बजारमा सुन्तला आउन छोडेको छ।
सिजन सकिएसँगै सुन्तला आउन छोडेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
'नेपाली सुन्तलाको सिजन त माघमै सकिएको हो,' उनले भने, 'अब भारतीय सुन्तला पनि सकियो।'
अहिले बजारमा फाट्टफुट्ट रूपमा कहीँकतै मात्रै भारतीय सुन्तला पाइने उनले जानकारी दिए।
उनका अनुसार अब भने आँप र लिचीको सिजन सुरू हुनेछ।
'अहिले बजारमा खर्बुजा, मेवा आइरहेको छ,' उनले भने, 'अब आँप लिचीको सिजन सुरू हुन्छ।'
अधिकांश ग्राहकले सिजनको फलफूल रोज्ने गरेका छन्।
त्यसैलाई मध्य नजर गरेर व्यवसायी पनि सिजनको फलफूल बढी आयात गर्छन्।
अहिले बजारमा फाट्टफुट्ट रूपमा आँप आए पनि सिजन सुरू नभएकाले ग्राहकको माग न्यून छ।
जेठ अन्तिमदेखि आँपको सिजन सुरू हुनेछ भने ग्राहकले साउन अन्तिमसम्म बजारमा आँप किन्न पाउँछन्।