छोरी र भेट्न आएका आफन्तको बीचमा थिइन्, रिल्ती तामाङ।
छेउमै १८–२० वर्षकी एक किशोरी सुतेर मोबाइल हेरिरहेकी थिइन्। उनी पनि रिल्तीकी आफन्त हुन्।
हामी रिल्तीसँग कुरा गरिरहेका थियौं। किशोरीको बुढीऔंला मोबाइलको स्क्रिनमा आफै छिटोछिटो चलिरहेको थियो। आँखा भने मोबाइलमै एकोहोरिएका थिए। निधार खुम्चिइरहेको थियो।
रिल्ती एक साताअघि टिमुरेमा आएको बाढीमा आफूले देखेको दृश्य सुनाइरहेकी थिइन्।
त्यो दिन उनीसहित ७–८ जना महिला घरभन्दा अलिक माथिपट्टिको पाखोमा रहेकी सुत्केरी आफन्त भेट्न गएका थिए।
फर्किने क्रममा रसुवागढीतिरबाट भोटेकोशीमा एउटा खैरो रङको भुमरी देखियो।
त्यो बाढी हो भनेर चिन्न उनीहरूलाई समय लागेन।
'भोटेकोशीमा भुमरी पर्दै यसरी आइरहेको थियो,' रिल्तीले दुई हात घुमाउँदै भनिन्, 'हामी माथिमाथि उक्लियौं। मान्छेहरू तलबाट भित्ता समात्दै उक्लिए। बाढी पनि मान्छेहरूलाई तानौंला झैं भित्ताभित्तै आइरहेको थियो।'
उनीहरू बल्ल माथि पुगेपछि तल हेर्न सक्ने भए।
तल टिमुरे सोहोरिइसकेको थियो।
उनीहरू डाँडामै बसे।
दिउँसो १–२ बजेतिर एउटा हेलिकप्टर आयो — सिम्रिक एयरको।
त्यसमा रिल्तीकी बहिनीका छोरा सोनम र गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षका छोरा निमा तामाङ थिए।
उनीहरू चढेको हेलिकप्टर सानो बच्चासहित पाँच जनालाई लिएर फर्कियो।
'हेलिकप्टर रिजर्भ गरेर भए पनि जान्छौं भनेर एयरपोर्ट गयौं'
आफ्नी आमा र केही आफन्त बाँचिरहेको थाहा पाएपछि सोनम बिहान ११ बजेतिरै एयरपोर्ट पुगेका थिए।
टिमुरेमा बाढी आएको खबर पाएपछि उनी निजी हेलिकप्टर रिजर्भ गरेर भए पनि त्यहाँ पुग्न चाहन्थे। उनीसँगै निमा तामाङ पनि थिए।
तर उनीहरूलाई तत्काल जान दिइएन।
'टिमुरेमा बाढी आएको थाहा पाएपछि हामी हेलिकप्टर रिजर्भ गरेर भए पनि त्यहाँ पुग्न भनेर एयरपोर्ट गयौं। तर हामीलाई जान दिइएन,' सोनमले भने, 'प्राइभेट हेलिकप्टरमा जान्छु भन्दा आर्मीसँग कुरा गर्न भनियो। आर्मीले अहिले हुँदैन भन्न थाल्यो।'
करिब १२ बजेतिर बल्ल सिम्रिक एयरको हेलिकप्टर जाने भयो।
'हामी त्यसैमा चढेर टिमुरे पुग्यौं,' उनले भने।
हेलिकप्टरबाटै सोनमले टिमुरे बजार बाढीले सोहोरेको देखे।
आफ्नो चारतले घर भने बाढीले ढालेको रहेनछ।
हेलिकप्टरबाट ओर्लिएपछि उनले आमालाई देखे। बल्ल उनको सास आयो।
सोनमकी आमा पनि ठूलीआमासँगै सुत्केरी आफन्त भेट्न गएकी रहिछन्। त्यही कारण उनीहरू बाँच्न सफल भए।
त्यसपछि नेपाली सेनाका हेलिकप्टर फटाफट आउन थाले।
घाइते र बचेका मानिसमध्ये त्यस दिन करिब २०–२५ जनालाई हेलिकप्टरले बाहिर ल्यायो। बाँचेका करिब ३०–४० जना भने खैदी भन्ने डाँडामा गएर बसे।
भोलिपल्ट बिहान ८ बजे नै सेनाको हेलिकप्टर आयो।
सोनम आफ्ना बचेका गाउँलेहरूसँगै तल झरे। उनले आमा, ठूलीआमा, सानीआमा लगायतलाई हेलिकप्टरमा पठाए।
भोटेकोशीको बहाव पनि त्यति बेलासम्म केही थामिइसकेको थियो।
त्यसपछि सोनम आफ्नो घरतिर लागे।
तर घरमा उनलाई आफन्तको चहलपहल होइन, बाढीमा बेपत्ताको सूचीले पर्खिरहेको थियो।
उनका बुबा, मामा, हजुरबा लगायत १४–१५ जना आफन्त अझै बेपत्ता छन्।
'मेरो ड्याडी भाग्न पाउनुभएको थिएन। घरमा कतै हुनुहुन्छ कि भनेर मैले बोलाएँ। कसैले आवाज निकालेन अनि म निस्किएँ,' सोनमले भने, 'त्यो दिन हामीले जताततै लास देखेका थियौं। गाउँलाई हेर्यौं र हेलिकप्टरमा काठमाडौं फर्कियौं।'
टिमुरेबाट काठमाडौं, अनि पहेँलो गुम्बा
काठमाडौं आएपछि उनीहरू पहेँलो गुम्बा पुगे।
त्यहाँका लामा 'दोर्जे गुरू' सँग उनीहरूले शरण मागे। दोर्जेले गोसाइँकुण्ड गाउँपालिकाबाट आएका सबैलाई आश्रय दिने बताए।
टिमुरेबाट सिधै काठमाडौं आएकाहरू त्यहीँ पुगे।
हेलिकप्टरले धुन्चे र त्रिशूली ल्याएर छाडेका टिमुरेका बासिन्दा भने शुक्रबारदेखि पहेँलो गुम्बा आउन थाले।
तीमध्ये रिल्ती पनि एक हुन्।
'हेलिकप्टरले धुन्चेमा ल्याएर छाडिदियो। त्यहाँ बस्ने जस्तो थिएन। अनि भोलिपल्ट हामी त्यहाँबाट गाडीमा आयौं,' रिल्तीले भनिन्, 'यहाँ आएपछि बल्ल दिमागले अलिअलि काम गर्न थालेको छ।'
पहेँलो गुम्बामा आश्रय लिन आइपुगेका उनीहरूका लागि यो ठाउँ अहिले घरजस्तै बनेको छ।
तर यहाँ आइपुगेकाहरूका लागि घर भने सबैको बाँकी छैन।
'खोलाभन्दा माथि आकाशबाट आएजस्तो थियो बाढी'
पहेँलो गुम्बामै स्याफ्रुबेसीका एक अधबैंसे पुरूष भेटिए।
उनी चिलिमे हाइड्रोपावरमा काम गर्दा रहेछन्।
त्यो दिन बिहानै उनी हाइड्रोपावरको कार्यालय पुगेका थिए। घरबाट उनका लागि खाजा पठाइएको थियो। त्यहीँ बसेर खाजा खाए।
खाजा लिएर आएकी आफन्तकी छोरी भने घर पुग्न नपाउँदै बाढी आएको हल्ला चल्यो।
उनी उकालोतिर दौडिए।
पाखामा पुगेपछि एउटा रूख समातेर झुन्डिएर ज्यान जोगाए।
'म त पाखोतिर दौडिएँ। एउटा रूखको हाँगो समातेर झुन्डिएँ। बाढीले हाइड्रोपावर सबै लग्यो,' उनले भने, 'बल्लबल्ल बाँचियो। त्यसपछि माथि डाँडातिर गएर बस्यौं।'
उनले यस्तो बाढी जीवनमा कहिल्यै नदेखेको मात्र होइन, कल्पनासमेत नगरेको बताए।
'बाढी आउँदा सधैं तलबाट खोला बढ्दै आउँथ्यो र बगाउँथ्यो। यसपालि त खोलाभन्दा पनि धेरै माथि, आकाशतिरबाट आएजस्तो भयो,' उनले भने।
उनले आफ्नो परिवारलाई बचाउन सकेनन्।
बाढीले उनकी श्रीमती, छोरा–बुहारी र आफन्तकी छोरीलाई बगायो।
स्याफ्रुबेसीमा बाँचेका मानिसलाई हेलिकप्टरले त्रिशूली र धुन्चे ल्याएर छाड्यो। त्यहाँबाट पहेँलो गुम्बामा आश्रय पाइन्छ भन्ने सुनेपछि उनी यहाँ आइपुगे।
'अब यहाँबाट कहाँ जाने हो थाहा छैन?' उनले भने, 'भएको घरजग्गा सबै लगिहाल्यो। पुरानै ठाउँमा गएर बसूँ भने त्यहाँ केही बचेको छैन। कसरी गरीखाने हो? कहाँ ओत लाग्न जाने हो पत्तो छैन?'
विस्थापित धेरै जना यही समस्यासँग जुधिरहेको उनको भनाइ छ।
पहेँलो गुम्बामा ३०० भन्दा बढी बाढीपीडित
अहिले पहेँलो गुम्बामा गोसाइँकुण्ड गाउँपालिकाका टिमुरे, स्याफ्रुबेसी लगायत ठाउँबाट आएका ३०० भन्दा बढी मानिस आश्रय लिएर बसेका छन्।
आइपुगेका बाढी प्रभावितको व्यवस्थापन रसुवागढी सेवा समाजले गरिरहेको छ।
सेवा समाजका अध्यक्ष नोर्बु लामाका अनुसार स्थानीय प्रयासबाट अहिलेसम्म प्रभावितहरूको व्यवस्थापन गरिए पनि सुरक्षा र अन्य आवश्यक व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्छ।
'सुरूमा काठमाडौंका सिडिओ साहेब र मेयर सुनिता डंगोल आउनुभएको थियो। त्यति बेला यहाँ यति धेरै मानिस पनि थिएनन्,' उनले भने, 'हेरेर जानुभएको हो। त्यसपछि सरकारबाट कोही पनि हालखबर सोध्न आउनुभएको छैन।'
विभिन्न संघ–संस्था र मनकारी व्यक्तिहरूले दिएको राहतबाट अहिलेसम्म व्यवस्थापन भइरहेको उनले बताए।
राज्यबाट भने पर्याप्त सहयोग नआएको उनको गुनासो छ।
'हामीले क्याटरिङ बोलाएर भान्साको व्यवस्था गर्यौं'
शुक्रबार रातिदेखि बाढीपीडितका लागि सहयोगको व्यवस्था गरिरहेका कलाकार रवीन्द्रसिंह बानियाँलाई पनि राज्यका तर्फबाट पहेँलो गुम्बामा पर्याप्त व्यवस्थापन गरिएको महसुस भएको छैन।
'हामी शुक्रबार त्यहाँ पुगेका थियौं। दिउँसो सिडिओ लगायत आउनुभएको थियो। हामी बस्दाबस्दै उहाँहरू जानुभयो,' उनले भने, 'तर रसुवाबाट आएका बाढी प्रभावितलाई खाने–बस्ने कुराको कुनै बन्दोबस्त कसैले गरेका देखेनौं। अनि हामीले फिल्म सुटिङका बेला लैजाने क्याटरिङलाई बोलाएर भान्साको व्यवस्था गरिदियौं। आजसम्म हामीले त्यहीँ किचन चलाइरहेका छौं।'
उनका अनुसार मंगलबार रातिसम्म पहेँलो गुम्बामा आइपुगेका बाढी प्रभावितको संख्या ३२० पुगेको थियो।
'हामी पुगेका थियौं, ग्यास चाहिएको रहेछ'
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले आफू बाढी आएको सुरूआती दिनमै पहेँलो गुम्बा पुगेको बताए।
'हामी सुरूकै दिनमा पुगेका थियौं। अरूभन्दा पनि ग्यासको आवश्यकता रहेछ। त्यसपछि ग्यासको प्रबन्ध गरिदिएका छौं। हाम्रा सुरक्षाकर्मी त्यहाँ खटिएका छन्,' उनले भने, 'त्यसपछि घाइते र शव व्यवस्थापनका अझ जरूरी काममा लागेकाले म आफै त्यहाँ जान पाएको छैन। तथ्यांक भने लिइरहेको छु।'
उनका अनुसार खाने–बस्ने व्यवस्थामा बाहिरबाट सहयोग भइरहेको छ।
'तीन महिनालाई पुग्ने गरी सहयोग आएको छ भन्ने थाहा पाएको छु,' उनले भने।
बालबालिकाको भने सम्बन्धित मन्त्रालयले तथ्यांक संकलन र व्यवस्थापन गर्ने उनले बताए।
'बाढीमा आमाबुबा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी लिन्छौं'
व्यवस्थापन समूहमा बसेर काम गरिरहेका सोनमका अनुसार काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंमा बसेर पढिरहेका र बाढीमा आमाबुबा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने आश्वासन दिएकी छन्।
हामीले यसबारे कार्यवाहक मेयर डंगोलसँग कुरा गर्दा उनले पहेँलो गुम्बामा बसेका बाढी प्रभावितलाई सुरूमा ग्यास उपलब्ध गराइएको र अहिले आवश्यक औषधि तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जानकारी दिइन्।
'त्यसबाहेक हामीले रसुवाको बाढीमा आमाबुबा गुमाएका तर काठमाडौं बसेर पढ्ने बालबालिकाको शिक्षाको जिम्मेवारी लिन्छौं भनेका छौं,' उनले भनिन्, 'उहाँहरूसँग तथ्यांक मागेका छौं, आएको छैन। तथ्यांक आएपछि आवश्यक सहयोग गर्छौं।'
'राज्यले नै सहारा दिनुपर्ने होइन र?'
बाढी प्रभावितको व्यवस्थापनमा राज्यले तदारूकता नदेखाएको भन्दै व्यवस्थापनमा खटिएका सोनमको गुनासो छ।
'ल्याएर धुन्चे र त्रिशूलीमा छाडिदिएको हो। त्यहाँबाट उनीहरू कहाँ गए भनेर राज्यले खोज्नुपर्दैन?' सोनमले भने, 'हामीले त हाम्रा मान्छेलाई सहारा खोज्यौं। खासमा राज्यले नै सहारा दिनुपर्ने हो। कम्तिमा सोधखोज त गर्नुपर्यो नि?'
उद्धारमा भएको ढिलाइप्रति पनि उनको आक्रोश छ।
'बाढी आएको एक घन्टामै उद्धारका हेलिकप्टर पठाएको भए कति मान्छे बचाउन सकिन्थ्यो होला। मलाई त्यही बिन्दुदेखि नै सरकारसँग चित्त बुझेको छैन,' उनले भने।
अहिले पनि टिमुरेमा सात–आठ जना मानिस अड्किएको र उनीहरूको उद्धार गर्नुपर्ने उनको भनाइ छ।
पहेँलो गुम्बामा आश्रय लिन आउने मानिसको संख्या दिनदिनै बढिरहेको उनले बताए। यसले व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ।
'यहाँ टिमुरे मात्र होइन, पूरै गोसाइँकुण्डका मानिस आइपुगेका छन्। सुरूमा बस्न–खान समस्या भएन। तर अरू व्यवस्थापनका कुरामा सरकारले हेर्नुपर्छ,' उनले भने।
सबभन्दा ठूलो कुरा त, अहिले बाढीबाट विस्थापित धेरै जनाको घरखेत सबै बगेको छ। अब उनीहरूसँग पुनर्स्थापित हुनलाई आफ्नो जग्गा छैन। यस्तोमा राज्यले उनीहरूलाई कहाँ लगेर पुनर्स्थापित गर्ने भन्नेमा पनि चासो दिनुपर्ने सोनम बताउँछन्।
पहेँलो गुम्बामा बसेका ती बालबालिका
पहेँलो गुम्बामा आश्रय लिनेमा बालबालिका पनि छन्।
ठ्याक्कै कति बालबालिका छन् भन्ने तथ्यांक भने निकालिएको छैन।
तर तीमध्ये आमाबुबा दुवै गुमाएका बालबालिकाको सुरक्षा र जिम्मेवारी सबभन्दा गम्भीर विषय बनेको छ।
काठमाडौंमा डेरा गरी बस्ने तर परिवारका सदस्य र घरबार बाढीले गुमाएका कतिपय मानिस पनि पहेँलो गुम्बा पुगेका छन्। त्यसमा विद्यार्थीको संख्या पनि धेरै छ।
हामीले रिल्तीसँग कुरा गरिरहँदा छेउमा सुतेर मोबाइल हेरिरहेकी किशोरी पनि तिनैमध्ये एक हुन्।
फर्किने बेला सोनमसँग हामीले उनकै बारेमा सोध्यौं।
उनले केही बेर ती किशोरीतिर हेरे।
'उ यहाँ पढ्दै थिई। उसका आमाबुबा दुवै बाढीमा परे,' सोनमले भने, 'त्यत्रो हेलिकप्टर लिएर गएपछि मेरो बाआमालाई नखोजी किन आएको भनेर मात्र भन्छे। अरू केही बोल्दिनँ।'
सोनमको स्वर फेरियो।
'ऊ डिस्टर्ब छ। उसलाई कसरी सम्झाउने, हामीलाई पनि थाहा छैन।'
छेउमा ती किशोरी अझै मोबाइल हेरिरहेकी थिइन्।
बुढीऔंला चलिरहेको थियो।
आँखा मोबाइलमै थिए।
निधार भने अझै खुम्चिइरहेको थियो।
***