नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको निर्भरतालाई कम गर्दै नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै उपाध्यक्ष मल्होत्राले रेमिटेन्सले देशको अर्थतन्त्र धाने पनि यसले मुख्यतया उपभोग मात्र बढाएको भन्दै अब उद्यमशीलता र औद्योगिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।
मल्होत्राले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मात्रै नेपालले १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ (करिव ७.५ अर्ब डलर) रेमिटेन्स प्राप्त गरेको बताए।
उनले यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतको वृद्धि भएको बताए।
नेपाली श्रमिकहरू उच्च आय हुने मुलुकमा जानु, डलरको मजबुती, वित्तीय सेवाको डिजिटलीकरण र हुन्डी जस्ता अनौपचारिक माध्यमको नियन्त्रणका कारण रेमिटेन्स बढेको उनको भनाइ छ।
प्रवासी नेपालीको लगानी भित्र्याउन नेपालले समग्र पारिस्थितिकी प्रणाली (इकोसिस्टम) विकास गर्नुपर्ने बताए। नीतिगत स्थायित्व र लगानी विश्वास, संस्थागत संयन्त्र, नवीन वित्तीय उपकरण, रणनीतिक लगानी क्षेत्रहरू (पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार) तथा ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए।
'हामीले बारम्बार उठाउँदै आएको कुरा एकद्वार नीति हो। एकद्वार नीति नभएको कारणले एउटा अपार्टमेन्ट बनाउनलाई ८ ठाउँबाट अनुमति लिनुपर्छ र २ वर्ष कुर्नुपर्छ। यी सबै कुरालाई सरलीकरण गरेर अब आउने सरकार जिम्मेवार भएर अगाडि बढ्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
विगत ३६ वर्षदेखि देशले राजनीतिक अस्थिरता भोगेको र कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष सरकार चलाउन नसकेको स्मरण गर्दै मल्होत्राले वर्तमान सरकारबाट निजी क्षेत्र आशावादी रहेको बताए।
झन्डै दुई तिहाइ बहुमतको नयाँ सरकारले देशमा राजनीतिक स्थायित्व दिने र थाती रहेका आर्थिक विकासका कामहरू अघि बढाउनेमा उनले विश्वास व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्स लगानीमैत्री वातावरण निर्माण गर्न र प्रवासी लगानीकर्ता तथा स्वदेशी उद्यमीहरूबीच साझेदारी विस्तार गर्न प्रतिवद्ध रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारलाई आग्रह समेत गरे। –न्युज एजेन्सी नेपाल