कहिलेकाहीँ कुनै ठाउँमा फर्केर जाँदा त्यहाँको दृश्यभन्दा आफू कति बदलिएको रहेछु भन्ने कुरा बढी महसुस हुँदो रहेछ। पुतलीसडक मेरा लागि त्यस्तै एउटा ठाउँ हो।
वरिपरि मानिसहरूको भीड, गाडीहरूको आवाज र सबैलाई कतै पुग्ने हतार। तर यही भीडको बिचमा कहिलेकाहीँ आफू भने कतै नपुगेको मान्छेजस्तो लाग्छ। मानौँ संसार आ–आफ्नो गतिमा अगाडि बढिरहेको छ र म आफ्नै जीवनका केही अनुत्तरित प्रश्नहरू बोकेर हिँडिरहेको छु।
स्नातक तहको सुरुवातसँगै प्रवेश परीक्षाको तयारी गर्न आउँदाका ती दिनहरू सम्झिँदा अहिले आफैँलाई अलि फरक मान्छे भेट्छु। कुनै समय यही गल्लीहरूमा हिँड्दै मैले आफ्नो भविष्यका अनेकौँ कल्पना गरेको थिएँ। पढ्ने, परीक्षा दिने, स्नातक सक्ने अनि कुनै राम्रो काम पाउने। त्यसपछि जीवन बिस्तारै आफ्नै लयमा अघि बढ्नेछ भन्ने लाग्थ्यो।
भविष्य टाढा त थियो, तर सुन्दर देखिन्थ्यो। मेहनत गरेपछि आफूले चाहेको ठाउँसम्म पुग्न सकिन्छ भन्ने विश्वास थियो। बाटो कठिन हुन सक्छ भन्ने थाहा थियो, तर समय र परिस्थितिले यति धेरै कुरा सिकाउलान् भन्ने चाहिँ कहाँ सोचेको थिएँ र!
त्यति बेला साथीहरूसँगको भेटघाट नै दिन बिताउने पर्याप्त कारण हुन्थ्यो। ठट्टा, हाँसो, सानातिना योजना र कहिलेकाहीँ कुनै उद्देश्य नै नभई गरिने घुमफिरमा छुट्टै आनन्द थियो। भोलिको धेरै हिसाब नगरी वर्तमानमा रमाउन सकिन्थ्यो।
पढाइ सकिएपछि पनि आफ्नो बाटो पत्ता लगाउन गाह्रो हुन सक्छ, आफूले सोचेको समयमै सबै कुरा नमिल्न सक्छ भन्ने कुरा त्यति बेला त्यति गम्भीर रूपमा सोचिँदैनथ्यो। सायद उमेरले भन्दा पनि अनुभवले मानिसलाई जीवनका वास्तविकता बुझाउँदो रहेछ।
आज फेरि यही ठाउँमा आउँदा भीड उस्तै छ, गल्लीहरू उस्तै छन्, तर म पहिले जस्तो साथीहरूको समूहमा हुँदिनँ। पहिले साथीहरूसँग हिँड्दा वरिपरि के भइरहेको छ भन्ने खासै याद हुँदैनथ्यो। आफ्नै कुरामा रमाइन्थ्यो। अहिले भने बाटोमा हिँडिरहेका मानिसहरूलाई नियाल्छु।
कसैको अनुहारमा हतार छ, कसैको हातमा किताब छ, कोही फोनमा कुरा गर्दै कतै पुग्न खोजिरहेको छ। कलेजका केही विद्यार्थीहरू हाँस्दै हिँडिरहेका देखिन्छन्। उनीहरूलाई देख्दा आफ्नै पुराना दिनहरू सम्झिन्छु। म पनि त कुनै समय त्यसरी नै हिँड्थेँ। सायद उनीहरूमध्ये कतिले पनि भविष्यबारे त्यस्तै सुन्दर कल्पना गरिरहेका होलान्, जस्तो कुनै समय मैले गरेको थिएँ।
पुतलीसडकको बिचमा एउटा कुर्सी छ। कहिलेकाहीँ म त्यहीँ बसेर वरिपरि हिँडिरहेका मानिसहरूलाई हेरिरहन्छु। कोही साथीहरूसँग ठट्टा गर्दै हिँडिरहेका हुन्छन्, कतै कुनै जोडी आफ्नै कुरामा रमाइरहेको हुन्छ। उनीहरूलाई देखेर म मुसुक्क मुस्कुराउँछु र केही बेर आफ्नै पुराना दिनहरू सम्झिन्छु।
पहिले जस्तै रमाइलो गर्न अहिले पनि मन लाग्छ, साथीहरूसँग समय बिताउन मन लाग्छ। तर सँगसँगै पढाइ, काम, खर्च र भविष्यका जिम्मेवारीहरू पनि सम्झनामा आइरहन्छन्। कुनै कुरा गर्ने इच्छा हुँदा त्यसका लागि समय र खर्च दुवै मिलाउनुपर्छ। पहिले जस्तो मन लाग्यो भन्दैमा सबै कुरा गर्न सकिँदैन। यो कुनै ठुलो दुःख होइन, सायद उमेरसँगै जीवनमा थपिँदै जाने सामान्य हिसाबकिताब हो। तर कहिलेकाहीँ यही हिसाबकिताबले आफूभित्रको पुरानो मान्छेलाई अलि पर धकेलिदिएको जस्तो लाग्छ।
अनि मनमनै आफैँलाई सोध्छु—तिमी त्यही बोरिङ अंकल बन्यौ, जुन बन्ने तिमीले कहिल्यै चाहेका थिएनौ?
अचम्म लाग्ने कुरा, पुतलीसडकको पानीपुरी पनि अहिले पहिले जस्तो लाग्दैन। पानीपुरी त उही होला, त्यसको स्वाद पनि सायद उस्तै छ। तर पहिले साथीहरूसँग उभिएर खाँदाको स्वाद र अहिले एक्लै खाँदाको स्वादमा केही फरक छ। पहिले एउटा प्लेट सकिएपछि अर्को खाने कि नखाने भनेर साथीहरूबिच हुने छलफल पनि रमाइलो लाग्थ्यो। अहिले खाँदै गर्दा स्वादभन्दा सम्झना बढी आउँछ। सायद पानीपुरीको स्वाद फेरिएको होइन, त्यसलाई स्वादिलो बनाउने साथ छुटेको हो।
समयसँगै मानिसहरू, सम्बन्धहरू र प्राथमिकताहरू पनि बदलिँदा रहेछन्। कुनै समय दिनहुँ भेटिने साथीहरू अहिले कहिलेकाहीँ फोनमा मात्र भेटिन्छन्। सबै आ–आफ्नो पढाइ, काम र जिम्मेवारीमा व्यस्त छन्। कसैको जीवनमा नयाँ अवसर आएका छन्, कोही आफ्नै संघर्षमा छन्। दूरी सधैँ मनमुटाबका कारण सिर्जना हुँदैन रहेछ; कहिलेकाहीँ परिस्थितिले नै मानिसहरूलाई टाढा पुर्याउँदो रहेछ।
परिवारसँगको सम्बन्धमा पनि समयले केही परिवर्तन ल्याउँदो रहेछ। पढाइ, काम र भविष्यको खोजीमा घरबाट टाढा बस्नुपर्छ। आफ्नै जीवनलाई व्यवस्थित बनाउने प्रयास गर्दा परिवारसँग बिताउन पाइने समय पनि घट्दै जान्छ। पहिले दसैँ, तिहार आउँदा मनमा छुट्टै उत्साह हुन्थ्यो। नयाँ लुगा, परिवारसँगको भेटघाट, आफन्तहरूको जमघट र रमाइलोको प्रतीक्षाले दिनहरू गनेर बस्थ्यौँ। तर उमेरसँगै चाडपर्वको अर्थ पनि बदलिँदो रहेछ।
अहिले कहिलेकाहीँ चाडपर्व नजिकिँदा खुसीसँगै मनमा अनेकौँ प्रश्न आउन थाल्छन्। परिवार र आफन्तहरूको जमघटमा जाँदा पढाइ, काम, कमाइ र विदेश जाने योजनाबारे सोधिने प्रश्नहरू सम्झिन्छु। कसैले चासो राखेर सोध्छन्, कसैले अरूसँग तुलना गरेर। सबै प्रश्नको उत्तर दिन सकिन्छ भन्ने पनि हुँदैन। कहिलेकाहीँ आफूले गरिरहेको प्रयासभन्दा अहिलेसम्म हासिल गर्न नसकेको कुराको हिसाब बढी सुनाउनुपर्ने हुन्छ।
हामीलाई पनि आफ्ना परिवारका अगाडि गर्वका साथ केही सुनाउन मन लाग्छ। आफूले केही हासिल गरेको छु, आफ्नै खुट्टामा उभिने बाटो बनाउँदै छु र परिवारलाई खुसी बनाउन सकेको छु भन्न मन लाग्छ। तर वास्तविकता सधैँ हाम्रो चाहनाअनुसार कहाँ चल्दो रहेछ र!
नेपालमा आफ्नो क्षमता र योग्यताअनुसारको अवसर खोज्न कति कठिन छ, सामान्य जीवनलाई व्यवस्थित बनाउन कति चुनौती छन् भन्ने कुरा हामीमध्ये धेरैले कुनै न कुनै रूपमा देखेका र भोगेका छौँ। तैपनि हाम्रो समाजमा युवाको संघर्ष र सम्भावनाभन्दा उसको तत्कालीन उपलब्धिलाई बढी महत्त्व दिइन्छ।
चार वर्षको अध्ययनपछि आफ्नो भविष्य निर्माण गर्ने प्रयासमा रहेको युवालाई उसको सीप, ज्ञान र सम्भावनाबारे बुझ्नुको सट्टा ‘यति त मैले गरिदिएको छु, तिमीले चार वर्ष पढेर के गर्यौ?’ भन्ने प्रश्न गरिन्छ। सायद प्रश्न सोध्ने व्यक्तिका आफ्नै अपेक्षा र बाध्यता होलान्, तर यस्ता शब्दहरूले एउटा युवाको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हामी कमै विचार गर्छौँ।
चार वर्षको अध्ययनले केवल जागिर वा आम्दानी मात्र दिएको हुँदैन; त्यसले ज्ञान, अनुभव, सोच्ने क्षमता र भविष्य निर्माण गर्ने आधार पनि दिएको हुन्छ। ती सबैको मूल्य तत्कालै देखिनुपर्छ भन्ने छैन।
सायद यही कारणले पनि धेरै युवाहरू आफ्नो भविष्यका सम्भावना खोज्दै देशबाहिर जाने निर्णय गरिरहेका छन्। विदेश जाने सबैको कारण एउटै हुँदैन। कसैलाई उच्च शिक्षा चाहिएको छ, कसैलाई आर्थिक स्थिरता, त कसैलाई आफ्नो क्षमता प्रयोग गर्न सक्ने अवसर। आफ्नै देशमा केही गर्छु भन्ने चाहना हुँदाहुँदै पनि अवसरको अभाव र अनिश्चितताले उनीहरूलाई अर्को ठाउँ रोज्न बाध्य बनाउँछ।
युवालाई देशमै रोक्न केवल देशप्रेमको कुरा गरेर पुग्दैन; उनीहरूलाई सम्भावना देखिने वातावरण, कामको सम्मान र अगाडि बढ्न सक्ने अवसर पनि दिनुपर्छ। किनकि युवाले देश छोड्नु सधैँ आफ्नो माटोप्रतिको माया कम भएर होइन, कहिलेकाहीँ त्यही माटोमा आफ्नो भविष्य देख्न नसकेर पनि हो।
यही अनिश्चितता र अपेक्षाको बोझले कतिपय युवालाई चाडपर्वमा घर फर्किँदा पनि पहिले जस्तो सहज महसुस हुन दिँदैन। परिवारलाई माया नगरेर होइन, आफ्नै अपेक्षाअनुसारको प्रगति गर्न नसकेको अनुभूति बोकेर उभिन गाह्रो लागेर। सबैले नराम्रो सोचेकै हुन्छन् भन्ने होइन, तर अरूसँगको तुलना र आफ्नै अपेक्षाले हामीलाई आफैँभित्र सानो बनाइदिन्छ। अनि बिस्तारै हामी आफ्ना कुरा सुनाउन छोड्छौँ, आफ्ना योजनाहरू बताउन हिचकिचाउँछौँ र मनका कुरा आफैँभित्र राख्न सिक्छौँ।
तर जीवनलाई अरूको गतिसँग तुलना गरेर हेर्दा आफ्नै यात्राको वास्तविकता कहाँ बुझिँदो रहेछ र! कसैले कम उमेरमै सफलता हासिल गर्छ, कसैले आफ्नो बाटो खोज्न केही वर्ष खर्चिन्छ। सबैको समय, परिस्थिति र अवसर एउटै हुँदैन। जीवनका केही समय उपलब्धि हासिल गर्नुभन्दा आफूलाई बुझ्न, आफ्ना प्राथमिकताहरू बदल्न र भविष्यका लागि आफूलाई तयार पार्न खर्चिनुपर्दो रहेछ। बाहिरबाट हेर्दा त्यो समय निष्क्रियता जस्तो देखिन सक्छ, तर मानिसभित्र भइरहेका परिवर्तनहरू सधैँ आँखाले देखिँदैनन्।
पुतलीसडकमा बसेर मानिसहरूलाई हेरिरहँदा यस्ता धेरै कुरा मनमा आउँछन्। यहाँ हिँड्ने प्रत्येक मान्छे कतै पुग्न हतारिएको देखिन्छ। तर सबैले आफू कहाँ पुग्न चाहेका हुन् भन्ने स्पष्ट जानेका हुन्छन् र? सायद धेरैजना बाटोमै आफ्नो गन्तव्य खोजिरहेका छन्। म पनि तिनैमध्ये एक हुँ।
कहिलेकाहीँ पुरानो आफूलाई सम्झिँदा अलि हाँसो लाग्छ। कति सजिलै खुसी हुन्थेँ, कति थोरै कुरामा रमाउँथेँ। अहिले पनि त्यही मान्छे पूरै हराइसकेको छैन होला, तर उसलाई भेट्न पहिलेभन्दा अलि गाह्रो भएको छ। जिम्मेवारी र भविष्यका चिन्ताबिच कतै ऊ चुपचाप बसेको छ। समयसँगै बदलिनु स्वाभाविक हो, तर आफू बदलिँदै जाँदा आफूलाई खुसी बनाउने साना कुराहरू नै बिर्सिनु नपरोस् भन्ने चाहना भने छ।
आज यही गल्लीमा उभिएर पछाडि फर्केर हेर्दा आफ्नो विगतलाई मेटाउन मन लाग्दैन। ती दिनहरू, ती निर्णयहरू, अधुरा सपनाहरू र जीवनले दिएका अनुभव यी सबै मेरो यात्राका हिस्सा हुन्। म अहिले पूर्ण रूपमा तयार छैन। मभित्र अझै केही डर र अन्योल बाँकी छन्। सबै प्रश्नका उत्तर भेटिएका छैनन्, न त आफूले कल्पना गरेको जीवन नै प्राप्त भएको छ। तर फेरि सुरु गर्न सबै कुरा स्पष्ट हुनुपर्छ भन्ने पनि त छैन रहेछ। कहिलेकाहीँ केही अन्योल र डर बोकेरै अगाडि बढ्नुपर्दो रहेछ।
मलाई अझै धेरै कुरा सिक्नु छ, आफूलाई सक्षम बनाउनु छ र आफ्नै खुट्टामा दृढतापूर्वक उभिनु छ। तर यस पटक अरूलाई आफ्नो सफलता देखाउने हतारमा आफैँलाई हराउनु छैन। अरूभन्दा अगाडि पुग्नुभन्दा पनि हिजोको आफूभन्दा अलिकति राम्रो बन्नु छ। सफलताको खोजीमा आफ्नो मनलाई यति थकाउनु छैन कि गन्तव्यमा पुग्दा आफूलाई नै चिन्न नसकियोस्।
पुतलीसडकका ती गल्लीहरू उस्तै छन्। भीड उस्तै छ, हतार उस्तै छ, सडकछेउका पसलहरू पनि सायद उस्तै छन्। फरक यति मात्र हो, कुनै समय साथीहरूको समूहमा हाँस्दै हिँड्ने म आज आफ्नै विचारहरूसँग हिँडिरहेको छु। कहिलेकाहीँ त्यही कुर्सीमा बसेर अरूलाई रमाइरहेको हेर्छु र मुसुक्क मुस्कुराउँछु। पानीपुरीको स्वाद लिँदै पुराना दिन सम्झिन्छु। केही बेरपछि उठ्छु र फेरि आफ्नो बाटो लाग्छु।
कुनै समय यही गल्लीहरूमा भविष्यको कल्पना गर्दै हिँड्ने म आज पनि भविष्यकै खोजीमा छु। फरक यति मात्र हो, त्यति बेला मसँग सपना धेरै थिए, तर जीवनबारे बुझाइ कम थियो। अहिले सपनासँगै अनुभव, केही प्रश्न र अलिकति धैर्य पनि थपिएको छ।
पुतलीसडकका ती गल्लीहरूमा फेरि पनि हिँडिरहनेछु। सायद कुनै दिन यही कुर्सीमा बसेर आजका दिनहरू सम्झिनेछु। अनि मनमनै मुस्कुराउँदै सोच्नेछु—कुनै समय म यहाँ आफ्नो भविष्य खोज्दै हिँड्थेँ र थाहा नपाई यही यात्रामा आफूलाई पनि चिनिरहेको रहेछु।