नेपाल विश्व श्रम बजारमा श्रमिक आपूर्ति गर्ने एउटा प्रमुख राष्ट्र हो। लाखौं नेपाली युवाहरू रोजगारीको खोजीमा बिदेसिएका छन्।
तथ्यांक अनुसार करिब ४० लाखभन्दा बढी नेपाली बिदेसिएका छन्। तीमध्ये करिब १२ प्रतिशत महिलाहरू छन्।
तर अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको वास्तविक अवस्था के कस्तो छ भन्ने यथार्थ चित्रण कतै भेटिँदैन। यस्ता विषय प्रायः अनुमानमा सीमित छन्।
युएईमा अधिकांश नेपाली महिला सेल्स, सुपरमार्केट, क्लिनिङ, पार्लर, कपडा पसल, कस्मेटिक पसलहरू, होटल तथा रेस्टुरेन्टहरूमा वेट्रेस, किचन हेल्परका रूपमा काम गरेको पाइन्छ। अस्पताल तथा अन्य कार्यालयहरूमा पनि उनीहरूको उपस्थिति बढ्दै छ। कतिपय महिला घरेलु कामदारका रूपमा पनि कार्यरत छन्।
यहाँ कार्यरत महिलाहरूले नेपालमा रहेका आफ्ना परिवारको आर्थिक दायित्व बहन गर्दै आएका छन्। र, ठूलो मात्रामा नेपालमा रेमिटेन्स पठाउँछन्। आर्थिक तथा सामाजिक रूपमा पुरूषसरह योगदान दिएका नेपाली महिलाको हक, अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको मामिलामा भने हाम्रो समाज अझै पनि उदार देखिँदैन।
संसारका सुरक्षित देशमध्येमा पर्ने युएई महिलाका लागि अझ सुरक्षित मानिन्छ। जुनसुकै समयमा महिलाहरूले यहाँ निर्धक्क भएर यात्रा तथा काम गर्न सक्छन्। यस्तो ठाउँमा पनि नेपाली महिला अलपत्र परेका खबरहरू आउँछन्।
अलपत्र पर्ने प्रमुख कारणमध्ये एक हो — चेतनाको अभाव। अनि पैसा र उमेर पनि कारण हुन्।
अलपत्र र समस्यामा परेका अधिकांश नेपाली महिलाले छिट्टै अरूलाई विश्वास गरेको पाइएको छ। सजिलै अरूसित घुलमिल हुने स्वभावले पनि उनीहरूलाई समस्यामा पारेको देखिएको छ।
त्यसमाथि कम उमेरमा वैदेशिक रोजगारीमा आएका उनीहरू परिवार र समाजबाट टाढा भएका हुन्छन्। एक्लोपन अनि भावनात्मक सहाराको खोजी, साथीभाइका उस्तै संघर्षका कथाहरू, कठोर परिश्रम र कार्यस्थलका तनाव अनि मानसिक दबाबका बीच कोही साथ र सहयोग दिने व्यक्ति भेटिँदा भावनात्मक सम्बन्ध गहिरिन पुग्छ।
त्यसैको फाइदा केही नेपाली तथा अन्य मुलुकका पुरूषहरूले उठाउँछन्। उनीहरूमाथि राम्रै 'खर्च' गर्छन्, अर्थात्, आर्थिक र भावनात्मक रूपमा फकाउँछन्।
नेपालमा विवाहित भए पनि यहाँ विवाहेत्तर सम्बन्धमा रहने महिला तथा पुरूषको संख्या उल्लेखनीय देखिन्छ। उमेरमै रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता, परिवारसँग छुट्टिएर बस्दा हुने भावनात्मक दुरी, कार्यस्थलमा काम गर्दै जाँदा हुन जाने आकर्षण अनि पैसाको अभाव; यस्तै कारणले नयाँ सम्बन्धहरू गाँसिन पुग्छन्। अनि विभिन्न कारण देखाउँदै दिनहुँजसो तीनदेखि चार जना मानिसहरू सम्बन्ध विच्छेदका लागि अधिकृत वारेसनामा लिन दूतावास आएको देखिन्छ।
युएईमा रहेका केही नेपाली महिलाहरू पनि नेपाली तथा अरू मुलुकका पुरूषसँग बिना विवाह सँगै बसेको देखिन्छ। केही समय सँगै बसेपछि महिलाहरू गर्भवती भएको खण्डमा अधिकांश पुरूष जिम्मेवारी लिनबाट पन्छिएका छन्। केही नेपाली पुरूष यस्ता घटनामा भागेर नेपाल वा अन्य मुलुक गएका छन्।
त्यसपछि महिलाहरू अवैध सम्बन्धको लाञ्छना, गर्भवती भएपछि रोजगारीका अवसर गुम्ने र त्यस्ता सम्बन्धबाट जन्मिएका बच्चाको एकल जिम्मेवारीको चपेटामा पर्छन्। रोजगारी नभएपछि कम्पनीले भिसा नवीकरण नगरिदिने भएकाले अन्ततः अवैध बासिन्दा बनेका उदाहरण धेरै छन्।
युएईमा विवाह बिना बच्चा जन्माउनु कानुनी तथा सांस्कृतिक कारणले गैरकानुनी मानिन्छ। तर आप्रवासीको संख्या बढेसँगै पछिल्ला केही वर्षयता युएईले आफ्नो कानुन परिमार्जन गरेको छ। वैवाहिक सम्बन्धभन्दा बाहिरबाट जन्मिएका बच्चाले पनि बाबुको पहिचान नभएको भनी आमाको मात्र नाम राखरे जन्मदर्ता पाउन सक्छन्।
यसरी फसेका नेपाली महिलाहरूले युएईमा घरमै बच्चा जन्माउनु पनि अर्को समस्या देखिएको छ। अवैध सम्बन्ध, अवैध बसाइ भएकाले जेल पर्ने र निस्कासनमा पर्ने डरले उनीहरू घरमै बच्चा जन्माउँछन्। यस्तोमा आमा र बच्चाको नाता खुल्ने केही प्रमाण हुँदैन र यात्रा अनुमतिपत्र तथा यहाँका निकायबाट यो देश छाड्न चाहिने स्वीकृतिपत्र बनाउन सकिँदैन।
यस्तै–यस्तै शृंखलाले निम्त्याएको तितो यथार्थ हो शारजहाँमा अलपत्र परेकी भनिएकी अवोध रोजाको (नाम परिवर्तन) कथा।
हुन त रोजा सकुशल छिन्, आफ्नी दिदीसँग छिन्। तर उनी सबैका लागि एउटा प्रश्न बनेकी छिन्, कारण — उनकी आमाको विवाहेत्तर सम्बन्ध।
उनकी आमाको मृत्यु भएको खबर प्राप्त हुने साथ ती बालिकालाई नेपाल पठाउन दुबईस्थित नेपाली कन्सुलेटबाट सम्पूर्ण प्रशासनिक प्रक्रिया अगाडि बढाइसकेपछि डिएनए परीक्षण रिपोर्टको प्रतीक्षामा रहेका बेला विभिन्न शीर्षकमा समाचारहरू छापिए। जुन अवैध सम्बन्ध र रोजाको बाबुको नाम उनकी आमाले जीवनभर सबैसँग लुकाइन्, मृत्युपछि ती सबै छताछुल्ल भए।
समाचारपछि रोजाले सबैको सहानुभूति पाइन् तर उनकी मृतक आमाप्रति सामाजिक सञ्जालहरूमा गाली र दोषारोपण भयो। कोही दूतावासलाई गाली गर्नमा व्यस्त छन्, कोही उनको चरित्रमाथि औंला उठाउन, कोही भने नेपाली महिलालाई विदेशीसँग सम्बन्ध गाँस्दा यस्तै हुन्छ भन्दै भद्दा गाली दिनमा व्यस्त छन्।
गाली र दोषारोपण हेर्दा, हाम्रो समाजले महिलाहरूका भावनात्मक सम्बन्ध, प्रेम सम्बन्ध तथा निर्णयहरूलाई अझै स्वीकार गर्न नसकेको भान हुन्छ। एउटै विषयमा पुरूषले उन्मुक्ति पाउँदा महिलालाई भने सामाजिक मर्यादा र नैतिकताको घेरामा बाँधिराख्ने प्रवृत्ति देखिन्छ। महिला र पुरूषप्रति फरक मापदण्ड तय गरेको देखिन्छ।
जतिखेर रोजाको जन्म भएको थियो, एकल महिलाका उनीजस्तै सन्तानले नेपालभित्रै पनि स्पष्ट कानुन अभावमा नागरिकता प्राप्तिका लागि लडिरहेका थिए। अझ विदेशी भूमिमा विदेशी बाबुले जिम्मेवारी नलिएका र पहिचान नखुलेका बाबुबाट जन्मिएकाको हकमा अन्योलता कायम नै थियो।
सन् २०२५ जनवरी र सेप्टेम्बरमा आएका नागरिकता सम्बन्धी विधेयकहरूले नेपालमा रहेका एकल महिलाका सन्तानका लागि नागरिकता प्राप्तिका आधार उल्लेख गरेका छन्।
विदेशमा नेपाली आमाबाट जन्मिएका र बाबुको पहिचान नभएको व्यक्तिहरूले आमाले स्वघोषणा गरे पश्चात अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने छन् भन्ने प्रावधानले महिलाहरूलाई अझै पनि विभेद गरेको देखिन्छ। अर्थात्, नागरिकता प्राप्तिका लागि पितृत्व नै मुख्य आधार मानेको देखिन्छ।
उक्त विधेयकमा रहेका प्रावधानहरू आफैमा पर्याप्त नभए पनि धेरै हदसम्म त्यसले एकल महिलाको सन्तानका लागि नागरिकता प्राप्त गर्न बाटो खुलाएको छ। जुन सुकै देशमा पनि मातहतका सरकारी निकायहरूले देशको कानुनको परिधिभित्र रही कानुनले तोकिए बमोजिम मात्र नागरिकता तथा राहदानीहरू जारी गर्ने हुँदा यस्ता विषयहरूमा स्पष्ट कानुन हुन जरूरी हुन्छ।
हुन त प्रशासनिक प्रक्रिया पूरा भइसकेपछि रोजा छिट्टै आफ्ना हजुरबुबा–आमा भएको ठाउँमा जानेछिन्। तर उनी जस्ता बच्चालाई नेपाली समाजले हेर्ने दृष्टिकोणमा के सजिलै परिवर्तन आउला? के उनकी आमा जस्ता एकल आमालाई हाम्रो समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउला? के उनीहरूले सम्मानपूर्वक बाँच्न पाउलान्?
अनि यसैसँग उब्जिन्छ, अविवाहित तथा एकल आमाबाट जन्मिएका बच्चाको सामाजिक, आर्थिक तथा अधिकारको सुनिश्चितताको प्रश्न।
बदलिँदो समयमा विदेश जाने छोरीहरूको शैक्षिक तथा आर्थिक पक्षसँगै उनीहरूले जीवनसाथी रोज्ने कुरामा पनि अब नेपाली समाज र परिवार उदार हुनुपर्ने देखिन्छ। विवाहको विषयमा महिलाहरूको स्वतन्त्र निर्णय स्वीकार गरी सामाजिक भेदभाव, शोषण र लाञ्छनाबाट उनीहरूलाई माथि उठाउनुपर्छ। लिभिङ टुगेदरमा रहेका महिलालाई कानुनी सुरक्षा प्रदान गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नु अब आवश्यक भइसकेको छ।
एउटै विषयमा पुरूषहरूले तुलनात्मक रूपमा उन्मुक्ति पाउनु र महिलाहरूले आजीवन सामाजिक, आर्थिक तथा कानुनी संघर्ष गरिरहनुपर्ने अवस्थाले हाम्रो समाजमा गहिरोसँग जरो गाडेको लैंगिक विभेद उजागर गर्छ।
तसर्थ एकल आमाहरूबाट, विवाहेत्तर सम्बन्धबाट जन्मेका बच्चाहरूको सामाजिक, आर्थिक र कानुनी हकसमेत सुनिश्चित गर्न र पुरूषहरूलाई पितृत्व र बच्चाको साझा आर्थिक जिम्मेवारीको दायित्वबाट सजिलै उम्कन नदिन नेपालमा अब अर्को एउटा बहस जरूरी छ।