दमले च्यापेको एकाध घण्टामै बुवाको निधन भयो, भदौ ३१ गते।
दिदी र मैले अन्तिम पटक मुख हेर्छौं भनेपछि बुवाको पार्थिव शरीर अस्पतालमा राखियो।
हामी आइपुगेपछि भदौ २ गते बुवालाई बिदाइ गर्यौं। बर्दियाको कुसुमघाटमा सतिगति सम्पन्न गरी घरमा आई रीतपूर्वक कोरा बस्यौं।
ठूलो दाजु केही वर्षअघि स्वर्गीय हुनुभएकाले माइलो दाइ काजक्रमको प्रमुख पात्र हुनुभयो। ५ भाइ, आमा, दिदीहरू, भाउजूहरू, भाइबुहारी पनि बेग्लाबेग्लै स्थानमा कोरा बस्यौं। मेरी श्रीमतीको पासपोर्ट एक्सपायर भएकाले तत्काल नेपाल आउन पाइनन्। उनले उतै डाठो किरिया सुरू गरिन्। छोरी सानै भएकाले उनको पनि रेखदेख गर्न मिल्ने गरी डाठो किरिया (हल्का खुकुलो प्रकृतिको) गर्न पण्डितजीले सुझाउनुभएको थियो।

कोरामा बसेको एकछिनपछि मोबाइल हात पर्यो। बुवाको दागबत्ती भइरहँदा मलाई तारान्तार फोन आएको रहेछ। कलब्याक गर्दा ससुराबाको काँपेको आवाज आइरहेको थियो। बाबुलाई १०४.९ ज्वरो आयो। आँखा पल्टायो। के गर्ने, गर्ने? म निरूत्तर रहें।
बाबुले चितवनका फाँटमा खाइखेलो गरोस्। लाली गाई प्रत्यक्ष आँखाले देखोस्, बाच्छाबाच्छीलाई आफ्नै हातले सुम्सुमाओस्, पाठापाठीसँगै उफ्रियोस्, हजुरबा हजुरआमा मात्रै बस्ने मावली घरमा केही समय मेजमानी गरोस् भनेर दुई महिनाअघि म नेपाल आउँदा बाबुलाई यतै छाडेको थिएँ।
हजुरआमालाई मम्मी भन्ने, मम्मीसँगै बस्ने, मम्मीसँगै सुत्ने गर्थ्यो–सासूमा हामीसँगै रहँदा पनि। त्यो माया र सामीप्यताको थप भोग गरोस् भन्ने लालचाले उसलाई मन भारी हुँदाहुँदै पनि यतै छाडेको थिएँ। मुख्यतः नेपालसँग उसको स्मृति जोडियोस् भन्ने हो, ताकि पछि उसले यता र उताको मूल्याङ्कन नगरोस्–नेपाललाई भावनाले हेरोस् भन्ने मेरो स्वार्थ निर्णायक थियो।
बाबुलाई ज्वरो आएको केही दिन भएको थियो। ज्वरो आउने–जाने क्रम नरोकिएपछि बाबु अस्पताल भर्ना भएको थियो। काठमाडौं ओर्लिएपछि ससुराबासँग कुरा भएको थियो। ज्वरो घटेको र बाबु खासै कमजोर नदेखिएको भन्ने रिपोर्ट थियो। त्यहीँ भएर पनि मैले पूर्ण किरिया प्रारम्भ गरें। डाठो किरिया भन्ने विकल्पतिर गइएन। तर, कोरा सुरू हुँदाहुँदै बाबु निस्लोट परेको खबर आयो।
बाबुलाई केही दिनसम्म केही खायो कि बमिट हुन्थ्यो, त्यो पनि रोकिएको थियो। तर, रिपोर्ट डेंगी र स्क्रबटाइफस भन्ने आएछ। जबकि सुरूमा नै डाक्टरलाई डेंगी हो कि चेक गरिदिनु भन्दा भाइरल हो, ढुक्क हुनुहोस् भन्दै आश्वस्त तुल्याएका थिए। म यस्तो बेचैन थिएँ। निरूपाय। मनमा ज्वाराभाटा चलिरहे। एकातिर काख गुमाएको पीडा, अर्कोतिर काखे बाबुको छटपटी।
बुवालाई दमले च्याप्यो भन्ने खबरपछि निन्द्रा गुमाएको शरीर। अमेरिकादेखि बर्दिया पुग्दासम्मको ३० घण्टाको यात्रा। खुराक नपुगेको ज्यान। बुवालाई अन्तिम पटक चुम्बन गर्ने, र पार्थिव शरीर आफ्नै काँधमा बोक्ने धोको। सायद शरीर शिथिल थियो। रातको एक बजेपछि म निदाएछु।
सपनामा बुवा देखें। म सानो छँदा कान दुखेर हत्तु भएको थिएँ। नुनपानीको बाफले बुवाले रातभरि कान सेकिदिएको, शरीर मालिस गरिदिएको, केही आपतविपत् पर्दा खुर्र बुवासँग सिकायत गरेको र बुवा हाम्रो लागि सतीसालझैँ उभिएको कुराहरू लेखोट गरिरहेको सपना देखेँ।
दिउँसो मैले लेख्छु भनेको थिएँ तर लेख्न सकेको थिइनँ। बुवा अमेरिका जाँदा मेरो फिरपातो बेस्सरी दुख्यो। कुम चलाउनै नसक्ने भएँ। बुवाले साँझ परेपछि यता आइजा भनेर कोठामा बोलाउनुभयो। त्यसपछि यसरी कुममा मालिस गरिदिनुभयो कि बुवाको शरीरको शक्ति मैले पुनः आभास गरें। दिउँसो म्यारिज खेल्दा बुवाको औँला काँपेर पत्ती फुत्त फुत्त खसेको देखेको थिएँ। साँझ बुवाको थिचाइ बिल्कुल बेग्लै। मैले भनें–बुवा तपाईंको बल त कत्ति घटेको रैनछ। बुवा उसैगरी फिस्स हाँस्नुभयो।
अढाइ बजेतिर म काँप्दै उठेँ। मैले मेरो बाबु सम्झिएँ। मेरो कठिन अवस्थामा बुवा जहिल्यै साथमा हुनुहुन्थ्यो। आज बाबुको छेउमा न म छु न उसकी आमा।
राम्रोसँग बोल्न समेत नजान्ने बाबुको भाषा बुझ्ने तीन जना मात्रै हौं–मम्मी (हजुरआमा), आमा र म। मम्मी आफै बिरामी परेर थला पर्नुभएको छ, आमा पासपोर्टका कारण थुनिइन्, म यता कोरामा। बाबुलाई कस्तो भयो होला? म एक्लै रोइरहेँ। बुवाले हामी आठ–आठ जना सन्तानलाई सदैव आडभरोसा दिनुभयो। कोही अशक्त भएनौं। सन्तानको स्वाभिमान र स्वार्थका लागि बुवाले आफ्ना सबै अभिमान र महत्त्वाकांक्षा तिलाञ्जली दिँदाको साक्षी हुँ। आज बाबु छटपटाइरहँदा त्यस्तो बाउको छोरो म लाचार किन? आफैप्रति कठोर प्रश्न गरिरहेँ।
कोरा बसिरहेको कोठामा अत्तालिएजस्तो अनुभूति भयो। सतर्कतापूर्वक बाहिर निस्केँ, केही नछोइयोस्–कसैले नछोओस्। घर सुनसान थियो। बाहिर खाटमा कोही कुरूवा सुतिरहनुभएको थियो। अघिसम्म आँगनमा प्रियजनको टनाटन उपस्थिति थियो। सबै कुराको व्यवस्थापन गरिवरि लाखापाखा लागेको हुनुपर्छ। मलाई आमा कता हुनुहोला भन्ने लाग्यो। हामी आएलगत्तै बुवाको पार्थिव शरीर लिएर घाट गयौं। पछाडि आमाको रोधन सुनिन्थ्यो। आमाको आङ्गालोमा रूने समय समेत पाइनँ। फर्कंदा आमालाई देखिनँ। कोरा पसिसक्नुभएर होला। बुवा बितेपछि आमा बिरामी हुनुभएको रहेछ। टाइफाइड देखिएर औषधि चलाइएको रहेछ। ९ सन्तानलाई जीवितै जन्माएकी आमाको बुढेशकालको काया। एक सन्तानलाई सानैमा गुमाएकी, जेठो छोरालाई केही वर्षअघि गुमाएकी र अहिले पति गुमाएकी आमाको वियोग झन् कस्तो होला!
आँगनमा शीतल हावा खाएपछि अलि आँट आयो। ससुराबालाई फोन गरें। बुवा आत्तिइरहनुभएको थियो। बुवा पनि निरूपाय सुनिनुहुन्थ्यो–के गर्ने, गर्ने? उता अप्सरा (बाबुकी आमा) ले सुक्सुकाइरहेको आवाजमा बाबुलाई गाह्रो भाछ रे भनेर भ्वाइस म्यासेज पठाएकी रहिछन्। सब चिज एकै पटक परेजस्तो।
पुष्पा घिमिरे दिदी (कान्ति बाल अस्पताल) लाई म्यासेज पठाएँ। मध्यरातमा फोन गर्न सकिनँ। सानोबुवालाई फोन गरें, फोन उठेन। ससुरा बुवा र अप्सरासँग फोनमा कुरा गर्दै २ घण्टाजति बित्यो। ठीक हुन्छ भन्नु बाहेक अर्को उपाय निस्केको थिएन। बाबुलाई काठमाडौं लैजाऔं भन्ने सल्लाह भयो।
बिहानपख पुष्पा दिदीको फोन आयो। दिदीले परिस्थिति बुझिहाल्नुभयो। जुन डाक्टरले बाबुको उपचार गरिरहेका थिए, उनलाई दिदीले चिन्नुभएको रहेछ। नर्सिङ काउन्सिलमा रहिसकेकाले उहाँको पहुँच देशव्यापी रहेछ। डाक्टरले यही निको हुन्छ भनेछन्। दिदीले सबै बुझिसकेपछि अब पर्खने समय छैन, तुरून्त ल्याइहालौं भन्ने कुरा भयो। दिदीले सुरूमा म साथै रहन्छु–भर्ना गराउँछु, मिलाएर तपाईं पनि आउनु भन्नुभयो।
चितवनबाट काठमाडौं जाने प्लेनको टिकट तेस्रो दिनसम्मलाई सबै प्याक। सडक हुँदै जाने अवस्था थिएन। के गर्ने, कसो गर्ने, इल्लु बिल्लु परियो। फेरि एक मनले सोचेँ–भनसुन गरे मिल्छ कि! भाइले खगेन्द्र भाइ (अधिकृत) पनि यहीँ छन्, उनले मिलाउन सक्छन् कि भन्यो। खगेन्द्रले फोन डायल गरे। उता चितवनमा कञ्चनजी (मित्र एवं पूर्वमाननीय) लाई फोन गरेर बाबुको अवस्था कहेँ। उनले टिकट मिल्ला, नआत्तिनु, म अस्पताल जान्छु भन्नुभयो। घनघोर पानी परेकाले उडान रोकिएको छ, कति बेला सुरू हुन्छ थाहा छैन भन्ने खबर आयो। सबैतिरको प्रयासबाट एउटा सफलता मिल्यो–पहिलो उडानबाटै बाबुहरू काठमाडौं जाने व्यवस्था।
कञ्चनजीले अस्पताल पुगेर फोन गर्नुभयोः जीवन ठूलो हो, मिलाएर आऊ भन्नुभयो। पुष्पा दिदीको कुरा उही छ। बुवाको आशय त्यही छ। मलाई आमासँग परिस्थिति बताएर निस्कुँ भन्ने लाग्यो तर आमाको कोठामा गए पनि बोल्न सकिनँ। आँखा आँसुले टालियो, गला बस्यो। फेरि कोरा बसेको कोठामा आएँ। दाइभाइलाई परिस्थिति बताएँ।
माल्दाइले भन्नुभयो–हामीले यो सब गरेको सन्तान दरसन्तानका लागि हो। अहिले सन्तानलाई हाम्रो खाँचो छ भने, त्यो पनि यो कर्मको भाग हो। साइलादाइ, काल्दाइले जोड दिनुभयो–आखिरीमा सब गर्ने भनेको माल्दाइले हो, हामी सहयोगी मात्र हौं। तँ आउनै नपाएको भए पनि किरिया हुन्थ्यो, तँ गए पनि किरिया हुन्छ–तँ जानैपर्छ। भाइले ससुराबालाई फोन गर्यो, परिस्थितिको विवरण लियो। फोन राखेपछि उसले दुई शब्दमात्र बोल्यो–तपाईं जानु। सानोबुवा र अंकलले पनि त्यसै भन्नुभयो।
जान त जाने, त्यत्तिकै उठेर जाने कुरा भएन। परिवार र आफन्तको कुरा मात्र भएन। समाजको कुरा पनि भयो। पण्डितजीको धारणा के आउने हो?
दाइहरूले उपस्थित अगुवासँग सरसल्लाह गर्नुभयो। सबैले उही कुरा भन्नुभयो–विधि पुर्याएर बाहिरिने, जीवन जोगाउनु नै उत्तम कर्म हो। पानी दर्किएकाले पण्डित आइपुग्न ढिला भयो। आमालाई म एकाएक निस्किँदा झन् पीडा हुन्छ कि, बाबुको स्वास्थ्यबारे थपिएको चिन्ताले थप समस्या हुन्छ कि भनेर मन पोल्यो। फेरि आमा बसेको कोठामा गएँ, दुबै जनाको बोली फुटेन। म त्यसै फर्किएँ।
पण्डित आउनुभयो। दाइहरूबाट परिस्थितिबारे बुझेपछि उहाँले भन्नुभयो–म विधि र शास्त्रमा भएभन्दा अरूथोक गर्दिनँ! एक्लो छोरा भएको भए कर्म रोकिने हुँदा गाह्रो हुन्थ्यो, अरू यहाँ भएकाले बाबुलाई रीत पुर्याएर म बाहिर निकाल्छु।
मलाई मन्त्र उच्चारणसहित पण्डितले गहुतपानी दिनुभयो। कोराबाट निस्केपछि कसरी चोखै रहने भन्नेबारे सुझाव दिनुभयो। सके १० औँ दिनसम्ममा पुनः मिसिन सकिन्छ, नसके पनि विधि पूरा भएको मानिने गरी म सब गर्छु भन्नुभयो। गहुतपानी र मन्त्रोच्चारणसहित म कोराबाट बाहिरिएँ। लुगा फेरेँ। झोला बोकेर घरबाट बाहिर निस्किएँ। परिस्थितिबारे अनविज्ञले बाटोमा मलाई अचम्म मानेजसरी हेरेजस्तो लाग्यो। मावली नारायण भाइ, कृष्ण भान्दाइ अलि परसम्म छोड्न आए। भिनाजुले लिफ्ट दिनुभयो। बाउको कर्म पूरा गर्न नसकेको भारी मनसहित, रोगसँग जुधिरहेको नाबालक छोरालाई साथ दिने अठोटसहित म बुद्ध एयर हुँदै नेपालगञ्जबाट काठमाडौं ओर्लिएँ।
(अस्पताल बसाइको अनुभव अर्को अंकमा)