तिनताका दसैँ-तिहार पारिवारिक जमघट र पुनर्मिलनका पर्व मात्र थिएनन्। सामूहिक रूपमा सरसफाइ, लिपपोत र वर्षामा बिग्रिएका बाटोघाटो मर्मत गरेर गाउँलाई चिटिक्क सजाउने अवसरहरू पनि थिए।
शरदीय मौसमसँगै पानीका मुहान सफा गर्ने, बाटो डगर पन्छाएर सिनित्त पार्ने र घरमा कमेरो छेप्ने अनि रातो माटोले लिप्ने काम सकेपछि मात्र दसैँतिहार आएझैँ लाग्थ्यो उ बेलाका हामी केटाकेटीलाई। खुलेको मौसम, जताततै हरियाली अनि घटस्थापनादेखि पूर्णिमासम्मको स्कुले छुट्टी, खुसी हुन अरू के नै चाहिन्थ्यो र?
छुट्टी हुनेबित्तिकै हामी साथीहरू मिलेर कहिले सेतो कमेरो माटो लिन हरिपाला जाने अनि कहिले रातो माटो लिन भुजुङ्गे जाने भनेर योजना बनाउँथ्यौं। कोदालीले खाल्डा पार्दै माटो खन्नु र बोरा/डोकोमा नाम्लोले बोकेर घर ल्याइपुर्याउनु कम्ता कष्टकर हुँदैनथ्यो, तर पनि साथीभाइ, दिदीबहिनी मिलेर गफिँदै त्यही काम गर्दा थकाइ छुमन्तर हुन्थ्यो।
घर पोत्ने दिन बाबियोको कुचोले भित्ताको माथिल्लो भागमा कमेरो छेप्ने र तल्लो भागमा पोतोले रातो माटोले लिप्ने गरिन्थ्यो। सिद्धिएका ब्याट्री फोडेर भित्रको कालो (कार्बन रड) भागलाई पिसेर तेल मिसाएर बनाएको गाढा कालो रङले घरका झ्याल रङ्गाइन्थ्यो। वर्षाभरि पानीले बिगारेको आँगनमा पहेँलो लेसाइलो माटोले लिपेर डिल सर्लक्क पारेपछि घर बेहुली जस्तो बन्थ्यो र दसैँ तल्लो गराको कान्ला उक्लेर आँगनको छेवैमा आएझैँ भान हुन्थ्यो।
गाउँलेले सल्लाह गरी कुनै दिन जम्मा भएर गाउँ आउने बाटोको झाडी पन्छाइन्थ्यो। अंकल दाइहरू भत्केका खड्केरी चिन्नुहुन्थ्यो। खनखान पारेर बाटो सम्याउने काम हुन्थ्यो या भनौं सबै मिलेर सामूहिक रूपमा गाउँमा चाडबाड भित्र्याउने मेलोमेसो हुन्थ्यो। पिङ नहाली दसैँ आउँदै आउँदैनथ्यो उ बेला, तर पिङ हाल्ने सरजाम जोड्न जस्तो गाह्रो काम केही हुँदैनथ्यो।
पिङ कता हाल्ने, कसको घर नजिक वा टाढा भन्ने कुराले लामो वादविवाद निम्त्याउँथ्यो। बल्लबल्ल ठाउँ छानिएपछि चार घना लायकका बाँस, तेर्सो पारेर लट्ठो बाँध्ने काठ (अडेसो), लट्ठो (डोरी) बनाउने बाबियो जुटाउनुपर्थ्यो अनि रातभर बसेर बाबियोको लट्ठो बाट्नुपर्थ्यो। गाउँका बूढा बाआमा समेत लट्ठो बाट्ने काममा रातभर जाग्राम बसेर सहयोग गर्नुहुन्थ्यो।
अहिले जस्तो पैसा सजिलै निस्कने समय थिएन। किन्न सके त सजिलो हुन्थ्यो होला, मागेर सबैकुरा जुटाउन महाभारत हुन्थ्यो। बाँस हुनेको मन हुँदैनथ्यो, मन हुने कहाँ चाहिएजस्तो बाँस हुँदैनथ्यो। जंगलमा गएर अडेसो काटेर ल्याउन पनि सजिलो थिएन। घरघर पुगेर मुठीमुठी मागेर ल्याएको बाबियोले नपुगेपछि धेरै भएर पनि नदिने घरमा चोर्नसमेत जानुपर्थ्यो। समग्रमा गाउँमा दसैँ साह्रै मेहनत गरेर भित्र्याउनु पर्दथ्यो र पनि असाध्यै रमाइलो लाग्दथ्यो।
अहिले जस्तो मनलाग्दा मासु खान पाउने समय थिएन। पैसा हुनेले पनि खसीबोका काटेको समय पारेर मात्र मासु खान पाउँथे र त्यस्तो समय ३/४ महिनामा एकपटक पनि मुस्किलले आउँथ्यो। त्यसैले दसैँमा खसी काट्ने र मासु खाने कुरा विशेष उल्लासको पाटो हुन्थ्यो।
बुवाहरू खसीच्याङ्ग्राको भाउ बुझ्न पोखरासम्म जानुहुन्थ्यो। कहाँबाट कसरी पैसाको जोहो गर्नुहुन्थ्यो, थाहा छैन, अष्टमीसम्म घरमा खसीच्याङ्ग्रा आउँथ्यो। सक्नेकोमा सिंगै आउँथ्यो, नसक्नेकोमा साझा आउँथ्यो बाँडेर खाने गरी।
खसी काटेको ठाउँमा झुम्मिने र बा–काकाहरूले हातमा राखिदिएको काँचै बोसोको डल्लो पनि हाम्रा लागि क्या चिज हुन्थ्यो र त्यही पाएर मख्ख परिन्थ्यो। खसी काटेका दिन रक्तीसहितको भुटन फर्सीका पातपातमा बाँडेर पिँढी तथा आँगनका डिलमा सबैजना बसेर खाँदाको मजा अहिलेका चलेका रेस्टुरेन्टमा रोजेको ‘डिस’ खाँदा पनि कहाँ आउँछ र?
त्यतिबेला प्रायः वैदेशिक रोजगारीमा जाने भनेको इन्डिया हुन्थ्यो। पल्टनमा भर्ती भएर गएका हुन् वा अन्य रोजगारीमा गएका हुन्, दसैँको छेको पारेर छुट्टीमा गाउँ आउँथे। सामानले भरिएको टिनको बाक्सा (ट्यांका) र गुण्टा बोकेर भरिया अघि-अघि अनि हातमा झुन्ड्याएको टेपरेकर्डरमा गीत बजाउँदै लाहुरे पछि-पछि गरेर लस्करै गाउँतिर झर्दा जोकोहीलाई कास, हाम्रा घरका मान्छे पनि लाहुर गएका भए र दसैँमा यसै गरेर भरियालाई सामान बोकाएर घर आउने भए भन्ने लाग्दथ्यो।
गाउँछिमेकमा लाहुरे आएको थाहा पाएपछि हामी पनि त्यहाँ जान्थ्यौं। उनीहरूले ल्याएको कोसेलीस्वरूप केटाकेटी र महिलालाई चकलेट, मिस्री तथा खाने लोग्नेमान्छेलाई चुरोट बाँडिन्थ्यो। लाहुरे पिँढीमा बसेर लाहुरका गफ सुनाउँथे। भेट्न गएका अरू वरिपरि बसेर कहानी सुन्थे। लाहुरेका घरमा जिरा, मसला, चियापत्ती, नरिवल, मिस्री जस्ता कुरा उतैबाट आउँथे। लाग्दथ्यो, म पनि जिन्दगीमा लाहुरे हुन पाए।
घरमा मासु पाक्ने, रोटी पाक्ने, बाहिर भएका परिवारका सदस्य पनि भेला भएर सपरिवार रमाइलो गर्न पाइने, पिङमा मच्चिन पाइने, सफा मौसम, घरगोठ, बाटोघाटो चिटिक्क परेको, खुलेको मौसम भएको घमाइलो वातावरण, न गर्मी न जाडो, सबै कुराको जोरजाम गर्नपर्ने हाम्रा अभिभावकलाई त बोझिलो पनि लाग्दो हो खै, हाम्रा लागि त दसैँतिहार उल्लासमय लाग्थ्यो। छठ, ल्होसार, माघी वा अन्य चाड मुख्य रूपमा मान्ने समुदायलाई पनि तत् तत् चाडको माहोल त्यस्तै लाग्दो हो।
दसैँको सबैभन्दा रौनक त नयाँ कपडा लगाउन पाउँदा आउँथ्यो। आमाले बालीघरे कहाँ कपडा छेकाउन नलग्दासम्म अरू सबै कुराको तयारी भइसक्दा पनि दसैँ आउन बाँकी छ कि झैँ लाग्दथ्यो। अझ भनौं केटाकेटीका नयाँ कपडासँग सिलिएर मात्र त्यो बेलाको दसैँ आउँथ्यो। उ बेला वर्षमा एक जोर स्कुले ड्रेस र एक जोर दसैँको कपडा त्यत्ति नै त हो जम्माजम्मी कपडा पाउने भनेको।
त्यही दसैँको कपडा पुरानो भएपछि अर्को वर्षलाई घर बस्दा लगाउने लुगा हुन्थ्यो। त्यति बेला घुम्न डुल्न खासै जान पाइँदैनथ्यो। दसैँमा हालेको लुगा लाउने दिन ननिस्कँदा खासै पुरानो हुन पाएन भने दसैँमा स्कुले ड्रेस हालिदिने चलन हुन्थ्यो। हाम्रो पुस्ताका धेरै मान्छेले दसैँमा पनि स्कुले ड्रेस पाएका छौँ र विवाह, व्रतबन्धमा जाँदा पनि अलि हेर्न हुने भएका हुनाले त्यही स्कुले ड्रेस लगाएका छौँ।
न त मोबाइल न त टेलिभिजन, पालीको खाँबोमा झुन्डिएको रेडियोमा रेडियो नेपालबाट गुञ्जने धुन नै हाम्रा लागि सबथोक हुन्थ्यो। प्रत्येक दिन साँझ ५ बजेतिरको बालकार्यक्रममा ‘आओ नानीबाबूहरू हो’ भन्दा रेडियोभित्रबाट आफूलाई नै बोलाएको भान हुन्थ्यो। शनिबारको दिन दिनको साढे एक बजे प्रसारण हुने रेडियो नाटक सुन्न हामी जहाँ पुगेका भए पनि घर आइपुग्थ्यौं।
रेडियोले झ्यारझ्यार गर्न थाले ब्याट्री निकाल्ने, टोक्ने र सुकाउने त नियमित प्रक्रिया नै भइहाल्थ्यो, किनकि आफैँ ब्याट्री किनेर रेडियो सुन्ने हाम्रो कल्पनाबाहिरको कुरा थियो। बुवाआमाले कहिले ब्याट्री फेर्नुहुन्छ भनेर कुर्नु नै हाम्रो नियति थियो। रेडियो नेपालबाहेक अरू एफएम वा रेडियो स्टेसन थिएनन्। त्यही एउटा ब्याण्डमा बज्ने सामग्री पनि हाम्रा लागि रुचिकर हुन्थे, किनकि हामीसँग विकल्पको अनुभव थिएन।
दसैँको दिन नयाँ कपडा लगाएर टीका, आशीष थाप्न गाउँभरि डुल्ने चलन थियो तिनताका। अहिले जस्तो ‘आफ्नैकामा मात्र’ भनेर सम्बन्धलाई साँघुरो बनाइने थिएन। गाउँभरिका मान्छे आफ्ना। सँगै भएपछि कहिलेकाहीँ वा केही विषयमा मनमुटाव हुन्थ्यो, तर पर्दा सबै एक भइन्थ्यो। सबले सबका लागि गरिन्थ्यो। सायद गाउँको खासियत नै त्यही थियो।
फलफूल दिने चलन खासै थिएन गाउँमा, टीका लगाइदिएपछि दक्षिणासँगै एक-एक वटा घुमाई रोटी (सेल) पनि पाइन्थ्यो। रोटी समेट्न पर्छ भनेर टीका थाप्न जाँदा उनीको घरबुना झोला समेत भिरेर गइन्थ्यो। भरे टीका थापिसकेपछि सबैजनाका रोटी समेट्दा एक डालो हुन्थे। तिनै रोटी र घरका बचेका रोटी नै दसैँदेखि तिहारसम्म हाम्रो चियासँग खाने खाजा हुन्थ्यो।
प्रायः दसैँ सकिएपछि धान काट्न सुरु हुन्थ्यो। धान काट्ने, निहिन लाउने, बिटा बोक्ने, कुन्यु लाउने, खलो खुर्कने र दाइँ हाल्न लिपेर चिटिक्क पार्ने त्यस बेलाका प्रमुख काम हुन्थे। हामी केटाकेटीलाई फेरि त्यही खलामा वनभात खाने रहर लाग्थ्यो। हामीले उबेला रेस्टुरेन्ट जानेनौं, साथीभाइ मिलेर हाइकिङ, ट्रेकिङ जाने जानेनौँ। बस् चामल, दाल घरघरबाट जम्मा पार्ने, भाँडाकुँडा घरघरबाट ल्याउने अनि खलामा, अमलाका रूखमुनि वा नजिकैको जंगलमा गएर वनभात खान भने जान्यौँ।
तिहारमा भैली खेल्दा पाएको चामल तरलाउन त हामी हरेक वर्ष तिहारपछि वनभात खान जान्थ्यौँ जान्थ्यौँ। फलाना कहाँबाट साग, अर्का कहाँबाट तरकारी, कसैकहाँबाट घिउ, कसै कहाँबाट नुन, बेसार, कसैबाट भाँडावर्तन भेला पारेर काँचोकचिलो पकाएर खाँदा पनि उबेला मिठै हुन्थ्यो। सन्चै हुन्थ्यो।
दसैँतिहारको दक्षिणा र भैली खेलेर कमाएको पैसाले धनी भइन्थ्यो। पकेट मनी नपाइने त्यो बेलामा भएको पैसा स्कुलमा समोसा, गजा, पिपलगेडी, इमिली, ढुम्रा आदि किनेर खान प्रयोग हुन्थ्यो। अलिदिन त्यस्ता चिज किनेर खान पाउँदा पनि आफूलाई भाग्यमानी ठानिन्थ्यो।
आफू त पाको भइयो, अहिले केटाकेटीमा जस्तो रमाइलो नहुनु स्वाभाविक होला, तर यसो हेर्छु आफ्नै छोराछोरीमा चाडपर्वको रौनक देख्दिनँ। हरेक कुरा रमाइलोको लागि भन्दा पनि फोटो भिडियोका लागि मात्र हो कि झैँ लाग्छ। अहिलेकालाई न नयाँ कपडाको रहर भयो न मासु खाने चाख! गाउँघरमा पनि एसियन र बर्जर पेन्ट पुगेका छन्, केको कमेरो माटो खोज्न जानु। वर्षौं टिक्छन्, दसैँपिच्छे पोत्ने झन्झट नि भएन।
हाम्रा पालामा बेलौती (अम्बा) कटमेरैमा चबाइन्थ्यो, किम (काफल) लाई कालो हुने गरी पाक्न कहिल्यै दिइएन, रातैमा खाइन्थ्यो। अहिले कि बाँदरले खान्छ कि झर्छ। केटाकेटीलाई स्कुलबाट फर्केर यसो काममा सहयोग गरेपछि मोबाइलमा झुन्डिँदा ठिक्क हुन्छ। चाडबाडमा रमाइलो नै गर्न परे परिवारका मान्छे बस्यो, सिद्धियो। पिङ हाल्न परे पनि बाँस, लट्ठो किन्न पाइन्छ। गाउँभरिका मान्छे कहाँ टीका लगाउन जाने लेठो नि गरिन्न। आफ्नै घर वा धेरै भए आफ्नै कहाँसम्म जाने हो।
सहर त सहर भयो, आफ्नै गाउँका मान्छेबीच अपनत्व घट्दै छ। घर बरु नजिक-नजिक बन्न थाले, सम्बन्धको दूरी भने बढ्दै छ। धन्न सामाजिक सञ्जाल छ र टीका लगाउन सबै कुराको बन्दोबस्त गरिन्छ। राम्ररी तयार भइन्छ र एंगल एंगलबाट फोटो भिडियो खिचेर पोस्टाइन्छ। यदि सामाजिक सञ्जाल नभएका भए दसैँतिहार जस्ता चाड लोप भएर जान्थे कि भन्ने डर पनि लाग्छ कता कता।
हाम्रा पालामा जस्तो दुःख बेसाएर मात्र चाडबाड रमाइलो हुने भन्ने पनि हैन। हाम्रो तुलनामा अहिलेका केटाकेटीलाई प्रत्येक दिन पर्व जस्तै छ। समयसँगै सुविधा बढेका छन्। तिनलाई आत्मसात् गर्नै पर्छ, तर चाडबाडले आपसी सम्बन्ध फराकिलो र मजबुत बनाउने, परिवार मात्र भन्दा समाज र गाउँका मानिसबीचको आत्मीयतालाई प्रगाढ बनाउन सके सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो।