चट्याङबाट हुने क्षति न्यूनीकरण गरी सुरक्षित नेपाल निर्माण गर्न निम्न समन्वयात्मक कदमहरू आवश्यक छन्:
- स्थानीय स्तरका पूर्वसूचना प्रणालीमा वास्तविक समयको चट्याङ पहिचान गर्ने सञ्जाल समावेश गर्ने,
- भौतिक पूर्वाधारहरू निर्माणको क्रममा चट्याङ सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्ने,
- तथा चट्याङबाट जोगिने सुरक्षा उपायहरूबारे समुदायस्तरमा व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्ने।
(लेखक नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक (इलेक्ट्रिकल) हन्।)