प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्।
सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेका थिए।
तर उनले त्यसबारे कुनै टिप्पणी गरेनन्। अघिल्ला दिनहरुमा जस्तो उनले न त प्रतिपक्षीहरुलाई बस्न भने न त बैठकमा नाराबाजी रोक्न आग्रह नै नै गरे।

बैठक सुरु भए लगत्तै उनले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाए। अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए।
शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए। सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिए। अर्थमन्त्री शर्माले जवाफ दिन रोष्टम पुगे। उनले सुवालले राखेको विचारका लागि धन्यवाद भन्दै छोटो टिप्पणी मात्र गरे। प्रतिपक्षीहरुले नारा लगाइरहे।

सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे। प्रस्ताव बहुमतले स्वीकृत भयो।
त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राखे। शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके।
मौनधारणा पछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिए।
थप तस्बिरहरू हेर्नुहोस्



















सबै तस्बिरहरू- निशा भण्डारी