पछिल्लो समय राज्यले ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका हामी कर्मचारीहरूलाई अनिवार्य अवकाश दिएर घर पठाउने भन्ने कुरा र नीतिगत प्रक्रियाले वर्षौँदेखि यही देशमा रगत–पसिना बगाउने म जस्ता धेरै निजामती कर्मचारीलाई एक किसिमको आशंका र अलिकति चोट पुर्याएको छ।
अहिले सिंहदरबारदेखि स्थानीय तहसम्म अनि चियापसलदेखि सामाजिक सञ्जालसम्म कर्मचारीतन्त्रविरुद्ध जस्तो आक्रोश पोखिन्छ, त्यसले आफ्नो जीवनको ऊर्जा देशको सेवामा अर्पण गर्नेहरूका मनमा अनगिन्ती प्रश्न उठाएको छ।
प्रविधिसँग जुधिरहेका, दुर्गमका कान्ला र अप्ठ्यारामा जीवनका उर्वर दशकहरू खर्चिसकेका हाम्रै पुस्ताका पुराना कर्मचारीहरूलाई आज एकैपटक ‘अयोग्य’ वा ‘बोझ’ को रूपमा देखाउन थालिएको छ। दशकौँसम्म राज्यलाई सेवा गर्ने हामी जस्ता कर्मचारीहरूको मनस्थिति आज कस्तो होला?
‘हात्तीको देखाइने दाँत र कतै च्यातिएको छाती’— आजको स्थायी सरकारको मनोदशालाई यही उखानले राम्रोसँग देखाउँछ। जसले आफ्नो यौवनदेखि ५८ वर्षको उमेरसम्म कम्तीमा तीन दशक यो देशमा पसिना बगाए, आज हामीप्रतिको समाज र राज्यको नजर हेर्दा लाग्छ, हामी कुनै इमानदार सेवक होइनौँ, बरु देशका अपराधी हौँ।
मेरो यो यात्रा २०५२ साल असोज २४ गते नियुक्ति पाएर थानकोट काटेसँगै सुरु भएको थियो। जब मेरो हातमा सरकारी जागिरको नियुक्तिपत्र आयो, मनमा एउटा ठूलो जिम्मेवारीको महसुस भयो— ‘राज्यले मेरो काँधमा ठूलो भार सुम्पिएको छ, यसलाई म इमानदारीसाथ पूरा गर्छु।’
दोलखाको एक लाहुरे परिवारमा हुर्किएकी र सामान्य राजनीतिक चेतना बोकेकी म, त्योभन्दा अगाडि थानकोट काटेर बाहिर निस्किएकी थिइनँ। जब पहिलो पटक थानकोट काटेर अछामतर्फ लाग्दै थिएँ, मेरा धेरै आफन्तले भनेका थिए, ‘जागिर नखाए पनि केही हुन्न, किन जान्छ्यौ त्यहाँ?’ किनभने, अछाम भन्ने ठाउँ मैले र मेरा आफन्तले नाम मात्रै सुनेका थियौँ।
न सडक थियो, न बिजुली, न आजको जस्तो सञ्चारको सुविधा। लालटिन बालेर रात काट्नुपर्ने त्यतिबेला त्यो ठाउँमा बिहानदेखि बेलुकासम्म टर्चलाइट बालेर पैदल हिँडेर कार्यक्षेत्रमा पुग्नुपर्ने बाध्यता थियो। भेलबाढीले बगाउने, बाघभालुले चिथोर्ने डरत्रास बोकेर जंगल खोलानाला काटेका कैयौँ दिन मानसपटलबाट हट्नै मान्दैनन्। घरपरिवारसँग कुरा गर्ने कुनै माध्यम थिएन।
त्यतिबेला फ्रक र पाइन्ट पहिरनमा हुने म जागिरको सुरुवातसँगै पहिरन बदलेँ, सामान्य कुर्ता सुरुवाल र खद्रका धोती चोलोमा देखिन्थेँ कारण ग्रामीण क्षेत्रका दिदीबहिनीहरूले जस्तो पहिरन गर्छन् उस्तै लगाउनुपर्छ भन्ने पवित्र सल्लाह सुझाव सेवाकालीन तालिममा प्राप्त भएको थियो। जीवनमा जागिरको सुरुवातदेखि नै एउटा दृढ अठोट थियो, देशको सेवा गर्ने। त्यही अठोटले मलाई ३१ वर्ष लामो यात्रा पार गरायो।
अछामबाट सुरु भएको यात्रा काभ्रेपलाञ्चोक, जुम्ला, कपिलवस्तु, भक्तपुर, रोल्पा, पर्वत, सिन्धुपाल्चोक हुँदै स्थानीय तहमा स्थायी समायोजन भएर काभ्रेको नमोबुद्ध नगरपालिकामा आइपुगेको छ। जुम्लामा महिला तथा बालबालिका कार्यालयमा हुँदा २०६४ सालमा पहिलो पटक म र कल्पना बस्याललाई महिला तथा बालबालिका विभागले देशभरबाट उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गर्यो। त्यो बेला लागेको थियो, राज्यले इमानदारिताको कदर गर्छ।
आज पनि म सरकारकै नुन खाइरहेकी छु। तर अवस्था फेरिएको छ, सरकार फेरिएको छ र सरकार चलाउनेहरूको सोच पनि बदलिएको छ। के साँच्चै सरकारलाई हामी कर्मचारीले मात्र असहयोग गरेका हौँ? अनुभव र क्षमतालाई बढाउँदै आएका हामी कर्मचारीहरू आज राज्यलाई किन ‘ऐँजेरु’ जस्तो लाग्न थालेका छौँ? ३० वर्ष देशका लागि गरेको लगानीको फल के यही हो?
आजभोलि सामाजिक सञ्जाल हेर्दा एक किसिमको डर लाग्छ। लाग्छ, म यो देशको कुनै जिम्मेवार कर्मचारी होइन, देशकै लागि घातक अपराधी हुँ। जसरी ठूला समाचार शीर्षकहरूको तल अशिष्ट र पढ्न नसकिने गाली र टिप्पणी लेखिन्छ, त्यसले मलाई जिउँदै मरेको जस्तो अनुभव गराउँछ।
समाचारमा त केवल घटनाको कुरा उठाइएको हुन्छ, तर कमेन्टहरूले जिउँदो मान्छेलाई भित्रैदेखि सताउँछ। आफ्नो यौवनदेखि ३० वर्ष देशको माटोमा रगत–पसिना बगाउनेहरूलाई आज जसरी धपाउनुपर्ने भाषा प्रयोग हुन्छ, त्यो देख्दा लाग्छ, ‘जाँतोको पिसाइमा परेझैँ यो पीडा भोग्नेलाई मात्र थाहा हुन्छ।’
निजामती सेवा ऐनअनुसार योग्य ठहरिएर आएका हामी आज राज्यको नजरमा समस्या भएका छौँ। हजारौँमा प्रतिस्पर्धा गरेर आएका हामीलाई आज अचानक अयोग्य भनिँदैछ। के सबै कर्मचारी इमानदार छन् त? यसको उत्तरमा पक्कै पनि ‘हो’ भन्न सक्दिनँ। जसरी मकैको घोगामा सबै दाना एउटै हुँदैनन्, निजामती सेवाभित्र पनि धेरै खालका मान्छे छन्।
सेवाग्राहीलाई सास्ती दिने, फाइल अड्काएर कमिसन खोज्ने, संघ–संगठनको आडमा राजधानीमा मात्रै बस्ने, आचारसंहिता उल्लङ्घन गर्ने र नीतिगत भ्रष्टाचार गर्नेहरू छैनन् भन्न सकिन्न। तर, के सबै कर्मचारी यस्ता छन् त? होइनन्। इमानदारी र निष्ठाका साथ काम गर्नेहरूको संख्या पनि कम छैन। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नेहरू आज ओझेलमा परेका छन्।
निजामती सेवा ऐनले त असल र उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने मात्र होइन, गलत र गैरकानुनी काम गर्नेहरूलाई कानुनी दायरामा ल्याएर दण्ड, जरिवाना तथा विभागीय कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको छ नि!
यदि कोही कर्मचारी आफ्नो कर्तव्यबाट विचलित हुन्छ, भ्रष्टाचार गर्छ वा सेवाग्राहीलाई सास्ती दिन्छ भने कानुनबमोजिम उसलाई कारबाही गर्ने पूर्ण अधिकार राज्यसँग छ। गलत गर्नेहरूलाई कानुनी कारबाहीको दण्ड दिनु र इमानदारीपूर्वक देश र जनताको सेवामा खटिनेहरूलाई प्रोत्साहन तथा कदर गर्नु राज्यको दायित्व हो।
तर केही व्यक्तिको कमजोरी वा त्रुटिलाई देखाएर सम्पूर्ण निजामती प्रशासनलाई नै एउटै घानमा हाल्नु र दशकौँदेखि पसिना बगाएका सिङ्गो पुस्तालाई दण्डित गर्नु न्यायसंगत होइन। कसैले गलत गर्छ भने त्यसैलाई मात्र सजाय दिनुपर्छ, तर असल नियतका साथ काम गर्ने र पसिना बगाउने कर्मचारीहरूको मनोबल गिराउने गरी समग्र पुस्तालाई नै अयोग्य करार गर्ने प्रवृत्तिको भने समीक्षा हुनैपर्छ।
आज ३० वर्ष सेवा पूरा गरेका हामीले जब जागिर थालेका थियौँ, प्रविधिको नाममा ‘लिथो’ वा टाइपराइटर थियो र यातायातको साधनको रूपमा घोडा चल्थ्यो त्यो पनि उच्च ओहोदाको कर्मचारीलाई मात्रै। आजको प्रविधिमा अभ्यस्त बन्न हामीलाई केही असजिलो हुनु स्वाभाविक हो, तर यसैको आधारमा एक पुस्तालाई सीधै अयोग्य भन्नु सरासर अन्याय हो।
मैले जहिले पनि मेरो पेसालाई धर्म ठानेँ। जुम्लामा फिल्डमा काम गर्दा महिनावारी हुँदा आजको जस्तो स्यानिटरी प्याड पाइँदैनथ्यो। कपडाको प्याड प्रयोग गरेर दिनभर हिँड्दा शरीर सुन्निएर आँखा नखुलेर केहीबेर अगाडि बढ्न रोकिन्थ्यो, तर मेरो काम रोकिएन। जीवनमा कहिल्यै कसैको घुस त परको कुरा, अनावश्यक फाइदा पनि लिइनँ।
तालिमका बेला सावित्रा बास्कोटाले सिकाउनुभएको शब्द सधैँ मनमस्तिष्कमा बस्यो, ‘कसैको केही नखानु, एउटा काँक्रो दिए पनि सित्तैमा नखानु’ भन्ने सिकाइ सधैँ मनमा राखेँ। जीवनमा आजको मितिसम्म कुनै राजनीतिक दल वा नेताको सिफारिसमा सरुवासम्म गराएकी छैन। कार्यालयले जहाँ पठायो, त्यहीँ गएर इमानदारीपूर्वक सेवा गरेँ।
३१ वर्षको लामो समयमा मैले आफ्ना व्यक्तिगत पीडा वा अभावका लागि कहिल्यै गुनासो गरिनँ। हाकिमको गुलामी गरेर काम चोर्ने र इमान बेच्ने काम कहिल्यै गरिनँ। ३१ वर्षमा दुईजना हाकिमसँग मतभेद भयो एक जना नासुबाट हाकिम भएका महिला कार्यालय प्रमुख जसले कार्यसम्पादन मूल्यांकन फारममा नम्बर घटाउन पछि परिनन् तर विभागले थाहा पाएको तीन दिनभित्र कारण पेस गर्न आदेश दिएको थियो र अर्को स्थानीय तहमा समायोजन पश्चात् खरदारबाट जागिर प्रवेश गरेको पुरुष हाकिम जसले त मलाई छिटो राजीनामा दिन समेत सुझाउन पछि परेनन्।
उनीहरू आफैमा बाहिर टाइफिटिङ भित्र जुम्राको मिटिङ उखान जस्ता थिए। उनीहरूको कालो स्वार्थ पूरा गर्न म सधैँ असमर्थ भएँ। ३१ वर्षे निजामती सेवा जीवनमा केवल दुई पटक मेरा आँखाबाट आँसु खसे, त्यो पनि जब मेरो शरीरले साथ छाड्यो। एकपटक पत्थरीको जटिल शल्यक्रिया गरेको १५ दिन नपुग्दै, टाँका नसुक्दै फिल्ड जानुपर्दाको पीडामा, र अर्को पटक सिस्टको अपरेसन गरेलगत्तै आराम गर्न नपाई जनताको काममा खटिनुपर्दाको शारीरिक कष्टमा। यी दुई बाहेक मेरो जीवनको बाँकी समय यो देशको माटो र जनताको सुख–दुःखमा रमाएर बित्यो।
आज पनि मलाई राम्रोसँग सम्झना छ, जब मैले जागिरको सुरुवातमा शतप्रतिशत दुर्गम भत्तासहित जम्मा ३,७०० रुपैयाँ तलब पाएकी थिएँ, त्यही तलबबाट पसिनाको थोपा जोगाएर जोडेको त्यो सानो सुनको औँठी मेरो इमानदारीको पहिलो चिनो हो र छ। बिना चाप्लुसी त्यही पसिना र संघर्षको आधारबाट आएकी म, आज कसैले सतही रूपमा औँला उठाउँदै ‘सबै कर्मचारी भ्रष्ट हुन्छन्’ भनी गरेको निराधार आरोपमा कसरी विश्वास गर्न सक्छु?
पुराना कर्मचारीलाई उमेरहद ५८ वर्ष नपुग्दै, विशेषगरी ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरको आधार देखाएर जबर्जस्ती बिदा गर्ने वा घर पठाउने कुरा जुन भइरहेको छ, त्यसमा मैले प्रश्न उठाउनैपर्छ। नियमले तोकेको उमेरहदसम्म सेवा अवधि जोडेर वा सेवा अवधि पूरा गरेर घर फर्कन हामीलाई कुनै समस्या छैन। तर प्रश्न व्यक्तिको होइन, प्रवृत्तिको हो।
३० वर्ष सेवा पुगेका वा ५५ वर्ष उमेर कटेका भनेर मात्रै रातारात अयोग्य भन्दै सेवाबाट हटाउँदा राज्यले वास्तवमा गर्न के खोजेको हो?
३० वर्षसम्म जसलाई राज्यले इमानदार मानेर विश्वास गर्यो, के हामी ती बाँकी वर्षका लागि अचानक अविश्वासी वा बोझ भयौँ?
कर्मचारीप्रतिको यो अविश्वास हो कि कुनै राजनीतिक स्वार्थको डर?
किन आज राज्य आफ्नै स्थायी सरकारमाथि भरोसा गर्न सकिरहेको छैन?
यो आजको सबैभन्दा गम्भीर समीक्षा गर्नुपर्ने विषय हो।