ग्लोबल नेपाली
तनहुँको भिमादका बोधराज सुवेदी भर्खर २० वर्ष लाग्दै थिए। अस्कल साइन्स क्याम्पसबाट आइएस्सी सकेका सुवेदीले पोल्याण्ड गएर डाक्टर पढ्ने अवसर पाए। एक वर्ष पोलिस भाषा पढेर जनरल मेडिसिन पढ्नको लागि १९८९ मा सुवेदी पोल्याण्ड गए।
छात्रावृत्तिमा पढ्न गएकाले उनलाई काम गर्नुपर्ने अनि खर्च जुटाउनपर्ने कुनै दबाब थिएन। उनी गएको एक वर्षमै सोभियत समाजवादी गणतन्त्र (यूएसएसआर) को विघटन भयो।
तत्कालीन यूएसएसआर प्रभावमा रहेको पोल्याण्ड आर्थिक संकटमा पर्यो। एकातिर भाषाको समस्या अनि अर्कोतिर आर्थिक संकट, त्यसको सिधा असर उनलाई नपरे पनि मानसिक दबाब हुनु स्वाभाविक थियो।
परिवर्तित अवस्थामा पोल्याण्डले आफूलाई विस्तारै अघि बढायो। उनले सन् १९९६ मा मेडिसिन पढेर सके। एक वर्षको इन्टर्नसिप सकेर काम गर्दै जनरल मेडिसिनको पढाइ पनि सुरू गरे।
'सुरूआती समय मलाई निकै गाह्रो भयो। एक वर्षसम्म मैले कोही नेपाली भेटेको थिइनँ। एक वर्षपछि मात्र दुर्गा मास्केलाई भेटेको थिएँ। उहाँ १९६२ मै यहा आउनुभएको रहेछ,' उनले भने, 'समयसँगै सहजता पनि हुँदै गयो। मेडिसिन सकेपछि मैले सन् २००६ मा जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेँ।'

त्यसपछि उनले पित्तथैलीको पत्थरी, एपेन्टिसाइटिस, हर्निया लगायतको सर्जरी गरेका थिए।
उनको चाहना अंकोलोजीमा काम गर्ने थियो। त्यही भएर यसको अध्ययन पनि गरे। सन् २०१२ मा सुवेदीले सर्जिकल अंकोलोजीको डिग्री पाए।त्यसयता उनले स्तन क्यान्सर र थाइरोइड क्यान्सरको अपरेसन गर्दै आएका छन्।
'म अहिले पोल्याण्डको राजधानी वारसा नजिकै रहेको युरोपियन हेल्थ सेन्टरमा काम गर्छु। यो अंकोलोजी सेन्टर पनि हो। पोल्याण्डले मेडिकल क्षेत्रमा धेरै प्रगति गरेकाले युरोपका अन्य देशका बिरामी पनि उपचारका लागि आउँछन्,' उनले भने, 'महिलालाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर सबभन्दा अगाडि छ। त्यसैले पनि बिरामीको चाप धेरै हुन्छ। थाइरोइड क्यान्सर पनि अगाडि नै छ।'
स्वास्थ्य क्षेत्रको प्रविधि र जनशक्ति दुवैमा पोल्याण्ड राम्रो स्थानमा छ। अर्थात् यहाँको उपचार आधुनिक र अन्तर्राष्ट्रिय स्तरको छ। युरोपियन युनियनको छैटौं शक्तिशाली देश पोल्याण्ड आर्थिक रूपमा समेत बलियो रहेको सुवेदीले बताए।
सुवेदी सर्जरीमा रमाएका छन् भने सँगै उनले नाम पनि कमाएका छन्। यसको बलियो उदाहरण हो उनी यसपटक ‘सर्जन अफ दि इयर’ बन्न सफल भएका छन्।
पोल्याण्डका १६ प्रान्तबाट छानिएर आएका सर्जनहरू मध्येबाट उनी उत्कृष्ट बनेका हुन्। पोल्याण्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको हिप्पोक्रेट्स २०२५ को ‘सर्जन अफ दि इयर’ बन्नु आफ्नो लागि मात्र नभएर सिंगो नेपाली समुदायको लागि गर्वको कुरा भएको उनले बताए।
उनका अनुसार यो तहको पुरस्कार अहिलेसम्म पोल्याण्ड बाहिरबाट आएकाहरूले पाएका छैनन्।

'यो पुरस्कार छनोटका लागि बिरामी र अन्य व्यक्तिहरूले भोट दिने व्यवस्था हुन्छ। त्यसमा म सबभन्दा अगाडि भए। अहिलेसम्म यहाँ आइपुग्नुमा मेरो मेहनत, बुवाआमा, श्रीमती र बच्चाहरूको योगदान छ,' उनले भने, 'एउटा शल्य चिकित्सकले सफल अपरेसन गरेर मात्र हुँदैन। अपरेसन अघि र पछि उसले बिरामीलाई गर्ने व्यवहार पनि महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।'
सर्जरीका चिकित्सक सधैं तयारी अवस्थामा रहनुपर्ने भन्दै उनले बाहिरबाट गएर काम गर्नेहरूले भाषा र व्यवहारमा ध्यान दिनुपर्ने बताए।
पोल्याण्डको सर्जरी क्षेत्रमा स्थापित सुवेदीलाई उताको अध्ययन सकेर सन् १९९८ मै नेपाल फर्किन मन लागेको थियो। तर त्यो बेलाको नेपालको अवस्थाका कारण अनि एकपछि अर्को अध्ययन गर्न परेर उनी उतै बसेका थिए। नेपाल फर्किन नपाएकोमा भने सधैं थकथक लागिरहेको थियो। तर कोभिडको समयमा आफूले यसलाई मेटाउन पाएको उनले बताए।
'कोभिडको समयमा यहाँ रहेका नेपालीहरू ठूलो समस्यामा परे। जनरल मेडिसिन गरेकी मेरी श्रीमती एलिना पोखरेल सुवेदी र मैले झण्डै ५ हजार नेपालीलाई काउन्सिलिङ गर्न पायौं,' उनले भने, 'कतिले त फार्मेसीमा औषधि किन्न समेत नजानेर फार्मेसीको मान्छेसँग हामीलाई कुरा गराउनुहुन्थ्यो। त्यसपछि भने जहाँ भए पनि नेपालीसँगै रहेपछि भूगोल ठूलो कुरा होइन भन्ने लाग्छ।'
त्यसो त सुवेदी गैरआवासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष समेत हुन्। उनले १० वर्ष यसको नेतृत्व गरेका थिए। अहिले उनी पोलिस-नेपाल फाउण्डेसनको अध्यक्ष छन्।

सन् २०२२ देखि उनी पोल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत समेत हुन्।
पछिल्लो समय एजेन्टहरूले प्रलोभनमा पारेर नेपालीलाई पोल्याण्ड लैजाने क्रम समेत बढेको छ। मासिक २ हजार युरो कमाइन्छ भनेर नक्कली कम्पनी खडा गरेर समेत पोल्याण्ड पुर्याइएको समेत उनले पाएका छन्।
'अहिले कामका लागि पोल्याण्ड आउने स्थिति छैन। पोल्याण्डलाई कामदार त चाहिएको छ तर उसले अहिले आप्रवासीलाई लिने नीति लिएको छैन,' उनले भने, 'भोलिका दिनमा पोल्याण्डले कामदार ल्याउन पनि सक्छ। तर अहिले भने कोही आउन चाहेमा अध्ययनका लागि मात्र हो। यसमा पनि सचेत भएर मात्र आउन मेरो सुझाव छ।'