काठमाडौंको साँखुमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
बुधबार साँझ ५ बजेतिर शंखरापुर नगरपालिका–३ लप्सीफेदी जंगलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
ज्यान गुमाउनेमध्ये तीन जना महिला र एक जना पुरूष छन्।
जरसिंहपौवा–साँखु सडकमा बा ४ ख ८७८८ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको हो।
बसमा अन्दाजी ३५ जना सवार थिए। दुर्घटनामा परेका यात्रुको उद्धार गरी प्रहरीले अस्पतालमा पठाएको थियो।
दुर्घटनामा ११ जना पुरूष र १६ जना महिला गरी २७ जना घाइते छन्।
उनीहरूको अर्थोपेडिक अस्पताल, शंखरापुर अस्पताल, एनएमसी अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेको बस पिकनिकबाट फर्किँदै थियो।