गत साता हामी नेपाल-चीन जोड्ने मितेरी पुल पुग्दा एक जना ५०–५५ वर्ष उमेरकी महिला कम्मरमा अमिलो (पाउँ) का प्याकेट बाँध्दै थिइन्।
कम्मरमा नअटेका प्याकेट उनले आफ्नो छातीदेखि खुट्टासम्मै खाँदखुँद गरिन्।
उनकै समूहमा रहेका अन्य महिला पनि त्यसैगरी अमिलोका प्याकेट शरीरका विभिन्न भागमा लुकाउँदै थिए। कोही बाहिरबाट अमिलो ओसार्दै पनि थिए।
‘के नाम होला आमैको?’ हामीले सोध्यौं, ‘यो उमेरमा पनि यस्तो दुःख गरिराख्नुभएको रहेछ!’
‘किन भन्नुपर्यो, उसै त गरिखान दिएका छैनन्! नाम भनेर के हुन्छ?’ भन्सार विन्दुमा तैनाथ चिनियाँ सुरक्षाकर्मीको आँखा छल्न नसकेको आक्रोश उनले हामीसँग पोखिन्।
हामीसँग छोटो कुराकानी गरेर फेरि काममा एकोहोरिएकी ती महिलाले आफ्नो परिचयमा यति मात्र भनिन्, ‘मेरो घर यहीँ हो, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका।’
उनका अनुसार दिउँसो ११ देखि १२ बजेसम्म चीनतर्फ खाना खाने समय हुन्छ। त्यो बेला नाकामा फलामे ढोका बन्द गरेर तीन ठाउँमा ताल्चा झुन्ड्याइन्छ। खाना समय सकिएपछि जसै नाका खुल्छ, स्थानीयहरू आफ्नो जीउमा अमिलोको प्याकेट लुकाएर सीमापारि पुर्याउन तल्लीन हुन्छन्। यसका लागि लुकाउन मिल्ने र सकिने जति ठाउँमा प्याकेट हाल्छन्।
‘यसरी लैजाँदा उताका सुरक्षाकर्मीले चाल पाउँदैनन्?’ हामीले त्यही समूहमा रहेका एक युवकलाई सोध्यौं।
‘सबैतिर छाम्छन्, भेटे त किन लान दिन्थे र,’ उनले सुनाए, ‘हामी सकेसम्म उनीहरूका आँखा छल्छौं।’
यी युवकले चाहिँ आफ्नो परिचय दिन धक मानेनन्।
मार्मिङका लाक्पा शेर्पा रहेछन् उनी। उमेर, २२ वर्ष।
उनले बुझ्ने भएदेखि मितेरी पुलमा बसेर सामान वारपार गर्दै आएका छन्। त्यसरी अमिलो कटाइदिएबापत् एक प्याकेटमा ५० रूपैयाँजति नाफा हुने उनी बताउँछन्। अमिलो मात्र होइन, उनी अरू मालसामान पनि वारपार गर्छन्।
‘हामी केटा मान्छेलाई धेरै कडिकडाउ हुन्छ,’ उनले आफ्नो अनुभवका आधारमा भने, ‘त्यसैले महिलाहरूलाई शरीरका विभिन्न ठाउँमा लुकाइछिपाइ अमिलो ओसारपसार गर्न लगाइन्छ।’
जतिसुकै लुकाएर लैजाँदा पनि दिन बिग्रेको छ भने चीनतर्फ खटिएका चनाखा सुरक्षाकर्मीले भेटिहाल्छन्। उनीहरूका आँखा परेका बेला सवालजवाफ हुँदैन। सवालजवाफ गर्न त भाषा बुझ्नुपर्यो नि! त्यस्तो बेला सामान छाडेर लुरूक्क नफर्की धर पाइन्न।
चिनियाँ सुरक्षाकर्मीको आँखा झलेर सीमा कटाउन पाए चाहिँ उनीहरूको दिन बन्छ। यसरी छिराइएका सामान नेलामतिरबाट झरेका चिनियाँ व्यापारीहरूले किन्छन्।
लाक्पाका अनुसार सीमा कटाइएको अमिलो मदिराजन्य पदार्थ बनाउन प्रयोग गरिन्छ। जति अमिलो मितेरी पुल कटाए पनि चिनियाँ व्यापारीले कुनै नाइँनास्तीबिना उठाउँदा रहेछन्।
लाक्पासँग कुराकानी गरिरहँदा ठ्याक्कै १२ बजे नाकाको गजबार खुल्यो।
नाकाका दुवैतर्फ रोकिएका मान्छेको लर्को छुट्यो। लाक्पा त्यही लर्कोमा मिसिए। धेरैजसो मान्छे सामान वारपार गर्नेहरू नै थिए। हुलमुलमा सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाबाट आएकाहरू पनि नभएका होइनन्। तिनैसँग मिसिएर हामी पनि चिनियाँ भन्सार विन्दुसम्म पुग्यौं।
भन्सार विन्दुमा सुरक्षा सतर्कता उच्च थियो। सिन्धुपाल्चोकवासीलाई दिइएको अस्थायी पासमा गएपिच्छे क्युआर कोड टाँस्नुपर्दो रहेछ। दुवैतर्फ उभिएका सुरक्षाकर्मीले छामछाम छुमछुम पारेपछि स्क्यानर मेसिनभित्र छिराउँदा रहेछन्। त्यसले खानतलासी लिएपछि बल्ल भन्सार कक्षमा प्रवेश पाइँदो रहेछ। अघि मितेरी पुलमा बसेकाहरूले सामान पारि लैजाने यहीँबाट हो। मितेरी पुलको मूलगेट कटाएर बाहिर पुर्याएपछि बल्ल उनीहरूले चिनियाँ व्यापारीलाई बेच्ने हुन्।
लर्कोमा मिसिएर अगाडि बढ्दै जाँदा एक जना सुरक्षाकर्मी हामीतिर दौडिँदै आए र सोधे, ‘पास छ?’
हामीले छैन भन्ने संकेत गरेपछि उनीहरूले हामीलाई फर्काइदिए।
यति कडा सुरक्षा घेराभित्र पनि नेपाली व्यापारीहरूले कसरी अमिलो कटाउँदा हुन्?
हामी आश्चर्यचकित पर्दै थियौं, अघि कुराकानी गरेका लाक्पा शेर्पा दौडँदै आए।
‘दाइ समातिहाल्यो नि!’ उनले भने, ‘आज एक प्याकेट पनि कटाउन सकिएन!’
लाक्पाका अनुसार भुइँचालो अघिसम्म यसरी झोलापोकामा सामान वारपार गर्नेहरूको कमाइ मनग्ये थियो। त्यति बेला सामान कटाउनेले काठमाडौंको महाबौद्ध क्षेत्रमा पसल–व्यवसाय नै चलाउन सक्ने हैसियत बनाएका थिए। लाक्पा आफैं पनि दैनिक १० हजार रूपैयाँसम्म कमाउँथे।
भुइँचालोलगत्तै नाका बन्द भएपछि कमाइको त्यो मुहान सुक्यो।
‘दुई–तीन वर्ष त नाका ठप्पै भयो। त्यसपछि अलि अलि खुले पनि हामीले काम पाएनौं। यसपालि तीन महिना भयो हामीलाई उता जाने पास दिन थालेको,’ लाक्पाले भने, ‘म अस्तिबाट आएको, आमाहरू एक महिना भयो होला आउन थालेको।’
‘नाका खुले पनि पहिलेजस्तो कमाइ छैन,’ उनले अगाडि भने, ‘यी यसैगरी लैजान सके हो, उताबाट सामान ल्याए त तल गेटमा समातिहाल्छन्!’
सामान ल्याएपिच्छे नाकामा तैनाथ सुरक्षाकर्मीसँग मुकाबिला गर्नुभन्दा मितेरी पुलको रसोबासो नै छाड्नु उत्तम ठानेका छन् उनले।
‘गरिखान नपाएपछि किन यहाँ बस्नु! अस्ति एक प्याकेट बिस्कुट ल्याएको, तल १२० रूपैयाँ भन्सार तिर्नुपर्यो! त्यसरी कहाँ उँभो लागिन्छ त!’ उनले भने।
‘अब के गर्नुहुन्छ त?’ हामीले सोध्यौं।
‘पढेको छैन। यता काम पनि पाइँदैन, उही विदेश त होला?’ उनले निरूपाय भावमा भने।
यो लाक्पाको मात्र कथा होइन, भन्सार नाकाको भरमा जीविका धानिरहेका हरेकको अवस्था यहाँ यही नै छ।
चीनको भन्सार विन्दु रहेको ठाउँ। तस्बिर: अक्षर काका/सेतोपाटी
नाकाबाट सामान ओसारपसार गरेर राम्रो आम्दानीको बाटो बनाएका सिन्धुपाल्चोकको उत्तरी भेगका गाउँलेहरूले नयाँ बाटो समातेका छन्। तर यो चीन जाने बाटो होइन, अमेरिका पुर्याउने लामो र खतरापूर्ण ‘तल्लो बाटो’ हो। पछिल्लो समय यो खतरा मोलेर अमेरिका जान चाहने युवाहरूको लर्को बढेको छ।
हामीले यो कथा शृंखलाको अघिल्लो भागमा रित्तिँदै गरेका सिन्धुपाल्चोकका दुई स्थानीय तह बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका घुम्थाङ, गाती, मार्मिङ, फुल्पिङकट्टी, लिस्ती, कोदारी, तातोपानी आदि गाउँ पुगेर रिपोर्टिङ गरेका थियौं र त्यहाँका कथा–व्यथा प्रस्तुत गरेका थियौं।
आज शृंखलाको दोस्रो भागमा तातोपानी नाका कसरी उनीहरूको जीवनसँग जोडिएको थियो भनेर बताउँदै छौं।
कोदारी राजमार्ग बन्ने बेला नै सीमावर्ति जिल्ला सिन्धुपाल्चोकका बासिन्दालाई निश्चित विन्दुसम्म किनमेल गर्न जान दिने सहमति चीनसँग भएको थियो। यसैअनुसार सिन्धुपाल्चोकवासी नाका काटेर खासासम्म पुग्थे र किनमेल गरेर फर्कन्थे।
त्यही सुविधामा टेकेर भोटेकोसी, बाह्रबिसे लगायत भेगका स्थानीयले सीमा वारपार गर्न पास बनाएका थिए। प्रत्येक घरमा बालखदेखि वृद्धसम्मलाई पास दिइएको थियो।
यस्तो पास मितेरी पुल वारपार गर्ने इजाजत मात्र होइन, भोटेकोसी भेगकै जीविकाको गतिलो आधार बनेको थियो।
२०७२ सालयता एकपछि अर्को बर्सिएको कहरले चीन जोड्ने नाका सँगसँगै यहाँका बासिन्दाको जीविकाको आधार पनि खोसेको छ।
भोटेकोसी भेगले भोगेको पहिलो कहर जुरे पहिरो हो। २०७१ साउन १७ गते साविक राम्चे र मांखा गाविसको सिमानामा पर्ने जुरेको पहाड खस्दा १४५ जनाको मृत्यु भएको थियो भने १३० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। थुनिएको सुनकोसीले एक साता लगाएर आफैं निकास खोज्यो।
जुरे विपत्तिपछि नै भोटेकोसी भेगको दुर्दशा सुरू भइसकेको थियो। त्यसमा २०७२ वैशाखको भुइँचालोले त झन् तहसनहसै पार्यो। लगत्तै २०७३ असार २२ गते आएको भलबाढीले बचेखुचेका संरचना पनि क्षतविक्षत तुल्याएपछि भोटेकोसी भेग थप खण्डहर बन्यो।
प्रलयबाट मूर्च्छित यो भेग अझै बौरिन सकेको छैन।
‘भन्सार चल्दा एक जनाले घटीमा दैनिक दुई हजार कमाउँथे। भुइँचालोपछि त यो बाटो ठप्पै भइहाल्यो। यी हेर्नुहोस् त, त्यति बेला भत्किएका संरचना अहिले पनि त्यस्तै छन्,’ स्थानीय रामचन्द्र श्रेष्ठले सडक र सडक किनारका भग्नावशेषतिर आँखा पुर्याउँदै भने।
नाकाको आम्दानी बन्द भएपछि यहाँका मानिसले गाउँघरमै बसेर जीविका चलाउने अर्को बाटो देखेका छैनन्। यसको मुख्य कारण के भने, होस सम्हालेदेखि भन्सारको भरोसामा रहेकाले जिन्दगीमा कुनै दिन विकल्प चाहिन्छ होला भन्ने उनीहरूले सोचेकै थिएनन्। त्यसैले अरू काम जानेका पनि थिएनन्। सामान ओसारपसार गरेर सजिलै कमाइ हुन थालेपछि पढाइलेखाइमा ध्यान दिएनन्। लाक्पा स्वयं साक्षर मात्र हुन्। भन्सारमा आश्रित जो–जो छन्, थिए, ती सबै स्कुलका ‘ड्रप–आउट’ हुन्।
न शिक्षा, न सीप — यस्तो अवस्थामा जब कमाइको मुहान सुक्यो, लाक्पाकै उमेरका धेरै युवा ‘तल्लो बाटो’ अवैध रूपमा अमेरिका वा अन्य मुलुक जान लाइन लागे। कति त गइसके। लाक्पाकै केही साथीले विदेश जान एजेन्टलाई पासपोर्ट बुझाइसकेका छन्।
हामीले यसबारे केही स्थानीय विद्यालयका प्रधानाध्यापकसँग पनि कुरा गरेका थियौं।
कोदारी माध्यमिक विद्यालयकी प्रधानाध्यापक कमला तामाङका अनुसार उनीहरू स्कुल त भर्ना हुन्थे, तर नियमित कक्षामा आउँथेनन्। भन्सार चल्दा त हुर्किएका बालबच्चाहरू धेरैजसो त्यतै जान्थे।
‘जस्तै नसक्नेले पनि दिनको हजार रूपैयाँ कमाउँथ्यो,’ कमलाले भनिन्, ‘बच्चैदेखि पैसा खेलाउने बानी परेपछि पढाइलेखाइमा ध्यान दिएनन्। बीचमै कक्षा छाड्नेको दर बढ्यो।’
यसले यहाँ कति ठूलो असर पारेको छ भने, २०५० र ६० को दशकमा जन्मिएका बालबालिकाले पनि पढ्ने मन गरेनन्। नाका पुगेर सामान ओसारपसारमै उनीहरूको ध्यान गयो। सानै उमेरदेखि त्यही ‘लत’ मा हुर्किएकाले पैसाको सरसंगत नै उनीहरूको रूचि बन्यो। अधिकांश केटाहरू कक्षाकोठामा पस्नभन्दा नाकामा बस्न बढी रूचाए। बाल्यावस्था पार नगर्दै नाकामा बसेर कुस्त कमाएकाहरूले काठमाडौंमा व्यापार-व्यवसाय विस्तार गरे, घरघडेरी पनि जोडे।
यसरी पैसाको लतमा हुर्किएकाहरूले नाका बन्द भएपछि जब जीविकाको वैकिल्पक बाटो खोज्नुपर्ने भयो, सानोतिनो काममा उनीहरूको आँखै गएन। थोरै कमाइले उनीहरूको महत्वाकांक्षा धान्नेवाला पनि थिएन। यस्तोमा कन्टेनर चल्न छाडेको कोदारी राजमार्ग हुँदै अमेरिकाको सपना गाउँ पस्यो। एकचोटि अमेरिका छिर्न पाए त महिनाको डेढ–दुई लाख सजिलै कमाइ हुने लोभमा उनीहरू फसे।
अनि, दलालले देखाएको ‘तल्लो बाटो’ अवैध रूपमा अमेरिका छिर्न ठूलो धनराशि खर्च गर्न उनीहरू तयार भए।
‘तल्लो बाटो, माथ्लो बाटो — जुनसुकै बाटो उडेर, गुडेर वा हिँडेरै भए पनि विदेश जाने धून सवार छ सबैमा,’ लाक्पाले भने, ‘मान्छेको जिन्दगी पनि पानीजस्तै त हो सर, कमाइ जता छ, जिन्दगी त्यतै बग्छ।’
‘यहाँ कमाइधन्दा केही छैन। कहाँ म दिनको दस हजार कमाउँथेँ, अहिले हजार–दुई हजारमा चित्त बुझाउनुपर्छ। त्यो पनि भाग्य भएको दिन मात्र हो, नभए त आफूले लगानी गरेर किनेको सामान भन्सार नाकामै मिल्काएर हिँड्नुपर्छ। सुको हात लाग्दैन,’ उनले अगाडि भने, ‘अनि विदेश नगएर के गर्नु त!’
चीन जोड्ने नेपालतर्फको नाका। तस्बिर: अक्षर काका/सेतोपाटी
यहाँका विभिन्न वडामा भ्रमण गर्दा घरैपिच्छे यस्तो घटना भेटिएपछि हामी केही स्कुलहरूमा पुगेका थियौं। जसै हामी स्कुलमा पुग्यौं, हामीले देख्यौं — स्कुलको अवस्थाले नै सिन्धुपाल्चोकको कथा भनिरहेको थियो।
भुइँचालोले सिन्धुपाल्चोकका ५७४ विद्यालय भवन खण्डहर बनाएको थियो। तीमध्ये अधिकांश विद्यालय भवनको पुनर्निर्माण भइसकेको छ। कति भवन त चित्ताकर्षक बनेका छन्। भौतिक रूपले कायाकल्प नै भएको छ। तर जब तपाईंको दृष्टि विद्यार्थी संख्यामा पर्छ, तपाईंलाई उदेक लागेर आउँछ।
उदाहरणका लागि —
बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको बच्छलादेवी माध्यमिक विद्यालयमा आधारभूत तह पढ्ने विद्यार्थी संख्या न्यूनप्रायः छ। प्ले ग्रुपदेखि कक्षा ५ सम्म सातवटा कक्षाकोठामा जम्मा ४८ जना विद्यार्थी छन्। यो भनेको एउटा कक्षामा औसत ७ जना विद्यार्थी हो। कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयको कुल विद्यार्थी संख्या नै २०३ जना मात्रै छ।
प्रधानाध्यापक वजीरसिंह भण्डारी भुइँचालोपछि अभिभावकहरू गाउँमा बस्न छाडेकाले बालबालिकाको संख्या कम भएको बताउँछन्।
कोदारी माविको अवस्था यस्तै छ। तथ्यांक थोरै तलमाथि मात्र हो।
कोदारी माविकी प्रधानाध्यापक कमला तामाङले हामीलाई अर्को अनुभव पनि सुनाइन् —
खाडीचौर–जिरी सडकमुन्तिर हुर्किएकी कमलाले प्रवेशिका उत्तीर्ण गर्दा उनको छरछिमेकका तामाङ छोरीहरूले स्कुलको ढोकासम्म देखेका थिएनन्। त्यति बेला स्कुल जानेमा छोराहरू नै बेसी हुन्थे। अहिले स्थिति ठ्याक्कै उल्टो छ। छोराहरू लाखापाखा लागेपछि कक्षाकोठामा छोरीको बाहुल्य रहेको उनी बताउँछिन्।
उनका अनुसार २०७२ सालअघिसम्म जति बेला भन्सारमा चहलपहल थियो, कोदारी माध्यमिक विद्यालयमा साढे सात सय विद्यार्थी भर्ना थिए। तीमध्ये आधाभन्दा बढी नियमित स्कुल नआएर भन्सार नाकातिरै अलमलिनु चाहिँ अर्कै कुरा हो, जसबारे हामीले माथि उल्लेख गरिसक्यौं।
भुइँचालोपछि भने कक्षाकोठामा विद्यार्थी नियमित नआउने मात्र होइन, स्कुलमा विद्यार्थीहरूको भर्ना संख्या नै स्वाँट्टै घटेको छ। चालू शैक्षिक सत्रसम्म आइपुग्दा कोदारी माविमा तीन सय हाराहारी विद्यार्थी मात्रै छन्। यो संख्या तत्काल बढ्ने छाँट कमलाले देखेकी पनि छैन।
‘छोराहरू ऋण काढेरै भए पनि बाहिर जाने हतारोमा हुनुहुन्छ। त्यसैले अचेल छोराभन्दा छोरीहरूले बढी बढ्छन्,’ उनले भनिन्, ‘कक्षाकोठामा पनि छोरीहरूको संख्या बढी छ।’
उनी एउटा कुरामा भने खुसी छिन्, ‘भन्छन् नि, छोरीहरू शिक्षित भए परिवार नै शिक्षित हुन्छ। त्यसैले पनि होला खुसी छु,’ उनले पुलकित हुँदै सुनाइन्।
कतिपयले गाउँमा विकास निर्माणका काम नभएकाले र रोजगारको अवसर नहुँदा युवाहरू बिदेसिन बाध्य भएको गुनासो पनि गर्छन्।
सिन्धुपाल्चोकका हकमा यो सही देखिँदैन।
बाहिरबाट झट्ट हेर्दा भोटेकोसी भेग रूखो भूमिजस्तो देखिए पनि यहाँ विकास आयोजनाहरू प्रशस्तै छन्।
भोटेकोसी–५ को चाकु खोलामा मात्रै चारवटा जलविद्युत परियोजना सञ्चालित छन्। भोटेकोसी नदीमा पनि तीनवटा जलविद्युत परियोजना चलिरहेका छन्। भोटेकोसी गाउँपालिकाभरिमा ११ वटा जलविद्युत परियोजना प्रस्तावित रहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउँछन्।
तर विकास आयोजना हुँदैमा भेगले मुहार बदल्दो रहेनछ र त्यो आयोजना हेरेर मानिस अडिँदा रहेनछन् भन्ने उदाहरण पनि भोटेकोसी नै बनेको छ। चार हजार ४२९ घरधुरी र १७ हजार १५६ जनसंख्या भएको गाउँपालिकाले यी परियोजनाबाट लाभ लिन नसक्दा बत्तीमुनि अँध्यारोको नियति चिर्न सकेको छैन।
बत्तीमुनि अँध्यारोको नियति झल्काउने अर्को उदाहरण पनि छ —
भोटेकोसी गाउँपालिका–१ मा रहेको उग्रचण्डी माध्यमिक विद्यालयका लागि विज्ञान विषयको शिक्षक चाहिएको थियो। संघीय सरकारको अनुदानमा रहेको त्यो कोटा करार सेवामार्फत् पूर्ति गर्न गाउँपालिकाले अघिल्लो वर्ष नै विज्ञापन खुलाएको थियो। विज्ञान विषयमा स्नातक गरेको वा सो सरह उत्तीर्ण र अध्यापन अनुमतिपत्र भएकाले आवेदन दिन सक्थे। तर आवेदन नै परेन।
उग्रचण्डी माध्यमिक विद्यालयकै लागि अंग्रेजी शिक्षक पनि आवश्यक थियो। गाउँपालिकाले त्यसैगरी विज्ञापन खुलायो। प्रदेश अनुदानअन्तर्गतको त्यो कोटामा पनि आवेदन पर्न मुस्किल भयो।
गत भदौ १३ गते अंग्रेजी विषयका लागि तेस्रोपटक र विज्ञान विषयका लागि पाँचौंपटक आवेदन खुलाइयो। पाँचौंपटक आवेदन खुलाउँदा पनि गाउँपालिकाबाट आवेदन दिने कोही भएनन्। केही समयअघि मात्रै पदपूर्ति गरिएको दुवै विषयमा गाउँपालिका बाहिरबाट आवेदन परेको थियो।
‘गाउँमा पढेलेखेका युवा नहुँदा रिक्त शिक्षक पूर्ति गर्न मात्र होइन, विकास–योजना अघि बढाउन पनि मुस्किल भइरहेको छ,’ भोटेकोसी गाउँपालिकाकी कर्मचारी अनीशा अधिकारीले भनिन्, ‘उपभोक्ता समितिबाट बूढाबूढी मात्रै आउनुहुन्छ। कुरा बुझाएर पठाउनै मुस्किल हुन्छ।’
स्थलगत भ्रमण क्रममा स्थानीयसँगको कुराकानीबाट हामीले कस्तो स्थिति देख्यौं भने — भन्सार नाका सुकेपछि यहाँका युवाहरू या त अवैध रूपमा अमेरिका गइसके, या जाने तम्तयारीमा छन्। र, जो आर्थिक स्रोत जुटाउन नसकेर गाउँमै छन्, उनीहरूलाई पनि रोजगारको अरू विकल्प खोज्नभन्दा फेरि पहिलेजस्तै नाका कहिले खुल्ला भन्ने प्रतीक्षा छ।
तर स्थानीयले चाहेजस्तो नाकालाई पूर्ववत् लयमा फर्काउन यहाँ पुनर्निर्माणको काम नै पूरा भएको छैन।
मितेरी पुलमा मालवाहक कन्टेनर। तस्बिर: अक्षर काका/सेतोपाटी
भुइँचालोको झन्डै एक दशकसम्म तातोपानी–लिपिङ क्षेत्र किन पुनर्निर्माण भएन भनेर हामीले भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पालाई सोधेका थियौं। उनले भग्नावशेष नपन्छाइनु र नयाँ संरचना पनि नबन्नुलाई मुख्य कारण देखाए।
यति मात्र होइन, कोदारी क्षेत्रका केही घरधनीसँग लालपुर्जा छ। तर त्यहाँभन्दा माथि लिपिङसम्मै ऐलानी जग्गामा संरचना बनेका छन्, जसलाई सरकारले भुइँचालोको राहत–अनुदान दिन मिल्दैन। सार्वजनिक जग्गामा घर बनाएर पसल–कबल सञ्चालन गरेकाले भोगचलन गर्नेहरूले पनि ती संरचना सफा गर्न चासो दिएनन्। बरू थलो छाडेर वैकल्पिक आयआर्जनको बाटो पहिल्याए।
बजार क्षेत्रलाई लयमा फर्काउन गाउँपालिकाले अहिले मध्यमार्गी उपाय अघि सारेको अध्यक्ष शेर्पा बताउँछन्।
‘त्यहाँका संरचना हटाउन सकिँदैन। पन्छाउने अवस्था पनि छैन। पहिरोमुनि र खोलाले कटान गर्न सक्ने भय बोकेका संरचना सफा गरेर व्यापार–व्यवसाय गर्न पनि मिल्दैन,’ उनले भने, ‘त्यसैले जोखिम कम भएका र सफा गर्न सकिने संरचना मर्मतसम्भार गरेर चलाउन दिने योजनामा छौं। यसो गर्दा बजार क्षेत्र छिट्टै बौरिन सक्छ।’
अर्कातिर, भुइँचालोपछि सीमा सुरक्षा बल लामोसाँघु सरेको थियो। अध्यागमन लगायतका कार्यालयहरू ८० किलोमिटर वर धुलिखेल आइपुगेको थियो। भुइँचालो गएको धेरै समयसम्म भन्सार विन्दु सरकारको उपस्थिति नभएर सामसुन्नै रह्यो।
दुई साताअघि हामी पुग्दा नेपाल–चीन जोड्ने मितेरी पुल नजिकैको अध्यागमन कार्यालय चारैतिर बाँसका खट उभ्याएर पुनिर्निर्माण गर्ने सुरसार हुँदै थियो।
‘एक महिनायता पुनर्निर्माणको काम भइरहेको छ। खै कहिले सकिन्छ? नाका पनि खासै चलेको छैन,’ दुगुनागढी नजिकै घर भएका अध्यागमनका कर्मचारी तिलकबहादुर मगरले भने, ‘पहिलेको तुलनामा १० प्रतिशत पनि सामान आएको छैन। देखिहाल्नुभयो नि, हाम्रोतिर संरचना नै तयार छैन।’
नाकालाई पूर्ववत् लयमा फर्काउन संरचना तयार नभएको नेपालतिर मात्र होइन, खासाको जीवन पनि भुइँचालोपूर्वको अवस्थामा फर्किसकेको छैन।
भुइँचालोपछि चीन सरकारले खासा बजार पूर्णतः खाली गराएको थियो। त्यहाँ रहेको अध्यागमन कार्यालय सारेर चीनले सिगात्से पुर्याएको थियो, जुन खासाबाट ४ सय ९१ किलोमिटर टाढा छ। अध्यागमन कर्मचारी तिलकका अनुसार खासा बजार चालु नभएकाले सिगात्सेबाट सामानहरू सिधै अध्यागमनमै आउँछन्। नेपालीहरूले त्यहीँ गएर किनेर ल्याउने गरेका छन्। यसले सानो सानो परिमाणमा सामान ओसारपसार गर्नेहरूको जीविका उकासिएको छैन।
सिल्क ट्रान्सपोर्टका प्रबन्धक विजय शेर्पाले भने भुइँचालोपछि रित्तो बन्न पुगेको खासामा केही समययता चिनियाँ व्यापारीहरू अलिअलि आउन थालेको बताए।
‘जीर्ण संरचना भने त्यहाँ पनि बनिसकेका छैनन्,’ उनले भने, ‘भुइँचालोपछि बिस्तारै लयमा आउन थालेको नाका कोरोनापछि झन् ठप्प भएको थियो। अहिले बिस्तारै लय समात्दै छ। दैनिक १५ देखि २० कन्टेनर नेपालतर्फ आइरहेका छन्।’
तातोपानी नाका भएर बढी आयात हुनेमा फलफूल, कपडाका कच्चापदार्थ, अदुवा, लसुन, ओखर लगायत वस्तु पर्छन्।
कोदारी चीन जोड्ने छोटो राजमार्ग हो। नेपाल–भोटको सम्बन्ध सेतुको पर्याय बनेको बाटो नेपालकै उपेक्षाका कारण थलिएको त्यहाँका व्यवसायीको भनाइ छ। नाका चलाउन चीनले चासो नदेखाए पनि ८०–८५ किलोमिटर बाटो बनाउन सरकारलाई तातो लाग्नुपर्नेमा त्यो पनि हुन नसकेको उनीहरू बताउँछन्।
‘भुइँचालोमा भत्केदेखि बाटो जस्ताको जस्तै छ,’ बाह्रबिसे बजारका होटल सञ्चालक श्यामसुन्दर श्रेष्ठले आक्रोश पोखे, ‘ल नाका त चीनले खोलेन रे, बाटो त हाम्रै हो नि, खै त यसमा राज्यले ध्यान दिएको?’
सिल्क ट्रान्सपोर्टका प्रबन्धक तथा भोटेकोसी गाउँपालिका-१ लिस्तीका शेर्पा त नेपाल सरकारले चीनको मुख ताक्दा बाटो झन् लथालिंग बनेको हो कि भन्ने शंका गर्छन्।
‘चीनले बाटो बनाइदिन्छ भनेर हाम्रो सरकारले पर्खेजस्तो देखिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन गएका बेला सम्झौता पनि भएको थियो भन्ने सुनिन्छ। अहिले त सडक विभागले बाटामा जम्मा भएको पहिरो मात्रै पन्छाइरहेको छ। बाटो बनाइदिए पनि नाका चल्न सहज हुन्थ्यो,’ उनले भने, ‘नाका चल्न सहज भए सिन्धुपाल्चोकको उत्तरी भेगको जीविकाले फेरि पुरानै गति समात्थ्यो कि!’
जीविकाले गति समातेपछि बल्ल ज्यानको जोखिम मोलेर अमेरिका जाने लर्को थामिन्थ्यो कि! स्थानीयहरूको यही आस छ।
यो शृंखलाको अर्को भागमा हामी अमेरिकाको सपना कसरी बाह्रबिसे, भोटेकोसी क्षेत्रको गाउँगाउँ पस्यो? उनीहरू कसरी अमेरिकाको सपनाको चंगुलमा परिरहेका छन्? र, अमेरिका पुगेर उनीहरूको जीवन कसरी चलिरहेको छ भन्ने विस्तारमा पहिल्याउनेछौं।
***