सुर्खेतको जंगलमा बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको छ।
भेरीगंगा नगरपालिका–५ गेरवानीकी ५७ वर्षीया गंगा सारूको शव स्थानीय सालघारी वनमा बाघले खाएको अवस्थामा फेला परेको हो।
बुधबार बिहान स्थानीय सालघारी वनमा घाँस काट्न गएका गंगाका दुई नातिनीले गंगाको लगाउने कपडा, चप्पल फेला पर्नुका साथै रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यो सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बबईबाट प्रहरी टोली, नेपाली सेनाको टोली, वनको कर्मचारी र स्थानीय जनप्रतिनिधि गरी २५ जनाले खोजीमा गएका थिए।
बिहान साढे १० बजेतिर कपडा फेला परेको ठाउँदेखि करिब ६०० मिटर पूर्वतर्फ गंगाको टाउको फेला परेको थियो। रगतका दागहरू पच्छ्याउँदै जाने क्रममा साढे ११ बजेतिर ३०० मिटर पश्चिममा बायाँ खुट्टा, बाँया हात र कम्मरको भाग मासु खाएको अवस्थामा फेला परेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।
घर परिवारका अनुसार मंगलबार बिहान ८ बजेतिर गंगा घरबाट कसैलाई नसोधी घरबाट निस्केकी थिइन्। गंगाको कपडा फेला परेको स्थान उनको घरदेखि जम्मा १०० मिटर उत्तरमा पर्छ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट बबईबाट झन्डै ४ किलोमिटर पूर्वमा पर्छ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।