परदेशमा जमेका नेपाली
सफल व्यवसायीहरूको एउटा खासियत हुन्छ — उनीहरू पैसा कमाउन, जोगाउन र थप लगानी गर्न अभिशप्त हुन्छन्।
उनीहरूको ध्यान कमाएर थप खर्च गर्नेमा हुँदैन। बरू थप लगानी गर्ने र अर्को व्यवसाय खोल्नेमा हुन्छ।
यस्तै व्यवसायी हुन् बेन जोशी।
बेन नेपाली मूलका नागरिक हुन् जो अमेरिकामा बस्छन्। उनले त्यहीँ आफ्नो व्यावसायिक साम्राज्य विस्तार गरेका छन्।
अमेरिकाका १७ ठाउँमा उनले 'बेन्स मार्केट' खोलेका छन्। गत जनवरीमा वासिङटनको ब्लेन १७ औं मार्केट खोले। दुई करोड अमेरिकी डलर (दुई अर्ब ६७ लाख रूपैयाँ) लगानीमा खुलेको यो मार्केट खासगरी गाडी र ट्रकका लागि तेल हाल्ने ठाउँ हो। यहाँ बिजुली गाडीका लागि चार्जिङ स्टेसन पनि छ। चार वटा अन्तर्राष्ट्रिय चेनका रेस्टुरेन्ट छन्। खानेकुरादेखि खिद्रीमिद्री सबै खाले सामान पाइने सुपरमार्केट छ।
सत्र वटा मार्केटमा बेनले दस करोड डलर (१३ अर्ब रूपैयाँ) भन्दा बढी लगानी गरेका छन्। दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। यहाँ काम गर्नेहरू अधिकांश नेपाली छन्।
'म कुनै पनि काम गरेपछि लगनका साथ गर्नुपर्छ भन्ने मान्यता राख्छु। मैले त्यसरी नै काम गरेँ। कमाएँ, लगानी गरेँ। फेरि कमाएँ, फेरि लगानी गरेँ। यसैगरी यहाँसम्म आइपुगेँ,' अमेरिकामा रहेका उनले हामीसँगको फोन कुराकानीमा भने।
बेन अमेरिकामा बस्न थालेको बीस वर्ष भइसक्यो। उनको जन्म र हुर्काइ-बढाइ टिस्टुङको पालुङमा भएको हो। उनका बाजे ललितपुरबाट टिस्टुङ पुगेका थिए।
उनले स्कुल तह पालुङमै पढे र कलेज पढ्न हेटौंडा गए। हेटौंडामा उनका बुबा ठेक्कापट्टाको काम गर्थे। बेनले त्यहीँ बसेर स्नातक सके।
त्यो बेला अलिअलि पैसा खर्चिने सक्ने युवाहरू विदेश पढ्न जान थालेका थिए। बेनका केही साथी र चिनेजानेकाहरू अस्ट्रेलिया बस्थे। उनको पनि विदेश गएर पढ्ने ठूलो धोको थियो। उनी नयाँ कुरा देख्न र सिक्न चाहन्थे। आफै केही गर्न चाहन्थे।
सन् १९९६ मा उनी अस्ट्रेलिया गए। त्यहाँ कम्प्युटर साइन्स र म्यानेजमेन्टमा स्नातक गरे। पढाइ सकिएपछि केही समय उतै बसे।
सात वर्षपछि उनी नेपाल फर्किए। तर फर्किने बेला अस्ट्रेलियाबाटै अमेरिका जाने प्रक्रिया मिलाएर आएका थिए। दुई महिना नेपाल बसेर सन् २००४ को सुरूमै उनी अमेरिका गए।
'मलाई अमेरिकी सपनाले तानेको थियो। सानैदेखि एकपटक त अमेरिका जान्छु नै भन्ने सोच्थेँ। मेरा केही साथीहरू पनि त्यहीँ थिए। अस्ट्रेलियामा भएकाहरू पनि अमेरिकालाई अवसरको भूमि मान्थे,' उनले भने, 'अमेरिकामै बसेर केही गर्छु भन्ने मेरो सपना थियो। त्यसैले अवसर मिल्नेबित्तिकै अस्ट्रेलिया छाडेर उतै हानिएँ।'
उनी अमेरिकास्थित एलन्सवर्गको सेन्ट्रल वासिङटन युनिभर्सिटीमा ब्याचलर अफ साइन्स इन म्यानेजमेन्ट पढ्न थाले।
नेपालबाट पाँच सय डलर बोकेर गएका उनले खर्च जुटाउन ग्यास स्टेसन (तेल हाल्ने ठाउँ) मा पार्टटाइम काम गरे। उनी त्यहाँ हिसाबकिताब हेर्थे। बिस्तारै त्यसैमा रत्तिँदै गए।
करिब पाँच वर्ष त्यहाँ बिताएपछि सन् २००९ मा उनको जीवनले एकसाथ दुइटा फड्को मार्यो — उनी विश्वविद्यालयबाट ग्र्याजुएट भए, सँगसँगै जागिरमा बढुवा पनि भयो।
उनको मेहनत र लगन देखेर ग्यास स्टेसनका मालिकहरूले व्यवस्थापन टिममा राखे।
त्यो बेला उक्त ग्यास स्टेसनमा एउटा ठूलो लगानीको डिल आएको थियो। त्यो डिल कसरी गर्ने भन्ने चुनौती मालिकहरूलाई भयो। बेनको क्षमता देखेर मालिकहरूले उनलाई पनि त्यसमा संलग्न गराए। त्यो डिल भयो भने बेनलाई निश्चित प्रतिशत रकम दिने भनियो। बेनलाई काम र दाम दुबैले हौस्यायो।
'जसले मेहनत गर्न सक्छ, उसले अवसर पाउँछ। राम्रो काम गर्ने भए अमेरिकीहरू कुन देशको मान्छे हो भन्ने हेर्दैनन्,' बेनले भने, 'सबैलाई खुला छ यहाँ।'
-1713784544.jpg)
-1713784544.jpg)
बेनले त्यो डिलबाट पाएको पैसा जोगाएर राखे। नियमित कामबाट आएको केही रकम पनि बचाए। बिस्तारै केही पैसा जम्मा भएपछि बेनलाई आफै व्यवसायी हुनुपर्छ भन्ने लाग्यो।
'म आफै केही गर्नुपर्छ भन्ने सपना देख्दै हुर्किएको मान्छे हुँ। जागिर खाएर जीवन बिताउने भन्ने दिमागमै थिएन। हाम्रो परिवारमा कसैले जागिर खाएनन्। त्यसैले व्यवसाय नै गर्नुपर्छ भन्ने थियो,' उनले भने।
बेनले यसअघि पनि व्यवसायमा हात हालेका थिए, त्यो पनि किशोर उमेरमै। स्कुल पढिसकेर हेटौंडा गएलगत्तै १६ वर्षको उमेरमा उनले चाउचाउको सानो कम्पनी खोलेका थिए। एपोलो चाउचाउको उक्त कम्पनी अहिले अरू कसैले चलाइरहेको उनी बताउँछन्।
हेटौंडाबाट व्यवसायी बन्ने कदम चालेका उनले अमेरिका पुगेर आफ्नो गन्तव्य फेला पारे। केही पैसा उनीसँगै थियो, अलि अलि ऋण खोजे। केही नेपालबाट पनि लगे। अनि ग्यास स्टेसनमा साझेदारीमा लगानी गरे।
सँगसँगै उनी लगानी बढाउँदै व्यवसायी बन्ने धूनमा पनि लागे।
ती दिन सहज थिएनन्। पैसाको अभावले सधैं पेलिरहन्थ्यो। ऋण लिन चिनेजानेका मान्छे थिएनन्। कसैले दिने मन बनाए पनि सबै पृष्ठभूमि हेर्थे। तिर्न सक्दैन जस्तो लाग्यो भने सहयोग गर्दैन थिए।
तर बेन हच्किएनन्।
जब सपना देखिन्छ, त्यो पूरा गर्ने बाटो कहिल्यै छाड्न हुन्न!
बेन बाटो नबिराई हिँडिरहे। दिनभरि र रातभरि काम गरे। चर्पी सफा गर्नेदेखि लिएर जे काम आइपर्यो, त्यही गरे।
'आफ्नो कम्पनी भएपछि त्यसलाई चलाउन झन् चुनौती भयो। तेल कम्पनीलाई समयमा पैसा नदिए तेल नै दिँदैन थियो। त्यसैले मैले कम कर्मचारी राखेर रातदिन आफै काम गरेँ। आफ्ना इच्छा र रहर सबै मारेँ। मलाई जसरी पनि पैसा जोगाउनु थियो,' बेनले भने।
उनको विश्वास थियो — एक न एक दिन यो मेहनतले रङ देखाउने छ!
आखिरमा तीन वर्षपछि उनको दौडधूपले वासिङटनको क्ली अलम गएर आराम पायो।
सन् २०१२ मा त्यहाँ उनले आफ्नो मात्र लगानीमा पहिलो ग्यास स्टेसन खोले।
'म अमेरिका आएदेखि यही काममा लागेको थिएँ। आठ वर्षमा धेरै अनुभव बटुलेँ। यो व्यवसायमा कसरी काम हुन्छ, कसरी कमाइ हुन्छ र सम्भावना के के छन् भनेर थाहा पाइसकेको थिएँ। चिनजानको सञ्जाल बलियो हुँदै गएको थियो,' उनले भने, 'अनि मैले यही क्षेत्रमा काम गर्छु भन्ने निधो गरेँ।'
केही रकम जम्मा भइसकेपछि उनले स्टेसन विस्तार गर्ने सोच बनाए। एउटा स्टेसन खोलिसकेकाले अब कसरी काम गर्ने भन्ने चिन्ता थिएन। उनले कम समयमै दोस्रो स्टेसन खोले।
अमेरिकामा गाडीको तेल हाल्ने ठाउँ धेरै हुन्छन्। तर ट्रकको तेल हाल्ने ठाउँ बनाउन सजिलो छैन। यसमा लगानी धेरै लाग्छ। भण्डारको क्षमता धेरै चाहिन्छ। भण्डार र पार्किङका लागि जमिन पनि धेरै लिनुपर्ने उनी बताउँछन्।
बेन्स मार्केटका १७ वटा शाखामध्ये पहिलो र हालै ब्लेनमा खुलेकोमा ट्रकको ग्यास स्टेसन छ। सत्र वटामध्ये सबभन्दा ठूलो मार्केट पनि यही हो। यहाँ मात्र बेनले दुई करोड अमेरिकी डलर (दुई अर्ब ६७ लाख रूपैयाँ) लगानी गरेका छन्। सय जना कर्मचारी यहीँ मात्र काम गर्छन्।
'ब्लेन सिटी काउन्सिलका मेयरले आएर यो ग्यास स्टेसन उद्घाटन गर्नुभएको हो,' उनले भने, 'यहाँ सबै सुविधा छ।'
बेनका अनुसार यो स्टेसन क्यानडाको सीमा नजिकै छ। क्यानडा जान यही स्टेसनको बाटो हुँदै जानुपर्छ। यो ट्रकहरू गुड्ने रूट पनि हो। त्यस्तै अमेरिकाभन्दा क्यानडामा तेलको भाउ महँगो छ। बेन्स मार्केटले क्यानडियनहरूलाई नै लक्षित गरेर यो स्टेसन खोलेको हो।
'यो जुन ठाउँमा छ, त्यो हाम्रो लागि प्लस प्वाइन्ट हो,' बेनले भने, 'यो ठाउँमा अमेरिका र क्यानडा दुबै देशका ग्राहक आइपुग्छन्। धेरै अध्ययन गरेर यहाँ लगानी गरेको हुँ।'
अर्को बलियो पक्ष भनेको यसको आसपास प्रतिस्पर्धी स्टेसन छैन। सानातिना भए पनि बेन्स मार्केट जत्तिको सुविधा-सम्पन्न र ठूला छैनन्।
यहाँ पिज्जा हट, कार्ल्स जुनियर, जम्बा जुस र सिनाबन नामका ठूला चेन रेस्टुरेन्ट छन्। यसले खानपिनको व्यवस्था राम्रो हुने बेन बताउँछन्। ट्रक चालकहरूका लागि आराम गरेर बस्ने, नुहाउने, लुगा धुने ठाउँ छ। धेरै जमिन भएकाले उनीहरूले आफ्ना ट्रक यहीँ पार्क गर्न पनि सक्छन्।
बेन जोशी
यहाँ आएर कोही पनि फर्किन नपरोस् भन्ने उद्देश्यले सबै सुविधा दिएको उनी बताउँछन्। यसबाट राम्रो प्रतिफल हुन्छ भन्नेमा उनलाई ढुक्क छ।
नेपालबाट पाँच सय डलर बोकेर अमेरिका पुगेका बेनको आज व्यवसायको वार्षिक कारोबार बीस करोड डलर (२७ अर्ब रूपैयाँ) हाराहारी छ।
र, बेन यतिमै रोकिने वाला छैनन्।
उनी अझै धेरै सहरमा आफ्नो मार्केट फैलाउन चाहन्छन्।
'व्यवसाय भनेको लगानी गर्ने, सेवा दिएर नाफा कमाउने हो। अनि त्यो नाफा फेरि लगानी गरेर थप सेवा दिने हो। रोजगारी बढाउने हो। आफ्नै लागि त मान्छेले कति पो खर्च गर्छ र,' उनले भने, 'व्यवसायीहरू लगानी-नाफा-लगानीकै चक्रमा चलिरहन्छन्।'
अर्को देशमा बसेर व्यवसाय गर्नु, त्यसलाई फैलाउनु सजिलो काम होइन। कसैले व्यवसाय गर्ने सोचिहाल्यो भने के गर्ने भन्ने भेउ नै हुँदैन। अवसरहरू हुँदैनन्। भइहाले पनि लगानी जुटाउने चुनौती हुन्छ। भाषाको समस्या हुन्छ। व्यवस्थापकीय र प्रशासकीय काममा झमेला हुन्छ। आफूले चिनेजानेका भर गर्ने मान्छे नहुँदा सहयोग पाउन मुस्किल हुन्छ।
यो मामिलामा बेन आफूलाई 'भाग्यमानी' ठान्छन्।
'म अरूलाई हेरेर आफूलाई निकै भाग्यमानी मान्छु। उच्च शिक्षा पाएकालाई अमेरिकामा जम्न त्यति गाह्रो हुँदैन तर मध्यम वर्गकालाई साह्रै कठिन छ। पहिले त जागिर पाउनै मुस्किल हुन्छ। पैसाकै अभाव हुन्छ,' उनले भने।
अमेरिकामा संघर्ष गर्न गएका नेपालीहरूलाई सहज बनाउने काम पनि बेनले गरिरहेका छन्। केही काम नपाएर समस्यामा परेका नेपालीलाई उनी आफ्ना मार्केटमा जागिर दिन्छन्। डिभी परेर जाने धेरै नेपाली सबभन्दा पहिले उनीकहाँ नै काम गर्न पुग्छन्। यसका लागि बेनले डिभी भरेर अमेरिका पठाउने नेपाली कम्पनीसँग सहकार्य गरेका छन्।
'डिभी परेर आउने नेपालीलाई हामी जागिर दिन्छौं। पहिल्यैदेखि यहाँ भएकाहरू पनि बेला बेला आउँछन्,' बेनले भने, 'यहाँ बस्ने र काम गर्ने अनुमति भएका नेपालीलाई हामीले केही न केही काममा राख्छौं।'
एक दशक अवधिमा एक हजारभन्दा बढी नेपाली उनीकहाँ काम गर्न पुगिसकेका छन्। एक-दुई जना लामो समय बसेका छन्, बाँकी अरू काम खोज्दै आफ्नो बाटो लागिसके। गएकामध्ये केही अझै पनि सम्पर्कमा रहेको उनले बताए।
'मेरो व्यवसाय धेरै नेपालीका लागि प्रवेश बिन्दु जस्तो हो। यहाँ आउनेबित्तिकै केही नहुँदा मकहाँ काम पाउँछन्, सिक्छन् र अरू अवसर खोजेर जान्छन्। कोही त अहिले माइक्रोसफ्ट र अमेजनमा काम गर्न पुगिसके। मलाई खुसी लाग्छ।'
बेन आफै पनि हरेक दुई वर्षमा नेपाल आउजाउ गरिरहन्छन्। उनका बुबा अमेरिकामा उनीसँगै बस्छन्। आमाको दुई वर्षअघि निधन भइसक्यो। बेनका एक जना भाइ क्यानडामा छन्, एक बहिनी अस्ट्रेलिया बस्छिन्। एक भाइ र एक बहिनी नेपालमै छन्।
उनको अमेरिकाको व्यवसाय अहिले पारिवारिक जस्तो भएको छ। काका, फूपू लगायत आफन्तका परिवारका सदस्यहरू गरेर करिब पचास जना यसमा जोडिएका छन्। कम्पनी सम्हाल्ने जिम्मेवारी उनीहरूकै काँधमा छ।
जीवनको पाँच दशक बिताइसकेका बेनले बिहे गरेका छैनन्। मन नभएर भन्दा पनि ध्यान नै नपुगेको उनी बताउँछन्।
'एकोहोरो काममा मात्र दौडिँदा मैले आफूलाई हेर्न चाहिँ अलि बिर्सेछु। प्राथमिकता नै काम भएपछि जीवनमा परिवार सुरू गर्ने कुरा मिस भएछ,' उनले भने, 'अब भविष्यमा के हुन्छ त थाहा छैन तर म जीवनमा केही गर्छु र बन्छु भन्ने थियो, त्यो गरेँ। खुसी र सन्तुष्ट छु।'
अवसर हेर्नु र त्यसलाई लिनु, आशा राख्नु र आशा रहुन्जेल पछि नहट्नु — बेनको ऊर्जाको स्रोत यही सिद्धान्त हो।
'मैले यही मान्यता पछ्याएर शून्यबाट सुरू गरेँ। टिस्टुङदेखि वासिङटनसम्म आइपुगेँ, धेरै संघर्ष गरेँ, सफलता पनि पाएँ,' उनले भने।
अब उनको चाहना बाँकी जीवन नेपालमै बिताउन पाए हुन्थ्यो भन्ने हो।
अमेरिकाको काम अरूले सम्हाल्दै गएकाले बेन नेपालमै काम गर्न चाहन्छन्।
यसको सुरूआत उनी नेपालमा सफ्टवेयर कम्पनी खोलेर गर्दैछन्। रेडस्टोन टेक्नोलोजी नामको कम्पनीमार्फत् अहिले नेपाली इञ्जिनियरहरूले बेनको अमेरिकाको व्यवसायका लागि एपहरू बनाइरहेका छन्। यी एप बेनले ग्यास स्टेसन र सुपरमार्केटका ग्राहकलाई सहज होस् भनेर बनाएका हुन्। भविष्यमा यसले अन्य कम्पनीलाई पनि सेवा दिनेछ।
त्यस्तै अमेरिकाबाट नेपालमा पैसा पठाउन मिल्ने प्लेटफर्म 'जुनो' मा पनि बेनले साझेदारी लगानी गरेका छन्। जुनोले हालै मात्र नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो।
'नेपालबाट सूचना-प्रविधि सेवा दिने सक्ने सम्भावना अथाह छ। नेपाली युवाहरू क्षमतावान छन्,' बेनले भने, 'अहिलेसम्म हामीले अमेरिकामा नेपालीलाई रोजगारी दिइरहेका छौं, अब नेपालमै रोजगारी सिर्जना गर्ने मेरो उद्देश्य हो। यसका लागि अरू बाटा पनि हेरिरहेको छु।'
त्यसैले त भनिएको हो, सफल व्यवसायीहरूको खासियत हुन्छ — उनीहरू पैसा कमाउन, जोगाउन र थप लगानी गर्न अभिशप्त हुन्छन्।
बेन जोशी यस्तै व्यवसायी हुन्!
***
यो पनि पढ्नुहोस्-