गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध निर्वाचित भएकी छन्।
एनआरएनएको १२ औं महाधिवशेनका लागि भएको उम्मेदवारी दर्ताको क्रममा महिला सचिव तर्फ थापाको मात्र उम्मेदवारी परेको थियो।
यसअघि ११ औं महाधिवेशनबाट थापा सह-कोषाध्यक्ष थिइन्।
महिला सचिवमा निर्विरोध बनेपछि थापाले आफ्नो कार्यकालमा नेतृत्वले उठाएका राम्रा एजेण्डालाई साथ दिने र गलत गरेमा खबरदारी गर्ने बताइन्। उनले विदेशमा बस्ने नेपालीहरुको नागरिकताको विषयलाई आफूले जोडतोडका साथ उठाउने बताइन्।
'हामी विदेशमा बस्नेहरुको लागि नेपालमा सम्पत्तिको सुरक्षा छैन। त्यसका लागि हाम्रो नागरिकताले पूर्ण रुपमा काम गर्नुपर्छ। कानुन अभावकै कारण दोस्रो पुस्ता नेपालसँग जोडिन पाएका छैनन्। यसका लागि हामीले काम गर्नु पर्छ,' उनले भनिन्, 'महिला कोटाबाट सचिव भएकाले विदेशमा रहेका महिलाको आवाज उठाउनु मेरो स्वभाविक कर्तव्य हो। वैदेशिक रोजगारीमा रहेका महिलाले भोगेका अफ्ठ्याराहरुको पहिचान गर्ने र यसको समाधानमा पहल गर्नु मेरो दायित्व हुन्छ।'
सन् १९९९ मा हङकङ गएकी थापा अहिले ग्वान्जाओमा व्यवसाय गर्छिन्।