गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को सचिव पदका लागि माधव दुलालले उम्मेदवारी दिएका छन्।
सन् २०२३-२०२५ को कार्यकालमा एनआरएनए क्यानडाको अध्यक्ष भएका दुलालले यस पटक एनआरएनए आइसिसीको अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
आफ्नो कार्यकालमा एनआरएनए क्यानडाले विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको भन्दै उनले विशेषगरी क्यानडाको संघीय सरकारबाट विभिन्न फेडरल ग्रान्ट प्राप्त गर्न सफल भएको, क्यानडाभर रहेका प्रान्तीय समितिहरूलाई सुदृढ र सक्रिय बनाएको दाबी गरे।
आफ्नो कार्यकालमा क्यानडामा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढेको र समुदायस्तरमा समन्वय, सहयोग र व्यवस्थापनमा पनि सक्रिय भूमिका निर्वाह गरेको दुलालले बताए।
हाल प्रयोगमा रहेको प्रतिनिधि चयन गरेर उनीहरूमार्फत चुनाव गराउने प्रणालीलाई स्थायी रूपमा अन्त्य गरी विश्वभर रहेका सम्पूर्ण पञ्जीकृत सदस्यहरूले प्रत्यक्ष रूपमा अनलाइन मतदान गर्ने प्रणाली लागू गरिनुपर्ने आफ्नो एजेण्डा रहेका उनको भनाइ छ।
'देशको मानव स्रोत विकासलाई प्राथमिकतामा राख्दै स्किल ट्रेनिङ सेन्टरहरूको विकासमा काम गर्ने योजना मैले अघि सारेको छु। विदेशमा रोजगारीका लागि जाने नेपालीहरूले भोग्ने मुख्य समस्याहरू समाधान गर्न उच्चस्तरीय सहयोग केन्द्र (हाई लेभल सपोर्ट सेन्टर) स्थापना गर्ने पहल गरिनु पर्छ,' आफ्ना एजेण्डाबारे दुलालले भने, 'नेपालमा विकास र रोजगारी सिर्जना का लागि विश्वभर रहेका नेपालीहरूबाट 'सीड मनी' (प्रारम्भिक लगानी कोष) संकलन गर्ने पहल गर्नु पर्छ। त्यस्तै, एनसिसीहरूले हरेक पटक आइसिसीलाई बुझाउनुपर्ने लेबी प्रणालीको अन्त्य गर्दै, आइसिसीलाई अन्य वैकल्पिक स्रोतहरूमार्फत आत्मनिर्भर (सेल्फ–सस्टेन्ड) बनाउने लक्ष्य मेरो छ।'