सल्यानमा श्रीमतीसँग झगडा हुँदा आवेगमा आएर श्रीमानले आफूहरूले पालेका गाई-गोरू मारेका छन्।
कपुरकोट गाउँपालिका-५ सिस्नेरी ३६ वर्षीय शेरबहादुर महतराले श्रीमतीसँग झगडा भएपछि पालेका गाई र गोरूमाथि कोदालोले प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
घटना आइतबार रातिको हो।
‘पहिला श्रीमतीलाई कुटोले प्रहार गर्दा खुट्टामा लागेपछि जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘श्रीमती राति जंगल छिरेपछि उत्तेजित महतराले गोठमा गएर बाँधेर राखेका गाई-गोरू मारेका रहेछन्।’
मारेका गाई-गोरूमध्ये गाईलाई गाडिसेकेको र गोरूलाई पनि भीरबाट खसाल्ने प्रयास गरिरहँदा महतरा पक्राउ परेको डिएसपी खड्काले बताए।
महतराले मदिरा सेवन गरेपछि घरमा झगडा गरेको र आक्रमण गर्न थालेपछि राति नै श्रीमती र बालबालिकाले भागेर आफ्नो ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ।
महतराले गाई-गोरू मारेको खबर सोमबार गाउँलेले सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो।
पक्राउ परेका महतरालाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सल्यानले सोमबार आदेश दिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी खड्काले बताए।
महतरालाई त्रिवेणी गाउँपालिकास्थित इलाका प्रहरी कार्याललय लुहामको हिरासतमा राखिएको छ।