गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा वर्तमान सचिव राधिका गुरूङ (टीका) ले उम्मेदवारी दिने भएकी छन्।
फागुन ३० देखि काठमाडौंमा हुने एनआरएनएको १२ औं महाधिवेशनका लागि गुरूङले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
दुई दशक एनआरएनए अभियानमा विभिन्न पदमा बसेर काम गरेको अनुभवलाई अझै प्रभावकारी बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको गुरूङले बताइन्।
'संस्थाभित्रका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै, पारदर्शिता, जवाफदेहिता र आपसी विश्वासको आधारमा संघलाई अझ सशक्त र समावेशी बनाउने मेरो दृढ प्रतिबद्धता छ,' उनले भनिन्, 'महिला, युवा, व्यवसायी, पेशाकर्मी र दोस्रो पुस्तासम्म सबैलाई समेट्ने समावेशी संरचना निर्माण गर्नु आजको आवश्यकता हो।'
३० वर्षदेखि हङकङ रहेक टीका व्यवसाय तथा सामाजिक काममा सक्रिय छिन्।
एनआरएनए, हङकङमा दुई कार्यकाल अध्यक्ष र एनआरएनएको एसिया प्यासिफिक संयोजक समेत भइसकेकी गुरूङ अहिले उनी एनआरएनएमा दोस्रो कार्यकालका लागि सचिव छिन्।