सार्वजनिक सेवाबाट अवकाश लिएपछि जीवनको सक्रियतामा लगाम लाग्ने रहेछ। घोडाको गतिमा हिँड्ने जीवन खरायोको गतिमा सीमित हुन जाने र खानपान, आहारको तालमेल नमिल्दा उच्च तौल र तनावले शरीरमा अनेक स्वास्थ्य जटिलताहरू देखिन थाल्ने रहेछ।
म आफै चिनी रोगको समस्याबाट औषधि सेवनका पुगेको मानिसलाई पसिना बगाउने पदयात्रा एउटा उत्तम बहाना र समूहसँगको सम्पर्कमा आउने गतिलो माध्यम नै बन्यो। त्यसैले पनि यो यात्रा मेरो सहज छनौटमा परेको हो। जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउने प्रयास हो। यो हौसला हो नयाँ पथको, नव सिर्जनाको र नवप्रवर्तनको।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek9.JPG)
अतः हाइकिङमा जाने नै भइयो। नारायण पुरानो स्कुले साथी, उसैले अर्को स्कुले साथी मोहनलाई पनि टिममा सामेल गर्यो। ऊ पनि मजस्तै चिनी रोगी। तीन जना भएपछि एउटा ठूलो समूह भित्रको अर्को सानो उपसमूह पनि भयो। चिनीले चुसेको हामीजस्ताहरूको लागि पसिना चुहाउने एउटा असल बहाना मिलिहाल्यो।
मानिस पो प्रकृतिबाट टाढा भएको त, प्रकृति त मानिसबाट टाढा भागेको होइन। हामी जीवनको इतिवृत्त पार गर्दै यहाँसम्म आइपुग्दा जीवनको आरोह अवारोहलाई छिचोल्दै भागदोडमा कहिले जित्दै र कहिले हार्दै शिखरको यात्रातर्फ उद्धत भएका प्राणी हौं, आशाको अटुट बन्धनले बाँधिएका जीवनका जीजीविषाहरूको संगालो।
जीवनको भागदौडमा हाम्रो विचार मात्र होइन, स्वास्थ्य पनि विषाक्त भएको छ। यसलाई विकार रहित गर्न, तनावबाट मुक्त हुन, प्रकृतिको समीप जान आवश्यक छ। चराहरूको चिरविर, एकान्त, प्राकृतिक सौन्दर्यता र प्रकृतिसँगको भावनात्मक सामीप्यताले मानव स्वास्थ्यमा, मन, र मस्तिष्कमा सकारात्मक प्रभाव पर्ने रहेछ। अनि त्यही प्रकृतिले मात्र शीतलता प्रदान गर्दो रहेछ, जसले भोकको ज्वाला, रोगको शोक र तृष्णाको तारलाई झझोकेर झंकृत गर्ने रहेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek7.JPG)
पदयात्रामा सहभागी हुनेहरूको लागि आयोजकले निर्दिष्ट गरेको आफ्नै विधिविधान छ, हिँड्ने, खाने, पिउने, र सहभागीहरूसँगको व्यवहार सम्बन्धमा। पदयात्राको लागि बिहानै तयार भएर तोकिएको ठाउँमा आइपुग्नु पर्दछ। तोकिएको समयभन्दा दश मिनेटभन्दा बढी कसैलाई पनि कुर्दैन।
एउटा तोकिएको निश्चित विन्दुमा पुगेपछि पथप्रदर्शन गर्ने जिम्मा पाएको टोलीनेताले सहभागीले पालना गर्नुपर्ने विषय र यात्राको विषयमा जानकारी गराउँदै टोलीको अग्रभागमा एकजना र सबभन्दा पछाडि एकजना खटाएपछि त्यो दिनको यात्रा प्रारम्भ हुन्छ। यात्रा अपरान्ह ४ या ५ बजेसम्ममा सकिने गरी कायक्रम मिलाइएको हुन्छ। हाम्री टोली नेता रामदेवी महर्जन, हँसिली, फरासिली र सहयोगी पनि भएकोले यात्रा सहज भयो।
जसरी जीवनको गति चल्छ त्यसैगरी यो यात्रा पनि हिँड्दै, रोकिंदै, यात्राको सिलसिलामा दायाँबायाँ देखिएका स्मृतिका चिन्हहरूलाई क्यामेरामा कैद गर्दै अगाडि बढिरह्यो। थकाइ लागे सुस्ताउने, प्यास लागे पानी पिउने, भोक लागे आफूले लगेको खानकुरा खाने तर सीमित मात्रामा। पदयात्रामा शाकाहारी खानेकुरा मात्र अनुमति पाउने व्यवस्था रहेको छ।
हामीहरूको पदयात्राको मार्ग थियो चाँगुनारायण-मुलाकोट गढी (महांकाल त्रिशुल डाँडा)-तेलकोट-पञ्चमहालक्ष्मी मन्दिर-साँखु।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek8.JPG)
यो सर्किट यात्रा गर्दा १६ किमि यात्रा गरिने रहेछ। यात्राको क्रममा १८ सय मिटरको उचाइमा अवस्थित मूलाकोट गढी हाम्रो उच्च स्थानको गन्त्व्य रह्यो। यो यात्राको कारणले मात्र नभएर अरु विविध कारणहरू धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक कारणले पनि उल्लेख र स्मरणयोग्य रह्यो। हामीले यात्रा गरेर पाइला टेकेका स्थानहरू धार्मिक र ऐतिहासिक विरासत बोकेको मुलुकको धरोहरहरू हुन्। त्यसकारण पनि यो यात्रा गर्व गर्न लायक रह्यो।
यो यात्राको अद्भुत र अपरिमेय आनन्द भनेको सहरलाई आँखाको डिलैमा राखेर प्रकृतिक छटामा रमाउन सक्ने अलौकिक वातावरण हो। यो पदमार्गमा यात्रा गर्दा ग्रामीण परिवेशको स्वावलम्बन र सहरी सांस्कृतिक पहिचान र शिल्पकारिताको कौशल संयोजनसहित विविध आयामको धरातलीय यथार्थको नजिकबाट दृश्यावलोकन तथा अनुशिलन गर्नु पाइनु पनि हो।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek6.JPG)
पदयात्रामा निक्लने यात्रुले अनिवार्य रुपमा केही सामाग्रीहरूको तारतम्य मिलाउन पर्दछ र झोलीतुम्वा बोकेर हिँड्नु पर्दछ। यस्ता कुराहरू पदयात्राको लम्बाइ, गति र बसाइमा पनि भर पर्दछ। जे-जस्तो भए पनि नभई नहुने अनिवार्य वस्तुहरू हुन् पछाडि भिर्ने झोला (ब्याकप्याक), पानीको बोतल, खानेकुरा, प्राथमिक उपचारको लागि सामान्य औषधि, ट्रेकिङको लागि उपयुक्त जुत्ता, वर्षादी र लौरो।
यी सबै सामग्रीहरू सहितको झोलितुम्बा बोकेर लागियो 'मनसुन हाइकिङ त्रिशुलडाँडा'। हाम्रो यात्रा मनोहरा पुल तरेर सुरु भयो। मनोहरा पुल भन्नाले साँखु जाने बाटोमा गोकर्ण फरेष्ट रिसोर्ट नाघेर थलीको ओरालो झरेपछि रोकिएर दक्षिण तर्फ लाग्ने। चाँगुनारायणको मन्दिर मनोहरा तरेर माथि डाँडामा जंगलको बीचमा रहेको छ। धार्मिक ग्रन्थ स्वस्थानीमा वर्णित शालीनदी समेत जोडिएर आउने 'मनोहरा' नामै काफी छ भनेजस्तो मनैलाई हर्न हरिया खेतका बीच फाँटबाट सलल बगेको।
मनोहरा पुल कटेपछि विस्तारै उकालो सुरु हुन्छ। नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तो नयाँ भर्खर पदयात्रा सुरु गर्नेहरू फटाफट हिँड्न रुचाउछन्। यसरी फटाफट हिँड्दा शरीरका मांसपेशी तथा उर्जालाई असर गर्दछ। अतः सुस्त-सुस्त हिँड्नु आवश्यक छ। भनिन्छ नि कुनै पनि प्रतियोगिता जित्न विस्तारै, निरन्तर र एकलव्य भावले लागि रहनु पर्दछ, जिन्दगीजस्तै। त्यसैले पदयात्रा लामो दौड हो र यसलाई जित्न निरन्तर, कष्ट सहेर, अविचलित लागिरहन सक्नुपर्दछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek2.JPG)
हामी पनि उकालो लाग्यौं, मन्दिरलाई देब्रे पारेर दक्षिण तर्फबाट चढेर टुप्पोमा पुग्न। भक्तपुर तर्फबाट आउँदा वडा कार्यालयदेखि ठाडो भर्याङ निर्माण गरिएको छ चाँगुनारायण मन्दिर पुग्ने बाटो। हामी त्यही लामो भर्याङको सिडीँ चढेर मन्दिर पुग्यौं पसिनाले लतपत हुँदै।
उकालो आखिर उकालो नै हो, चाहे त्यो जिन्दगीको होस कि पदयात्राको। स्थूल शरीरलाई भूगोलको केन्द्रसँग सन्तुलन मिलाउन नसक्दा गुटमुटिएर लडिन्छ। हाम्रा सबै पदयात्री साथीहरू यो सन्तुलन मिलाउन अभ्यास गर्दै थिए। चाँगुनारायण समुन्द्र सतहबाट १६०० मिटरको उचाइमा रहेको छ। लमतन्न पूर्वपश्चिम तन्किएको चाँगुनारायणको डाँडोलाई डोला गिरी पनि भनिन्छ। भक्तपुरको सतहबाट हामी मात्र ३०० मिटरको उचाइ हिँडेका हौँ। यद्यपि यहि ३०० मिटरको उकालो चढ्न पनि ठूलै कसरत गर्न पर्यो।
उकालो चढेपछि समथर तलका वस्तीहरू होचा देखिने नै भए। चाँगुनारायणबाट हेर्दा भक्तपुरको अटेसमटेस गरी बसेको गुजुमुज्ज वस्ती, काठमाडौंका फाट्टफुट्ट उम्रिएका आकाशे घरहरू र साँखुका वस्तीहरूको अनुपम दृष्य देखिन्छ। अझै पनि प्लटिङको शिकार नभएको खाली हरियाली चउर, खेतहरू देख्न सकिन्छ। यहाँ गएपछि लाग्छ काठमाडौं उपत्यका अझै भरिएको छैन।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek4.JPG)
अहो! चाँगुनारायणको यो भव्यतालाई २०७२ को भुइँचालोले पनि छोडेनछ। भगवान नै बास गरेका छन् भनेर होला मूल मन्दिरलाई क्षति पुगेको रहेनछ। तर मन्दिर परिसरका अरु सत्तल, पाटीपौवाहरू र आवासीय भवनहरूलाई भने नराम्रो गरी क्षति गरेको रहेछ। यी भत्किएका भवनहरूको पुनर्निमाणको काम जोडतोडले भइरहेको रहेछ। परम्परागत काष्टकला र मूर्तिकलामा भक्तपुर अद्वितीय रहेको छ। हामी यहाँ पुग्दा कारिगरहरू काष्ठकर्ममा आफ्नो शीप देखाउन व्यस्त थिए।
चाँगुनारायणको मन्दिर धर्म, संस्कृति र ऐतिहासिकताको साक्षी र नेपाली धरोहरको पुरानो प्राचीन वस्ती हो। लिच्छवि शासनदेखिको शिलापत्रमा अभिलिखित वंशावली सहितको अभिलेख बोकेको ऐतिहासिक, शासन, प्रशासन, कुटनीति समेतको धरोहर हो चाँगुनारायण। मानदेव निर्मित यो मन्दिर चौथो शताब्दीमा बनेको हो भनिन्छ। यसको कला कौशल, सोन्दर्यता, उैतिासिक प्रमाणिता आदि समेतको महत्वलाई हेरेर विश्व सम्पदा सूचीमा अभिलेख समेत भएको छ।
चाँगुनारायणको अभिरुचीका साथ अध्येताहरू अनुसन्धान अध्ययन गर्दछन्। यसको अध्ययन बेगर त नेपाली इतिहासकारहरूको अध्ययन नै अपुरो मानिन्छ। मन्दिरको पश्चिम ढोका (मूलढोका) को अगाडि दायाँतर्फ स्थापित गरुढले विष्णु भगवानलाई बोकेको तस्बिर नेपाली रुपैयाँ दशको नोटमा अंकित गरिएको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek1.JPG)
चाँगुनारायणमा सामूहिक तस्बिर खिचेर हामीहरू मन्दिरबाट पूर्व करिव ५ किमी डाँडाको माथि-माथि हिंड्यौँ, मालकोट गढी तर्फको यात्रामा। समुन्द्र सतहबाट १८ सय मिटरको उचाइमा रहेको मालाकोटगढी हाम्रो दोश्रो विश्रामस्थल रह्यो। मालकोटगढी नेपाल एकीकरणको इतिहासमा महत्व बोकेको तर धेरैले बिर्सिएको एउटा ऐतिहासिक स्थल हो। यहाँ महांकालको मन्दिर र नेपालकै सबैभन्दा अग्लो त्रिशुल समेत राखिएकोले यस गढीलाई महांकाल त्रिशुल डाँडा पनि भनिने रहेछ।
यो ठाउँमा रहेको महांकाल मन्दिरलाई २०७२ को भुइँचालोले छोडेको रहेनछ। अहिले यसको पुनर्निर्माण कार्य जोडतोडले भइररहेको छ। यहाँ पुग्दा दिनको १२ बजेको थियो अनि भोक र थकाइले चुरचुर भएका थियौँ। सहभागीहरू सबैजना चउरमा बसेर आ-आफूले घरमा बनाएर ल्याएको खानाको पोको झिक्दै, परिकारहरू साटासाट गर्दै सामूहिक भोजन गर्यौं।
मोहनले रोटी र तरकारी लगेको थियो। नारायणले दुई थरी तरकारी र स्याउ। मैले दुई वटा स्याउ र दुई वटा आँप। आयोजकले दिएको काजु, किसमिस, बदाम मिसिएको २५० ग्रामको एउटा चिउरा पोका। यी सबै मिलाएर खाँदा र सहयात्रीहरूले बाँडेका परिकारको स्वाद लिँदा यात्राको मज्जा वनभोजको स्वादमा रुपान्तरण भएको थियो।
झन् खानापछिको एकछिनको नाचगान त उर्जा प्रदायक नै थियो भन्दा हुन्छ। गीतको बोल 'आफ्नो स्वास्थ्य आफ्नै हात, जाने फाइदा नजाने रोगको लात' मा छमछमी, फनफनी घुमेर कम्मर मर्काउँदै नाचे सहभागीहरू।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek11.JPG)
पदयात्राको सिलसिलामा नेपालको विकासे रणनीति, अव्यवस्था, तदर्थवाद र बेढंगी योजनाको कुरुप ढाँचा यहाँ पनि देख्न पाइयो। १८ सय मिटरको उचाइमा रहेको र यहाँबाट प्रष्ट रुपमा काठमाडौं उपत्यकाको दर्शनीय सौन्दर्य नाङ्गो आँखाले देखिने अवस्था हुँदाहुँदै पनि भ्युटावरको निर्माण भइरहको देखियो। त्यसैगरी असारे विकास नमुना पनि देखियो।
बर्खाको भेलले बगाउने र भत्काउने सम्भावना देखिँदा देखिँदै पनि सडक खन्ने, पर्खाल बनाउने आदि काम गरिरहेको पनि देखियो। यो नेपाली विशिष्ट चरित्र नै हो कि हामी परेर पनि चेत्दैनौँ भने देखेर, पढेर र अक्कल लगाउने चेष्टा नै गर्दैनौँ। यो विशिष्टताको प्रयोग यात्रा अवधिभरि नै देखिन्छ।
नेपाल एकीकरणको सिलसिलामा पृथ्वीनारायण शाहले यही मालकोटमा सैनिक गढी बनाएर भक्तपुर विजयको लागि योजना बनाएका थिए र यहींबाट आक्रमणको तारतम्य मिलाइ विजय अभियान बढाएका थिए। यो गढीको लागि आवश्यक गोलावारुद, खरखजाना र हातहतियारको राखनधरन र संरक्षण गर्न तेलकोट भन्ने स्थानमा व्यवस्था मिलाएका थिए भन्ने भनाइ रहेको छ। तेलकोट मालकोटगढीबाट चार किमि उत्तरपूर्वमा पर्दछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek12.JPG)
त्रिशुल डाँडाबाट दुइटा बाटो छुट्टिन्छ, एउटा तेलकोटतर्फ लाग्दछ भने अर्को २१ सय मिटर अग्लो नगरकोट पुगिन्छ। हाम्रो यात्रा नगरकोटतर्फ नगएर तेलकोटतर्फ हो। त्यो भनेको तेलकोटबाट साँखु झर्नु। त्रिशुल डाँडाको विशषता भनेको जंगलको बीचबाट हिँड्दा सुनिने झ्याउँकिरीको आवाज हो। झ्याँउकिरीको आवाज सुन्दै हामी तेलकोट पुग्यौं र त्यहाबाट अझै ओरालो यात्रा गर्दै साँखुमा बन्दै गरेको पञ्चमहालक्ष्मीको मन्दिर दर्शन गरेर फर्कियौँ।
यात्राको अन्तिम विन्दु पञ्चमहालक्ष्मीको मन्दिर। यो मन्दिर दक्षिण भारतीय शिखर शैलीको नमुनामा बनाइएको छ र दर्शनीय छ।
यात्रालाई रोचक बनाउने अंगेरीको फलको स्वाद र निलो जिब्रो, कदमको फूल र फल, धतुरोको फूल अविस्मरणीय रहे। बाटो त हिँडेर सकियो तर सम्झनाको छाप अमिट बनेर रह्यो।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Opinions%20%26%20Blog/trekking/Trek3.JPG)