गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरूङ (टीका) निर्विरोध चयन भएकी छन्।
फागुन ३० देखि काठमाडौंमा हुने एनआरएनएको १२ औं महाधिवेशनका लागि गुरूङले उपाध्यक्षमा महिला उपाध्यक्षमा उमेदवारी दिएकी थिइन्।
महिला उपाध्यक्ष पदमा गुरूङको मात्र उम्मेदवारी परेकाले उनी उपाध्यक्ष निर्विरोध बनेकी हुन्।
निर्विरोध उपाध्यक्ष बनेर आफूलाई थप जिम्मेवार बनाइएको गुरूङले बताइन्।
‘दुई दशक एनआरएनए अभियानमा विभिन्न पदमा बसेर काम गरेको अनुभवलाई अझै प्रभावकारी बनाउँछु। मैले २०२१ देखि ०२३ सम्म र ०२३ देखि ०२५ सम्म महिला सचिव भएर काम गरेँ,’ उनले भनिन्, ‘विगतमा महिलाको क्षेत्रमा काम गरेकाले मैले यसपटक पनि महिला उपाध्यक्ष रोजेको छु। मलाई निर्विरोध बनाउन साथ र सहयोग गर्नेहरूप्रति म आभारी छु।’
३० वर्षदेखि हङकङ रहेकी टीका व्यवसाय तथा सामाजिक काममा सक्रिय छन्।
उनी एनआरएनए हङकङमा दुई कार्यकाल अध्यक्ष र एनआरएनएको एसिया प्यासिफिक संयोजक समेत भइसकेकी छन्।