उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवहरूको कार्यकाल औसत तीन महिना मात्रै देखिन थालेको छ।
पछिल्लो एक वर्षमा मात्रै यो मन्त्रालयमा पाँचौं पटक सचिव परिवर्तन भएको छ।
वर्तमान सरकार आएको करिब ६ महिना अवधिमा मात्रै उद्योगतर्फ तीन पटक सचिव परिवर्तन भएका छन्। सरकारले पछिल्लो पटक रूद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।
तामाङले सचिव बनेपछि पहिलो जिम्मेवारी नै यही मन्त्रालयमा पाएका हुन्।
पछिल्लो एक वर्ष अवधिमा उद्योगतर्फ कृष्णबहादुर राउत, मधुसुदन बुर्लाकोटी, कृष्णबहादुर राउत, नारायणप्रसाद शर्मा दुवाडी र अहिले रूद्रसिंह तामाङ सचिव बनेका छन्। यसमा राउत दुई पटक मन्त्रालयमा आएका छन्।
तामाङ जिम्मेवारीमा आउनुअघि सचिव रहेका दुवाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन्।
उनी २०८३ साउनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरूवा भएका थिए। उद्योग मन्त्रालयमा उनको कार्यकाल जम्मा दुई महिना रह्यो।
२०८३ असोज २ गतेको मन्त्रिपरिषद बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरेको हो।
दुवाडी यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जोडिएका थिए। २०७९ भदौ ६ गते सहसचिवबाट सचिवमा बढुवा भएपछि उनी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव बनेका थिए।
त्यसपछि २०८० मा उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ल्याइएको थियो। त्यसपछि राष्ट्रपति कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदै उनी पुनः यही मन्त्रालय फर्किएका थिए।
पछिल्लो एक वर्षमा यो मन्त्रालयमा राउतले दुई पटक जिम्मेवारी पाए पनि पछिल्लो पटक लामो समय राखिएन।
उनले पहिलो पटक २०८० चैतदेखि उद्योग सचिवको जिम्मेवारी सम्हालेका थिए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उद्योग मन्त्रालय आएका राउतले करिब २० महिना मन्त्रालयको जिम्मेवारी सम्हाले।
२०८२ मंसिरमा उनलाई निर्वाचन आयोग सरूवा गरिएको थियो। निर्वाचन अवधिभर आयोगमा काम गरेका उनलाई चैतमा पुनः उद्योग मन्त्रालयकै जिम्मेवारी दिइएको थियो। तर यसपटक तीन महिना मात्रै उनले उद्योग सचिवका रूपमा काम गरे।
२०८३ असार ३१ गते उनलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय सरूवा गरिएको थियो।
राउत निर्वाचन आयोग पुगेको समय उद्योग सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका थिए। बुर्लाकोटीले करिब चार महिना उद्योग मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए। त्यसपछि राउत पुनः उद्योग मन्त्रालय फर्किएपछि बुर्लाकोटीलाई निर्वाचन आयोग सरूवा गरिएको थियो।
अहिले मन्त्रालयको जिम्मेवारीमा रूद्रसिंह तामाङ आएका छन्। तामाङ २०८३ असोज २ गते मात्रै सचिवमा बढुवा भएका थिए। त्यसै दिन उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो।
सचिव बन्नुअघि तामाङ सहसचिवका रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रशासन महाशाखा हेर्दै थिए।
त्यसअघि उनले अध्यागमन विभागको महानिर्देशक र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा काम गरेका थिए।
तामाङ यसअघि स्थानीय विकासतर्फ पनि काम गरिसकेका प्रशासक हुन्। उनले धादिङ र नुवाकोटको स्थानीय विकास अधिकारी तथा काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।
पछिल्लो एक वर्षमा उद्योगतर्फ सचिवको जिम्मेवारी सम्हाल्ने क्रम राउतबाट सुरू भएर बुर्लाकोटी, राउत, दुवाडी हुँदै तामाङसम्म पुगेको छ। एउटै अवधिमा एउटै व्यक्तिले दुई पटक जिम्मेवारी सम्हालेकाले नियुक्तिको संख्या पाँच पुगेको हो।
उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यसअघि उद्योग र वाणिज्यतर्फ दुई सचिवको व्यवस्था थियो।
२०८२ जेठमा राष्ट्रपति कार्यालयबाट रामप्रसाद घिमिरेलाई वाणिज्य तथा आपूर्ति सचिवका रूपमा ल्याइएको थियो। उनी २०८२ फागुन १० गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गए। त्यसपछि वाणिज्यतर्फको सचिव पद रिक्त रहेको थियो।
सरकारले पछिल्लो समय मन्त्रालयहरूमा एक जना सचिव रहने गरी संरचना मिलाउने निर्णयसमेत गरेको छ। त्यससँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि प्रशासनिक नेतृत्व एउटै सचिवबाट सञ्चालन हुने भएको छ।
तर लगातार सचिव परिवर्तनले काममा समेत प्रभाव देखिन थालेको मातहतका कर्मचारीहरूले बताएका छन्।
'आउनासाथ सबै कुरा थाहा हुँदैन। सबै ब्रिफिङ लिनुपर्छ। पेन्डिङका काम हुन्छन्। यी विषयमा बुझ्नुपर्छ। तर २/३ महिनामै लगातार सरूवा गर्ने परिपाटी भएपछि के काम हुन्छ?' मन्त्रालयका एक सहसचिवले भने।