कामका लागि युरोप जाने विचार गर्नुभएको छ? छ भने व्यक्तिगत पहलमा जाँदै हुनुहुन्छ कि म्यानपावर कम्पनीमार्फत?
व्यक्तिविशेषले सामाजिक सञ्जालमा गरेको विज्ञापनको भर परेर पैसा र पासपोर्ट बुझाउनुभएको छ कि?
युरोपेली मुलुकहरूमा आकर्षक काम र कमाइको प्रलोभन देखाएर सामाजिक सञ्जालमा आएका विज्ञापनको फन्दामा परेर नेपाली युवाहरू ठगिने घटना हुने गरेका छन्।
पैसा र पासपोर्ट कब्जा गरेर लामो समय अलमलाउने, एउटा देश भनेर अर्कै देश पुर्याउने जस्तो ठगी हुने गरेको छ। शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीहरू समेत यस्तो ठगीधन्धामा लागेको पाइएको छ।
कतिपय म्यानपावर कम्पनीले पनि यस्तो ठगी गरेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी पर्ने गरेको छ।
रोजगारीका लागि युरोप जाने सिलसिलामा ठगीबाट बच्ने उपाय, सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापन लगायतमा केन्द्रित रहेर हामीले वैदेशिक रोजगार विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीसँग कुरा गरेका छौं।
उनका अनुसार रोजगारीका लागि युरोपेली मुलुक जान वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिने गरेको छ।
सीपयुक्त र क्षमतावान व्यक्तिले युरोपेली देशले गरेको जनशक्ति मागबारे आफै खोजी गरेर आवेदन गरेर भिसा प्राप्त गर्न सक्छ। यस्तो अवस्थामा सबै कागजपत्र पुगेको छ भने व्यक्ति स्वयं जिम्मेवार हुने गरी विभागले श्रम स्वीकृति दिन्छ।
'व्यक्तिगत रूपमा म यो देशमा, यो कामका लागि, यति तलबमा, यी सर्तमा जान चाहन्छु भनेर आउनेलाई विभागले सहजै श्रम स्वीकृति दिइरहेको छ,' शिवाकोटी भन्छन्, 'यस्तोमा आफ्नो जिम्मेवारी व्यक्ति स्वयंले लिनुपर्छ।'
म्यानपावर कम्पनीहरूमार्फत संस्थागत श्रम स्वीकृति दिएर पनि युरोपेली मुलुकहरूमा पठाउने व्यवस्था छ। केही समययता भने युरोपेली मुलुकबाट मागपत्र प्रमाणीकरण भई पूर्वस्वीकृतिका लागि आवेदन नआएको उनले बताए।
म्यानपावर व्यवसायीले सम्बन्धित देशको नेपाली दूतावासबाट कामदार मागपत्र प्रमाणीकरण गराउनुपर्छ। मागपत्र प्रमाणीकरणपछि पूर्वस्वीकृतिका लागि विभागमा आउनुपर्छ।
धेरैजसो युरोपेली मुलुकमा नेपाली राजदूतावास छैन। बेलायत, जर्मनी र अस्ट्रियामा भएका दूतावासले जनशक्ति र स्रोतसाधनको अभाव देखाउँदै मागपत्र प्रमाणीकरण गर्न असमर्थता जनाउने गरेका छन्।
आजकाल युरोप जानेका लागि व्यक्तिगत श्रम स्वीकृति मात्रै जारी भएको शिवाकोटीले बताए।
'हाल युरोपमा पूर्वस्वीकृति लिएर संस्थागत विज्ञापनबाट कामदार पठाउने अवस्था छैन। व्यक्तिले राखेको विज्ञापन झुटो हुन्छ,' उपमहानिर्देशक शिवाकोटीले भने, 'विभागबाट स्वीकृति लिएर म्यानपावर कम्पनीले आधिकारिक सूचना राखेका छन् भने मात्रै विश्वास गर्नुपर्छ। व्यक्तिले सामाजिक सञ्जालमा राखेका विज्ञापन र सूचना आधिकारिक होइनन्, गैरकानुनी हुन्।'
व्यक्तिले गरेको विज्ञापनको विश्वास गरेर पासपोर्ट र पैसा नबुझाउन, राज्यलाई गुमराहमा पारेर जाने प्रयास नगर्न उनको सुझाब छ।
गैरकानुनी विज्ञापन गरेर पठाएको पाइए पठाउनेलाई कारबाही हुने प्रावधान छ।
'सुरक्षित रूपमा जान विभागबाट प्रक्रिया पूरा गरेर श्रम स्वीकृति लिनुपर्छ,' उनले भने, 'गैरकानुनी तरिकाले जाने व्यक्ति असुरक्षित हुन्छ, यसमा सचेत हुन हामी आमनागरिकलाई आग्रह गर्छौं।'
उनका अनुसार विभागमा युरोप जाने क्रममा ठगिएको भनेर दैनिकजसो उजुरी पर्छ। ठगीमा परेकाले पैसा र पासपोर्ट फिर्ताको माग गरेका हुन्छन्। विभागले फिर्ता गराउने गरेको छ।
हातमै पैसा बुझाएको छ भने त्यसको प्रमाण हुँदैन। यसरी ठगिएको छ भने पैसा फिर्ता गराउन कठिन हुन्छ। सामाजिक सञ्जालमा विज्ञापन गरेर ठगी गर्नेलाई पनि विभागले कानुनी कारबाही गर्ने शिवाकोटीको भनाइ छ।
'मान्छेलाई प्रलोभन दिइरहेका छन्, रकम उठाइरहेका छन्, पासपोर्ट संकलन गरिरहेका छन् भने त्यसको सूचना विभागलाई दिनुपर्छ,' उनले भने, 'विभागले अनुगमन गर्छ। गैरकानुनी काम गरेको रहेछ भने तत्काल कारबाही हुन्छ।'
युरोपको कुन देश जान कति पैसा लाग्छ भनेर विभागले शुल्क नतोकेको उनले बताए।
रोजगारीदाताले 'फ्री भिसा फ्री टिकट' भनेको छ भने भिसा र टिकटको पैसा तिर्नु पर्दैन। व्यक्तिले कुन देश जान कतिपैसा बुझाउँछ भन्ने आधिकारिक जानकारी विभागमा छैन।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com