नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी परित्याग गरेका रूपन्देहीका पूर्व सांसद बासुदेव घिमिरेसँगको तस्बिर सार्वजनिक गर्दै सँगै छौं भन्ने सन्देश दिएका छन्। घिमिरेले केही दिनअघि एमाले परित्याग गरेको जानकारी दिएका थिए।
तिलोत्तमाको मेयर हुँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सम्पर्क बढाएका घिमिरे पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी जान लागेको हल्ला चलेको थियो। घिमिरे स्वयम्ले रूपन्देही–२ बाट चुनाव उठ्न प्रस्ताव आएको पनि जानकारी दिएका थिए।
आफैसँग प्रतिस्पर्धी बन्न लागेको चर्चा चलेसँगै बिहीबार उपाध्यक्ष पौडेल रूपन्देही पुगेर घिमिरेसँग भेट गरेका हुन्। बिहीबार पौडेल र घिमिरेबीच चार घन्टा छलफल भएको थियो। उक्त छलफलपछि घिमिरे रोकिएको सन्देश विष्णु पौडेलले दिएका छन्।
रूपन्देहीका अन्य नेताहरूलाई पनि साक्षी राखेर सार्वजनिक गरेको भेटको तस्बिरसँगै पौडेलले लेखेका छन्, ‘हामी सँगै छौं।’
यसअघि सेतोपाटीसँगको कुराकानीमा पूर्व सांसद घिमिरेले आफूले भदौ २३ गते नै पार्टी छाड्ने मनस्थिति बनाएको दाबी गरेका थिए। तर कुनै पार्टी प्रवेश गरिनसकेको उनको भनाइ थियो।