ती पहाडहरूको सौन्दर्य भरेर
ती लालीगुराँसहरूको रङ पोतेर
ती शान्त र सुन्दर हिमालहरूको शीतलता बोकेर
ती बग्दै गरेका नदी र झरनाहरूको लय समातेर
लजाउँदै लजाउँदै
उभिन आउँछ्यौ तिमी मेरो आँखा अगाडि
म पनि
रोकेर हेर्छु एकछिन
आफ्नो पूर्ववत् घुमिरहेको यात्रालाई
निकालेर आँखामा सुन्दर दृष्टि-
घोलेर ओठहरूमा केही अँजुली मह-
बनाएर आफ्नो वरपर एक प्रेमिल परिवेश-
र,
बयान गरिदिन्छु नि:सन्देह तिम्रो स्वरूपको
भनिदिन्छु,
हृदयमा अटेसमटेस गरेर बसेका
तिम्रा र मेरा केही प्रीतका कुराहरूलाई
यसरी
जिन्दगीको भागदौडमा,
यी न्यास्रो लाग्ने समयहरूमा,
म थकित, चकित भएर
बोझिलो जिन्दगी बोकिरहँदा
कतै आफ्नै धुनहरूमा हराइरहँदा
कहिलेकाहीँ एक्लोपनले घोचिरहँदा
तिम्रो हृदयले पनि
यसो बेलाबखत मलाई सम्झिइरहँदा
फुकालेर हृदयको कन्तुर
हेर्छु तिम्रा ती कोमल तस्बिरहरू
र,
टाँसिन आइपुग्छु एक बालक झैँ
एक्लो तिम्रो तस्बिरको छेवैमा
र, तिम्रो अनुपस्थितिमा
कहिलेकाहीँ यसरी नै मेट्छु म
आफ्नो एक्लोपनको भोकलाई।