एसिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको छ।
कार्यक्रममा नेपाली र उज्बेक अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष सम्मान प्रदान गर्यो। कार्यक्रममा नेपालका सांस्कृतिक नृत्य, परम्परागत प्रस्तुति, र नेपाली खानाका स्वादिष्ट परिकारहरू समावेश थिए, जसले उपस्थित दर्शकहरूलाई नेपालको सांस्कृतिक विविधता र परम्परागत जीवनशैलीको राम्रो परिचय दिएको थियो।
नेपालकी पाकिस्तानस्थित राजदूत तथा उज्बेकिस्तानका गैर-निवासी राजदूत रिता धितालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उप-राजदूत पुरूषोत्तम ढुंगेल, उज्बेकिस्तानबाट पहिलो पटक नेपाल मार्गबाट सगरमाथा आरोहण गर्ने सर्गेई देनिसेन्को, उज्बेकिस्तानको पर्यटन बोर्डका विशिष्ट प्रतिनिधि, बुकारा मेयर कार्यालयका प्रतिनिधि, र खेलकुद मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली परम्परागत नृत्य, सांगीतिक प्रस्तुति, र विभिन्न सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरियो।
साथै, सहभागीहरूले नेपाली खानाका विशेष परिकारहरूको अनुभव गरिरहेका थिए।
AIU का प्रशासन, संकाय सदस्य र नेपाली विद्यार्थीहरूले एकत्रित भएर आयोजना गरेको यस उत्सवले नेपाल–उज्बेकिस्तानबीचको जनस्तरमैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखेको एसिया इन्टरनेसनल युनिभर्सिटी (AIU) का डिन डा किशान भण्डारीले बताए।
कार्यक्रमको समापनमा सबै उपस्थित अतिथिहरूले नेपाल–उज्बेक सम्बन्ध र सांस्कृतिक आदान–प्रदानको महत्वमा जोड दिएका थिए।