चार सय वर्ष पुरानो गुम्बा। गुम्बाभित्र चार दिवारमा प्राकृतिक रङले बनेका गुरू पद्मसम्भवका लीलाहरू। उ बेलाका वास्तुकला। काठका ठूलाठूला खाँवा र तिनमा कुँदिएका कलाकारिता। बुट्टै बुट्टा भएका दलान। बस्तीभरि अरू पनि गुम्बाहरू। जति लामो यात्रा गर्यो, त्यति नै हरियाली। चारैतर्फ पहाड र पहाडमा जंगल र मात्र जंगल। जंगलभित्र साना साना गाउँ। गाउँमा पनि अवतारी गुरूहरूका कथाहरू। साना साना र सफा घरहरू। ठ्याक्कै भुटान जस्तो।
-1754136936.jpeg)
सिक्किमको नाम्ची धेरै पटक पुगेको थिएँ। तर नाम्चीको असली भ्रमण भने गरेको रहेनछु भन्ने यो पटक थाहा भयो।
यो पटकको भ्रमणले नाम्चीको पूरै सौन्दर्य पान गर्न पाएँ। नाम्ची घुम्दा धेरै वर्ष अघि भुटान घुमेको नोस्टाल्जियामा हराएँ।
दक्षिण सिक्किमका नाम्चीवासीहरूले सयौं वर्षदेखि राँके मेला मनाउने गर्छन्। सहकाल र रक्षाका लागि राँकेभूत डढाएर मनाइने राँके मेलालाई पर्यटन उत्पादन बनाउने उनीहरूको प्रयासमा यो पटक हामी पनि एक दिन लगाएर नाम्ची पुगेका थियौं।
नेपालबाट यो पंक्तिकारसँगै विराटनगरका ज्ञानमणि नेपाल, इलामकी शारदा उप्रेती र काँकडभिट्टाकी पद्मा श्रेष्ठ सहभागी बन्यौं। हामी जस्तै पर्यटन व्यवसायीहरू सिलिगुडी, कोलकाता र गुजरातबाट पनि नाम्चीको पर्यटन हेर्न, बुझ्न र त्यसलाई कसरी बजारीकरण गर्न सकिएला भनेर आएका थिए।
दुई दिने नाम्ची बसाइँमा हामीले त्यहाँका गुप्त पर्यटकीय स्थानहरू अवलोकन गर्न पायौं।
गुप्त यसकारण कि ती स्थानबारे अधिकांश पर्यटक र पर्यटन व्यवसायीहरूले थाहै पाएका थिएनन्। नाम्ची भन्ने बित्तिकै चारधाम, साम्ड्रुप्से गुम्बा र साई मन्दिर मात्र बुझिन्थे। त्यसबाहेक नाम्चीमा प्रकृति, ग्रामीण जनजीवन, पुराना र मौलिक गुम्बा, चिया बगान, तारेभिर अनि बजार पनि हेर्न अवलोकन गर्न, अध्ययन गर्न, रमाउन पाइने रहेछ।
यो ठाउँको नाम नाम्ची कसरी रहन गयो होला? भन्ने जिज्ञासासँगै त्यहाँको पुरानो कला, संस्कृति, राजनीतिको एकैपटक अध्ययन गर्न र बुझ्न पाइन्छ नादक गुम्बामा।
चोग्याल वंशका दोस्रा राजा तेन्सुङ नाम्ग्यालले छोरी पेन्दे वाङ्मोका लागि यो ठाउँमा सन् १६८४ मा उनको निवास बनाउन लगाए।
ढुंगा, माटो र काठले बनेको त्यो निवास दरबारका रूपमा परिचित भयो। यसको नाम नाम्ग्याल ल्होत्से दरबार थियो। तर स्थानीयहरूले यसलाई छोटकरीमा नाम्त्से दरबार भन्न थाले। नाम्त्सेबाट दरबारको नाम नाम्ची रहन गयो। र, यो पूरै क्षेत्रको नाम पनि नाम्ची भएको हो।
नाम्ची दरबारबाट त्यहाँको क्षेत्रीय शासन चल्ने गर्दथ्यो। राजाकी छोरीले स्थानीय प्रशासन हेर्ने गर्थिन्। सिक्किम, भुटान र तिब्बतको राजनीतिमा राजासँगसँगै गुरू/लामाहरूको पनि महत्वपूर्ण स्थान छ। पेन्दे वाङमोलाई प्रशासनमा सहयोग गर्ने गुरू नादक थिए। नादकपछि उनका नातिले सन् १७१७ मा सो दरबारलाई गुम्बामा परिणत गराए। हाल गुम्बाका प्रमुख लामा रहेका जिग्मेटका अनुसार यो दरबारमा पहिलो लामा नादक भएकोले गुम्बाको नाम पनि नादक रहेको हो।
त्यसपछि भने यो दरबारले गुम्बाको रूप लिएको हो। त्यो बेलाको बैठक कोठालाई पूजाकोठा बनाइयो। र त्यहाँ गुरू पद्मसम्भव (गुरु रिम्पोछे), अमिताभ बुद्ध लगायतका मूर्ती स्थापना गरियो।
सिक्किम, भुटान र नेपालका उत्तरी क्षेत्रहरूमा गुरू रिम्पोछेलाई आराध्य मान्ने चलन छ। रिम्पोछेका अनगिन्ती लीलाहरू छन्। उनका लीलाहरू तिलस्मी र आश्चर्य लाग्दा छन्।
रिम्पोछे मान्नेहरूले एउटा मात्र हैन उनका अनेक स्वरूपलाई अलग अलग कार्यका लागि आराधना गर्छन्। उनीहरूमा अवतार र अवतारीको विशेष महत्व छ।
-1754136936.jpeg)
गुरू रिम्पोछे मान्ने नेपाल, सिक्किम र भुटानलाई पश्चिमाहरू ‘थ्री किङ्डम’ भनेर भन्ने गर्दछन्। हलेसी, सिक्किम र भुटानको पारोसम्म गुरू रिम्पोछेले गरेका तपस्या, ध्यान र चमत्कारहरु सुन्न पाइन्छन्।
गुम्बा बनेपछि नाम्त्से दरबारको नाम नादक गुम्बा भयो। जुन आज पर्यन्त त्यही नामले परिचित छ। दुई तले गुम्बाको तल्लो तलाका भित्ताहरूमा त्यो बेला बनाइएका चित्रहरू जस्ताको तस्तै छन्।
प्राकृतिक सामग्रीबाट तयार गरिएका रङहरूको कला चार सय वर्षपछिसम्म पनि ज्युँका त्युँ रहेको देख्न सकिन्छ।
विभिन्न समयमा आएका भूकम्पले गुम्बालाई जर्जर बनाएको छ। तथापी २०७२ सालको भूकम्पपछि फलामको फ्रेमहरू बनाएर गुम्बालाई संरक्षण गरिएको छ।
गुम्बाका गुरू त्यहाँको इतिहास र गुरू रिम्पोछेका कथाहरू शिल्प मिलाएर सुनाउँछन्। ठ्याक्कै भुटानमा जस्तै। उनको कुरा सुनेर र गुम्बाको अवलोकन गर्दा आफू सिक्किममा हो वा भुटानमा अलमलिने रहेछ।
गुम्बा भत्कन थालेपछि सन् १९८२ मा अर्को गुम्बा बनाएर पुरानो गुम्बामा भएको मूर्तिहरू नयाँ गुम्बामा सारेर पूजा गर्न थालियो।
नयाँ गुम्बा बनेपछि पुरानो गुम्बा सर्वसाधारणका लागि बन्द गरिएको छ।
हामी भाग्यमानी थियौं र, चार सय वर्ष पुरानो कलाकृति हेर्न पायौं। त्यसपछि फेरि नयाँ र आधुनिक अर्को भव्य गुम्बा निर्माण गरियो। हाल पर्यटकहरूका लागि सबभन्दा ठूलो तर सबभन्दा पछि निर्माण भएको गुम्बा खुला हुने गरेको छ।
सो गुम्बा अत्यन्तै भव्य र कलाकृतिले भरिपूर्ण छ। नादक गुम्बालाई पर्यटकका लागि खुला गर्नेबारे पनि चर्चा हुन थालेको रहेछ।
सिक्किममा पुराना वास्तुकला, भवन र घरहरू हेर्न मुस्किल पर्छ। बारम्बार गइरहने भूकम्पका कारण पनि पुराना घरहरू नदेखिएका होलान्।
अर्को चाहिँ सरकारले नै नागरिकहरूलाई घर बनाउन सहयोग गर्छ। आधुनिक विकासले पनि सिक्किमलाई पूरै गिजोलेको छ। त्यसैले पनि हम्मेसी सिक्किममा पुराना घरहरू हेर्न देख्न नसकिएको हुनसक्छ। यही कारण यो गुम्बा पर्यटकहरूका लागि ऐतिहासिक आकर्षण हुनसक्ने देखेर पर्यटकहरूका लागि खुला गर्ने विषयमा चर्चा हुने गरेको अग्रज पर्यटन व्यवसायी र हाल सिक्किमका विधायक रहेका सतिस बर्देवाले हामीसँगको कुराकानीमा बताएका थिए। नाम्चीमा यस्ता गुम्बाहरू अरू पनि रहेछन्। हामीले मणिराम गुम्बाको पनि अवलोकन गर्यौं। विशेषतः तामाङ जातिको बाहुल्य रहेको मणिराम गुम्बा पनि नाम्चीको आकर्षण रहेछ।
-1754136936.jpeg)
प्रकृतिको अत्यन्त नजिकबाट अवलोकन गर्ने तारे भिर नाम्ची जाँदा पुग्नै पर्ने गन्तव्य हो। भीरको टुप्पोसम्म गाडी पुग्ने। तर करिब तीन हजार पाँच सय फिटमाथि रहेको तारेभिरबाट तल हेर्दा जो कोहीको मुटु चिसो हुने गर्दछ। तल टिष्टासम्म ठाडै ओरालो छ। त्यहाँबाट पूरै टिष्टा भ्यालीलाई ड्रोनको आँखाबाट झै हेर्न पाउनु गज्जब हुन्छ।
माथि सुनसान डाँडामा बसेर तल खोला सुसाएको र गाडीको हर्न बजेको सुन्न पनि मनमोहक लाग्छ। डाँडाको टुप्पै टुप्पामा करिब तीन किलोमिटर पैदल बाटो बनाइएको छ।
ढुङ्गा छापेर बनाइएको त्यो बाटोमा जति हिँडे पनि मन अघाउँदैन। आकाश खुलेको बेला त्यहाँबाट वरिपरि चारै तर्फको क्षितिज सप्पै देखिन्छ। सिधा पारि कालिङ्पोङ बजार, दायाँतिर अलि माथि दार्जिलिङ, तल मल्ली बजार। यो बेला डाँडाभन्दा तलतल बादल लाग्छ। बादल लागेको बेला अरू सबै तनाव र सांसारिक कुरा बिर्सिएर बादलमाथि आफूले आफैलाई खोजिरहन मन लाग्छ।
तारेभिरमा पर्यटक आकर्षण बढाउन विभिन्न क्रियाकलाप आयोजना भैरहन्छन्। नाम्ची बजारबाट १८ किमी दुरीमा रहेको तारेभिरमा आउँदो नोभेम्बरमा साहसिक खेलहरू साइक्लिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङको आयोजना गर्न लागिएको नाम्चीका अगुवा राजनीतिकर्मी मिलन राईले जानकारी दिए।
नाम्ची जाँदा ग्रामीण पर्यटनको आनन्द लिने हो भने छुटाउन नहुने स्थान रहेछ रूकुमटार।
नाम्चीबाट करिब २० किमीको दूरीमा रहेको रूकुमटार जंगलबीच बसेको गाउँ हो। नाम्चीबाट त्यहाँ पुग्न गन्तोक जाने राजमार्ग हुँदै जानुपर्दछ। तर यो यात्रामा भुटान बिर्सिने दृष्य भेटिन्छ। जति हिँड्यो त्यति रमाइलो जंगल। यात्राको बीचमा सानो गाउँ भेटिन्छ ‘दामथाङ’।
नेपाली चलचित्र लाहुरे सुटिङ भएको त्यो गाउँ अहिले पनि उस्तै देखिन्छ।
अघि बढ्दै गएपछि झनै सुन्दर र सफा सडक। हरिया बोटहरूले हल्लिएर स्वागत गरिरहेका। मनसुनको यो बेला पहाडको यात्रा निकै रमाइलो हुने। चिसो सिरेटो। हुस्सु र बादलले एकैछिनमा सबै ढाक्ने।
पहाडमा ठोक्किएर थोपाका रूपमा झरेर पृथ्वीलाई भिजाउँदै समुद्रमा पुग्न हतारिएका बादलको यात्रा हेरिरहन मन लाग्ने।
समुद्रबाट उठेर समुद्रमा पुग्न हतारिएको बादलको यो अनवरत यात्रा हेरिरहँदा प्रकृतिको सुन्दरतामा हराउन मन लाग्ने हुने रहेछ। रूकुमटारमा जंगलको बीचमा एउटा चौरी थियो। वरिपरि हरियो र घनघोर जंगलबीच रहेको चौरमा जंगली जनावरहरूको विचरण स्थल रहेछ।
जंगलको छेउछाउ बस्ती। बस्तीमा होमस्टे। एकै पटक दुई सय पर्यटकसम्मलाई सत्कार गर्न सक्ने क्षमता भएको होमस्टे अगुवा अमृत शर्माले सुनाए।
चेरी फुल्ने मौसममा यहाँको प्रकृति उत्कर्षमा पुगेर फक्रेको हुन्छ। त्योबेला पर्यटकहरूका लागि विविध कार्यक्रम गरिने पनि शर्माले जानकारी दिए।
रूकुमटार, बस्ती र वरिपरिको गाउँलाई टेमी भनिन्छ। टेमीमा चिया बगान पनि छ। सिक्किमको एक मात्र चिया बगानलाई अहिले पर्यटनसँग जोड्ने प्रयास पनि भैरहेको छ। त्यसका लागि उनीहरूले ‘टि टुरिजम’ को अवधारणा अघि सारेका छन्।
‘टि टुरिजम’मा चिया टिप्न पाइने, बगानभित्र पैदल यात्रा गर्न पाइने छ। त्यसैगरी चिया प्रशोधनको क्रियाकलापमा सहभागी हुन पाइने, गाउँको भ्रमण गर्न पाइने, घोडचडी, जीपलाइनको अनुभव पनि गर्न पाइने छ।
चिया बगानको कारखानामा रहेको गेष्ट हाउसलाई रिसोर्टको स्वरूप दिएर पर्यटक आकर्षित गर्न तीन रात सम्मको प्याकेज टेमी चिया बगानले तयार गरेको हो।
सिक्किम भारतको एक मात्र अग्र्यानिक राज्य। सिक्किमको अग्र्यानिक अभ्यास हेर्ने हो भने पेरविन गाउँ पुग्नुपर्ने रहेछ।
नाम्चीको सब्जी भण्डार रहेको पेरविन ग्रामीण पर्यटनको राम्रो अभ्यास भएको ठाउँ हो। गाउँभरि सब्जी खेती हुन्छ। गाउँमा प्रशस्त होमस्टे छन्। अधिकांश होमस्टे राज्यले बनाइदिएका। विषादी र रासायनिक मल प्रयोग प्रतिबन्ध छ। गाउँले स्वस्थ देखिन्छन्।
हामीले गाउँमा एउटा पुरानो छोर्तेन भेट्यौं। सडकबाट अलि माथि डाँडा चढेपछि सेतो छोर्तेन सामुन्ने देखेपछि त्यसबारे जान्ने उत्सुकता बढ्यो। अधिकांश गाउँले शेर्पाहरू रहेछन् शेर्पाहरू छोर्तेन भन्छन् भने अरूले माने। छोर्तेनको कथा गज्जबको रहेछ। भारत र चीनबीच सिक्किमको क्षेत्रमा युद्ध भएछ। पारविनबाट नाथुला सिधै उत्तर पर्ने। दुवै देशबीच हतियार आक्रमण हुँदा त्यसको असर पारविनमा पर्ने भएपछि स्थानीयले अवतारी लामा डुड्जुम रिम्पोछेसँग आफूहरूको रक्षा गर्न अनुरोध गरे। लामाले स्थानीयलाई एउटा छोर्तेन बनाउन अह्राए। छोर्तेनको अगाडि नाथुला पर्ने गरी बनाए। गाउँलेलाई केही नहुने लामाले बताएपछि यो छोर्तेन निर्माण भएको हो। आज पर्यन्त यसको पूजा गर्ने गरेको पनि गाउँलेले सुनाए। पछि नेपाल गएका डुड्जुम रिम्पोछे नेपालमै बितेको र उनको अवतार तिब्बतमा भएको पनि उनीहरूको विश्वास रहेछ।
यस्ता अनगिन्ती कथाहरू सुन्न, हेर्न र बुझ्न सिक्किमका गाउँ छिर्नुपर्छ। जंगल चिहाउनु पर्छ। पहाड चढ्नुपर्छ। वास्तविक सिक्किमको स्वाद लिने हो भने साँच्चै ग्रामीण क्षेत्र पहिल्याउनु पर्छ।