साँझको पाँच बज्दा नबज्दै सुन्धारामा मानिसहरूको चहलपहल ह्वात्तै बढ्यो। अफिसका कामकाजी कर्मचारीहरू, किनमेल गर्न आउनेहरूदेखि लिएर कलेज छुट्टी भएर निस्कने विद्यार्थीहरू— सबै जना एकैपटक बस स्टेसनमा आइपुगे।
बल्लतल्ल कीर्तिपुरको एउटा माइक्रो बस स्टेसनमा ओर्लियो। १५ जना अटाउने त्यो माइक्रो बसमा चढ्नका लागि ५०-६० जनाको भीड तुरुन्तै तयार भइहाल्यो। उताबाट आएका यात्रुहरू ओर्लनै पाएका थिएनन्, यता चढ्ने मान्छेहरूको मारामार सुरु हुन थाल्यो।
बल्लतल्ल सहचालकले भित्रका यात्रुलाई बाहिर निकालेपछि मात्र नयाँ यात्रुहरूको ठेलमठेल सुरु भयो। सिटमा अगाडि-पछाडि फर्केर, अटिनअटी कोचाकोच गरेर पनि २०-२१ जनाले त सिट पाए।
कोठासम्म त जसरी पनि पुग्नु नै छ; यो बस छुट्यो भने अर्को कति बेला आउने हो, फेरि टुङ्गो छैन! सबैलाई घर पुग्नकै हतारो हुन्छ। त्यसैले, सकी-नसकी उभिएरै भए पनि थप १२ जना जति यात्रु कोचिँदा बसमा क्षमताभन्दा दोब्बर यात्रु भइसकेका थिए। तैपनि सहचालकले अझै ‘पछाडि सर्नुस्, भित्र ठाउँ खाली छ’ भन्न छोडेको थिएन।
‘ओ दिदी! अलि उता सर्नुहोस् न, त्यहाँ ठाउँ खाली छ। दुई जनाको ठाउँ एक्लैले ओगटेको छ ल!’ सहचालक झ्याल बाहिरबाटै चिच्यायो।
‘कहाँ दुइटै खुट्टा टेकेर उभिएको दाइ? तपाईंको खुट्टो उता सार्नुहोस् त!’
‘त्यो झोलाले पुरै एक जनाको ठाउँ लियो। त्यो झोलाको पनि पैसा लाग्छ है भाइ, कत्रो ठुलो स्कुल ब्याग बोकेको!’ सहचालकको कचकच सुनेपछि मैले आफूले छड्के भिरेको सानो झोला अघिल्तिर सारेँ।
बस अझै चल्न सुरु गरेकै छैन। चालकले इन्जिन पनि बन्द गरेर बसेका छन्। हुन त डिजेल जोगाएका होलान्, महँगी पनि उधुमै छ!
भदौको महिना, गर्मी अझै चुलिएको छ। भित्र यात्रुहरू खलखल पसिना काढ्न थालिसके। ‘ओ गुरुजी जाऔँ न!’ भन्दै एक जना महिला चिच्याइन्।
‘छि! यो भाइले त चुरोट खाएको हो कि के हो, कस्तो गनाएको!’ अर्को यात्रुले भन्यो।
‘खाएको छैन हो, अघिको गनाएको होला!’ एउटा कलेज पढ्ने केटो करायो।
सिटमा बसेकाहरूलाई त केही राहत थियो, तर उभिनेहरूको त हरिबिजोग नै भएको थियो। 'यस्तो पनि यात्रा हुन्छ?' पूरा भाडा तिरेर पनि यस्तो सकसपूर्ण यात्रा' म मनमनै मुरमुरिएँ। धेरै कुरा बोल्यो भने सहचालकले मुख छाड्ला भन्ने डर! 'जान मन नलागे झर्नुस् बाजे' भन्दियो भने बल्लतल्ल उभिन त पाएको छु, त्यो पनि गुम्ला। होस् भन्दै मैले आफ्नो रिसलाई मनभित्रै दबाएँ।
त्यही भीडमा उभिएर माथिको डन्डी समात्ने एक भद्र पुरुषको काखी, एक जना कलेज पढ्ने केटीको नाककै अगाडि पुग्यो। केटी फायर भइन्, ‘छ्या! कस्तो गनाएको, वाक्कै आउला जस्तो भयो मलाई त!’ भलाद्मी पुरुषले 'सरी' भन्दै हतार-हतार आफ्नो हात हटाए।
बस बिस्तारै अगाडि बढ्न थाल्यो। सहचालक भाइ अझै चिच्याइरहेको थियो- त्रिपुरेश्वर, कालिमाटी, बल्खु, कीर्तिपुर।
बस थोरै अगाडि मात्र के बढेको थियो, ट्राफिक प्रहरीले हतार-हतार सिट्ठी फुकिहाले, ‘त्यो ढोका पूरै लगाउनुस् त! आजकल नियम कडा छ भन्ने थाहा छैन? चिट काट्नु पर्ला फेरि! गाडीको कागजपत्र त सबै छ नि?’
ट्राफिकको त्यो चेतावनीयुक्त आवाजलाई बेवास्ता गर्दै गाडी अगाडि बढ्यो।
‘कान्छा! त्यो ढोका राम्ररी लगा,’ चालकले अगाडिबाटै चिच्याएर सहचालकलाई निर्देशन दिए।
शहीदगेट आइपुग्दा थप दुई जना मानिसहरू गाडीमा थपिए। ‘ए, त्यो बसेको दिदीले आफ्नो बच्चा काखमा लिनुहोस् त! नत्र पूरा भाडा लाग्छ है, भन्दिएको छु दिदी! पछि कचकच नगर्नुहोला,’ सहचालकले फेरि अर्को उर्दी जारी गर्यो।
ती महिलाले करिब तीस किलो जतिको मोटो बच्चालाई सकी-नसकी काखमा राखिन्। जसोतसो एक जनालाई बस्ने ठाउँ त मिल्यो, तर अब भने गाडीको ढोका राम्ररी लाग्नै सकेन।
गाडी त्रिपुरेश्वर पुग्ने बित्तिकै ट्राफिक प्रहरीले रोकिहाले।
‘ढोका किन नलगाएको? गुड्ने गाडीको ढोका लगाउनुपर्छ भन्ने थाहा छैन?’ ट्राफिक प्रहरी चालकमाथि खनिए।
ट्राफिकको हप्काइ खाएपछि चालकले सहचालकलाई रिस पोखे, ‘ए कान्छा! तँलाई ढोका लगा भनेको होइन?’
सहचालकले निरीह बन्दै भन्यो, ‘तान्दा तान्दै आएन त गुरु!’
उनीहरूको केही सीप लागेन। ट्राफिक प्रहरीले पाँच सय रुपैयाँको चिट थमाइहाले र चालकको अनुमति पत्र (लाइसेन्स) लिएर अगाडि बढे।
हल्लाखल्ला र जरिवाना नै तिर्नुपर्ने भएपछि चालक रिसले मुरमुरिँदै, झोक्किँदै गाडी गुडाउन थाले। उता मलाई भने भित्रभित्रै डर लाग्न थाल्यो। चालकले तनाव र रिसको झोकमा गाडी चलाए भने दुर्घटना हुने सम्भावना झन् बढी हुन्छ। वास्तवमा, धेरैजसो सडक दुर्घटनाहरू ट्राफिक प्रहरीसँगको यस्तै विवाद र मानसिक तनावका कारणले पनि भएका छन्।
'यस्तो गम्भीर समस्याको समाधान कहिले र कसरी होला?' यो प्रश्न मेरो मनमा अनवरत खेलिरह्यो।
पाँच फिट सात इन्च अग्लो म! माइक्रो बसमा उभिँदा पनि टाउको पूरै निहुराउनु पर्छ। उभिँदा-उभिँदा गर्धन निकै दुख्न थालेपछि म पछाडिपट्टि फर्किएर उभिएँ। पछाडि फर्कँदा मेरा नजर अन्तिम सिटको कुनामा बसिरहेका दुई जना कलेज पढ्ने केटाकेटीमा परे। तिनीहरूको हाउभाउ र गतिविधि हेर्दा सार्वजनिक ठाउँका लागि अलि अपाच्य नै हो कि जस्तो देखिन्थ्यो।
त्यत्तिकैमा बसभित्र अचानक एउटा नमिठो गन्ध फैलियो।
‘ए बहिनी! त्यो झ्याल खोल्न मिल्दैन? यहाँ त दुर्गन्धले बस्नै गाह्रो भयो। यस्तो भीडमा कसले पाद छोड्यो फेरि!’ भन्दै एउटा मान्छे झोक्किँदै कराउन थाल्यो।
गाडीले एक्कासि ब्रेक लगायो। 'ड्याम्म' आवाज पनि आयो। ‘ला! हान्यो कि क्या हो?’ भन्दै मैले घाँटी तन्काएर बाहिरतिर हेरेँ। बसका सबै यात्रुहरू पनि ‘के भयो, के भयो?’ भन्दै कराउन थाले।
अहो! आफू चढेको माइक्रो बसले त अगाडिको स्कुटरलाई पो हानेछ! स्कुटर चालक सडकमै पछारिए। तुरुन्तै मानिसहरू जम्मा भइहाले र सडकमा गाडीको जाम सुरु भयो। नजिकै उभिएका ट्राफिक प्रहरी आएर स्कुटर चालकलाई उठाए र फुटपाथतिर लगेर बसाले। ढलेको स्कुटर पनि उठाए। हेर्दा, स्कुटरको पछाडिको ब्रेक लाइट मात्र फुटेको रहेछ।
ट्राफिक प्रहरीले चालकको अनुमति पत्र (लाइसेन्स) मागे। लाइसेन्स त अघि त्रिपुरेश्वरमै बुझाइसकेकाले चालकले एउटा चिटको पर्ची र ब्लु-बुक ट्राफिकलाई बुझाए। स्कुटर चालकलाई खासै चोटपटक नलागेकाले सामान्य लेनदेनमै कुरा मिल्यो। फुटेको लाइट बनाउनका लागि माइक्रोबस वालाले तीन हजार रुपैयाँ दिए। दुवैले एक-अर्काको मोबाइल नम्बर लिएपछि तत्काललाई विवाद साम्य भयो।
यो घटनापछि चालकको रिसको पारो झन् बढ्न थाल्यो, ‘आज त पनौती नै लागेको रहेछ नि! दिनभरिको कमाइ यही एउटै ट्रिपमा सकियो!’
गाडी कालिमाटी पुगेपछि तीन जना मानिसहरू झरे। तीमध्ये अन्दाजी चालिस वर्ष जतिकी एक जना महिलाले विद्यार्थी परिचयपत्रसहित भाडा तेर्साइन्। सहचालकले पुर्लुक्क ती महिलाको अनुहारमा हेर्यो र भन्यो, ‘आफ्नै कार्ड हो कि छोरीको बजै? विद्यार्थी जस्तो त देखिनुहुन्न त!’
‘फोटो हेर न भाइ, फोटो!’ भन्दै आफू सक्कली विद्यार्थी नै भए झैँ ती महिला कड्किइन्। सहचालकले रुन्चे अनुहार लगाउँदै पैसा लियो र फतफतायो, ‘सरकारले विद्यार्थीको पनि उमेर हद तोकिदिए हुने नि! जसले पनि कार्ड तेर्साउँछ यार!’
‘तीन जना मानिस ओर्लिएपछि गाडीभित्र उभिन अलि खुकुलो भए जस्तो भयो। धन्न, कालिमाटीबाट कोही नयाँ यात्रु चढेनन्। मैले पनि बल्ल एउटा लामो राहतको सास फेरेँ। कुलेश्वर पुगेपछि म उभिएकै आडमा बसेका एक जना भाइ ओर्लिए। सिट खाली भएपछि दायाँ–बायाँ पल्याकपुलुक हेरेँ अनि म पनि थचक्क बसिदिएँ।
बसेपछि एक पटक मात्र राहतको सास फेरेको थिएँ, नजिकै उभिएकी एउटी गर्भवती महिलाले 'म बस्छु न दाइ, साह्रै गाह्रो भयो' भनिन्। ममा पनि दया पलायो। 'हुन्छ ल बस्नुस् न त' भनेर सिट छोडिदिएँ। मैले पनि सित्तैमा पाएको सिट त थियो; आफ्नो भाग्यमा त उभिनै लेखेको रहेछ।
गाडीको सिटको खोलमा नजर पर्यो। राख्न त सुरुमा सेतो रङ्गकै राखेका थिए होलान् तर त्यो त पूरै कालो भइसकेको थियो। किनेपछि एक पटक पनि धोएको छैन जस्तो! देख्दै बान्ता होला जस्तो भयो। त्यस्तो ठाउँमा अडेस लागेर बस्नुभन्दा त बरु उभिएकै ठिक भन्ने लाग्यो।’
‘बल्खु पुगेपछि भने ओर्लिनेभन्दा चढ्ने यात्रु धेरै भए। गाडी फेरि भिडभाड भयो। कीर्तिपुर पुग्ने अन्तिम स्टेसन जस्तै हो बल्खु। सहचालक भाइले बोलाइ–बोलाइ मानिसहरू अटेसम्म कोच्यो। मान्छेलाई पनि बस्तुभाउलाई जस्तै व्यवहार गर्छन् गाडी लाइनका स्टाफहरू। कहिले सुध्रिने होला यो प्रणाली? मान्छे भएर मान्छे जस्तै गरी यात्रा गर्न पाउनु यात्रुहरूको हक होइन र? भाडा पनि मागे जति पूरै तिरिएकै छ, तैपनि यात्रा कहिल्यै सहज भएन।
कीर्तिपुरको नयाँबजार पुगेपछि बस रोकियो। आफू ओर्लिनुपर्ने स्टेसन तीन सय मिटर पर भए पनि त्यहीँ ओर्लिएर अलिकति हिँड्नु नै उपयुक्त ठानेर गाडीबाट ओर्लिएँ। कीर्तिपुरको डाँडा वरिपरि चल्ने सिरसिर हावाले गर्मीको समयमा छुट्टै आनन्दको महसुस (भाइब) दिन्छ।
ठुलो युद्ध जितेर आएझैँ गरी बाहिर निस्किएर उन्मुक्तिको सास फेरेँ। पसिना पुछेँ। भाडा तिर्नेहरूको तँछाडमछाड थियो। पालो कुरेँ। भाडा बुझाएपछि उन्मुक्त चराजस्तै आफ्नो गन्तव्यतर्फ लागेँ।
म जस्ता यात्रुले यो समस्या एक पटक मात्र भोग्दैनन्; हरदिनको नियति नै यही हो। माइक्रोबसमा सिट पाउनु संयोग र भाग्य दुवै कुराले साथ दिनु पर्दछ। खास गरेर वृद्धवृद्धा तथा गर्भवती महिलाहरूका लागि आरक्षण सिटको व्यवस्था भए पनि कहिलेकाहीँ त्यो पर्याप्त हुँदैन।
भाडा तिरेर सहजता र सम्मानपूर्वक सिटमा बसेर यात्रा गर्न पाउनु हरेक नागरिकको हक हो। सानो डिब्बा जस्तो गाडी, जहाँ पर्याप्त हावा खेल्ने ठाउँसमेत हुँदैन, त्यस्तो ठाउँमा मानिसलाई पशुसरह व्यवहार गरेर वर्षौँदेखि लुट्दा पनि सम्बन्धित निकायको किन ध्यान नगएको होला?