धनुषामा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ।
नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गएराति गोली चलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जामुन र नसिब दाजुभाइ हुन्।
दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको छ।
अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवाक्ता डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए।
४, ५ वर्षदेखि दुबै पक्षबीच निरन्तर झैझगडा हुँदै आएको उनले बताए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ।
स्थानीय ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए।