नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले चेरी क्यूको औपचारिक सार्वजनिक प्रस्तुति आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा हुने जनाएको छ।
एक्स्पो यही अगस्ट ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
कम्पनीका अनुसार चेरी क्यू नयाँ पुस्ताको विद्युतीय सवारीसाधन हो, जसले आधुनिक डिजाइन, स्मार्ट प्रविधि र शहरी यात्राको नयाँ अवधारणालाई समेटेको छ।
एक्स्पोमा आउने आगन्तुकहरूले पहिलोपटक यो गाडीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्।
चेरी क्यूमा ४१.२ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ।
यसले एकपटक पूर्ण चार्जमा करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
गाडीमा ५४० डिग्री वरपरको दृश्य देखाउने क्यामेरा प्रणाली, १७५ मिलिमिटर उचाइको ग्राउन्ड क्लियरेन्स, ७० लिटर क्षमताको अगाडिको भण्डारण स्थान, १५.६ इन्चको टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली र २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली जस्ता सुविधा उपलब्ध छन्।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको चेरी क्यू आकर्षक डिजाइन र प्रविधिको संयोजन भएको कम्पनीको भनाइ छ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएको चेरी क्यूले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ जस्ता प्रतिष्ठित डिजाइन पुरस्कार प्राप्त गरिसकेको छ।
काठमाडौंमा आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै देखिएपछि यो विद्युतीय सवारीसाधन सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यसको औपचारिक सार्वजनिक प्रस्तुतिप्रति अटोप्रेमीहरूको चासो बढेको जनाइएको छ।