सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकिएको छ।
जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो एक सय पाँच रूपैयाँ छ भने ‘बी’ ग्रेडको ९५ रूपैयाँ छ।
आठ सय मिटरभन्दा माथि प्रांगरिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ए ग्रेड अन्तर्गत पर्दछन्।
पार्चमेन्ट चेरी ‘ए’ ग्रेडको प्रतिकिलो पाँच सय ३५ रूपैयाँ र ‘बी’ ग्रेडको चार सय ८२ रूपैयाँ तोकिएको छ।
ग्रेड–ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने र ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ‘ए’ ग्रेड मानिन्छ।
त्यस्तै, ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो दुई सय ८० रूपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको दुई सय ४८ रूपैयाँ तोकिएको छ।
बोर्डले तोकेको मूल्य सोमबार(मंसिर १ गते) बाट लागु हुने छ। सरकारले प्रत्येक वर्ष मंसिर एक गते विभिन्न कार्यक्रम गरी कफी दिवस मनाउँदै आएको छ।
यस वर्ष ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ भन्ने मुल नाराको साथ २१ औं राष्ट्रिय कफी दिवस मनाइने बोर्डले जानकारी दिएको छ।