हजुरआमाले नाङ्लो केलाएको करेसाबारीमा कुटोले तरकारी गोडेको त्यो मलिलो माटो आज पनि मेरो सम्झनामा छ। मेरो मानसपटलमा त्यही माटोसँग खेल्दै गरेको धमिलो याद बनेर बाँचिरहेका छन्। अहिले पनि हजुरआमाको काखको न्यानोपनको महसुस ताजा भएर आउँछ।
मेरा बालापन हजुरआमाको न्यानोमै बित्यो। हरेक बिहान ‘नानी, अब उज्यालो भयो’ भनेर खुसुक्क ब्युँझाइदिने तपाईंको स्वर आज पनि मेरो कानैको वरिपरि बजिरहन्छ। तर हजुरआमाले यति धेरै माया गर्ने आफ्नालाई कसरी बिर्सिने चाहिँ किन सिकाउनुभएन होला?
कतिपय मानिसहरू समयसँगै टाढा जान्छन्। तर मेरो हजुरआमा त जति समय घर्कँदै छ उति नजिक हुनुभयो।
आमाबुवा भन्दा हजुरआमा पछ्याउने म र मेरो दिदीबहिनीहरू पनि थियौँ। मैले बुझ्ने भएदेखि र परिस्थितिले साथै भएदेखि बालापनका कुनै रात हजुरआमा बिना सुत्नुपरेको थिएन। हाम्रो बिछ्यौनाको सिरानी नजिकै सधैँ एउटा पुरानो सन्दुक हुन्थ्यो। त्यसमा राखिएका पुराना धोती, चोलो वर्षौँदेखिका नरिवल मिश्री जस्ता खाने कुरा ती सबैमा हजुरआमाको आफ्नै गन्ध मिसिएको हुन्थ्यो। त्यो गन्ध केवल कपडाको मात्रै थिएन। त्यो सुरक्षित बालापनको गन्ध थियो। हजुरआमाको ममताको गन्ध थियो।
हजुरआमाले सबै नातिनातिनालाई उत्तिकै माया गर्नुहुन्थ्यो। कहिल्यै कसैलाई चर्को स्वरले बोल्नुभएको मैले सुनेकै थिइन्। ‘अरूलाई तितो बचन नगर्नू है’ भनेर सम्झाइरहनु हुन्थ्यो। हजुरआमाको बोली नै यति मिठो थियो कि रिसाए पनि माया गरेजस्तै लाग्थ्यो।
म सहर पढ्न हिँड्ने बेला झोला उचाल्नै लाग्दा उहाँ ढोकासम्म आउनुहुन्थ्यो। अनि बिस्तारै भन्नुहुन्थ्यो-
‘नानी, सहरमा जो पायो उसैसँग मन दिएर नबोल्नु है।’
त्यो वाक्यमा डर थिएन। जीवनभर पुग्ने माया र चिन्ता थियो।
मलाई थाहा छ। तपाईंले आफ्ना दुःख धेरैलाई सुनाउनुभएन। हजुरआमाका जिन्दगीबाट टुटेका कुराहरू वहाँका आँखाका डिलसम्म आएका आँसुहरूले प्रस्ट बोल्थे। हजुरआमाले सुनाउनुहुन्थ्यो। यो मैले ओढेको सिरक डसना र यो सन्दुक मेरै बाले दिनुभएको हो। सायद आमोइलाई माइतीले दुःख पर्दा दिएको दाइजोमा खुब गर्व लाग्दो रहेछ।
आफू अन्मेर यो घर आएदेखि खपिनसक्नुको दुःख झेलेको कुरा पनि सुनाउनुहुन्थ्यो। जति दुःखको पहाड आइलागे पनि हजुरआमाले त्यही आँगन कुरेर बस्नुभएको थियो। सबैलाई माया बाँड्ने मानिसहरू भित्रभित्रै कति धेरै दुखेर बाँच्दा रहेछन् भन्ने कुरा मैले हजुरआमालाई हेरेर जानेकी छु।
हजुरआमा आज तपाईं हुनुहुन्न। हजुरआमा सुत्ने खाट उहीँ पुरानो सन्दुक छँदै छन्। घरको हरेक कुनामा, पुरानो कपडाको गन्धमा र करेसाबारीको माटोमा अनि मेरो बानी-ब्यहोरामा हजुरआमा अझै जीवित भएर बाँचिरहनुभएको छ।
म कसैसँग नरम स्वरमा बोल्छु भने त्यो तपाईं हो।
म कसैलाई दुःख नदिन खोज्छु नि त्यो तपाईंले सिकाएको संस्कार हो हजुरआमा।
मानिसहरू भन्छन् समयले सबैथोक बिर्साउँछ। तर समयले तपाईंलाई मबाट कसैगरी पनि बिर्साइदिन सकेन। झन् गहिरोसँग सम्झाइरह्यो। कतिपय सम्बन्धहरू मृत्युले टुटाउन सक्दो रहेनछ। ती सम्झनामा रूपान्तरित भएर जीवनभर साथ दिँदा रहेछन्।
हजुरआमा मेरो बालापनको सबैभन्दा सुरक्षित घर हुनुहुन्थ्यो। आज पनि थाकेका बेला मन फर्केर त्यहीँ घरमा पुग्छ। आज पनि कसैले अपमानको झटारो हान्दा म हजुरमाकै काखमा बजारिन पुग्छु। तपाईंको ती प्रेमिल शब्दहरू ‘आफूलाई दुःख दिनेहरूलाई पनि नराम्रो नगर, बचन नफर्काऊ’ भनेको सम्झन्छु।
सायद त्यसैले होला मलाई अपमान गर्नेहरूलाई पनि म चर्को स्वरले जवाफ दिन सक्दिनँ। म मौन बस्छु। किनकि तपाईंले सिकाउनुभएको थियो। सही समय आफैँ बोल्छ। रिस र आवेगले अरूलाई भन्दा पहिले आफैलाई सिद्ध्याउँछ। हजुरआमा, अहिले बुझ्दै छु घर भनेको केवल इँटा, सिमेन्ट र माटोको थुप्रो रहेनछ। घर त संस्कार रहेछ।
त्यो संस्कार, जुन तपाईंले आफ्नै व्यवहारबाट सिकाउनुभएको थियो।
मलाई विश्वविद्यालयले किताबका अक्षर पढायो होला तर मानिस भएर बाँच्न आवश्यक पाठ त तपाईंले सिकाउनुभएको थियो। कसैलाई होच्याएर आफू ठुलो नबन्नू र नरम व्यवहारले मन जित्न सकिन्छ, यो सबै हजुरआमाका जीवनका सिद्धान्त थियो।
मेरी निरक्षर हजुरआमाको जीवन आफैँमा एउटा दर्शन थियो। आफ्ना सन्तानलाई मसिनो बोली र व्यवहारले जीवनभर पुग्ने शिक्षा दिनुभयो।
आज संसारमा धेरै शिक्षित मानिसहरू भेटिन्छन्। तर तपाईं जस्तो संस्कारी मानिस कम भेटिन्छन्। किनकि शिक्षा प्रमाणपत्रमा लेखिन्छ तर संस्कार व्यवहारमा देखिन्छ। तपाईं भन्नुहुन्थ्यो नि ‘रिस त आगो हो नानी, पहिले आफूलाई पोल्छ अनि मात्र अरूलाई।’
त्यसैले होला, म आज पनि कसैलाई दुःख दिएर जित्न चाहन्नँ।
हजुरआमा, तपाईं अहिले साथमा नभए पनि मेरो जीवनशैलीमा तपाईं हुनुहुन्छ। म कसरी बोल्छु, कसरी सहन्छु र कसरी माफ गरिदिन्छु त्यसमा तपाईं अझै जीवित हुनुहुन्छ।
हजुरआमासँग आफ्नै फोन थिएन। म हरेक दिन बुवाको मोबाइलमा घण्टी बजाउँथेँ। हजुरआमाको हालखबर बुझ्नका लागि। किनकि मेरो लागि संसारमा सबैभन्दा धेरै सम्झिने र सबैभन्दा धेरै खोजिने मान्छे हजुरआमा नै हुनुहुन्थ्यो।
अघिल्लो दसैँदेखि हाम्रो भेट भएको थिएन। एक दिन फोन गर्दा तपाईंले बिस्तारै भन्नुभएको थियो, ‘नानी, त घर आइज न।’
मैले पनि हतारमै ‘हुन्छ’ भनेर फोन राखेँ।
यता मास्टर्स पहिलो वर्षको परीक्षा चलिरहेको थियो। समयले मलाई किताबको झोलासँगै जिम्मेवारीको घेराभित्र बाँधेको थियो।
म सोच्थेँ ‘परीक्षा सकिएपछि त गइहाल्छु नि…’ सायद तपाईंले अन्तिम पटक म पर्खिनुभएको रहेछ। यो कुरा तपाईंले संसार छाडेपछि मात्र थाहा पाएको थिए। अहिले पनि मनमा यही कुराले गहिरो घाउ बनाएको छ। हजुरआमाले हरेक दिन मेरो लागि खाना पकाउनु हुँदो रहेछ।
घरअगाडिको बाटोमा ‘आज मेरी नातिनी आउँछे कि’ भनेर कुर्नुहुँदो रहेछ।
सायद तपाईंको मनले अन्तिम पटक मलाई हेर्न खोजिरहेको थियो होला या केही बिसाउन खोज्नुभएको थियो होला तर म पुग्न सकेको थिइन्। त्यसको एक हप्तामै हजुरआमा परलोक भएको खबर आयो।
म भक्कानिएर रुने फुर्सदमा थिइनँ। त्यो खबर सुनेको केही क्षणमा म घाटसम्म त पुगेको थिएँ तर म पुग्दा मेरो प्यारो आमोईको चितामा आगो दन्किसकेको थियो। रुवाबासी र कोलाहलको त्यो दिनदेखि मेरो मनभित्र एउटा कहिल्यै नभरिने खालीपन छ।
आज पनि कहिलेकाहीँ लाग्छ। जीवनमा कतिपय प्रश्नहरू उत्तरबिना नै बाँच्दा रहेछन्। म हजुरआमाको मनको कुरा बिसाउने चौतारी थिएँ।
उहाँ आफ्ना दुःख, पीडा, चिन्ता र कहिलेकाहीँ मनभित्र लुकाएर राखेका आँसुहरू पनि मसँगै आएर पोख्नुहुन्थ्यो। उहाँका शब्दहरू मलाई सधैँ सफा पानीजस्तै लाग्थ्यो। तर त्यो शान्त पानीभित्र कति गहिरा वेदनाका छालहरू छचल्किरहेका थिए भन्ने कुरा महसुस गरेकी छु।
उहाँको जीवनले दिएका ठक्करहरू आफ्नै भनिएकाहरूले मनमा बनाएका गहिरा घाउहरू कहालीलाग्दो थिए। तर उहाँले कहिल्यै आफ्नो पीडालाई अरूमाथि थोपर्नु दिनुभएन। आफ्नो मन टुक्रिएको बेला पनि अरूलाई हाँसेर अँगाल्न सक्ने मानिसहरू दुर्लभ हुन्छन्।
२०७२ सालमा हजुरआमा काठमाडौँ आउनुभएको थियो। त्यही वर्ष वैशाख १२ को भूकम्प आयो। धरती हल्लिएको त्यो भयावह रात मसँगै बिताउनुभयो। बाहिर सहर डरले काँपिरहेको थियो। तर तपाईंको काखमा भने अझै पनि सुरक्षाको अनुभूति थियो। तपाईं मसँग हुँदा असाध्यै खुसी हुनुहुन्थ्यो। सानो कुरा पनि मायाले सम्झाउनुहुन्थ्यो।
आज सम्झँदा लाग्छ, सायद त्यो समय जीवनले दिएको अन्तिम सुन्दर अवसर थियो। जहाँ मैले तपाईंसँग नजिकबाट बाँच्न पाएको थिएँ।
मलाई लाग्छ दुःख लुकाएर मुस्कुराउन सक्ने हजुरआमा एक प्रेरक मान्छे हुनुहुन्थ्यो। वहाँले संसार छोडेपछि घरको आत्मा नै हराएजस्तो भयो। हरेक पटक दसैँमा घर जाँदा तपाइबिनाको घर सुनसान लागिरहन्छ। तपाईंले जीवनभर धेरै पीडा खप्नुभयो। महाभारतको द्रौपदी जस्तै निरीह महिला पात्र जसले आफ्नो न्यायका लागि भगवान् कृष्णमाथि चुपचाप भरोसा गरिरहिन्।
हजुरआमाले आफू उजाडिएर पनि हामीलाई माया दिन कहिल्यै थाक्नुभएन। त्यसैले त आज पनि मलाई संसारको सबैभन्दा न्यानो शब्द ‘हजुरआमा’ नै लाग्छ।
हजुरआमा बितेपछि पूरा एक वर्षसम्म हरेक रात सपनामा आउनुभयो। कहिले टाउकोमा हात राखेर आशीर्वाद दिनुहुन्थ्यो। कहिले पहिलेझैँ नरम स्वरमा बोल्नुहुन्थ्यो। सायद तपाईंका अपूरा माया र अपूरा शब्दहरू सपनामार्फत मसम्म आइरहेका थिए।
मानिसहरू भन्छन् नि समय ओर्लँदै गर्दा यादहरू पनि फिका हुन्छन्। तर तपाईंको सम्झना त झन् गहिरिँदै गयो। आज महसुस हुन्छ म हजुरआमाको मायाले भने संसारकै सबैभन्दा सम्पन्न मान्छे बनेकी छु। अहिले पनि मलाई दुःख पर्दा सपनामा आउनुहुन्छ र अर्तिबुद्धि दिनुहुन्छ। मेरी हजुरआमाले दिएको संस्कार, माया, धैर्यता र आशीर्वाद नै मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो।
आज पनि मन थाकेका बेला म आँखा बन्द गर्छु र लाग्छ कहीँ न कहीँ कुनै अवतारमा मेरो लागि अझै पनि एउटी हजुरआमा बाटो हेरेर बसिरहनुभएको छ। आज दशौँ पुण्यतिथिसम्म आइपुग्दा पनि हजुरआमा पितृ भइसक्नुभयो भन्ने कुरा मनले अझै स्वीकार गर्न सकेको छैन। मेरी प्यारी हजुरआमाको हुर्काइ, माया र ममताको वर्णन सायद शब्दहरूले कहिल्यै पूरा न्याय गर्न सक्दैनन्।
श्राद्ध भनेको मनमा बसेका आफन्तप्रति आदर गर्नु हो, सम्झनु हो वा धन्यवाद व्यक्त गर्नु हो। यदि श्राद्ध भनेको एक दिन आत्मा बोलाएर खानपिन गराई खुसी पार्नु मात्र हो भने, सधैँ सम्झनामा बस्ने मान्छेको माया र अभावलाई कुनै तिथि–मितिले कहिल्यै समेट्न सक्दैन।
मेरी प्यारी हजुरआमा समय बित्दै गयो। तपाईंको माया र सम्झना कहिल्यै घटेन। सधैँ सम्झनामा जीवित रहनुहुनेछ।