गाब्रिएल गार्सिया मार्खेजको कालजयी उपन्यास 'वन हन्ड्रेड इयर्स अफ सोलिच्युड' मा एउटा रोचक प्रसंग छ।
उपन्यासको काल्पनिक गाउँ माकोन्डोका संस्थापक होसे आर्कादियो बुएन्दिया हुन्। उनको गाउँमा जिप्सी समुदायका मानिस आउजाउ गरिरहन्छन्। तीमध्ये मेल्कियादेसले बुएन्दियालाई खगोलीय अध्ययनका उपकरण दिन्छन्।
ती उपकरण पाएपछि बुएन्दिया आकाशको अध्ययनमा डुब्छन्।
लामो अवलोकन र हिसाबकिताबपछि एक दिन उनले परिवारलाई आफ्नो खोज सुनाउँछन् — पृथ्वी सुन्तलाजस्तै गोलो छ!
उनकी पत्नी उर्सुला दिक्क हुन्छिन्। गाउँलेहरू उनलाई पागल ठान्छन्।
त्यो गाउँमा पृथ्वी गोलो छ भन्ने ज्ञान पुगेकै हुँदैन। उनीहरू पृथ्वी समथर छ भन्ने ठान्छन्, जसरी कुनै समय संसारका सबै मानिस ठान्थे।
केही समयपछि मेल्कियादेस फेरि माकोन्डो आउँछन्। बुएन्दियाको निष्कर्ष सही भएको बताउँछन्। यो तथ्य धेरै अघि प्रमाणित भइसकेको जानकारी पनि दिन्छन्। तर आफ्नै तर्क र अध्ययनबाट त्यो निष्कर्षमा पुगेकामा उनको तीक्ष्ण बुद्धिको प्रशंसा पनि गर्छन्।
यो प्रसंगमा संसारबाट बेखबर रहने मानिसहरूको विडम्बना प्रतिबिम्बित छ — संसारले पहिल्यै थाहा पाइसकेको कुरा पनि आफूलाई थाहा हुँदैन। अनि त्यही कुरा नयाँ जस्तो लाग्छ। आफैले पत्ता लगाए जस्तो वा आफैले मात्र गरे जस्तो लाग्छ!
प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासीलाई उनको सरकारले जग्गा वितरण गरेको दाबी गर्दै जुन लामो स्ट्याटस लेखेका छन्, त्यसमा पनि यस्तै विडम्बना प्रतिबिम्बित छ।

उनले नेपाली कांग्रेसले २०१५ सालमै भूमिहीनलाई जग्गा वितरण गर्छु भनेको तर कहिल्यै नगरेको लेखेका छन्।
त्यसयता ७० वर्ष त्यसै बितेको भन्ने आसयसहित बल्ल आफ्नो सरकारले साढे ५ हजारभन्दा बढी भूमिहीनलाई जग्गा बाँडेको उनले उल्लेख गरेका छन्।
यसले के देखाउँछ भने, प्रधानमन्त्री बालेनलाई २०१५ सालको बिपीको सरकारले जमिनदारी प्रथा उन्मूलन र भूमिबारे गरेका क्रान्तिकारी काम र तयारीको कुनै मेसो छैन।
यति मात्र होइन, पञ्चायतकालमा पनि भूमिहीन, सुकुम्बासीका समस्या समाधान गर्न धेरै प्रयत्न भए। धेरै जग्गा वितरण भए।
सरकारी तथ्यांक अनुसार २०४८ सालमा बहुदल आएपछि मात्रै कांग्रेस, एमाले र माओवादी नेतृत्वका विभिन्न सरकारले अहिलेसम्म करिब डेढ लाख भूमिहीन परिवारलाई जग्गा वितरण गरेको छ।
यसका बाबजुद नेपालको सुकुम्बासी समस्या समाधान भएको छैन।
यसका विभिन्न जटिलता छन्, विकृति पनि छन्। यिनलाई बुझ्ने र समाधान गर्ने प्रयत्न विभिन्न समयमा भएका छन्।
बालेन शाहलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेताहरूले सम्झाउन जरूरी छ — उनी प्रधानमन्त्री बन्नुभन्दा अघि पनि यो देश थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए। नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
यही आधारभूत समझको कमी प्रधानमन्त्री बालेन शाहमा बारम्बार देखिन थालेको छ।
उनले आफू प्रधानमन्त्री भएपछि जसरी काठमाडौंका सुकुम्बासीमाथि २४ घन्टे सूचनामा डोजर चलाए, त्यो नेपालको इतिहासमा राज्यले निमुखाहरूमाथि देखाएको अमानवीय तुजुकको नमूना थियो। त्यो बेला सुकुम्बासीहरूका चित्कार कहिल्यै नमेटिने गरी भिडिओ फुटेजमा कैद छन्।
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनको प्रतिवेदनमा बालेन सरकारले सुकुम्बासीमाथि गरेको त्यही अमानवीय हर्कतमाथि प्रश्न उठाइएको छ। त्यो समाचार बाहिर आएकै दिन सोमबार साँझ प्रधानमन्त्रीले त्यो स्ट्याटस लेखेका हुन्।
प्रधानमन्त्री बालेनले काठमाडौंका सुकुम्बासीमाथि आफ्नो सरकारले गरेको अमानवीय व्यवहार कम्तिमा व्यक्तिगत रूपमा स्वीकार गरेका भए, यो प्रसंग आउनेबित्तिकै उनी आहत हुने थिएनन्। त्यसको प्रतिवादमा यति प्रतिक्रियात्मक हुने थिएनन्। र, यसरी इतिहास र तथ्य तोडमोड पनि गर्ने थिएनन्।
पछिल्ला ७० वर्षमा सुकुम्बासी समस्या समाधान गर्न अघि सरेको पहिलो मसिहा मै हुँ जस्तो अभिव्यक्ति पनि उनले दिने थिएनन्।
आर्थिक स्रोत र मानवीय क्षमताको कमी भएको नेपाली राज्य चलाउनु र 'डेलिभरी' दिनु कम चुनौतीपूर्ण काम छैन। आफूलाई 'चक्रवर्ती सम्राट' झैं ठान्नेहरूलाई पनि यो राज्यले पटक पटक उनीहरूको औकात देखाइदिएको छ।
त्यसमाथि खर्च गरेर नसकिने ढुकुटी भएको काठमाडौं महानगर जस्तो होइन नेपाल। अनि, प्रधानमन्त्रीको कुर्सी सडक, फुटपाथ वा भौतिक विकाससँग मात्र पनि जोडिन्न।
लगानी गर्ने मानिसको डर र भरोसा, निमुखाहरूको गरिमा, वर्तमानका सारा चुनौती र भविष्यको अवसरसँग पनि जोडिन्छ प्रधानमन्त्रीको कुर्सी।
अनि यी सबै पक्षलाई संयोजन गरेर लैजान इतिहासको चेतसँग पनि जोडिन्छ प्रधानमन्त्रीको कुर्सी।
इतिहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ। नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो!
आफूभन्दा पहिले विगत थिएन र आफूभन्दा पछि नेपालको भविष्य छैन जस्तो पनि लाग्छ!
यसले घमण्ड जन्माउँछ। क्षुद्रता जन्माउँछ।
प्रधानमन्त्री बालेनमा त्यसको छनक देखिन थालेको भान हुन्छ।
कांग्रेस महाधिवेशन सुरू भएको साँझ अबेर उनले टुँडिखेलबारे जे स्ट्याटस लेखे, त्यसमा क्षुद्रताको प्रचुरता थियो।

बालेन जन्मिनुभन्दा धेरै नै वर्ष अघिदेखि टुँडिखेल थियो। र, उनी जन्मिनुभन्दा धेरै अघिदेखि त्यहाँ राजनीतिक कार्यक्रम हुने गर्थे।
बिपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीका कालजयी राजनीतिक भाषणको साक्षी हो, टुँडिखेलको खुलामञ्च।
नेपाली राजनीतिका धेरै उतारचढाव देखेको र यसका धेरै घुम्तीहरूको साक्षी बसेको छ टुँडिखेलको खुलामञ्च।
त्यसैले त्यो स्थानको आफ्नै मर्यादा छ।
२०७२ सालको भुइँचालोपछि टुँडिखेलको चरित्र केही समयका लागि खलबलियो। त्यसै क्रममा पुरानो बसपार्कमा 'काठमाडौं भ्यू टावर' बन्न थालेपछि खुलामञ्च अस्थायी बसपार्क बन्यो। भुइँचालोका अवशेष र पुनर्निर्माणका सामग्री थुपार्ने ठाउँ पनि बन्यो।
अस्थायी बसपार्क बनेपछि त्यसलाई चाहिने स-साना पसल राख्न भौतिक संरचना बनाउने र केही भाग ढलान गर्ने योजना ल्याए काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले।
त्यसले खुलामञ्च र समग्र टुँडिखेलको मर्यादा लामो समयसम्म खलबल्याउन सक्थ्यो।
त्यसैले काठमाडौंलाई माया गर्ने सचेत नागरिकहरूले त्यसको विरोध गरे। टुँडिखेल जोगाउन 'अकुपाई बालुवाटार' अभियान चल्यो।
विद्यासुन्दर शाक्य पछि हटे।
शाक्यपछि मेयर बनेर आएका बालेन शाहलाई टुँडिखेलको राजनीतिक विरासतको कुनै अर्थ थिएन। उनले त्यसलाई फुटबल मैदानमा बदल्ने योजना ल्याए। डिजाइन पनि बनाए। त्यसको पनि विरोध भयो। उनको योजना असफल भयो।
बालेन मेयर हुञ्जेल खुलामञ्चमा घाँस रोप्न सुरू भए पनि त्यो मैदान ताल्चामा कैद नै थियो।
सुनिता डंगोल कार्यवाहक मेयर बनेपछि उनले खुलामञ्चको ताल्चा खोलिन्। सर्वसाधारणले प्रवेश पाए। उनी अहिले पूरै टुँडिखेलमा घाँस रोप्ने अभियानमा छिन्।
सुनिताले सर्वसाधारणका लागि खुला गरेकै कारण यसपालि नेपाली कांग्रेसले यही ऐतिहासिक खुलामञ्चमा आफ्नो १५औं महाधिवेशन गर्ने निर्णय गर्यो।
महाधिवेशनकै दिन अबेर साँझ प्रधानमन्त्री बालेनले त्यो स्ट्याटस लेखेका हुन्।
प्रधानमन्त्री बालेन शाह आज देशका प्रमुख नेता हुन्। किनभने, जनताको अभिमत उनले र उनको दलले प्राप्त गरेका छन्। र, रास्वपाले उनलाई प्रधानमन्त्री छानेको छ।
टुँडिखेलको ऐतिहासिकता फर्किएको दिन, देशको सबभन्दा जेठो दलको महाधिवेशनको दिन टुँडिखेलबारे स्ट्याटस लेख्न देशका प्रमुख नेता प्रधानमन्त्री बालेनसँग कैयन सकारात्मक र मर्मस्पर्शी कुरा हुन सक्थे। जसले उनको, उनी बसेको कुर्सीको र नेपाली राजनीतिको कद बढाउँथ्यो।
तर उनले त्यस्तो 'स्ट्याटस' रोजे।
भनिन्छ — बाठा र 'मै हुँ' भन्ने मानिसहरूलाई कुन ठाउँ वा अवसरमा के बोल्ने भन्ने थाहा हुन्छ। तर 'के नबोल्ने' भन्ने थाहा पाउन विवेक चाहिन्छ।
प्रधानमन्त्रीको त्यो 'स्ट्याटस' मा मात्र होइन, उनले गरिरहेको राजनीतिमा, उनले आफ्नै दलसँग, अरू राजनीतक दलसँग र संसदसँग गरेको व्यवहारमा विवेक हराएको भान हुन्छ।
उनमा विवेक फर्कियोस्। कार्यकाल पूरा होस्। उनी सफल रहून्। मुलुक एक कदम अघि बढोस्।
सँगसँगै, प्रधानमन्त्रीलाई यो पनि ख्याल रहोस् — उनले विवेक पुर्याएनन् भने समयले उनलाई पर्खिन्न।
२०७४ सालको निर्वाचनपछि नेपालको राजनीतिमा अब मबाहेक अरू कोही छैन भन्ने घमण्ड तत्कालीन प्रधानमन्त्री केपी ओलीमा पनि धेरथोर चढेको थियो। त्यो घमण्डसँगै विवेक कम भयो। क्षुद्रता चढ्यो।
प्रधानमन्त्रीको कुर्सीबाट ओलीभन्दा अघि कुनै पनि नेताले अरूमाथि त्यति धेरै घोचपेच गरेका थिएनन्। ओलीको घोचपेचको ग्राफ बिस्तारै चढ्दै गयो। उनका कार्यकर्ताले ताली पट्दै गए। उनी थप हौसिँदै गए।
सिंहदरबारबाट ओलीले सुरू गरेको घोचपेच र गालीगलौजको विषाक्त संस्कृति नेपाली राजनीतिमा फैलिँदै गयो।
त्यो बेला ओलीसँग सब थियो — बालेनको जस्तै झन्डै दुई–तिहाइ मत थियो। उनको भन्दा लामो र गहिरो अनुभव थियो। साहस थियो। वाकपटुता थियो। बठ्याइँ र चतुर्याइँ थियो।
उनमा एउटा कुराको असन्तुलन देखियो — दम्भ धेरै भयो र विवेक कम।
त्यसैको फलस्वरूप दुई–तिहाइको सरकार गयो। शक्तिशाली नेकपा टुक्रियो।
त्यसले राजनीतिमा ल्याएको निराशा र विचलनले मुलुकलाई कालान्तरमा जेनजी विद्रोहसम्म पुर्यायो।
त्यही विद्रोहले बालेनलाई सत्तामा पुर्यायो।
त्यसैले प्रधानमन्त्री बालेनमा पनि दम्भ धेरै नहोस्। विवेक कम नहोस्।
ओलीको राजनीतिभन्दा अघि पनि नेपाल थियो। उनको राजनीतिभन्दा पछि पनि नेपाल छ।
बालेनअघि पनि नेपाल थियो। र, उनीपछि पनि नेपाल र राजनीति रहिरहने छ।
***
यो पनि पढ्नुहोस्: