नेप्सेको हालसम्मको उच्च विन्दु (कारोबारको अन्तिम विन्दु आधारमा) ३१८० हो।
२०७८ भदौ ३ गते नेप्से यो उचाइमा रहेर बजार बन्द हुँदा सो दिन ३२२६ विन्दु छोएर फर्किएको थियो।
त्यसयता दुई वर्ष नेप्से १८ सयदेखि १९ सयको न्यून विन्दुसम्म पुग्यो। करिब डेढ वर्षदेखि भने बजार २४५० देखि ३००० आसपासमा बसेको छ।
अहिले बजार उच्च बिन्दुबाट करिब ३०० विन्दु मात्रै तल छ।
बजार उचाइमै रहँदा कुन सेयर किन्ने त?
सेयर बजारमा लगानी गर्ने सबैभन्दा सजिलो रणनीति भनेकै न्यून मूल्यमा सेयर किन्ने र उच्च मूल्यमा पुगेपछि बेच्ने हो।
केही समयदेखि हामीले मूल्य उच्चले बढेका कम्पनीहरूको कुरा गरिरहेका छौं।
बजार बढिरहँदा एक चरणको नाफा भएपछि लगानीकर्ताहरू त्यो नाफा सुरक्षित गरेर मूल्य बढ्न बाँकी रहेका कम्पनीहरूमा प्रवेश गर्छन्।
यसरी लगानीकर्ता प्रवेश गर्न सक्ने कम्पनीहरू न्यून मूल्यका कम्पनी पनि हुन सक्छन्।
कम्पनीहरूको मूल्य न्यून भए वा नभएको हेर्ने विभिन्न तरिका छन्।
एउटा तरिका भने एक वर्षकै न्यूनमा रहेका कम्पनीहरू पनि हुन सक्छन्।
यसरी मूल्य न्यून स्थानमा आएका कम्पनीको विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा गएर पनि हेर्न सकिन्छ। नेप्सेले बजार बन्द भएसँगै त्यस दिन कारोबारमा आएका कम्पनीहरूको कारोबारको मूल्य दिन्छ।
कम्पनीहरूको सेयर मूल्यमा आउने उतारचढावसँगै यो तथ्यांक हरेक कारोबार हुने दिनमा परिवर्तन भइरहन्छ। नेप्सेले यी तथ्यांकसँगै कम्पनीहरूको एक वर्षयताको उच्च र न्यून मूल्य पनि दिन्छ।
यसलाई ५२ हप्ताको उच्च मूल्य वा ५२ हप्ताको न्यून मूल्य भनेर उल्लेख गरिएको हुन्छ।
५२ हप्ताको न्यून मूल्य नजिक आउँदा सेयर किन्न र ५२ हप्ताको उच्च विन्दु नजिक आउँदा बेच्न सकिन्छ।
५२ हप्ताको न्यून मूल्यमा किनेर उच्च मूल्यमा बेच्दा लगानीकर्तालाई केही न केही लाभ हुने अवस्था पक्कै बन्छ। कहिलेकाहीँ भने कम्पनीको अवस्था निकै खस्किएमा पुरानो न्यून विन्दुभन्दा पनि तल जान सक्ने र नोक्सान हुन सक्ने पनि हुन्छ।
त्यस्तै, कहिलेकाहीँ बजार वा मूल्यले नयाँ उचाइ भेट्दा सो समयको उच्च विन्दुलाई समेत काटेर माथि जान सक्छ र थप कमाइ हुने अवसर गुम्न पनि सक्छ।
त्यसैले सबभन्दा सजिलो र सुरक्षित रणनीति मानिए पनि यस्तो सूचकबाहेक कम्पनी सम्बन्धी जानकारीहरू, वित्तीय विवरण, बजारको प्रवृत्ति पूर्ण बेवास्ता गर्न हुँदैन।
त्यसैले यस्ता कम्पनीमा लगानी गर्दा पनि केही पक्षमा विचार गर्नुपर्छ।
न्यून मूल्यमा रहेका सेयरमा लगानी गर्नुअघि ती सेयर किन त्यस्तो स्तरमा पुगेका हुन् भन्ने कुरा बुझ्न आवश्यक हुन्छ।
कम्पनीको समग्र अवस्था कमजोर भएको हो कि होइन, नाफा र प्रतिसेयर आम्दानी घट्दै गएको हो कि, आयोजना भएका कम्पनीमा परियोजना ढिलाइ भइरहेको छ कि छैन, बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको हो कि होइन जस्ता पक्षमा ध्यान दिनुपर्छ।
त्यस्तै, भर्खरै लाभांश वितरण गरेपछि मूल्य समायोजनका कारण सेयर घटेको हो कि, वा लाभांश दरमै अस्थिरता देखिन थालेको हो भन्ने पनि विश्लेषण गर्नुपर्छ।
यसका साथै कम्पनीले सञ्चालन गर्ने व्यवसाय क्षेत्रमै कुनै नकारात्मक प्रभाव परेको छ कि छैन भन्ने कुराले पनि सेयर मूल्यमा प्रभाव पार्छ।
यदि यस्ता आधारभूत पक्षहरू तुलनात्मक रूपमा ठीक देखिन्छन् भने, कम्पनीको सेयर मूल्य कति समयदेखि हालको न्यून विन्दुमा टिकिरहेको छ भन्ने पनि हेर्नुपर्छ।
मूल्य घटेको अवस्थामा समेत कारोबार रकम उच्च रहनु भनेको त्यस सेयरप्रति लगानीकर्ताको चासो कायम रहेको संकेत हुन सक्छ।
प्राविधिक विश्लेषणमार्फत मूल्यको प्रवृत्ति कस्तो देखिन्छ भन्ने पक्षलाई समेत ध्यानमा राखी लगानी गर्ने हो भने न्यून मूल्यमा रहेका सेयर दीर्घकालीन अवसर हुन सक्छन्।
|
कम्पनी
|
माघ २२ को मूल्य
|
एक वर्षकै न्यून मूल्य
|
माघ २२ को मूल्य र न्यूनबीचको अन्तर %
|
एक वर्षकै उच्च मूल्य
|
माघ २२ को मूल्य र उच्चबीचको अन्तर %
|
|
चिलिमे जलविद्युत
|
४७०
|
४५६
|
३.०७
|
५९९
|
२७.५७
|
|
जीवन विकास लघुवित्त
|
१३०७
|
१२७०
|
२.८८
|
१६४४
|
२५.७४
|
|
मिड सोलुहाइड्रो
|
८२३
|
८००
|
२.८६
|
११३५
|
३७.९१
|
|
नेपाल इन्भेस्टमेन्ट मेगा
|
१९२
|
१८७
|
२.८३
|
२४७
|
२८.४४
|
|
युनिक नेपाल लघुवित्त
|
१८६७
|
१८१८
|
२.६७
|
२८४३
|
५२.३२
|
|
सानिमा मिडल तमोर
|
४४८
|
४३७
|
२.५१
|
५९६
|
३३.०३
|
|
स्वावलम्बन लघुवित्त
|
७४०
|
७२४
|
२.०९
|
१०४६
|
४१.४१
|
|
बोटलर्स नेपाल बालाजु
|
१५३४४
|
१५०४४
|
१.९९
|
२२५००
|
४६.६३
|
|
नेसनल लघुवित्त
|
११०६
|
१०८६
|
१.८९
|
१५०४
|
३५.९१
|
|
नागिरक लगानी कोष
|
१७५८
|
१७३०
|
१.५७
|
२२००
|
२५.१४
|
|
कालिका लघुवित्त
|
९३५
|
९२१
|
१.४८
|
१२७०
|
३५.८२
|
|
एनएमबी बैंक
|
२३४
|
२३१
|
१.३४
|
२८३
|
२०.८८
|
|
माया खोला हाइड्रो
|
३३५
|
३३२
|
१.०२
|
६१२
|
८२.३५
|
|
सुपर मादी
|
४९४
|
४९०
|
०.८१
|
१२७५
|
१५८.०४
|
|
साना किसान लघुवित्त
|
७६१
|
७५६
|
०.५९
|
९९९
|
३१.२५
|