Ncell
Nic asia bank
Nic asia bank
Setopati घुमफिर
Subscribe Setopati
शुक्रबार, जेठ ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी
  • घुमफिर समाचार
  • घुमफिर अनुभव
  • घुमफिर गतिविधि

बाली बैजनी!

बिक्रम भक्त जोशी 

बिक्रम भक्त जोशी 

gibl
gibl
gibl
gibl
एन्जेल बिलाबोङ बिच
एन्जेल बिलाबोङ बिच
Tata box 1
Tata box 1

प्लेनले भुइँ छोड्दा रातिको ११ बजिसकेको थियो। यसै पनि ढिलो सुत्ने बानी परेकालाई प्लेनको कल्याङमल्याङले झन् छ्याङ्गै पार्यो। श्रीमती र छोरी भने 'नेक पिलो'को माला लगाएर मस्त निद्रामा थिए। म भने छट्पटीमै रहेँ।

मलेसिया एयरलाइन्सको फ्लाइट नम्बर एमएच ११५ रातिको निष्पट अँधेरो चिर्दै क्वालालम्पुरतिर सोझिँदै थियो। झण्डै ५ घण्टा लामो उडान कसरी कटौती गर्ने चुनौती थियो। सिटको पछाडि जडिएका फुच्चे टिभी मोनिटर मेरो सारथी बन्यो।

विभिन्न सिनेमा एवं गानाहरूको लामै सूची उपलब्ध रैछन्। मैले भने कौतुहलतावस नबुझे पनि इन्डोनेसियाली गाना रोजें र हेडफोन कानमा लगाए।

बुङा चित्रा लेस्तारी।

झ्वाट्ट हेर्दा नेपाली दिदीबहिनी झैं देखिने इन्डोनेसियाली गायिका। उनको एउटा गानाले भने मेरो मन छोयो। दोहोर्याइ तेहेर्याइ सुनिरहें।

'चिन्ता सेजाती' - गानाको शीर्षक मतलब 'साँचो प्रेम' हुने रहेछ। पछि थाहा पाएँ। उतिबेला नबुझेरै पनि बुझे झैं लागेको थियो त्यो गीत।

एउटा सच्चा प्रेम व्यक्त गर्दै गरिएका आलापले मनलाई त्यसै त्यसै चसक्क पार्ने रैछ। नबुझिने भाषाले पनि अर्थ परिभाषित गर्दो रैछ। संगीतको आफ्नै भाषा हुन्छ भन्थे, हो रैछ।

अनौठो त यो रह्यो कि यस यात्राका दौरान यो गीत एउटा अर्थपूर्ण कथासँग जोडिन पुग्यो। कथा - बैजनी रङमा रङ्गिएको बालीको एउटा कुनोको । कथा - 'चिन्ता सेजाती'को।

Nchl
Nchl
Ncell
Ncell

'मेरो साँचो प्रेम

जब तिमी साथ हुँदैनौ

म तिमीलाई नै कुरिबस्छु'

काडेकले यो गीतको बोल अर्थ्याएका थिए। गीत अझ मन पर्यो।

* * *

क्वालालम्पुरको ट्रान्जिट पश्चातको तीन घण्टे उडानले हामीलाई इन्डोनेसियाको बालीस्थित देनपासार एयरपोर्टमा ओराल्यो।

हामी तेह्र जनाको समूह थियौं। विभिन्न विधा, उमेरका विविध रंगीन समूह! तर यो रंगीन समूहलाई एयरपोर्टको वातानुकूलित वातावरणबाट बाहिर निस्केपछिको चरक्क घामले भने एकै छिन अत्यायो।

हुन पनि काठमाडौंको मौसमबाट भूमध्य रेखाको सेरोफेरोको उष्ण मौसमी क्षेत्रमा रहेको इन्डोनेसिया पुग्दा नोभेम्बरको अन्तिम साता समेत गर्मी महशुस हुनु स्वभाविक थियो।

इन्डोनेसिया कुनै समय मलाया भनेर चिनिने मलेसियाको दक्षिणी भागका करिब साढे सत्र हजार टापु मिलेर बनेको हो यो देश।

पश्चिममा सुमात्रा द्वीप, नक्सामा झ्वाट्ट हेर्दा उभिएको भालुको आकारको भान दिने बोर्नियो द्वीपको तल्लो दुई तिहाइ भाग, ती भन्दामुनि जाभा र बाली द्वीप, पूर्वतिर सुलावेसी टापु समूह एवं पापुवा द्वीपको पश्चिमी भाग मिलेर सिंगो इन्डोनेसिया बनेको छ।

यो देश नेदरल्याण्डको शासनबाट सन् १९४५ मा स्वतन्त्र भएको थियो।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

इन्डोनेसियाका विभिन्न प्रदेश मध्येका एक बाली द्वीपको राजधानी सहर हो, देनपासार। जहाँबाट दक्षिणतर्फ तटीय क्षेत्रमा रहेको कुटा भन्ने ठाउँमा हाम्रो बाली भ्रमण अवधिभरका लागि बस्ने व्यवस्था गरिएको थियो, स्विसबेल एक्सप्रेस होटलमा।

बालीको अत्यन्त व्यस्त एवं 'ह्यापनिङ्ग' ठाउँ मध्ये पर्दो रहेछ यो क्षेत्र। ठमेलको झझल्को दिन्छ। तर ठमेल भन्दा निकै ठूलो। रात पर्दा यो ठाउँ सुत्दैन। जति रात छिपिन्छ उति उल्टै ब्युँतिंदै जान्छ। कमसेकम यहाँका नाइट क्लबहरू।

हामी बसेको होटलभन्दा एकै मिनेटको दूरीमा रहेको चोकमा ग्राउन्ड जिरो स्मारक रहेको छ। यसै ठाउँमा सन् २००२ मा जेआई समूहद्वारा गराइएको आत्मघाती बम आक्रमणमा परेर २०२ जनाको मृत्यु भएको थियो। तिनैको सम्झनामा बनेको यस स्मारकको झिलिमिली अनि वरिपरिको रमझम देख्दा यस ठाउँमा सत्र वर्ष अघि घटेको त्रासदीपूर्ण घटना पत्याउनै गाह्रो पर्छ।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

यी सबै जानकारी मैले पाएको थिएँ वायानबाट जसले हामीलाई तीन दिन गाइड गर्ने जिम्मा पाएका छन्।

एयरपोर्टमा हामीलाई रिसिभ गर्न आएका थिए, खाँटी बालिनिज ट्रेड्रिसनल पोशाकमा। लुङ्गीखाले 'सोङ्केत काम्बेन' र शीरमा 'उदेङ' भनिने टोपी। लुङ्गी नै जस्तो देखिने 'सारोङ' र 'केबाया' भनिने सेतो कमिजमा सजिएका दुई बालिनिज युवती पनि साथै थिए। हामीलाई मग्मगाउँदो सेतो फूलको मालाले स्वागत गर्दा दुई हात जोड्दै यी बालिनिजहरूले भने, 'वम् स्वस्त्यास्तु!' अचम्म लाग्ने नै भो - मंगोलियन रुपरंगका युवतीहरूले संस्कृतमा अभिवादन गर्दा। यसको अर्थ हुन्छ - 'तपाईंको शुभ होस्'। हाम्रोमा 'नमस्ते' वा 'नमस्कार' भनेजस्तै।

इन्डोनेसिया मुस्लिम देश हुँदाहुँदै पनि बाली भने खाँटी हिन्दु प्रदेश रैछ – ९० प्रतिशतभन्दा ज्यादा हिन्दु धर्मावलम्बी छन् रे यहाँ। हरेक हिन्दुले आफ्नो घर अगाडि सानै भए पनि एउटा मन्दिर बनाउनै पर्ने र एउटा टोलले एउटा मन्दिरको समूह बनाउनै पर्ने नियम।

काठमाडौं उपत्यकालाई मन्दिरै मन्दिरको सहर भन्थ्यौं। बालीलाई पनि यही भन्दा रैछन्। साँच्चै भन्ने हो भने धर्मप्रति लगाव र मठमन्दिर बनाउन तदारुक बालिनिज प्रवृति निकै सराहनीय लाग्यो।

एयरपोर्टबाट होटल जाँदै गर्दा दुइटा कुरा याद गरेँ - हरेक जसो चौरस्ताका बीच भागमा रामायण र महाभारतका पात्रहरूको भीमकाय मूर्तिहरू विभिन्न भावभङ्गीमा उभिएका भेटिन्थे। अनि हरेक जसो घर, मन्दिर अगाडि विभिन्न रङका फूल, कागती, सुपारी आदि ताडको पातले बनेको साना टपरीमा राखिएका भेटिन्थे। वायानबाट थाहा पाएँ कि यिनलाई 'चनाङ सारी' भनिँदा रैछन् जो कि त्रिमूर्ति (ब्रम्हा, विष्णु, महेश्वर) लाई चढाइएका हुन्।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

हाम्रा गाइड वायानको बारेमा पनि केही भनुम् है।

यिनी परिवारका जेठो सन्तान रैछन्। त्यही भएर यिनको नाउँ वायान राखिएको रे। वायानको मतलब जेठो रे।

अझ चाखलाग्दो कुरा के भने, यहाँ नामाकरण गर्दा जम्मा चार थरि नाम मात्रै प्रयोग हुने रैछ। कि जेठा, कि माहिला, कि साहिँला, कि कान्छा!

जेठोलाई नाम दिइन्छ वायान वा पुटु। माहिलोलाई काडेक वा मदे। साहिँलोलाई न्योमान र कान्छोलाई केटुट।

पाँचौं सन्तान भए के गर्ने त? उनलाई 'वायान बालिक' भन्दा रैछन्, जसको मतलब हो 'अर्को वायान'।

अर्को कुरा, चारैथरि मात्र नाम हुँदा उस्तै नाउँ भएकाहरू एक अर्काबाट छुट्टिउन भनेर थप नाउँ पनि दिइँदो रैछ।

व्यक्तिको शारीरिक बनोट, बस्ने ठाउँ आदित्यादीका आधारमा। जस्तै 'केटुट गेमुक' भन्नाले 'मोटे कान्छा' भन्ने अर्थ लाग्ने भो।

जेठी, माहिली, साहिँली आदि भन्नलाई के गर्ने त? नाउँ अगाडि 'नी' थप्ने रे। हाम्रा यता स्त्रीअर्थ लगाउन नाउँ पछाडि 'नी' झुण्ड्याए झैं उता 'नी' अगाडि थप्दा हुन् क्यारे।

होस्। व्याकरणका पछाडि नलागौं। घुम्न आएका, घुम्नतिरै लागौं!

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

त्यो साँझको कार्यक्रम 'सि-सफारी क्रुज'को रहेछ। समुद्री डाँकुको थिम बोकेको सो क्रुज एकदमै रमाइलो रह्यो। यहीँ त हो बालीको मौलिक बियर 'बिन्ताङ'सँग मेरो परिचय भएको।

बिन्ताङको अर्थ तारा रे। यो खाएपछि दिउँसै तारा देख्छ भन्थ्यो वायानले, तर म लगायत सबैलाई फिक्का लाग्यो। बिन्ताङले मन जितेन! बरु क्रुजसिपबाट देखिएको सूर्यास्तको दृश्यले भने मन मोहित बनायो।

समुद्रको गर्भमा सूर्यनारायण चुर्लुमै डुबेको एकाध घण्टामा गोधूली साँझले बैजनी रङ पोत्यो - पश्चिमी दिशाको समुद्री क्षितिजमा। नेपथ्यमा क्रुजसिपकी गायिका ठट्यौली पारामा इन्डोनेसियाली गाना गाउँदै थिई।

* * *

बालीको आफ्नै व्यथा पनि छ - भौगर्भिक कारणले सिर्जेका व्यथा। टेक्टोनिक प्लेटको हलचलले भुइँचालो गइरहँदो रैछ। हाम्रामा जस्तै। सायद यसैले पो हो कि यहाँ १५ मिटरभन्दा अग्ला भवन बनाउन नपाइने नियम छ। त्यही भएर यहाँ प्राय: होचा होचा भवनहरू देखिन्छन्। हाम्रामा जस्तो भूकम्पीय जोखिम क्षेत्र जान्दा जान्दै पनि अग्ला भवन बनाउने होडबाजी त्यता रहेनछ।

अर्को व्यथा भनेको द्वीपको उत्तरी भागमा रहेका दुई 'एक्टिभ' ज्वालामुखी पहाडहरू - माउन्ट बातुर र माउन्ट अगुङ।

पछिल्लो त हालै मात्र फुटेको रे। बातुर भने २० वर्षदेखि शान्त रैछ। त्यही शान्त ज्वालामुखी पहाड हेर्न गयौं। परबाट।

किन्तामनी भन्ने ठाउँबाट,तर हामीलाई भने उति खास लागेन। बस, हामीकहाँ पहाड चुच्चो पर्या हुन्छन्, तर यसका भने टुप्पो बुच्चै रैछ - टुप्पोदेखि ज्वालामुखी फुट्ने भएर।

यो पहाडको बुच्चे टुप्पोबाट सूर्योदयको दृष्य साह्रै मनोरम हुन्छ रे। आफूभन्दा मुनि बादलको ताल र तिनै तालबाट सूर्य सर्लक्क निस्केको दृष्य कल्पना गर्दा पनि मनोरम लाग्छ।

यही हेर्न राति नै बग्रेल्ती ताँती लाग्दा रैछन्। १७१७ मिटर अग्लो पहाड उक्लिँदा रैछन्।

* * *

'काडेक! मेरो सेलफोन बाँदरले लग्यो।' एक जना विदेशी हतारिँदै म भएतिर आयो।

'मैले भनेकै थिएँ नि। होश पुर्याउनु भनेर।' मेरो नजिकै उभिएका बैजनी रङको सोङ्केत काम्बेन लगाएका बालिनिज गाइडले दिक्क मान्दै भन्यो।

'एक हप्ताअघि पनि यस्तै भो।' ऊ गनगन गर्दै थियो। अङ्ग्रेजी राम्रै बोल्दा रैछन्।

'अब भेटिन्न त?' मैले सोधेँ।

'बाँदर न हो। फर्काउन त के ल्याउलान् र! कतै झारे भेटिएला। नफुटे भाग्य हुनेछ।'

विदेशी 'ओ गड!' भन्दै थचक्क बस्यो।

मन्दिर क्षेत्र पस्नका निम्ति अनिवार्य गरिएकोले यी गाइडमात्र होइनन्, हामी सबैले पनि बैजनी रङका 'सोङ्केत काम्बेन'को माथि पहेँला 'सबुक'ले कम्मरमा पेटी बेरे झैं बेरेका थियौं।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

हामी पुगेका थियौं, बालीको सबभन्दा दक्षिणी भागको पश्चिमी किनारामा रहेको उलुवाटु मन्दिरमा।

यात्राको तेस्रो दिन - नुसा दुवा प्रायद्वीपमा रहेको तान्जुङ बेनोवा भन्ने समुद्री तटमा प्यारासेलिङ, जेटस्की, बनानाबोट लगायतका साहसिक समुद्री क्रियाकलापमा अतालिँदै रमाइसकेपछि हामी यता आइपुगेका थियौं।

समुद्री तटभन्दा करिब ७० मिटर अग्लो ठाडो भिरमाथि बनेको यो मन्दिरभित्र पस्न दिइँदो रहेनछ।

ती विदेशी भने आफ्नो फोन गुमाउनु परेकोमा भन्दा पनि तिनमा कैद सुन्दर तस्वीर गुमाउनु पर्दा दु:खी देखिन्थे।

'अब साँच्चि फोन भेटिन्न, काडेक?' टाउको हल्लाउँदै गाइडले मुन्टो बटार्यो।

म छेउको अग्लो ढिस्कोमा चढेर पर परसम्म बगेको समुद्रको मनोहर दृष्य क्यामेरामा कैद गर्न थालेँ। ती गाइड भने आफ्ना विदेशी पाहुनालाई केही सम्झाउँदै ओरालो लाग्यो।

* * *

अर्को दिन,

भोलि हाम्रो यात्राको अन्तिम दिन अर्थात् फर्किने दिन। आज भने 'फ्री डे' राखिएको छ। भन्नाले आफ्नो ईच्छाले आराम गर या कतै घुम्न जाउ। घुम्ने हो भने प्याकेज बाहेक भएको हुँदा एक्स्ट्रा खर्च लाग्ने भो। प्याकेजको प्राइस घटाउन ट्राभल्सले प्रयोग गर्ने जुक्ति यो पनि हो।

हाम्रा सहयात्री मित्रहरू कोही आराम गरे, कोही बजार घुम्न निस्के। म भने परिवारसहित नुसा पेनिडा हानिएँ।

त्यहाँको भाषामा नुसा भनेको टापु। बालीको दक्षिणी समुद्र किनारको सानुर बीचबाट फास्टबोटले एक घण्टामा पेनिडा टापुको जेटीमा ओराल्यो।

हामीलाई घुमाउन जिम्मा पाएका उताका गाइडलाई हाम्रो फोटो मेसेन्जरमा फर्वार्ड गरिएको थियो। नभन्दै कोही हामीलाई कुरिबसेका रहेछन्। हामीलाई चिनिहाले। मलाई पनि ती चिने झैं लाग्यो।

'हेलो सर! मलाई चिन्नुभो? उलुवाटु? बाँदर? क्यामेरा?' सेतो दन्तलहर देखाउँदै ती व्यक्ति हामीतिर आए।

'हो त। हिजै त भेटेको, हैन? के अचम्म! तिमी कसरी यहाँ?' छक्क पर्दै भनेँ।

'हाम्रो कामै यस्तो। कम्पनीले जता जाउ भन्यो उतै। हेलो म्याम। हेलो मिस,' मेरी श्रीमती र छोरीतिर फर्केर उनले भने।

'मेरो नाम काडेक। खास मेरो घर यहीँ हो। यहाँका होटेलमा बस्न आएका पाहुनालाई घुमाउन लानु परे मात्र पारि जान्छु। नत्र ड्युटी यतै। मेरो घर बाटैमा पर्छ। अहिले जाँदा देखाउँछु है,' आफूले ल्याएको गाडीमा बस्ने संकेत गर्दै काडेकले भने।

'ए, भैहाल्छ नि। खुसी लाग्यो। चिनेकै परेछौ। अनि ती विदेशीको फोन भेटियो त?' समुद्र किनारको चिल्लो सडकमा गाडी गुड्न थालेपछि किनारमा ठोक्किन आएका सेता छालहरू हेर्दै मैले सोधेँ।

'कहाँ भेट्टिनु। भेटिए पनि काम छैन। बिगारिसक्छन्। छुकछुके छन् त्यहाँका बाँदरहरू।'

'बाँदरको जात त्यस्तै त हो नि।'

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

'हो नि, सर। घरमा मेरो पनि एउटा छुकछुके बाँदर छ। जे पनि बिगारिहाल्ने। साह्रै बदमास, तर प्यारो।'

'पालेको?'

'हाहाहा। हैन सर। मेरो छोरा क्या! माया गरेर त्यसलाई बाँदर भन्ने गर्छु।'

'सो स्विट!' पछाडिको सिटमा कुरा सुन्दै बसेकी मेरी श्रीमती बोली। 'कति वर्षको भो नि?'

'छ वर्षको भो।'

'भर्खरकै देखिन्छौ त। चाँडै नै बिहे गर्यौ कि कसो? कति भो बिहे गरेको?'

'तीन वर्ष भो।'

'हैन। के भनेको? बिहे अघि नै छोरो पायौ?' मैले हाँस्दै सोधेँ।

काडेकको अनुहार एकाएक मलिन भो। केही समय चुप लागे।

'पुटु मेरो आफ्नै छोरा हैन नि सर।'

फेरि थपे,'तर म पुटुलाई औधी माया गर्छु। उसमा मेरो रगत छैन त के भो, निलुको रगत त छ नि।'

'निलु?'

'इस्त्रीकु। मेरी श्रीमती।'

हाम्रो गन्तव्य आइपुगेकोले कुरोलाई थातीमा राख्यौं। काडेकको कहानी खोतल्ने मनसुवाले भने जरो गाड्यो।

चट्टानी समुद्री किनार, जस्लाई एन्जेल बिलाबोङ भन्दा रैछन्। छेउकै काठे पसलमा बिन्ताङ राड्लर मगाएर एकैछिन सुस्ताएँ। अरु नरिवल पानीमा रमाए। उखरमाउलो गर्मीबाट थोरै भए'नि त्राण पाइयो। केही अगाडि हिँडेपछि पुगिने ब्रोकनबीच भने मनमोहक लाग्यो। नीलो निर्मल समुद्रको छेवैमा अग्ला चट्टानले घेरिएर बनेको कचौरा आकारभित्रको नीलै ताल, जसलाई समुद्रसित प्राकृतिक आर्क पुलले जोडेको छ। हामीले फोटामा, टिभीमा मात्र देख्थ्यौं। अहिले आँखै अगाडि देख्दा मन प्रफुल्लित भयो।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

त्यहाँबाट अर्को गन्तव्य थियो केलिङकिङ बीच। किन हो कुन्नि, गाडी चलाउँदै गर्दा काडेक यसपल्ट चुपचाप रह्यो। अघिसम्म पटरपटर बोलिरहेका यिनी अचानक चुप रहँदा वातावरण बोझिलो रह्यो।

'केही बजाउ। तिमीहरूको कुनै चल्तीको गाना।' वातावरण सहज बनाउन मैले भनेँ।

काडेकले गाडीको ड्यासबोर्डमा केहीबेर खत्र्याकखुत्रुक गर्यो।

केही बेरमा जे बज्यो, त्यो सुनेर म अचम्ममा परेँ। बुङा चित्रा लेस्तारीको आवाज गुन्जियो गाडीभित्र र घन्किन थाल्यो उही गाना - 'चिन्ता सेजाती'।

'अरे। यो गाना त सुनेको छु। 'चिन्ता सेजाती' हैन?' मैले भनेँ।

'कसरी थाहा पाउनु भो। सुन्नुभा'छ?'

'छु। आउँदा प्लेनमा सुनेथेँ। मलाई खुब मन परेको थियो।'

'चिन्ता सेजाती भनेको साँचो माया। यो गाना निलुलाई पनि खुब मन पर्थ्यो। ऊ आफैं पनि दुरुस्तै गाउने गर्थी।'

केलिङकिङ बीचमा डाइनोसरको टाउको जस्तै देखिने डाँडाको फोटो लिन ठाडो भीर ओर्लिंदै गर्दा काडेक भने मुख चुच्चो पारेर 'चिन्ता सेजाती' को धुन सुसेल्दै टाढा टाढा समुद्रमा केही खोज्दै गरे झैं देखिन्थे।

* * *

'मेरो गाउँको नाम साक्ति। साक्ति क्या। पावर।' ठट्यौलो पारामा पाखुरा दोबार्दै काडेकले भन्यो। दिउँसोको खाना खाइवरि अन्तिम गन्तव्य क्रिष्टल बे बीच जाने क्रममा थियौं हामी।

'शक्ति भन्न खोजेको?'

'त्यही त भन्दैछु। साक्ति।' काडेकले जिद्दी गर्यो। ऊ फेरि बोल्ने मुडमा देखिन्थ्यो।

'निलु र म दुवै साक्ति गाउँका। उसको परिवारको सानोतिनो खानाको पसल थियो। 'नासि गोरेङ' खुब मीठो बनाउँथी। गाउँमा खुबै रुचाइन्थ्यो। म पनि खान गैबस्थेँ। जाँदाबस्दा कहिले हो खै, पत्तै भएन, माया बसेछ। यिनै पहाडका डिलहरूमा बसेर घण्टौंसम्म हामी गफिन्थ्यौं।

टाढा समुद्रका छालहरूमा सूर्यका किरण पर्दा देखिने छिरबिरे तरंगहरू झिलिक झिलिक गर्दा मन आनन्दित हुन्थ्यो। देख्न त जहिले पनि देखेकै हो, तर मन परेको मानिस साथमा हुँदा जुनै कुरा पनि अझ रंगीन लाग्दो रहेछ। जब झमक्क साँझ पर्थ्यो र पश्चिमतिरको आकाशमा बैजनी रङ पोतिन्थ्यो, तब बल्ल हामी घर फर्किन्थ्यौं।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

आकाश बैजनी परेको नहेरी फर्किनै मान्दिनथी निलु। उनलाई बैजनी रङ साह्रै मन पर्ने। कतिसम्म भने उनका धेरै सारोङ र केबायाहरू बैजनी रङकै हुन्थे।'

पछाडि बसेका दुई 'प्यासेन्जर' हरू काडेकको प्रेमकथा सुनेर मुसुमुसु हाँस्दै थिए। ऊ भने अविचलित बोल्दै गए।

'म घरको माहिलो छोरा। जेठा दाजु बिहे गरेर बालीमै बस्न थालेकोले घरको सबै जिम्मेवारी ममा आयो। कान्छो भाइ अझै सानै थियो। पढ्नलेख्नमा म ठीकै थिएँ। अङ्ग्रेजी हल्काफुल्का बोल्न जान्थेँ। त्यही भएर गाइडको काम गर्न थालेँ। पाहुनाहरू आउने क्रम बढेसँगै मेरा फुर्सदका समय पनि कम हुँदै गयो। कुनै बेला हप्तौंसम्म घरबाहिर हुन्थें, पाहुनाहरूलाई डुलाउने क्रममा।'

ठाडो साँघुरो सडक ओर्लेपछि अचानक समुद्री किनार हाम्रो अगाडि तेर्सियो।

'ल सर। क्रिष्टल बे बीच पुग्यो। मेरो यो गन्थन पछि सुनौंला। सानुर फर्किने फास्टबोट जेटीमा चार बजे लाग्छ। समयमा पुग्नुपर्छ। दुई घण्टामा फर्किनुहोला। म यतैउतै हुन्छु। रमाइलो गर्नुस्, सर!'

हामी पनि हुलमा मिसियौं। कोही रिक्लाइनरमा त कोही बालुवामा टावल बिछ्याएर सनबाथ लिँदै थिए। कोही अक्सिजनको सिलिण्डर भिरेर स्कुबा डाइभ मार्दैथिए। कोही छालसँग खेल्दै थिए। कहिले छाललाई लखेट्ने त कहिले छालद्वारा लखेटिने क्रम चल्दै थियो।

थाकेका मेरा दुई 'सहयात्री'हरूले आराम गर्न रुचाएकोले म भने बीचभन्दा माथिको वनमा थोरै हिँड्ने सोचसहित मास्तिर लागें। दुई घण्टा कटाउनु जो थियो। माथिबाट बीच र वरिपरिको समुद्रको नजारा अझ सुन्दर देखियो। हिँडाइ खेर गएन।

* * *

'कस्तो लाग्यो सर?'

'हामीजस्ता समुद्र नभएको देशबाट आएकालाई रमाइलो लाग्ने नै भो। हाम्रोमा हिमाल भने झैं यहाँ समुद्र। ठाउँ ठाउँको कुरा हो, काडेक! छोड यी कुरा। बरु तिम्रो कथा टुङ्ग्याउ न त।'

'ठाउँ ठाउँको कुरो भने जस्तै समय समयको कुरो, सर!' काडेकले आफ्नो कथालाई फेरि एकपटक अगाडि बढायो।

'समयले निलुलाई परिवर्तन गर्यो। पहिला जस्तो रहिन। बैजनी रङमा तिनी रम्न छाडी। र, एकदिन तिनी हराई।'

'हराई? मतलब?'

'धेरै खोजी भो। धेरै खोजी गरेँ। बाली मात्र हैन, जाकार्ता पनि पुगें। कतै भेटिएन। पूरै गायब! कसैले भने देशै छाडिसकी। कसैले भने, मरिसकी। तर मैले आश मारिनँ। माया पो गरेको हुँ त। ख्याल ठट्टा हो र? मलाई विश्वास थियो उनी एक दिन फर्कनेछिन्। मलाई मेरो साँचो प्रेममा विश्वास थियो।

'चिन्ता सेजाती?'

'हो। चिन्ता सेजाती। साँचो प्रेमको कसम सम्झेर ऊ साथ नहुँदा पनि उनलाई नै कुरिबसेँ।'

ब्याकसिटका दुवै चनाखा भए। 'अनि?'

जवाफ दिनु साटो काडेकले गाडीलाई बाटो छेउका घरहरूमध्येको पुछारको घर अगाडि रोक्यो।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

'आउनुस् म्याम। तपाईंको प्रश्नको उत्तर यहीँ पाउनुहुनेछ।' मुसुमुसु हाँस्दै उनले भने।

'यही हो साक्ति गाउँ, अनि यो मेरो घर। आउनुस् सर।' अनि घरतिर फर्केर कराए, 'लिहात दी सिनी।'

भित्रबाट बैजनी रङको सारोङ र बैजनी रङकै केबाया लगाएकी एउटी सुन्दर महिला बाहिर निस्किइन् - सानो बालकलाई डोर्याउँदै। काडेकले उनकै भाषामा केही भने। हँसिलो अनुहार बनाएर दुवै अभिवादनको मुद्रामा उभिए।

'निलु र पुटु!' गर्वसाथ काडेकले चिनाए।

'ओहो! त यिनै हुन् तिम्रा 'चिन्ता सेजाती'?' बालकको कपाल मुसार्दै मैले भनेँ।

'हो सर। यिनै हुन्। मेरा प्यारा दुई। यिनीहरू छन् त म खुसी छु।'

'यिनी साह्रै असल मान्छे हुन्। सधैं माया गर्नू। सधैं साथ दिनू।' मैले निलुतर्फ फर्केर भनेँ।

काडेकले उनको भाषामा बुझाएपछि मन्द मुस्कानसहित भनी, 'तरिमा कासी!' धन्यवाद भनेकी रैछ।

निलु र पुटुसँग बिदावारी भई फर्कँदै गर्दा काडेकले भने, 'निलु तीन वर्षअघि फर्केकी थिइन्, काँधमा तीनै वर्षको दूधे बच्चा बोकेर। सिधै मेरै घर आई। आफ्नो घर पनि गइन। मेरो काँधमा शिर अड्याएर खुब रोई। तर मैले कहिल्यै उनलाई सोधिनँ, कहाँ गइस्, किन गइस्, कोसँग गइस् भनेर। मलाई उनको बितेका कुरासँग सरोकार राख्नु थिएन। मैले स्वागत गरेँ - उनलाई अनि उनका सबै निशानीलाई।'

यति भनेर ऊ चुप लाग्यो।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/bala baijani yatra/bala baijani (1).JPG

समुद्र किनारको जेटीमा फास्टबोट लागिसकेको थियो। चढ्नुअघि काडेकलाई बिदाई गर्दै भनेँ, 'तिमी असल मान्छे हौ। जसले साँचो प्रेमको अर्थ बुझेको हुन्छ, ऊ खराब हुनै सक्दैन। र, जो असल छ, तिनलाई ईश्वरले सदा साथ दिन्छ।'

जाँदाजाँदै फर्केर हेर्दा किनारमा काडेक दुवै हात हल्लाउँदै थियो। बोटमा चढ्ने बेलामा चर्को स्वरमा कराएँ, 'तरिमा कासी, काडेक!'

समुद्रको पश्चिमी कुनाको आकाशमा हल्का बैजनी रङ पोतिन थालिसकेको थियो।

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १३:२६
सिफारिस
पूर्वराष्ट्रपति विद्या भण्डारीको नेतृत्वमा एमालेका नेता को को जाँदैछन् चीन?
पूर्वराष्ट्रपति विद्या भण्डारीको नेतृत्वमा एमालेका नेता को को जाँदैछन् चीन?
दोषजति दुर्गा प्रसाईंको टाउकोमा थोपरेर टक्टकिँदै पूर्वराजा ज्ञानेन्द्र र राजावादी!
दोषजति दुर्गा प्रसाईंको टाउकोमा थोपरेर टक्टकिँदै पूर्वराजा ज्ञानेन्द्र र राजावादी!
तत्काललाई रोकियो नारायणघाट–देवघाट मोटरबोटको काम!
तत्काललाई रोकियो नारायणघाट–देवघाट मोटरबोटको काम!
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
मास्टर्स सकेर चिया पसल खोलेका साथीहरू
मास्टर्स सकेर चिया पसल खोलेका साथीहरू
स्वाँतका भिरमा सुरू भयो यसपालिको ‘हनी हन्टिङ’
स्वाँतका भिरमा सुरू भयो यसपालिको ‘हनी हन्टिङ’
बलिउडका सुपरहिट फिल्महरूको टाइटल डिजाइन गरेका आनन्द महर्जन
बलिउडका सुपरहिट फिल्महरूको टाइटल डिजाइन गरेका आनन्द महर्जन
यी १० सुधार भए नेपालको भ्याटलाई बनाउन सकिन्छ संसारकै नमूना
यी १० सुधार भए नेपालको भ्याटलाई बनाउन सकिन्छ संसारकै नमूना
स्विमिङ पुलमा डुबेर युवकको मृत्यु भएपछि आठ जना पक्राउ
स्विमिङ पुलमा डुबेर युवकको मृत्यु भएपछि आठ जना पक्राउ
Arghakhachi
Arghakhachi
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

घुमफिर

लखनऊदेखि देहरादूनसम्मको त्यो चुनौतीपूर्ण यात्रा
सुरीको सुरेल (तस्बिरहरू)
फोटो सौजन्य: नरजन तामाङ
जहाँ दिनमा पाँच पटक घाम उदाउँछ र अस्ताउँछ
शैलुङमा अघिल्लो वर्षको अन्तिम दिनलाई बिदाइ गर्दाको त्यो क्षण (तस्बिरहरू)
विपश्यना शिविरमा मेरो १० दिन
नाम्दुमा दुईकोठे भवनको 'तामाङ मिनी संग्रहालय'
ime inner
ime inner

विचार

रूप खड्का
यी १० सुधार भए नेपालको भ्याटलाई बनाउन सकिन्छ संसारकै नमूना रूप खड्का
नारायण वाग्ले
गाई सडकमा आए, गोधुली साँझ हराए नारायण वाग्ले
जीवन क्षेत्री
धार्मिक सदभावका लागि नेपालगन्जको बागेश्वरी मन्दिरका महन्तको सूत्र जीवन क्षेत्री
विजयमणि पौडेल
जसलाई इखले बनायो विश्वविद्यालय क्याम्पसको प्रमुख विजयमणि पौडेल
Everest bank
Everest bank

ब्लग

मदन रोकाया
वास्तविक अपाङ्गताको पहिचानलाई ओझेल पार्ने असान्दर्भिक उपमा! मदन रोकाया
सञ्जना सुर्खेती
'अलि पछाडि सरौँ न हो!' सञ्जना सुर्खेती
कृष्णप्रसाद शर्मा
अनि के गर्दै हो त आजभोलि? कृष्णप्रसाद शर्मा
अर्जुन मोहन भट्टराई
न दूध भयो, न भात! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

जनक अर्याल
हामीले प्रेम मात्र गरेनौँ, प्रेमलाई बचायौँ पनि! जनक अर्याल
Hamropatro inner
Hamropatro inner
रत्नाखर काफ्ले
मेरो प्यारो दिक्तेल बजार रत्नाखर काफ्ले
side bar 17- shivam inner
side bar 17- shivam inner
चन्द्रमणि चापागाई
खरानीको गीत चन्द्रमणि चापागाई
ईश्वर पोखरेल
वृद्धभत्ता बुझेको दिन ईश्वर पोखरेल

केटाकेटीका कुरा

अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे
अबिश बगाले
दुःखमा रेडक्रस  अबिश बगाले
सार्थक पौडेल
शहीदलाई सम्मान! सार्थक पौडेल

पाठक विचार

भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP