केही सम्बन्धहरू हुन्छन्!
बैंकमा सम्पत्ति राखे जस्तो,
अप्ठ्यारो पलहरूमा सादृश्य भई
भरोसाको दीप बालिरहे जस्तो
अपूर्णताका हरेक छिद्रहरूमा पूरक
साधक भई सम्पूर्णता प्रदान गरिरहे जस्तो!
केही अनुहार हुन्छन्!
मानौँ अनुहार होइन शक्ति जस्तो,
धरमराउँदो गोडाहरूले सहारा छोड्न खोज्दा
बैसाखी बनेर प्रकट भय जस्तो!
केही आभा हुन्छन्!
सदैव प्रज्वलित भएजस्तो
निस्सारको लपेटाले समाधि खोजेका बेला
पानी सल्काउँदै, आगो पगाल्दै
दूर क्षितिजमा जीवनसँग साक्षात्कार गराए जस्तो!
केही कल्पनाहरू हुन्छन्!
जिउँदो जाग्दो शक्ति जस्तो
निशाचारको मध्य प्रहरमा
आशाको अवशेष नभेटिएको बेला
जसको कल्पनाशीलताले
सूर्यको उज्यालो पनि माथ गरे जस्तो!