त्रिशूली–भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरूङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा जनशक्तिभन्दा उपकरण र पूर्वाधार अभाव ठूलो चुनौती बनेको प्राविधिकहरूले बताएका छन्।
नेपालमै एक्स्काभेटर, लोडर, ड्रिलिङ मेसिन, पम्प र अन्य आवश्यक उपकरण भए पनि सडक पहुँच नहुँदा ती उद्धारस्थलसम्म पुर्याउन सकिएको छैन। भारी उपकरण ओसार्न सक्ने हेभी–लिफ्ट हेलिकप्टर अभावले उपलब्ध उपकरणसमेत प्रयोगविहीन बनेका छन्।
बाढीले आयोजनाका आफ्नै उद्धार सामग्री र पूर्वाधार नष्ट गरेपछि सुरूङभित्र थुप्रिएका ढुंगा, माटो र लेदो हटाउन, पानी तान्न, हावा पठाउन तथा फसेका मानिसको अवस्था पत्ता लगाउन थप आधुनिक उपकरण आवश्यक परेको छ।
प्राविधिकहरूका अनुसार सुरूङको भित्री संरचना बुझेको आयोजनाको प्राविधिक टोली र उद्धारकर्मीबीचको समन्वयसँगै यी उपकरण तत्काल घटनास्थलसम्म पुर्याउनु अहिलेको मुख्य आवश्यकता हो।
नेपाल टनेलिङ एसोसियसनका अध्यक्ष रामहरि शर्मा अहिले पनि लाङटाङ खोला जलविद्युत आयोजना स्थलमै छन्। बाढी आएको नवौं दिन बिहीबार यो आयोजनाको सुरूङबाट दुई जनाको शव निकालिएको छ। सुरूङभित्र २५ जना फसेको आशंकामा अरूको खोजी तथा उद्धार जारी छ।
भदौ १५ गते नेपाली सेना सहितको उद्धार टोली मुख्य सुरूङबाट भित्र पस्ने क्रममा करिब १०० मिटरसम्म पुगेको थियो। तर सुरूङभित्र ढुंगा, माटो र लेदो भरिएका कारण अघि बढ्न सकेन। त्यसपछि उद्धारका लागि वैकल्पिक बाटो खोजियो।
लाङटाङ सुरूङमा तयार गरिएको वैकल्पिक बाटो अहिलेको उद्धारमा महत्त्वपूर्ण प्राविधिक उपलब्धि मानिएको छ।
तर सुरूङभित्र पुगिसकेपछि पनि उद्धार सहज छैन। किनभने, समस्या सुरूङभित्र पुग्नु मात्र छैन, त्यहाँ पुगेपछि काम गर्न आवश्यक उपकरण पुर्याउन पनि उत्तिकै चुनौतीपूर्ण बनेको शर्मा बताउँछन्।
'मेसिन नेपालमै छन्, तर साइटमा छैनन्'
लाङटाङमा देखिएको समस्या एउटा आयोजनामा मात्र सीमित छैन।
बाढीले प्रभावित रसुवा र नुवाकोट जिल्लाका ११ वटा जलविद्युत आयोजनामा खोजी तथा उद्धार कठिन भइरहेको प्राविधिकहरू बताउँछन्।
टनेलिङ एसोसिएसनका अध्यक्ष शर्माका अनुसार उद्धारका लागि आवश्यक उपकरण नेपालमा नभएको होइन। एक्स्काभेटर, लोडर, डम्प ट्रकजस्ता मेसिन नेपालमै छन्। वरपरका गाउँपालिकासँग पनि यस्ता उपकरण उपलब्ध छन्। तर ती उपकरण उद्धार भइरहेको वास्तविक कार्यक्षेत्रसम्म पुर्याउन नसकिएको उनको भनाइ छ।
'बाढीले आयोजना स्थलसम्म पुग्ने बाटोघाटो नष्ट गरेकाले पनि मेसिन ढुवानीमा समस्या भइरहेको छ,' उनले भने, 'त्यस्ता भारी उपकरण बोक्ने हेलिकप्टर पनि हामीसँग छैन।'
उनले अगाडि भने, 'बाढीले आयोजनास्थलको संरचना नै ध्वस्त पारेपछि आयोजनाको आफ्नै उपकरण पनि पुरिएका वा बगेका छन्। आयोजनाकै साइटमा त एउटा डोरी खोज्दा पनि नपाइने अवस्था छ। उद्धारका लागि चाहिने सामान बाहिरबाट लैजानुपरेको छ। तर सडकमार्ग अवरूद्ध भएकाले त्यसो गर्न सकिएको छैन।'
यसले अहिलेको उद्धारमा एउटा अनौठो अवस्था सिर्जना गरेको छ — आवश्यक मेसिन देशभित्रै छन्, तर उद्धारस्थलमा छैनन्।
सुरूङभित्र थुप्रिएको लेदो अर्को ठूलो चुनौती
उद्धार टोली सुरूङको मुखबाट करिब १०० मिटर भित्र पसेपछि अघि बढ्न नसक्नुको कारण यही भौतिक अवरोध हो।
बाढीले सुरूङभित्र ढुंगा, माटो र ठूलो मात्रामा लेदो थुपारेको छ। पानीसँगै पसेको सामग्री सुरूङभित्र थिचिएर कडा भएर बसेको छ।
त्यसलाई सामान्य औजार वा सानो मेसिनले हटाउन सकिने अवस्था छैन।
कतिपय ठाउँमा ढुंगा र लेदो यति कडा भएर बसेको छ, त्यसलाई पन्छाउन नयाँ सुरूङ खनेजत्तिकै समय लाग्न सक्ने प्राविधिकहरू बताउँछन्।
त्यसका लागि एक्स्काभेटर मात्र पर्याप्त हुँदैन। चट्टान फुटाउन रक ब्रेकर तथा ड्रिलिङ मेसिन, पानी निकाल्न उच्च क्षमताका पम्प र सुरूङभित्र हावा पठाउन कम्प्रेसर आवश्यक हुन्छ। यी सबै उपकरण सञ्चालन गर्न पर्याप्त क्षमताको जेनेरेटर पनि चाहिन्छ।
भारी उपकरण लैजाने हेलिकप्टर अभाव
अहिले सबभन्दा ठूलो अड्चन हो — यी उपकरण घटनास्थलसम्म कसरी पुर्याउने?
शर्माका अनुसार नेपालमा उपलब्ध हेलिकप्टरको भारवहन क्षमता ठूला सुरूङ उद्धार उपकरण ओसार्न पर्याप्त छैन।
'हामीसँग भएका हेलिकप्टरको भारवहन क्षमता सीमित छ। बढीमा ५० केभिए क्षमताको जेनेरेटरजस्ता साना उपकरण लैजान सकिन्छ। त्यसले सुरूङभित्र केही उपकरण चलाउन पुग्छ। तर ठूला जेनेरेटर र भारी मेसिन लैजान हेभी लिफ्टिङ हेलिकप्टर चाहिन्छ,' उनले भने।
सुरूङभित्र उज्यालो पार्न, हावा पठाउन, पानी तान्न र ढुंगा फुटाउन छुट्टाछुट्टै उपकरण चाहिन्छ। तर सडक पहुँच नभएको अवस्थामा ती उपकरण स्थलमार्गबाट लैजान सम्भव छैन।
त्यसैले उद्धारमा अहिले आवश्यक देखिएको कुरा केवल थप मेसिन होइन, भारी उपकरण बोक्न सक्ने हवाई क्षमता पनि हो।
'सुरूङ बुझ्ने प्राविधिक चाहिन्छ'
उद्धारमा अर्को चुनौती सुरूङको भित्री संरचनाको ज्ञान हो।
सुरूङ कहाँ मोडिएको छ, कुन भागमा कुन संरचना छ, निर्माण क्रममा कुन ठाउँमा कस्तो पहुँच बनाइएको थियो र मानिसहरू कहाँ हुन सक्ने सम्भावना छ भन्ने जानकारी आयोजनाको प्राविधिक टोलीसँग हुन्छ।
त्यसैले सुरूङ निर्माण र सञ्चालनको अनुभव भएको आयोजनाको मुख्य प्राविधिक टोलीलाई उद्धार टोलीसँगै परिचालन गर्नुपर्ने शर्मा बताउँछन्।
'सुरूङभित्रको नक्सा, दिशा र संरचना राम्रोसँग बुझेको आयोजनाको मुख्य प्राविधिक टोली उद्धार टोलीसँगै जानुपर्छ। प्राविधिक जनशक्ति भएर मात्र हुँदैन, उनीहरूको हातमा काम गर्ने आधुनिक उपकरण पनि हुनुपर्छ,' उनले भने।
शर्माका अनुसार सुरूङको डिजाइनदेखि निर्माणसम्म बुझेका अन्तर्राष्ट्रिय स्तरका विज्ञ फिल्डमै भए पनि उपकरण अभावमा उनीहरूले चाहेजस्तो काम गर्न सकेका छैनन्।
'सुरूङको डिजाइनदेखि कामसम्म बुझेका अन्तर्राष्ट्रिय स्तरका विज्ञ फिल्डमै छन्। तर हातमा उपकरण छैन। यस्तो अवस्थामा हात र मुखले मात्रै काम गर्न सकिँदैन। यो निकै पीडादायी अवस्था हो,' उनले भने।
'सुरूङमा फसेका मान्छेको अवस्था थाहा पाउने उपकरण अभाव'
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीका अनुसार उद्धारका लागि भारी मेसिन मात्र पर्याप्त हुँदैन। भित्र थुनिएका मानिसहरू जीवित छन् कि छैनन्, त्यसको जानकारी दिने उपकरण पनि चाहिन्छ।
यसका लागि सुरूङभित्र पठाउन सकिने ड्रोन, मानिस जीवित रहेको संकेत पत्ता लगाउने उपकरण, सञ्चार प्रणाली र ग्यासको अवस्था मापन गर्ने उपकरण आवश्यक हुने उनी बताउँछन्।
'ठूला मेसिन मात्र भएर पुग्दैन। मानिसको अवस्था पत्ता लगाउने उपकरण, सुरूङभित्र जाने ड्रोन, सञ्चार प्रणाली र ग्यास नाप्ने यन्त्र पनि चाहिन्छ। मुख्य कुरा यी उपकरण घटनास्थलसम्म पुर्याउन सक्नुपर्छ,' उनले भने।
विशेषगरी सुरूङभित्र प्रवेश गर्नुअघि त्यहाँको हावा, ग्यास र संरचनाको अवस्थाबारे जानकारी लिनु उद्धारकर्मीको सुरक्षाका लागि पनि महत्त्वपूर्ण हुन्छ।
अबको प्राथमिकता के?
प्राविधिकहरूका अनुसार अहिलेको पहिलो आवश्यकता उद्धारस्थलसम्म भारी उपकरण पुर्याउनु हो। त्यसका लागि ठूलो भार बोक्न सक्ने हेलिकप्टर आवश्यक छ।
त्यसपछि सुरूङको अवस्था अनुसार ड्रिलिङ, पानी तान्ने, हावा पठाउने र ढुंगा–लेदो हटाउने उपकरण परिचालन गर्नुपर्ने हुन्छ।
त्यससँगै सुरूङको भित्री संरचना बुझेको आयोजनाको प्राविधिक टोली र सुरक्षा निकायको उद्धार टोलीबीच नजिकको समन्वय आवश्यक देखिएको छ।
सामान्य अवस्थामा जलविद्युत आयोजनाका सुरूङमा आपतकालीन अवस्थाका लागि आवश्यक उपकरण, सुरक्षा प्रणाली र उद्धारको पूर्वतयारी हुने गर्छ। तर यसपटक बाढीले आयोजनाकै संरचना र उद्धार सामग्री नष्ट गरिदिएपछि बाहिरबाट सबै कुरा जुटाउनुपर्ने अवस्था आएको प्राविधिकहरू बताउँछन्।
बाढीपछि सुरूआती चरणमा उपलब्ध हेलिकप्टर अन्य उद्धार कार्यमा समेत प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सुरूङभित्र फसेकाहरूको खोजी तथा उद्धारले अपेक्षित प्राथमिकता पाउन नसकेको उनीहरूको अनुभव छ।
लाङटाङमा पेनस्टक पाइपबाट वैकल्पिक प्रवेशमार्ग बनाएर उद्धार टोली सुरूङभित्र प्रवेश गर्न सफल हुनु कठिन परिस्थितिमा एउटा महत्त्वपूर्ण सफलता हो। तर अबको चुनौती अझ कठिन छ — सुरूङभित्र थुप्रिएको अवरोध हटाउँदै फसेकाहरूको अवस्था पत्ता लगाउने र उनीहरूसम्म पुग्ने।
त्यसका लागि उद्धारकर्मी पुग्नु मात्र पर्याप्त छैन।
उद्धारकर्मीका हातमा सही उपकरण पुग्नुपर्छ।
***