कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो विकास र उपयोगले हामीले उपभोग गर्ने वस्तु वा सेवाको लागत घटाउन सक्छ होला? यसको उपयोगबाट दाल, चामल वा चिनी लगायत दैनिक उपभोग्य वस्तुहरू उपभोक्ताले सस्तोमा पाउने अवस्था बन्न सक्ला कि नसक्ला?
मोबाइलमा चल्ने एउटा एआई प्रणालीले बालीमा रोग लाग्नुअघि नै संकेत दिन थाल्यो, मौसमको अनुमान अझै सटीक भयो र किसानले त्यही आधारमा खेतीको निर्णय गर्न थाले त्यसको प्रभाव कस्तो पर्छ?
विश्व बैंकले हालै `विश्व विकास प्रतिवेदन २०२६ : द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स´ नामको प्रतिवेदन सार्वजनिक गरेको छ।
त्यही प्रतिवेदनले एआईका कारण मूल्य शृंखलामा व्यापक परिवर्तन आउने विषय औंल्याएको छ। यसको प्रमुख कारण किसानलाई राम्रो उत्पादनसम्बन्धी निर्णय गर्न सहयोग गर्नु हो।
विशेषगरी कृषि विज्ञको पहुँच कम भएका ठाउँमा एआईबाट तयार हुने मौसम पूर्वानुमानले किसानलाई खेतीसम्बन्धी निर्णय सुधार्न सहयोग गर्न थालेको छ।
विज्ञको पहुँचको लाभ र निर्णय परिवर्तनको कारण उत्पादकत्व बढाउन सहयोग पुग्ने देखिएको छ। भान्सामा पुग्ने चामल, तरकारी, फलफूल वा अन्य खाद्य वस्तुको मूल्य घटाउन अब किसानले मलखादको मूल्य घट्ने, मौसम अनुकूल हुने वा उत्पादन बढ्ने मात्रै कुरेर बस्नुपर्ने छैन।
यद्यपि ‘एआई आएपछि खाद्य वस्तुको मूल्य यति प्रतिशत घट्छ’ भन्ने निचोडचाहिँ रिपोर्टमा छैन। किसानले समयमै सही निर्णय गर्न पाए बालीको क्षति घट्ने, उत्पादन सुधारिन सक्ने र कृषि प्रणाली थप प्रभावकारी बन्ने निचोड प्रतिवेदनको छ।
उत्पादन र आपूर्तिमा सुधार आयो भने त्यसले मूल्यमा पनि दबाब कम गर्ने सम्भावना हुन्छ।
यही कारण खाद्य वस्तुको मूल्यको प्रश्न अब खेतबाट मात्रै होइन, एआईको पहुँच, तथ्याङ्क, इन्टरनेट र किसानको डिजिटल क्षमतासँग पनि जोडिन थालेको हो।
'एउटा फोटोले किसानको निर्णय बदल्न सक्ने सम्भावना हुन्छ। मानौं एक किसानले बालीमा रोग लागेको शंका लागेपछि मोबाइलबाट बालीको तस्बिर खिचेर एआई प्रणालीमा पठाउन सक्छ। त्यस्तो प्रणालीले रोग पहिचान गर्न, किसानलाई उत्तर दिन र रोगको उपचारका लागि आवश्यक सामग्रीबारे निर्णय गर्न सहयोग गर्न सक्छ,' प्रतिवेदनमा भनिएको छ।
एआई प्रणालीले रोगको पहिचान मात्रै गर्ने होइन, त्यसका लागि आवश्यक तथ्याङ्क पनि विभिन्न स्रोतबाट लिन सक्छ।
कृषि विज्ञानसम्बन्धी पाठ, बालीका तस्बिर तथा भिडिओ, माटोको अवस्था र मौसमको ढाँचाजस्ता तथ्यांक एआईको सहायताले प्रयोग गर्न सकिने र यसबाट किसानले ठूलो लाभ उठाउन सक्ने प्रतिवेदनले औंल्याएको छ।
अब किसानहरू रोग देखिएपछि मात्रै उपचार खोज्ने अवस्थाबाट रोगको जोखिम पहिल्यै अनुमान गर्ने अवस्थामा पुग्न सक्छन्। समयमै उपचार भयो भने बाली जोगिन सक्छ। बाली जोगिएपछि उत्पादन घट्ने जोखिम कम हुन्छ। उत्पादन घटेन भने बजारमा आपूर्ति पनि तुलनात्मक रूपमा स्थिर रहन्छ।
यही सानो परिवर्तले किसानको खेतमा हुने क्षति घटाउने प्रविधिले अन्ततः उपभोक्ताको भान्सामा पर्ने मूल्यको दबाब पनि कम गर्न सक्छ।
अर्को महत्वपूर्ण विषय हो− मौसम पूर्वानुमान
खेतीमा मौसमको भूमिका कति ठूलो हुन्छ भन्ने कुरा नयाँ होइन। तर एआईले ठूलो मात्रामा तथ्यांक विश्लेषण गरेर स्थानीय तहसम्म उपयोगी पूर्वानुमान दिन सक्ने सम्भावना बढाएको प्रतिवेदनले औल्याएको छ।
एआईबाट तयार हुने मौसम पूर्वानुमानले कृषि विज्ञ कम भएका ठाउँमा किसानलाई उत्पादनसम्बन्धी राम्रो निर्णय गर्न सहयोग गरिरहेको भन्ने प्रतिवेदनले देखाएको छ।
कुन समयमा रोप्ने, कहिले सिँचाइ गर्ने वा मौसम बिग्रिनुअघि के तयारी गर्ने भन्ने निर्णय राम्रो भयो भने उत्पादनको जोखिम घट्न सक्छ।
विशेषगरी जलवायु परिवर्तनका कारण मौसमको अनिश्चितता बढिरहेको अवस्थामा यस्तो सूचना किसानका लागि महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।
तर यहाँ पनि एउटा प्रश्न आउँछ− यस्तो प्रविधि किसानको मोबाइलसम्म पुगेको छ कि छैन? हो एआई सस्तो हुँदैछ, तर किसानसम्म पुग्न कति महँगो छ?
एआईको क्षमता प्रयोग गर्ने लागत भने तीव्र रूपमा घटिरहेको छ।
विश्व विकास प्रतिवेदन २०२६ मा दिइएको उदाहरणअनुसार, 'जिपिटी -३.५' बराबरको कार्यसम्पादन भएको एआई मोडेलबाट १० लाख टोकन प्रशोधन गर्ने लागत सन् २०२२ को अन्त्यमा करिब २० अमेरिकी डलर थियो।
सन् २०२४ को अन्त्यसम्म त्यही लागत ०.०७ अमेरिकी डलरमा झरेको थियो। यसको अर्थ कुनै किसान वा कृषि संस्थाले एआईलाई १० लाख वटा जानकारीका टुक्रा (जस्तै मौसमको तथ्यांक, माटोको अवस्था, बालीको रोगसम्बन्धी तस्बिर/विवरण, बजार मूल्य आदि) विश्लेषण गराउनुपर्यो।
पहिले त्यही परिमाणको एआई विश्लेषण गराउँदा २० डलर खर्च हुन्थ्यो भने अहिले करिब ७ सेन्टमै हुन सक्छ। सोही कामको लागि कृषि उत्पादनको लागत नै २० डलरबाट ७ सेन्ट भयो भन्ने होइन।
कृषिमा एआई प्रयोग गरेर धेरै ठूलो परिमाणको सूचना विश्लेषण गर्ने खर्च अत्यन्तै सस्तो भयो भन्ने हो।
केही वर्षअघिसम्म अत्यन्त महँगो रहेको एआई क्षमता अहिले धेरै सस्तोमा प्रयोग गर्न सकिने भएको छ। यही परिवर्तनले विकासशील देशका लागि ठूलो अवसर खोलेको प्रतिवेदनको निचोड छ।
सबैभन्दा उन्नत एआई आफैँ बनाउन अर्बौँ डलर खर्च गर्नुभन्दा अरूले बनाइसकेको प्रविधि प्रयोग गरेर स्थानीय आवश्यकताअनुसार ढाल्नु धेरै व्यावहारिक हुने सुझाव प्रतिवेदनको छ।
खुला स्रोत र खुला मोडेलको विस्तारले यो सम्भावना अझ बढाएको औँल्याइएको छ। त्यस्ता मोडेललाई स्थानीय हार्डवेयरमा सञ्चालन गर्न र आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्न सकिने छ।
एआई प्रयोग गर्न तथ्यांक चाहिन्छ, इन्टरनेट चाहिन्छ, विद्युत चाहिन्छ, डिजिटल सीप चाहिन्छ र स्थानीय अवस्थासँग मिल्ने प्रणाली चाहिन्छ। विश्व बैंकले पनि एआईको प्रभावका लागि भरपर्दो पूर्वाधार, शिक्षा, संस्था र स्थानीय तथ्यांक आवश्यक रहेको औल्याएको छ।
नेपालमा कुनै विदेशी एआईले मकैको रोग पहिचान गर्यो भन्दैमा त्यो सल्लाह नेपालको माटो, मौसम, बीउ, रोगको प्रकार र स्थानीय कृषि अभ्यासमा पनि त्यत्तिकै सही नहुन सक्ने पनि प्रतिवदेनले औंल्याएको छ।
प्रतिवेदनले यही कारण एआई अपनाउनु मात्रै पर्याप्त नभई स्थानीय आवश्यकता अनुसार अनुकूल बनाउनु आवश्यक रहेको बताएको छ। उच्च आय भएका देशको तथ्यांकमा तयार भएको एआईले स्थानीय अवस्था फरक हुँदा उपयुक्त सल्लाह नदिन सक्छ।
प्रतिवेदनअनुसार यसले अर्को चुनौती जन्माएको देखिन्छ। गलत सल्लाह दिएर एआईले किसानको लागत घटाउने होइन, उल्टै बढाउन पनि सक्छ।
प्रतिवेदनअनुसार एआईको उत्पादन केही सीमित देश र कम्पनीमा केन्द्रित छ। सबैभन्दा उन्नत एआई मोडेल, चिप र डेटा सेन्टर सीमित कम्पनीको नियन्त्रणमा छन्। विकासशील देशका लागि यसको दुईवटा अर्थ छन्।
पहिलो, आफूले अर्बौं डलर खर्च गरेर सबैभन्दा उन्नत एआई बनाइरहनुपर्दैन। अरूले बनाएको एआई प्रयोग गरेर कम खर्चमै धेरै काम गर्न सकिन्छ।
दोस्रो, त्यही प्रविधिमा निर्भर हुने जोखिम पनि हुन्छ। कुनै कम्पनीले सेवा बन्द गर्यो, मूल्य बढायो वा भू–राजनीतिक कारणले पहुँच रोकियो भने त्यसमा आधारित कृषि प्रणाली प्रभावित हुन सक्छ।
प्रतिवेदनले अरूले बनाएका एआई अपनाउने बाटो सस्तो भए पनि यस्तो पहुँच सधैँ सुनिश्चित नहुने जोखिम औँल्याएको छ।
विश्व विकास प्रतिवेदन २०२६ ले स्थानीय कृषि अवस्थाअनुकूल किसान परामर्श दिने एआई अनुप्रयोग बनाउन सकिने उल्लेख गरेको छ। एआईले कृषि विज्ञलाई हटाउनेभन्दा उनीहरूको ज्ञानलाई धेरै किसानसम्म पुर्याउने माध्यम बन्न सक्ने औल्याइएको छ।
तर त्यसका लागि एआईले दिएको सुझाव जाँच्ने र स्थानीय अवस्थाअनुसार सुधार गर्ने मानवीय विज्ञ आवश्यकता देखाइएको छ।
विश्व बैंकको प्रतिवेदनले खाद्य वस्तुको मूल्य घट्ने प्रत्यक्ष परिणामको तथ्य प्रस्तुत गरेको छैन। तर यसले एआईले कृषि क्षेत्रमा रोग पहिचान, मौसम पूर्वानुमान र उत्पादनसम्बन्धी निर्णय सुधार्ने सम्भावना देखाएको छ।