आगामी नोभेम्बर २२, २०२६ (आइतबार) बेल्जियममा 'नेपाल–बेल्जियम डे २०२६' आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी बेल्जियम) को आयोजनामा तथा नेपाली राजदूतावास ब्रसेल्सको प्रतिनिधित्व र सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो।
बेल्जियममा रहेका नेपाली समुदाय, विभिन्न नेपाली संघ–संस्था, बेल्जियमका स्थानीय नागरिक तथा नेपालमा सामाजिक विकास र मानवीय सहयोगका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूबीच आपसी सम्बन्ध, सहकार्य र साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य बेल्जियमका विभिन्न स्थानीय नागरिक तथा उनीहरूसँग सम्बन्धित एनजिओ/ आइएनजिओ र अन्य संस्थाहरूले नेपालको शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा अन्य क्षेत्रमा सञ्चालन गर्दै आएका परियोजनाबारे जानकारी आदानप्रदान गर्नुका साथै ती परियोजनालाई अझ प्रभावकारी, दिगो र परिणाममुखी बनाउन बेल्जियमस्थित नेपाली संघ–संस्थाले कसरी सहकार्य र सहयोग गर्न सक्छन् भन्ने विषयमा छलफल गर्नु रहेको एनआरएनए बेल्जियमले जनाएको छ।
बेल्जियमका विभिन्न नागरिक तथा संस्थाहरूले लामो समयदेखि नेपालको विभिन्न जिल्ला र ग्रामीण क्षेत्रमा पुगेर निःस्वार्थ भावनाले सहयोग गर्दै आएका छन्।
नेपालप्रतिको उनीहरूको सद्भाव र मानवीय सेवाको भावनालाई अझ सशक्त बनाउन नेपाली समुदायले पनि आफ्नो अनुभव, जनशक्ति, सामाजिक सञ्जाल र संस्थागत क्षमतामार्फत कसरी योगदान दिन सक्छ भन्ने विषय कार्यक्रमको महत्वपूर्ण पक्ष रहनेछ।
विशेषगरी बेल्जियममा रहेका नेपाली संघ–संस्थाहरूबीच आपसी समन्वय, एकता र सहकार्य बढाउँदै नेपालमा भइरहेका सहयोगका परियोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा खुला छलफल गरिनेछ।
नेपालका लागि काम गरिरहेका बेल्जियमका स्थानीय संस्था र नेपाली संस्थाबीच प्रत्यक्ष सम्बन्ध तथा साझेदारी विस्तार गर्न सके भविष्यमा अझ धेरै सकारात्मक काम गर्न सकिने विश्वास आयोजकले लिएको छ।
एनआरएनए बेल्जियमले आफ्नो स्थापना कालदेखि नै नेपालको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ।
नेपालमा प्राकृतिक विपद् पर्दा होस् वा सामाजिक तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने विषयमा, बेल्जियममा रहेका नेपाली समुदायले आफ्नो क्षमता र स्रोतअनुसार निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरेको छ।
नेपालमा गएको विनाशकारी भूकम्पका बेला भूकम्पपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि बेल्जियमस्थित नेपाली समुदायले आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको जनाएको छ।
त्यसैगरी पश्चिम नेपालमा गएको जाजरकोट भूकम्पपछि पनि प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने काममा समेत सक्रिय रहेको उल्लेख गरेको छ।
जाजरकोट क्षेत्रमा विद्यालय निर्माणलगायतका सामाजिक तथा शैक्षिक सहयोगका गतिविधिमा समेत बेल्जियमस्थित नेपाली समुदायको योगदान रहेको उल्लेख छ।
त्यस्तै, बाढीपहिरोजस्ता प्राकृतिक विपद्का समयमा पनि बेल्जियममा रहेका नेपालीहरूले सक्रियता देखाउँदै आएका छन्।
विशेषगरी बोटेकोशी क्षेत्रमा आएको बाढीका पीडितहरूको सहयोगका लागि एनआरएनए बेल्जियमको पहलमा करिब ३५ लाख नेपाली रूपैयाँ संकलन गरी नेपाल पठाइएको जनाएको छ।
यसका अतिरिक्त बेल्जियममा रहेका अन्य नेपाली संघ–संस्था तथा समुदायका विभिन्न पहलमार्फत पनि नेपालमा करिब दुई करोड रूपैयाँको हाराहारीमा सहयोग पुगेको अनुमान छ।
विगतमा नेपाल फेस्टिभल, विभिन्न सांस्कृतिक कार्यक्रम, सामाजिक गतिविधि तथा नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
यस्ता कार्यक्रमले बेल्जियममा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र आफ्नो पुर्ख्यौली पहिचानसँग जोड्न पनि महत्वपूर्ण भूमिका खेलेको एनआरएनए बेल्जियमको भनाइ छ।