बजारमा अंगुरको आपूर्ति घटेको छ।
सिजन सकिन लागेसँगै अंगुरको आपूर्ति घटेको व्यवसायीहरूले बताएका छन्।
बजारमा अंगुर कालो र हरियो गरी दुई प्रकारको आउँछ।
तीमध्ये कालो अंगुर आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
'सिजन सकिएकाले कालो अंगुर आउन छोडेको छ,' उनले भने।
उनका अनुसार हरियो अंगुर पनि केही साता मात्रै आउँनेछ। त्यसपछि विस्तारै लिची र आँपको सिजन सुरू हुनेछ।
बजारमा अंगुरको आपूर्ति घटेसँगै मूल्य पनि बढेको उनले जानकारी दिए।
उनका अनुसार हाल हरियो अंगुर प्रतिकिलो थोक मूल्य एक सय ९० देखि दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
सिजनको समयमा हरियो अंगुर प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय ५० रूपैयाँमा थियो।
अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले उत्पादन गरे पनि स्थानीयस्तरमै बिक्री हुन्छ। उक्त उत्पादन काठमाडौं लगायत मुख्य सहरहरूमा पुग्दैन।
यहाँ छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट अंगुर आउँछ।
महाराष्ट्र, गुजरात, बैंगलोर लगायतका क्षेत्रमा ठूलो मात्रामा अंगुर उत्पादन हुने गरेको छ।