बालबालिकाहरू भन्ने बित्तिकै जन्मेदेखि १८ वर्ष मुनिका केटाकेटीहरूलाई भनिन्छ। शिशुको जन्मसँगै उसको खानपान, घरपरिवारको साथ सहयोग, माया, ममता, विभिन्न स्वास्थ्य समस्या आउँदा गरिने उपचार, आधारभूत आवश्यकताको परिपूर्ति आदि तत्त्वहरूले उसको शारीरिक, मानसिक, सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।
यदि यी तत्त्वहरूको परिपूर्ति भएन वा अभाव भयो भने बालबालिकाको वृद्धि विकासमा नकारात्मक असर पर्न जान्छ। असर पर्न जाने विभिन्न पक्ष मध्ये एउटा पक्ष हो मानसिक स्वास्थ्य।
हामी शारीरिक समस्याहरूलाई बढी प्राथमिकता दिन्छौँ। घाउ, चोट लागेमा मलहम लगाउँछौँ, ज्वरो आएमा सिटामोल खान्छौँ तर लामो समयसम्म मन दुखी भए, मन खिन्न भए पनि वास्ता गर्दैनौँ। त्यसको मतलब मानसिक तनाव, पिर, चिन्ताप्रति खासै ध्यान दिँदैनौँ।
शारीरिक समस्या बाहिरबाट देखिन्छ तर मनसँग सम्बन्धित समस्याहरू बाहिरबाट देखिँदैन। मानसिक विकार वा समस्याहरू सबै उमेर समूहका व्यक्तिहरूमा देखिन्छ। ती मध्ये बालबालिका पनि एक हुन्। कतिपय अभिभावकहरूलाई बालबालिकाहरूमा पनि मानसिक समस्या हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्छ किनभने बालबालिकाहरू त आफ्नै संसारमा रमाउने, हाँस्ने, खेल्ने, दौडने, कुद्ने गर्छन्। तिनीहरूलाई के कुराको चिन्ता हुन्छ र भन्ने धारणा राख्छन्।
तर बालबालिकाहरूमा पनि मानसिक विकारहरू देखिन्छन्। पहिला बच्चाहरू २ वर्षसम्म आमाको पोसिलो दूध खाने गर्थे, आफ्नै खेत बारीमा फलेका मकै, कोदो, गहुँ, फापर, भटमास, विभिन्न प्रकारका कन्दमूलहरू खाएर हुर्कन्थे। ५ वर्ष नभई विद्यालय जाँदैन थिए। कोठा भित्रभन्दा बाहिर खेल्ने खेल जस्तै हिलो, माटोमा रम्ने, डोरी, मोजाको डल्लो बनाएर फुटबल खेल्न रुचि देखाउँथे।
त्यतिखेर मोबाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणहरूको उपलब्धता थिएन। बालबालिकाहरू संयुक्त परिवारमा बस्ने गर्थे, त्यही भएर परिवारका सबै सदस्यहरू मिलेर बालबालिकाहरूको स्याहार गर्ने गर्थे जसले गर्दा बच्चाहरू शारीरिक र मानसिक रूपमा तन्दुरुस्त थिए।
तर अहिले परिस्थिति धेरै फरक भएको छ। बढ्दो आधुनिकीकरण सँगै मानिसहरूको रहन सहनमा व्यापक परिवर्तन आएको छ। बच्चा जन्मेको २ वर्षसम्म आमाको पोसिलो दूध खुवाउनु पर्ने अवस्थामा ६ महिना नपुग्दै आमाको दूधबाट वञ्चित गराइन्छ। घरमा उपलब्ध हुने खानेकुराभन्दा जिब्रोको स्वादका लागि प्याकेटमा प्याक गरेका अस्वस्थकर, गुणस्तरहीन, अखाद्य पदार्थको मिलावट भएका खानेकुरा, म:म, चाउमिन, पिज्जा, बर्गर जस्ता मैदाबाट बनेका खानेकुराहरूप्रति मानिसहरूको बढ्दो आकर्षण छ।
यी खानेकुरा बच्चादेखि वृद्धसम्म सबै उमेरका मानिसहरूले उपभोग गरेको पाइन्छ। विशेष गरी बालबालिकाहरूमा यस्ता खानेकुराको मोह निकै बढेको छ फलस्वरूप यसको नकारात्मक प्रभाव उनीहरूको स्वास्थ्यमा परेको छ। यी खानेकुराहरूको सेवनले बच्चाहरूमा विभिन्न प्रकारका शारीरिक समस्या निम्त्याइरहेको जानकारी सबै अभिभावकहरूलाई छ तर यस विषयमा त्यति चासो दिएको छैन।
लामो समयसम्म निरन्तर यस्ता खानेकुरा खाँदा अनावश्यक बच्चाको तौल बढ्ने र मोटोपनको सिकार हुन्छन् जसले गर्दा विभिन्न रोगहरू निम्त्याउँछ भने मानसिक तनाव पनि बढ्दै जान्छ। मोटोपनको कारणले बच्चाहरू साथीहरूसँग खेल्न, घुलमिल हुन हिचकिचाउँछन् बरु एक्लै बस्न रुचाउँछन् जसले गर्दा उनीहरूको आत्मविश्वास, आत्मसम्मानमा पनि कमी आउँछ।
अर्को तर्फ आजकल बच्चाहरूको उमेर नै नपुगी तथा विद्यालय जानु पर्छ, पढ्नु पर्छ भन्ने सोच नआईकन बच्चाहरूलाई विद्यालय पठाइन्छ। यसले गर्दा बच्चाहरूको मनस्थितिमा प्रतिकुल असर परेको छ। हाम्रो समाजमा बच्चालाई ५ वर्ष नपुगीकन प्रि-स्कुल पठाउने चलन छ।
आमाको दूध खाँदै गरेको कलिलो बालक जसलाई आमाको न्यानो काख माया र ममता बाहेक अरू केही कुरा थाहा छैन, त्यो बालकलाई अभिभावकको कार्य व्यस्तताको कारणले गर्दा घरमा उसको स्याहार, सुसार गर्ने समय नभएकोले विद्यालय पठाउने गरिन्छ।
यसरी उमेर अगावै परिवारको मायाबाट टाढा राखेर विद्यालय भर्ना गर्दा बच्चामा ‘सेपरेसन एन्जाइटी’ भन्ने एउटा मानसिक अवस्था आउँछ जसमा बच्चाहरू एक्लै सुत्न डराउने, आफन्तबाट टाढिएको सपना देख्ने, परिवारका सदस्यहरू आफूभन्दा टाढा गए भने आत्तिने, नौलो मान्छे भेट भयो भने लिएर जान्छन् भनेर डराउने, विद्यालय जान मन नगर्ने हुन्छ।
अर्को तर्फ प्रि-स्कुलमा खेलाउने भन्दा बढी पढाउने, लेखाउने र धेरै गृहकार्य दिने, परियोजना कार्य भनेर बच्चाको दिमागले नभ्याउने कार्य दिने, गृहकार्य बेलामा सिद्ध्याउने भनेर दबाब दिने, बेलाबेलामा बच्चाको प्रगति हेर्न जाँच लिने जस्ता क्रियाकलापबाट बच्चाहरूको दिमागमा नराम्रो असर पर्छ। दौडन कुद्न रुचाउने बच्चाहरू किताब र कापीको बोझ उठाउन बाध्य हुन्छन्।
यस्तो अवस्थामा बालबालिकाहरूमा ‘स्कुल फोबिया’नामको मानसिक विकार देखिन्छ, जसमा बच्चाहरू स्कुल जान नमान्ने, स्कुल जाने बेलामा रुने, बारम्बार पेट दुख्यो, टाउको दुख्यो, बान्ता आयो भन्ने, स्कुलमा सर मिसले कुट्नुहुन्छ, माया गर्नुहुन्न भन्ने, खानेकुरा खान मन नगर्ने, खेल्न मन नगर्ने, सरसफाइमा ध्यान नदिने, आमाबाबासँग झर्किने, रिसाउने, एक्लै बस्न मन पराउने हुन्छन्।
यस्ता खालका लक्षण बढ्दै गएमा पछि गएर बालबालिकाहरूमा पढाइमा असफल हुने, कुलतमा फस्ने, घरबाट टाढा बस्न मन पराउने, साथीभाइसँग झगडा गर्ने हुन सक्छ। यति मात्र नभई उदासीनताको समस्या पनि आउन सक्छ।
अर्कोतर्फ अभिभावकहरू आफू हरपल काममा व्यस्त रहने र बच्चाले आफ्नो काममा दुख नदिउन् भनेर उनीहरूलाई मोबाइल खेल्न दिने प्रचलन छ। बच्चाहरू मोबाइलमा कार्टुन लगायतका अन्य भिडियो हेर्छन्, त्यसले गर्दा खाना खाने समयमा, सुत्ने समयमा, विद्यालयबाट फर्किएपछि र अन्य समयमा बच्चाहरूलाई मोबाइल, ल्यापटप, ट्याब्लेट लगायतका उपकरण चलाउने लत बस्छ। यसले गर्दा बच्चाहरूको दिमागमा नराम्रो असर पर्छ।
पढाइमा ध्यान नदिने, एकोहोरो हुने, रिसाउने, समूहमा घुलमिल हुन मन नगर्ने, बाहिरी खेल खेल्नु भन्दा कोठाभित्र बस्न रुचाउने, मोबाइल हेरेर खाना खाँदा कति खाना खाएको ख्याल नहुने, एक्लै बरबराउने जस्ता लक्षण देखा पर्छ।
बालबालिकामा देखिने यस्ता समस्याहरूको बेलामा निदान हुन आवश्यक छ। अभिभावकहरूले आफ्ना बच्चाहरूमा देखिएका समस्याहरूलाई बेलामा पहिचान गर्नुपर्छ। कुनै कुनै शारीरिक समस्या र मानसिक समस्यामा उस्तै-उस्तै लक्षण देखिन सक्छन्। त्यही भएर लक्षण शारीरिक हो कि मानसिक हो भनेर छुट्टाउन सक्नुपर्छ।
उदाहरणको लागि बच्चालाई बारम्बार पेट दुखेको छ, अस्पतालमा जाँच गर्दा आन्तरिक समस्या केही पनि देखिँदैन तर पेट दुख्न कम भएको छैन भने उसलाई मनसँग सम्बन्धित समस्या छ कि भनेर अनुमान लगाउन सकिन्छ। कसैले गाली गरेको हो कि? पिटेको हो कि? गृहकार्यको बोझ धेरै भएर हो कि? विद्यालयमा जति खेर पनि पढाउने मात्र अनि खेल खेल्ने समय नभएर हो कि? अथवा घरमा कसैले गाली गरेको छ कि? साथीहरूले बारम्बार नराम्रो शब्द बोलेर जिस्काउने, होच्याउने गरेका छन् कि भन्ने कुरा बुझ्नु पर्छ र यस्ता समस्याहरूले बच्चाहरू बारम्बार तनावमा छन् भने उनीहरूको कुरा राम्रो सँग सुनिदिनु पर्छ।
विद्यालयमा आफ्नो बच्चाको समस्या बारे शिक्षक शिक्षिकाहरूसँग राम्रोसँग कुरा गर्नुपर्छ र उचित छलफलको माध्यमद्वारा समस्याको समाधान गर्नुपर्छ। बालबालिकाहरूलाई पारिवारिक माया ममताको पनि उत्तिकै खाँचो पर्छ। घरमा पनि खेल्ने, रमाइलो गर्ने समय छुटाइदिनुपर्छ। बच्चाहरूको ध्यान मोबाइलबाट टाढा राख्नको लागि आमाबुवा बच्चासँग बोल्ने, सँगै खेल्ने गर्नुपर्छ, ताकी तपाईंको बालबालिकालाई लागोस् कि मेरो परिवार मेरो साथमा छ, मेरो मनको कुरा सुनिदिने पनि कोही छ।
बच्चाको उचित खानपानमा पनि ध्यान दिनु आवश्यक पर्छ। खानामा सबै तत्त्वहरूको सही सम्मिश्रण गरेर आफ्ना बालबच्चाहरूलाई दिनुपर्छ। आफ्नो कामकाजभन्दा पहिला बच्चाहरूको स्याहारसुसारमा समय दिनुपर्छ। बच्चाहरूको मनका कुरा बुझ्नु पर्छ। यदि हामीले सानैदेखि बालबालिकाहरूको मनको अवस्था बुझ्ने हो भने पछि गएर भयानक मानसिक दुर्बलताबाट बालबालिकाहरूलाई जोगाउन सकिन्छ।