‘म एक हप्ता माइत जान्छु है। आमा निकै बिरामी हुनुभयो रे! के हो के हो, हिँड्न डुल्न सक्नुहुन्न रे! आज भाउजूले फोन गरिस्याथ्यो। फेरि तिजमा माइत त छोरीको अधिकार नै हो नि!’ उकलाले हातमा ल्याएको तातो पानीको गिलास खाटको सिरानमा राख्दै भनी।
उकलाको लोग्ने लगभग एक महिनादेखि ओछ्यान परेको थियो। एकदिन बिहानीको हिँडाइपछि घरभित्र भर्याङ चढ्दा ऊ चिप्लिएर लड्यो। उठ्दा शरीरको देब्रे पाटो फतक्क गलेको थियो। उकलाको गाली पुराण सुन्नुपर्ला भनेर उसले आफूलाई केही नभएको बतायो। त्यही दिनदेखि उसलाई अलिक असहज भयो। उसले सकी नसकी काम त गरिरहेकै थियो तर हिजो बेलुकादेखि अलिक बढी असहज भएको थियो।
उकालाको केही दिनअघि देखिकै योजना रहेछ। उसले आफ्ना लुगाफाटा झोलामा हालिसकेकी रहिछ। एकैछिनमा उसले पठाओ बोलाई र भनी, ‘खानेकुरा सबै छँदै छ। तरकारी ल्याउन सकिहालिसिन्छ। पकाएर खाँदै गर्नु है। म दुई/चार दिन आउँदिनँ। अनि यो खैरुलाई दानापानी चाहिँ दिन नभुल्नू नि। तीन पटक खानेकुरा दिनुपर्छ दिनमा।’
उकलाले घरमा पालेको खैरे कुकुरलाई सुमसुम्याई। मालिक्नी हिँड्न लागेको बुझेछ क्यारे त्यसले पनि पहिले पुच्छर हल्लायो र पछि रोक्न खोज्यो। उकलाले उसलाई उसकै खाना खाने प्लेटमा दाना हालिदिई र ल बस् है भन्दै ढोका लाएर बाहिर निस्की। खैरे उकलालाई हेर्दै धेरै बेर भुकिरह्यो र शिवभक्तका छेउमा गएर बस्यो। शिवभक्तले पानी खाएकै थिएनन्।
शिवभक्तलाई अर्को पनि पिर थियो। यसपालि जनैपूर्णिमामा गोसाईंकुण्ड जाने भनेर आफ्ना एक मात्र मामामाइजू र फुपू फुपाजुसहितको टोली त्यता गएको थियो। रसुवाको बाढीमा परी उनीहरू बेपत्ता भए। तेह्रौँ दिनमा कुशको शव बनाएर सद्गत गरियो तर त्यसमा पनि बिरामी परेर शिवभक्त जान सकेन।
आज भने उसलाई डाक्टरकहाँ जँचाउन जानुपर्ला जस्तो लागेको थियो। उकलाले माइत जाने योजना बनाई। शिवभक्तले यो कुरा सुनाउनै सकेन। ऊ भित्रभित्र जलेर पीडाको पिण्ड बनिसकेको थियो। उकलासँग दोहोरा बोल्नु भनेको घरमा ज्वालामुखी विस्फोट हुनुसरह थियो। नबोल्नुमा उसले शरीर र मन दुवैको शान्ति ठान्थ्यो।
मौनव्रत उसको जीवनसाथी बनेको थियो। छोराछोरी पढ्न भनेर विदेश गएका उतै घरजम गरेर बसे। घरमा पानी दिने मानिससम्म थिएन। बुढेसकालको सहारा भनिएका लोग्नेस्वास्नीको सोच पनि एकै थिएन। बुढो ओछ्यानमा लडिरह्यो, बुढी पठाओ चढेर माइत पुगी।
शिवभक्त दिनभर सुतिरह्यो। खाना बनाएर खान पनि सकेन। उसले शरीरमा रक्तचाप बढेको हो कि भन्ने महसुस गर्यो। जँचाउन जाने आँट थिएन। यसो थर्मसमा पानी हेर्यो। चिसो भइसकेको थियो। उसले चिसो पानी अलिकति पियो। खैरे अलिक पर ढोकाको छेउमा सुतेर बुढा तिरै हेरिरहेको थियो।
बुढाले खैरेलाई भने, ‘जा, दाना खा। बिहानको दाना नै खाइनस् क्यारे। म उठ्न सकेपछि तँलाई दाना थपिदिउँला। जा खा!’
खैरेले के बुझ्यो कुन्नि, जुरुक्क उठेर पुच्छर हल्लायो। उसको मालिक पानी पिउँदै थियो। एकपटक मालिकतिर हेर्यो र गएर खपाखप दाना खायो अनि फर्केर आई पहिलेकै ठाउँमा सुत्यो। शिवभक्त पनि खाटमा पल्टे।
शिवभक्तमा उकलाको फोन आउला र पुगे नपुगेको थाहा पाउँला भन्ने आस थियो, त्यो निराशामा परिणत भयो। हुन त उकालाले शिवरामलाई फोन बिरलै गर्थी र शिवरामको फोन पनि बिरलै उठाउँथी। शिवराम अरू दिन फोनको पनि त्यति वास्ता गर्दैनथ्यो। आज चाहिँ खै किन कुन्नि फोनमै भए पनि बोल्न मन लागेको थियो।
शिवराम खाटमा छटपटायो र खैरे ढोकाको छेउमा फटफटायो। शिवराले बाढीमा ज्यान गुमाएका आफन्त सम्झ्यो। उसलाई आफन्तले अब कतिन्जेल एक्लै बस्छस्, आइज तँ पनि हामीसँगै भने जस्तै लाग्यो। उसले कोल्टो फेर्यो र विगततिरको यात्रा सुरु गर्यो।
उकलालाई उसले रोजेर बिहे गरेको थियो। आजसम्म उसले गाली गरेको पनि थिएन। बरु उकलाले हजारौँ पटक तँ यस्तो र यस्तो भनेर गाली गरेकी थिई। उसलाई आज आफूसँग बसिदिएको भए हुन्थ्यो जस्तो लागेको थियो, तर त्यसो भएन।
कहिलेकाहीँ त छोराछोरीले पनि विदेशबाट फोन गर्थे। आज त फोन पनि आएन। अँध्यारो रातमा शिवरामले नितान्त एक्लो महसुस गर्यो। मनको भाषा बुझे पनि खैरै बोल्न सक्दैनथ्यो। बेलाबेला कुइँ गरेर मालिकको हाल बुझ्थ्यो। शिवरामले आज सपना देखेन। विगतको कल्पना र आगतको त्रासले उसलाई झस्काइरह्यो। रात बित्यो।
बिहान सात बजेतिर शिवराम उठ्यो र पिसाब फेर्न गयो। शौचालयमा अजाट्टिएर झन्डै लडेको थियो तर भित्ताले बचायो। आज महिलाको चाड तिज पनि हो। छोरी विदेशमै थिई, आउने कुरै भएन। पत्नी माइत गइहाली। घरमा पकाइदिने अरू कोही थिएनन्। शिवरामले भान्सामा पसेर पानी तताउन र खाना बनाउन सकेन।
खैरे अघिपछि गर्दै थियो। सधैँ मालिक्नीले चिया पकाउँदा ऊ पनि भान्सामा सघाउँला झैँ गरेर पस्थ्यो। आज भान्साको ढोका खुलेन। उसलाई पनि नौलो लागेछ क्यारे, एक पटक अनौठोसँग करायो।
‘ए तँलाई भोक लाग्यो? आइज म दाना दिन्छु,’ शिवरामले हँ हँ गर्दै खैरेलाई दाना हालिदिए। उसले दानातिर हेर्यो, मालिकको मुखतिर पनि हेर्यो तर दाना खाएन। शिवराम खाटमा आएर पल्टे।
शिवराम दिनभर नै सुतिरहे। घरीघरी हँ हँ आवाज आउँथ्यो। आवाज आउँदा खैरे ठाडो मुन्टो लाएर मालिकतिर हेर्थ्यो। मालिकको कुनै प्रतिक्रिया नआएपछि कुइँय्य गर्थ्यो र ऊ पनि निदाएझैँ गर्थ्यो। हेर्दाहेर्दै झमक्क रात पर्यो। घरमा बत्ती बलेन। आज उसले पहिलो पटक साँझ बत्ती नबलेको आफ्नो घर देख्यो। उसले पनि आज मालिक्नीको खोजी गर्यो।
राती नौ बज्न लागेको थियो, खैरे खुब छटपटायो। सायद उसलाई पनि पानी खान मन लागेको थियो होला। उसले नजिकैको गिलासमा हेर्यो, पानी थिएन। दुई/चार चोटि उसलाई दिएको दानाको प्लेटमा पुग्यो तर दाना खाएन। फेरि आएर मालिकलाई हेर्यो। खुट्टाले चलाइहेर्यो। मालिकले कुनै चाल देखाएन। खैरे फेरि दानाको प्लेटमा पुग्यो र एकछिन हेरिरह्यो।
बाहिर चालचुल कम भयो। छिमेकीका घरमा पनि बत्ती निभे। झ्यालबाट आकाशका तारा टिलपिलाएको देखिन्थ्यो, बाँकी सुनसान थियो।
खैरेले पनि आज सहज महसुस गरेन। खैरेले खानाको प्लेट मुखेले च्याप्यो र मालिकका मुख छेउमा ल्याएर राखिदियो। उसले मालिकको हात, खुट्टा, छातीमा नदुख्ने गरी कोतर्यो। मालिक उठेनन्। आफूले दिएको खाना मालिकले नखाएपछि खैरेले शिवरामको मुख सुँघ्यो अनि खुट्टाले तानेर सिरकले अनुहार छोपिदियो।
खै के भयो त्यसलाई भक्कानिएर रुन्चे आवाज निकाल्यो, आँखाबाट तरक्क आँसु झार्यो र मालिकका खुट्टामुनि गएर मूर्तिवत् बसिरह्यो।