अत्यधिक नुन, चिनी र चिल्लो पदार्थको प्रयोग भएको, खानेकुरालाई लामो समयसम्म ताजा र आकर्षक देखाउन विभिन्न अखाद्य पदार्थ अथवा रसायनको प्रयोग भएको, खानेकुरालाई आकर्षक खोलमा प्याकेजिङ गरिएको र बजारमा जताततै सजिलै उपलब्ध हुने, शरीरलाई हानी गर्ने खानेकुरालाई पत्रुखाना अथवा अंग्रेजीमा जंकफुड भनिन्छ।
यस्ता खानेकुराहरूमा क्यालोरीको मात्रा बढी तर प्रोटिन, भिटामिन, मिनरल्स र अन्य पौष्टिक तत्त्वहरूको कमी हुन्छ अर्थात् बालबालिकाहरूको बढ्दो उमेर सँगै हुने वृद्धि विकासका लागि चाहिने तत्त्वहरूको कमी हुन्छ। पत्रुखानाको प्रयोग सबै उमेरका मानिसहरूले गर्ने गरेका छन् तर विशेष गरेर बालबालिकाहरूमा यसको प्रयोग बढी देखिन्छ।
सन् २०१७ मा काठमाडौँ उपत्यकामा १२ देखि २३ महिना उमेर समूहका ७४५ बालबालिकामाथि गरिएको एक अध्ययनले लगभग सबै बालबालिकाले अस्वास्थ्यकर खाजा र पेय पदार्थहरू उपभोग गर्ने गरेको देखाएको थियो। विद्यालय जाने उमेरका बालबालिकाहरूले यस्ता खानेकुराहरू अझै बढी प्रयोग गर्ने गरेको पाइन्छ।
पत्रुखानाको उपभोग बढी हुनुको कारणमा मुख्यतः यसको स्वाद नै रहेको छ। एक पटक खाएपछि फेरि पनि खाऊँ-खाऊँ लाग्ने खालको मिठासले गर्दा बालबालिकाहरू यसतर्फ आकर्षित हुन्छन्। अर्को तर्फ कम मूल्यमा जताततै उपलब्ध हुने भएकोले पनि यसको माग बढ्दो छ। पत्रुखानालाई बढवा दिनमा आकर्षक विज्ञापनले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
चितवनमा केटाकेटीहरूमा गरेको एउटा अध्ययनमा केटाहरूले भन्दा केटीहरूले पत्रुखानाको प्रयोग बढी गरेको देखाएको छ। ९०% ले स्वादका कारण पत्रुखाना मन पराउने गरेको, ४४.४% ले बनाउन सजिलो हुने भएकोले कारण पत्रुखाना खाएको, त्यसै गरी १५.५% ले आकर्षक विज्ञापनका कारण पत्रुखाना मन पराएका, ३१.७% ले साथी संगतले गर्दा र २९.६% ले अरू खानेकुरा उपलब्ध नभएको कारणले गर्दा पत्रुखाना खाएको बताएका छन्। पत्रुखाना मध्येमा पनि सबैभन्दा बढी खानेमा चाउचाउ र चटपटे, त्यसपछि पानीपुरी, दुनोट, चकलेट, बिस्कुट, आइसक्रिम र चिसो पेयपदार्थ आदि रहेका छन्।
यस्ता किसिमका पत्रुखानाको पटक पटकको सेवनबाट बालबालिकाहरूमा विभिन्न किसिमका समस्याहरू देखा परिराखेका छन्। जंकफुडमा मोनोसोडियम ग्लुटामेटको प्रयोग हुने भएकोले यसको लामो समयसम्मको प्रयोगले टाउको दुख्ने, मोटोपनको समस्या, मांसपेशीहरू दुख्ने, कलेजोमा, पेटमा समस्या रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्याहरू पनि आउन सक्ने विभिन्न अध्ययनले बताएको छ।
खानामा चिल्लो, नुन, चिनी, क्यालोरीको मात्रा बढी हुने र बच्चाहरूले यस्तै खानेकुरा बढी स्वाद लिएर खाने तर दूध, फलफूल, तरकारी खानमा पटक्कै रुचि नदेखाउने भएकाले उनीहरूको शरीरमा पौष्टिक तत्त्वको कमी हुन जान्छ जसले गर्दा बच्चामा पेट दुख्ने, बान्ता हुने, पेट फुल्ने र दिसा गोटा पर्ने जस्ता समस्याहरू आउँछन्।
अर्को तर्फ खानामा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस जस्ता खनिजको कमीले गर्दा हड्डी कमजोर हुने र छिट्टै भाँच्चिने डर हुन्छ। विभिन्न किसिमका रङहरूको प्रयोग साथै खानेकुरालाई लामो समयसम्म बिग्रिन नदिन त्यसमा राखिने रसायनले गर्दा खानेकुरालाई आकर्षक देखाए पनि यस्ता खानेकुराको सेवन शरीरलाई घातक सिद्ध हुन सक्छ।
त्यस्तै चकलेट, कोक, फ्यान्टा जस्ता पदार्थमा अत्यधिक चिनीको प्रयोग हुने र यस्ता खानेकुराको प्रयोगबाट दाँतसँग सम्बन्धी समस्याहरू जस्तै दाँत किराले खाने, सड्ने, मुख गन्हाउने जस्ता समस्या देखिन सक्छ। रगतमा चिनीको घटबढले बच्चाहरूमा मुड स्विङ हुने, कक्षाकोठामा क्रियाकलापमा कम सहभागी हुने साथै अरू काममा पनि एकाग्रता कम हुने हुन्छ। फेरि पेय पदार्थमा हुने क्याफिनको सेवनले गर्दा निन्द्राको चक्रलाई पनि असर गर्दछ।
नियमित पत्रुखानाको सेवनबाट बच्चाहरूमा मोटोपनको समस्या देखिन सक्छ। शरीर मोटाउनु भनेको दीर्घकालीन समस्या जस्तै हृदयरोग, रक्तचाप बढ्ने, मधुमेह जस्ता रोगहरू निम्त्याउनु हो। साथै मोटोपनको कारणले बच्चाको दैनिक क्रियाकलापमा नकारात्मक असर पर्न जान्छ। उनीहरूलाई बस्न, उठ्न, दौडन, कुद्न कठिनाइ हुन सक्छ।
विद्यालयमा हुने क्रियाकलापहरूमा कम सहभागी हुने हुनाले उनीहरूको आत्मसम्मानमा कमी आउने, केही काम गर्न परेमा आँट, हिम्मत नआउने, सधैँभरि डर लागिरहने हुन सक्छ। पछि गएर चिन्ता बढ्दै जाँदा उदासीनताको (डिप्रेसन) समस्या पनि आउन सक्छ। यदि उदासीनताको समस्या बढ्दै गएमा विद्यालयमा उपस्थित हुन गाह्रो हुने, पढाइ-लेखाइमा ध्यान नजाने, साथीभाइसँग, आफन्तहरूसँग घुलमिल नहुने र सामाजिक क्रियाकलाप देखा पर्न नचाहने हुन्छ। यसले आत्महत्याको जोखिम पनि बढाउँछ।
पत्रुखानाको प्रयोगमा व्यापकता सँगै स्वास्थ्यमा पनि जटिल असर परेको छ। त्यसैले यसको प्रयोगमा नियन्त्रण गर्नुपर्ने बेला आएको छ। पत्रुखानाको प्रयोगबाट हुने जोखिमलाई कम गर्न एक त यसको सजिलै उपलब्धतामा रोक लगाउनु पर्छ। विभिन्न आकर्षक विज्ञापनहरूको प्रसारणमा रोक लगाउनु पर्छ। कतिपय अभिभावकहरूले विज्ञापनमा देखाएकै भरमा बच्चाको स्वास्थ्यमा राम्रो गर्छ भन्ने भ्रममा परेर ती खाद्यपदार्थ उपभोग गरेको पाइन्छ।
त्यसै गरी घरमा बच्चाले दाल, भात, तरकारी खान मानेन भनेर बच्चा भोकै पर्ने डरले कतिपय आमाहरूले बजारमा पाइने सस्तो, गुणस्तरहीन खानेकुरा खुवाउने गरेको पाइन्छ र कतिपयले त घरमा खाजा बनाउने झन्झटले गर्दा बच्चाहरूलाई पैसा दिएर पठाउने र चाउचाउ, बिस्कुट किनेर खाऊ भन्ने पनि प्रचलन छ। त्यस्तै बच्चा रोयो भने फकाउन चकलेट, चिप्स पनि दिने गरिएको छ जसले गर्दा आमाबुवाहरूलाई आफ्नो सन्तानलाई मन्द विष दिएको पत्तो हुँदैन।
यसरी सधैँभरि बजारमा पाइने खानेकुरामा मात्रै बच्चाहरूलाई प्रोत्साहन गर्दा बच्चामा घरमा उपलब्ध हुने खानेकुराहरू जस्तै रोटी, पुवा, मकै, भटमास, जाउलो, दाल, भात, हरियो सागपात तथा फलफूल खाने चाहनामा कमी आउँछ। त्यसैले आमाबुवाहरूले आफ्ना बच्चाहरूको रुचि के खानेकुरामा छ भन्दा पनि कस्ता खानेकुराहरू खुवाउँदा उनीहरूको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा विचार गरी सोही अनुरूप खाना खुवाउने गर्नुपर्दछ।
बच्चाको उमेर अनुसारको वृद्धि विकासमा सहयोग पुर्याउने खानाहरू जसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फ्याट्सको मात्रा भरिपूर्ण होस्, त्यस्ता खानेकुरा मात्र खुवाउनु पर्छ। पत्रुखाना नियन्त्रणमा विद्यालयहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, सोको लागि विद्यालय परिसर भित्र र बाहिर पत्रुखाना बेच्न निरुत्साहित गर्न सकिन्छ।
बेलाबेलामा हुने गरेका स्वास्थ्य सम्बन्धी छलफलहरूमा विद्यालय रहेको ठाउँभन्दा ५० मिटर वरपरसम्म पत्रुखाना बेच्न नपाउने नियम लागु गर्ने भनेता पनि आवश्यक कार्यान्वयन हुन सकेको छैन। कतिपय सरकारी या निजी विद्यालयहरूमा त्यहाँ रहेका चमेनागृहहरूले चाउचाउ, बिस्कुट, चिप्स, चकलेट आदि बेच्ने गरेको पाइन्छ। विद्यार्थीहरूको स्वास्थ्यमा खेलबाड हुने यस्ता कार्यलाई तुरुन्तै बन्द गर्नु आवश्यक छ र विद्यालय प्रशासनले पनि यस्ता पक्षलाई ध्यान दिनु आवश्यक छ।
विद्यालयमा हुने यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न विद्यालय नर्सको भूमिका प्रभावकारी हुन सक्छ। हाल विभिन्न प्रदेश सरकारहरूले आफू मातहतका कतिपय विद्यालयहरूमा विद्यालय नर्सको व्यवस्था गरेको छ। विद्यार्थीहरूको पोषणको अवस्थाको लेखाजोखा गर्ने, उमेर अनुसारको तौल, उचाइ भए नभएको अनुगमन गर्ने, विद्यार्थीहरूमा कुपोषण भएको नभएको हेर्ने कार्य विद्यालय नर्सहरूबाट हुँदै आएको छ।
कतिपय निजी विद्यालयहरूमा पनि विद्यालय नर्सको व्यवस्था रहेको छ। हाम्रो देशमा भएका सम्पूर्ण विद्यालयहरूमा विद्यालय नर्स राख्ने व्यवस्था भएमा विद्यार्थीको खानपानमा आवश्यक सुधार ल्याउन र पत्रुखानाको उपभोगमा कमी ल्याउन उल्लेखनीय योगदान पुर्याउन सकिन्छ।
पत्रुखानाको नियन्त्रणमा सरकारी विद्यालयहरूमा प्रदान गरिने दिवा खाजाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ भने त्यस्ता खाजाहरूको माध्यमबाट विद्यार्थीहरूले केही मात्रामा भए पनि शारीरिक वृद्धि विकासमा सहयोग पुर्याउने प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्त्वहरू पाएका छन्।
शरीरलाई आवश्यक सन्तुलित आहारको कमीबाट हुने कुपोषणबाट बालबालिकाहरूलाई जोगाउन दिवा खाजाले उल्लेखनीय भूमिका खेलेको छ। त्यसैले बालबालिकाहरूको पोषण अवस्थामा सुधार ल्याउन सबै विद्यालयमा दिवा खाजाको व्यवस्था हुन र भएका विद्यालयहरूमा पनि अझ प्रभावकारी रूपमा यसको कार्यान्वयन गर्न आवश्यक छ।
अन्त्यमा, पत्रुखाना पूर्ण रूपमा निरुत्साहित गर्न राज्यको तहबाट नै जनचेतना जगाई यसको प्रयोग नियन्त्रण गर्नु जरुरी छ। अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई सानैदेखि पौष्टिक खाना खानको लागि प्रेरित गर्नु पर्छ।उपभोक्ताहरू पत्रुखानको नकारात्मक असर बारे बेलैमा सचेत हुन जरुरी देखिन्छ।