नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँगको सहकार्य अल्पकालीन नभएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूबीचको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका हुन्।
वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए।
‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन। त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ। यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ। हामीले नै दिन सक्छौं।’
प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिह्न हँसिया हतौडामा उठ्दैछ।
प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौं जनतामा उत्साह थपिने उनले जिकिर गरे।
‘इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरूले पैदा गरेको नामहरू हुन् प्रचण्ड र बाबुराम,’ उनले भने, ‘हामी एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरू फेरि एकतावद्ध भएर नयाँ युग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ।’
दुईजनाको बानी व्यवहार नमिले पनि दुबैले एकअर्काको अभाव महशुस भएपछि दीर्घकालीन सहकार्यतर्फ अघि बढेको उनको तर्क थियो।