गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमबीच सिम्खडाले आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन्।
सो क्रममा उनले चोटिएको एनआरएनएलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताए।
संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ।
सिम्खडाले संस्थालाई राजनीतिक गुटबन्दीभन्दा माथि उठाएर विशुद्ध सामाजिक र साझा संस्थाको रूपमा स्थापित गर्ने अठोट लिएका छन्।
उनले १० औँ र ११ औँ महाधिवेशनमा देखिएका विवादहरूलाई वस्तुनिष्ठ ढंगले समाधान गर्न र सदस्यता वितरण एवं प्रतिनिधि छनोट प्रणालीलाई पुनरावलोकन गर्न निर्वाचित भएको ६ महिनाभित्रै विधान–सभा मार्फत आवश्यक संशोधन गर्ने घोषणा गरेका छन्।
साथै, सबैले नेतृत्व छनोटमा सहभागी हुन पाउने गरी ‘इलेक्टोरल सिस्टम’ लाई विधानमा समावेश गर्ने र राजनीतिक हस्तक्षेप अन्त्यका लागि एनआरएन ऐन संशोधनमा पहल गर्ने उनको योजना छ।
संस्थाको गरिमा र पारदर्शिताका लागि केन्द्रको त्रैमासिक लेखा प्रतिवेदन वेबसाइटमा राख्ने र महत्वपूर्ण निर्णयहरूमा पञ्जीकृत सदस्यहरूको राय लिन ‘रेफरेन्डम’ (जनमत) को व्यवस्था गर्ने समेत उनले प्रतिज्ञा गरेका छन्।
प्रशासनिक सुधारतर्फ सिम्खडाले निर्वाचित भएको तीन महिनाभित्र दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गर्ने, काठमाडौं सचिवालयलाई बढी अधिकार सम्पन्न र जिम्मेवार बनाउने तथा निर्वाचन अघिको ६० दिन बाहेक बाँकी २२ महिना नै सदस्यता खुला राख्ने नीति लिने संकल्प पत्रमा उल्लेख गरेका छन्।
सिम्खडा एनआरएनए यूकेको संस्थापक सदस्य (२००५–०७) देखि महासचिव र सल्लाहकार हुँदै आइसिसी सदस्य, उपमहासचिव र हाल उपाध्यक्ष एवं एनआरएन कल्याण विभाग प्रमुखका रूपमा कार्यरत छन्।