आज पहाड चढ्यौँ
बाउछोरा
पहाडको क्षितिज पुग्नु अगाडि
जङ्गलका चराहरूको चिरबिरसँगै
हाम्रा पनि धेरै कुराहरू भए
आकाश हेर्दै
छोरा बोल्यो
पूर्णिमाको जून मन पर्छ रे उसलाई
दागले!
दागले झनै सुन्दर बनाएको हो नि
जूनलाई,
स्यार-स्यार चल्ने
चिसो बतास मन पर्छ रे उसलाई
उसलाई पहाडबाट
ओरालो तिर झर्ने खोला मन पर्छ रे
फूलहरू त्यस्तै,
सुनगाभा औधी मन पर्छ रे!
पहाड चढ्दै गर्दा
ऊ धेरै खुल्यो
म भने
कहिले ढिस्कोमा अडिँदै
कहिले कम्मरमा हात लगाउँदै
उकालो चढ्दै सुनिरहेँ
पसिनाले नुहाउँदै
क्षितिजमा पुग्दा
पहिलो दृश्य
क्षितिज पारी
निलो आकाशमुनि
सेतो हिमाली शृङ्खला देखियो
म गलेको थिएँ
थचक्क बसेँ
छोरा शिर ठाडो बनाएर उभियो
सेतो साङ्ग्रिला
एक्कासि चिच्याउँदै
वरदेखि परसम्म हेर्यो
हिमालबाट आएको बतासलाई
अनुहारले स्पर्श गरे जस्तै
आँखा चिम्म गरेर ठिङ्ग उभिइरह्यो
आँखा खोलेर फेरि भन्न थाल्यो
मलाई हिमाल मन पर्छ
प्रकृति मन पर्छ
म!
म कवि बन्छु होला बुवा!
यस पटक भने म सुनी मात्र रहिनँ
केही बोलेँ
ठिक छ
तिमी कवि बन
तर तिमीलाई थाहा छ?
कवि बनेपछि
कर्ममुखी मान्छेहरू बस्ने गाउँमा
तिमी बस्न सक्नेछैनौ
थोरै भए पनि भावनामुखी मान्छेहरू बस्ने
सहर छिर्नेछौ
तिमीलाई थाहा छ?
अझैसम्म मेरा कवि साथीहरूको
आफ्नै घर मैले सहरमा देखेको छैन
सबैजसो भाडाकै कोठामा
बस्ने गरेको
देखेको छु मैले
ऊ बिचैमा बोल्यो
ठिक छ नि बुवा!
भौतिक सुखले आन्तरिक खुसी कहाँ दिन्छ र!
अहो!
म पनि हिमाल हेर्दै
अगिकै लयमा बोलिरहेँ
मैले देखेको छु
मेरा कवि साथीहरूले
महिनाको अन्तिममा
स्वाभिमान नगुमाउँदै सापटी लिएको
मैले देखेको छु
आफ्नै तर्क दिएर
भट्टीको लोकल रक्सीको गुणगान गाउँदै
उधारो पिउँदै हिँडेको
अनि अब तिमी!
कवि बन्छु भन्छौ
त्यसो भा!
त्यसो भा तिमी पनि
भाडाको कोठामा बस्नेछौ
तिम्रा साथीहरूका सवारी साधनहरू हुनेछन्
तिमी सार्वजनिक सवारी साधनमा
ठेलाठेल गर्दै कवि सम्मेलनमा
कविता वाचन गर्न
वा
नाटकघरमा नाटक हेर्न जानेछौ
आहा! कस्तो आनन्दको कल्पना गर्नु भयो बुवा
म
नाटक
अनि कविता!
भन्दै गर्दा म देख्न सक्थेँ
उसको अनुहारको कान्ति
अनि तिमी!
अनि तिमी त त्यसरी नै बाँचौला
उपभोगवादभन्दा माथि उठेर
तर कवि जोगी होइन नि
तिमी सांसारिक पनि त हुनु पर्छ
तिम्रो श्रीमती
तिम्रा छोराछोरीलाई पनि
के तिमी त्यसरी नै जिउन सक्ने बनाउनेछौ त?
के तिमीले जस्तै उनीहरूले पनि
भौतिकवादलाई जित्लान्
वा जितेर बाँच्न सक्लान् त?
छोरालाई हेर्दै सोधेँ
छोरा सेतो साङ्ग्रिला हेर्दै थियो
यस पटक,
यस पटक ऊ केही बोलेन
उभिइरह्यो उसको साङ्ग्रिला हेर्दै
नजिकै
एउटा रुख रहेछ
रुखको हाँगामा एउटा चराको गुँड
एउटा चरा मुखमा आहार च्यापेर
गुँडको हाँगामा बस्यो
गुँडका केही थान चराका बचेराहरू
आहारतिर हेर्दै
मुख आँ गर्दै थिए
छोरा भने
अझै पनि हेर्दै थियो
निलो आकाश मुनिको
उसको
सेतो साङ्ग्रिला।