एउटा लासमाथि बर्सिरहेको फूल 
आफूलाई के ठान्दो हो? 
मृत वस्तुमाथि
आफूलाई पनि मृत
वा 
चिसो चढेको 
ताप घटेको
कुहिने कुहिने
वस्तुमाथि सुवास
सामान्य मानिस मर्यो 
अलि विशिष्ट मानिस मर्यो
सामान्य मानिस मर्दा 
बर्सिने फूल
विशिष्ट मानिस मर्दा
बर्सिने फूलले
आफूलाई कति निम्न र कति भाग्यमानी ठान्दो हो?
खैर 
तिमी मृतकलाई पनि दर्जा दिइरहेका छौ!
हरेक दिन मेट्दै 
हरेक दिन मार्दै 
हरेक दिन भोग गर्दै 
हरेक दिनलाई निम्छरो बनाउँदै 
तिमी केको खोजि गरिरहेछौ? 
फगत फूलको? 
हो फगत फूलको!