प्रहरीले पर्साबाट ८१ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ६० वर्षीय गणेश कलवार र ३४ वर्षीय सन्तोष कलवार छन्। कलवारलाई उनकै घरबाट बिहीबार राति पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
उनले घरबाट गाँजा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरी पुगेको थियो। कलवारको घरको पूर्वपट्टीको खाटमुनि गाँजा फेला परेको थियो।
पक्राउ परेका बाबु-छोरा हुन्। उनीहरूलाई हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको खनालले बताए।
यसैगरी, बिहीबार राति नै प्रहरीले बिनदवासिनी गाउँपालिका-४ अमरपट्टीबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत बिहार मोतिहारी घर भएका ४२ वर्षीय दसाही दास छन्।
उनीहरूले बोकेको झोलामा ७ किलो गाँजा फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए।